महिलाहरूले आरक्षण पाउनेमध्येको एउटा ठाउँ सार्वजनिक सवारीसाधन पनि हो। अचेल हरेक सार्वजनिक सवारी साधनमा केही सिट महिलाका छुट्याइएको हुन्छ। ट्राफिक प्रहरीले यो नियमलाई दह्रै तरिकाबाट लागू गरेका कारण ढोकै अगाडिको महिला सिटमा हत्तपत्त कोही पनि पुरूष बस्दैनन्।
अलिक दिन अगाडि म चढेको माइक्रो बसमा ढोकाको छेउमा रहेको महिला सिटमा २ युवती र १ जेष्ठ नागरिकको जोडी बसेका थिए। म सबैभन्दा पछाडिको सिटमा बसेकी थिएँ। सातदोबाटोमा कलेज ड्रेस लगाएका २ युवती माइक्रोमा चढे, सबै सिट भरिएको थिए। ती युवतीले सबै सिटमा आँखा डुलाए। र महिला सिटमा एक पुरुषलाई देखेपछि एउटीले एकदमै रूखो स्वरमा भनिन् –ए बा, किन महिला सिटमा बस्नुभ’को? यो त हामी महिलाका लागि सरकारले छुट्याइदिएको सिट हो, उठ्नुहोस् हामी बस्छौँ।
माइक्रोमा रहेका सबै अवाक् भए, कसैले केही भनेनन्। ती वृद्ध बा सकीनसकी उठ्दै गर्दा त्यसको विपरित सिटमा बसेका एक पुरुषले उनलाई आफू बसेको सिटमा बस्न अनुरोध गर्दै व्यङ्यात्मक शैलीमा भने –कहाँ महिला सिटमा बस्नु भएको त बा, यो सिटमा बस्नु त अपराध हो नि, यो सिट त यी नानीहरुका लागि हो, विचराहरु कलेजबाट थाकेर आएका होलान्, छोडिदिनुस, तपाईँ यो सिटमा बस्नुहोस्।
वृद्ध अगाडिको सिटमा बसे र ती कलेजकी युवती महिला सिटमा गएर बसिन्। यो सबै देखेपछि मसगैँ सिटमा बसेका पुरुषले भने, ‘यस्तो त दिनुहँु हुन्छ माइक्रोमा, कहिले बिरामीलाई उठाउँछन्, कहिले यी यस्ता जेष्ठ नागरिकलाई।यो आरक्षणले गर्दा समाजमा अरु धेरै वादहरु स्थापित भए पनि मानवतावाद भने सकिएछ।’
माइक्रोमा कमै चढ्ने गरेकी मलाई उनको कुराले खिन्न बनायो तर केही बोलिनँ। बोलौँ पनि कसरी, म नारीवादको अनि आरक्षणको पक्षमा छु। नारीवाद र आरक्षणका हिसाबले युवतीले गल्ती गरेकै छैनन् तर मानवतावाद भने हराउँदै गएको हो की भन्ने आभास मलाई पनि भयो। यो घटनाले प्रष्ट हुन्छ, हामीले नारीवाद र आरक्षणको हवाला दिएर अधिकार मागिरँहदा सबैभन्दा ठुलो वाद मानवतावादलाई बिर्सदै गएका छौँ। युवकले आफु बसेको सिट छोडिदिँदा ती युवतीले वृद्ध बसेको सिटमा दाबी गर्नुपर्ने आवश्यकता थियो र ? एकछिन उभिँदा उनको अधिकारको हनन नै हुन्थ्यो र ? आफ्नो अधिकारमा यति दृढ हुने हामी नारीले के कर्तव्य पनि पालना गरेका छौँ त ? झट्ट सुन्दा यो घटना त्यति ठुलो वा महत्वपूर्ण नलाग्ला तर हामी नारीहरु आजकल आफ्नो अधिकारका लागि लड्न सबै कुरा बिर्सेर अघि त सर्छौ तर जब आफूले कर्तव्य गर्ने वा पुरुषलाई टक्कर दिने कुरा आउँछ तब चाहिँ पछि हट्छौं।
हामी नारीहरु लगभग १५ वर्ष पुगेपछि नारीवादीका कुरा गर्न थाल्छौँ, पुरुषहरुका कारण हामी पछाडि प¥यौं भन्ने सोच्न थाल्छौँ र समान अवसरका लागि आवाज उठाउँछौ।
हामी एकातिर पुरुषसरह कार्यालय गएर काम गर्छौ, पैसा कमाउँछौ तर अर्कोतिर त्यही पुरुषबाट आशा गरिरहेका हुन्छौँ।
मेरी एक जागिरे साथी छन्। उनको एक बुटिक पनि छ। महिनामा लगभग ८० हजार जति त बचत गर्ने गर्छिन रे। उनी अविवाहित हुन् र एक आत्मनिर्भर अनि आर्थिक, सामाजिक रूपमा सक्षम महिला। उनको विवाहको कुरा चलिरहेको छ, काम र पढाइका कारण प्रेममा पनि कहिल्यै परिनन् रे। तर उनले र उनको परिवारले प्रस्ताव आएका सबैजसो केटालाई विभिन्न कारण देखाउँदै अस्वीकार गरे। यो सबै नजिकैबाट नियालिरहेकी मैले एकदिन उनलाई सोधें –राम्रै केटाहरूको कुरा आइरहेको छ त, किन सबैलाई अस्वीकार गरेको हो? विवाह नगर्ने बिचार हो कि के हो ?
