यो वर्ष विश्व पर्यटन दिवसको नारा सबैका लागि पर्यटन रहेको छ। विशेष त यसले संसारभर घुम्न र डुल्ने सहजताको वकालत गर्न खोजेको छ। अलि अघि ह्वीचेयर प्रयोगकर्ताहरुको घुम्दाको नमिठो अनुभव पढ्न पाइएको थियो। ह्वीचेयर प्रयोगकर्ता मैत्री शौचालयको अभावमा उनीहरु घरबाट निस्कदा पानी समेत नपिई निस्किन वाध्य भएका रहेछन्। यस्तै प्रसङ्ग कोट्याउँदा अर्का ब्यक्तिको स्मरण हुन्छ जसको घुँडाबाट तल कृतिम खुट्टा राखिएको थियो। उनले हालसालै एक कार्यक्रममा सुनाए नेपाल आए पछि नुहाउन पाएको छैन। कृतिम खुट्टा नुहाउनु पूर्व निकाल्नुपर्ने र नुहाउँदा हातको साहराले उभिने सुविधा नभएकाले उनी नुहाउनबाट बञ्चित थिए। काठमाण्डौंका नगण्य होटलहरुमा मात्र साह«ै न्यून संख्यामा यस्ता सुविधा भएका कोठाहरु उपलब्ध छन्।
हरेक वर्ष पर्यटन दिवसले एउटा नारा दिन्छ। कहिले महिला सशक्तिकरण त कहिले समुदायको अग्रसरता विषय समेटिएको हुन्छ। यसपाला हिड्नलाई केही साहारा लिनुपर्ने ब्यक्तिहरुका लागि सहज आवागमनलाई मूल नारा बनाइएको छ। हरेक वर्ष झैं नारालाई एक दिने कर्मकाण्डी बनाउने हो भने केही छैन होइन भने यो क्षेत्रमा गर्नुपर्ने धेरै छ।
हिड्ने सहजताका लागि बाटाहरु, ह्वीलचेयर गुडाउने ¥याम्प, नुहाउने कोठाहरुमा विशेष ब्यवस्था जस्ता निर्माणसँग सम्बन्धित कुराहरु मात्र नभई असक्त असक्षम भनेर सम्बोधन गर्ने आम सोचको समेत परिवर्तन अपरिहार्य छ। एक प्रसङ्ग अर्का ह्वीलचेयर प्रयोगकर्ताको यहाँ उल्लेख गर्न सान्दर्भिक होला। पेशाले आर्किटेक्ट उनी एक पाँचतारे होटलमा अन्तराष्ट्रिय सेमिनारका सम्बन्धमा कुरा गर्न प्रवेश गर्न लाग्दा ढोकामा उभिएका सुरक्षाकर्मीले छिर्न दिएनछन्। एक ह्वीलचेयर प्रयोगकर्ताका बारेमा समाजका आममानिसको बुझाइ के रहेछ भन्ने कुराको प्रतिबिम्ब पनि यो हुनसक्छ। असक्त र हेयको भाव अनि भित्र छिरेर आर्थिक सहयोग माग्न आएको अनुमान गरेर त्यो सुरक्षाकर्मीले छिर्न नदिएको मान्छे नै उसको होटल जसबाट उसले पारिश्रमिक बुझ्छ त्यसलाई लाखौंको ब्यापार दिन आएको ब्यक्ति हुनसक्छ भनेर उसले कल्पना समेत गर्न सकेन।
माथि उल्लेखित पात्रका मनमा कस्तो कुराहरु आए होलान् भनेर घोत्लीरहँदा बाटा र बस्ने ठाउँका कारण यात्रा जटिल भएका छन् कि हाम्रा मनभित्रका आफैले अज्ञानताका बीच ठड्याएका पर्खालका कारण यस विषय जेलिएको छ विचारणीय छ। आज एक ह्वीचेयर प्रयोगकर्ता, कृतिम अङ्गका सहायताले हिँड्डुल गर्ने ब्यक्तिले अन्यको तुलनामा बढी पैसा खर्च गर्छ बस्ने कोठाका लागि, खाने होटलका लागि। अनि उनीहरुका लागि आवागमन मैत्री स्थानहरु निर्माण गर्नु समाजका लागि जवाफदेहिता हुने एक अंश होला तर मुख्यत यो भविश्यका लागि लगानी पनि हो।
आज विश्व पर्यटनको बजार सबै उमेर समूह वा रहरबाट विशेष रुची हुने समूहहरुमा परिवर्तन हुँदै गइरहेको छ। अनि विशेष रुचीको क्षेत्रबाट बढी आम्दानी हुने हाम्रा अनुभवहरुले देखाएका छन्। दिल्लीबाट नेपालसम्मको यात्रा गर्ने साइत नजुरेकाहरु ब्रायन एडम्सको कन्सर्ट नेपालमा हुँदा यहाँ आए। उनीहरुको उद्देश्य देश घुम्ने भन्दा बढी उनीहरुको प्रिय कलाकारको प्रस्तुती हेर्ने थियो र निश्चय नै आए पछि ठाँउ पनि घुम्ने नै भए। विशेष रुची र समूहमा पुग्नु भनेको देशको पर्यटनका निमित्त फलदायी हुन्छ।
हिंड्नमा कठिनाइ भएका समूहहरुमा नेपाल उनीहरुलाई सहज गन्तब्य हो भनेर प्रचार हुने हो र सोही अनुसार निर्माणहरु गरिने हो भने नेपाली पर्यटनको भविश्य सुदृढ हुनसक्छ। नेपाललाई चिन्दा सगरमाथाको देश र हिमाल नै हिमालहरुको देश भन्ने पुरानो परिचयसँगै ह्वीचेयरमैत्री गन्तब्य भनेर जोड्दा अर्को छुट्टै समूहमा पुग्न सकिनेछ।
केही सकारात्मक कामहरु भइ पनि सकेका छन्। साझा संस्थानको नयाँ आउन लागेका सार्वजनिक बसहरु ह्वीलचेयर मैत्री रहेका छन्। यसको सिको अन्य यातायातहरुले पनि गरिदिए सार्वजनिक सवारी हिडाँइ असहज हुनेका निमित्त पनि अप्ठेरो विषय हुने थिएन।
पर्यटन दिवसका अवसरमा सबैलाई सहज भ्रमणको वकालत गरिराख्दा कम्तिमा पाँच तारे होटलहरु सबैले ह्वीचेयरका लागि पर्याप्त ¥याम्पहरु, सोही अनुसार शौचालय, वाथरुम तथा हलहरुको निर्माण वा सुविधा थप गर्ने, सार्वजनिक स्थलहरु र बाटाहरु ह्वीचेयरमैत्री बनाउने काम सरकारले थाल्ने र सार्वजनिक सेवा कार्यालयहरुमा पनि सबै किसिमका असहजता भएका मानिसहरुलाई पुग्ने अवस्थाका निमित्त सार्थक पाइला चाल्दा नारा र दिनको उपयोगिता देखिनेछ।