उनले भनिन् – म ८० हजार कमाउँछु, कमसेकम १ लाख कमाउने श्रीमान्को अपेक्षा गर्ने हक त मलाई छ नी, मैले जति पनि नकमाउने केटासँग त खै के बिहे गर्नु र? उसले मलाई पाल्न सक्दैन नी। लभ नै प¥या भए एक कुरा, जानी जानी कसरी आफूभन्दा कम कमाउने र कम पढेको केटासँग बिहे गर्नु, तिमी आफैं भन न।
म केही बोलिनँ। तर यो कुराले मलाई धेरै कुराहरु सोच्न बाध्य बनायो। हामी एकातिर नारीवाद, महिला पुरुष समानताको कुरा गर्छौ अनि अर्कोतर्फ आफूभन्दा कम कमाउने केटालाई श्रीमान् बनाउन सोच्न पनि सक्दैनौं। आफनो अधिकार पाउनका लागिचाहिँ मानवतावाद समेत बिर्सेर नारीवादको हवाला दिँदै अधिकार प्राप्त गर्ने अनि जब कर्तव्यको पालो आउँछ, समानताको कुरा आउँछ तब चाहिँ फेरि पुरुषवादी पुरातन सोचलाई समर्थन गर्दै आफूलाई पुरुषभन्दा कमको ठान्छौं। अचम्म छ, हाम्रो नारीवाद। एकपटक सोचौं त, के हामी आत्मनिर्भर हुँदा समेत पुरुषकै भर पर्नु पर्ने हो र ? यसैका लागि हामी नारीहरूले संघर्ष गरिरहेको हो र ? पुरुषले हामीलाई विवाह गरेर हाम्रो सम्पूर्ण जिम्मेवारी उठाउन सक्छन् भने हामीले हाम्रो श्रीमान्लाई आर्थिक रूपमा सहयोग गर्न सक्दैनौ र ? यदि हाम्रो सोच र व्यवहार नबदलिने अनि समानताको कुराचाहिँ ठूलो स्वरले उठाउँदा हाम्रो चरित्र दोहोरो देखिएन र ? यदि सोचाइ र व्यवहार परिवर्तन हुँदैन भने किन चाहियो नारीवाद? किन चाहियो समान अधिकार? पुरुषलाई कमाउन पठाऊँ हामी चुलोचौकोमै सीमित होऔं।
पुरुषहरुले यही कारणले हामीलाई ब्यङग्य गर्छन्। अधिकार भनेपछि चाहि सबैसँग लडेर लिने अनि जब समानताको कुरा आउँछ, अनि चाहिँ ‘म महिला हुँ नि त’ भनेर पछाडि हट्छन् नारीहरू। हामी धेरै महिलाहरू यही गरिरहेका छौँ भन्ने आभास हुन्छ। पुरुषहरुले त आजकल हामी नारीलाई विवाहपछि पनि काम गर्न दिन्छन्, हामीलाई आत्मनिर्भर बन्न दिन्छन् तर हामी नारी श्रीमान्को आर्थिक सहयोगी त बन्छौं तर श्रीमानसहित पुरा परिवारको आर्थिक जिम्मेवारी लिने कुरामा जहिल्यै पछि सर्छौं।
अर्को एउटा प्रसंग पनि जोडौँ। केही दिन अघि पशुपतिनाथ मन्दिर परिसरमा एउटा बाँदरले २ जना बहिनीको क्यामरा र पर्स खोसेर लग्यो र पर्स च्यात्न थाल्यो। एक बहिनीले अत्तालिँदै भनिन्, ‘कोही केटा मान्छे गएर त्यो पर्स खोस्दिनुस् न प्लिज।’
म त्यहीँ थिए, मजस्ता धेरै युवतीहरु त्यहाँ थिए तर हामी युवती भएकै कारण बाँदरको नजिक जान डरायौँ र मभन्दा पनि दुब्लो र नपत्याउँदो युवकले पुरुष भएकै कारण बाँदरबाट खोसेर पर्स युवतीलाई फर्कायो।
हामीमा यस्तो छाप छ कि हामी पुरुषभन्दा कमजोर छौँ, सोही छापका कारण हामी कोशिश समेत गर्दैनौं र पुरुषको सहयोग खोज्छौँ। अनि फेरि अर्कोतिर हामी पुरुषभन्दा केही कुरामा कम छैनांै, हामी पुरुषमा काँध र हात मिलाएर हिँड्न सक्छौँ भन्छौं। हो हामी सक्छौँ, हामी पुरुषजतिकै बलियो छौँ, तर यो कुरा आवाजमा मात्र होइन, व्यवहारमा देखाउने हिम्मत गर्न सक्नुपर्छ। हामीलाई हाम्रो घर परिवारले सानैबेलादेखि छोरा र छोरीलाई विभेद गर्ने खालका, दाजुभाइ पुरुष भएका कारण तँभन्दा बलियो छ भन्ने खालका कूराहरु सिकाए। जसका कारण हामी महिलाहरु ठूलो भएपछि पनि कुनै बहादुरीको काम गर्नुपर्याे भने पुरुषको अपेक्षा गर्छौ, उनीहरुको सहयोग माग्छौँ। अतः सानैदेखि पुरुष र महिला दुबै बराबर हो भन्ने कुरा सिकाए, महिला र पुरुषको असमानताको खाडल घट्दै जान्छ र हामीले सधैँ नारीवादको कुरा गरिराख्नुपर्दैन, व्यवहारमा नै हामीले नारीवाद महशुस गर्न पाउनेछौँ।
माइक्रोमा आरक्षण सिटको आवश्यकता पर्नेछैन, आफूभन्दा बढी कमाउने केटा चाहिने छैन र बाँदरबाट पर्स छुटाउन पुरुषको आवश्यकता पर्ने छैन, किनकि हामीमा हामी कमजोर र पीडित छौं भन्ने अनुभूति हुनेछैन।