राष्ट्रकवि माधव घिमिरेको आज ९८ औँ जन्मदिन। उहाँ जन्मेको साल १९७६ को असोज ७ गते आज जस्तै ईस्वी सम्बतको पनि सेप्टेम्बर २३ रहेछ। त्यो दिन चाहिँ मङ्गलबार रहेछ।
कविवरको व्यक्तित्वको सबभन्दा रोचक पक्ष के हो भने, उहाँको जीवनका विभिन्न उमेरका स्वभावहरू उहाँमा अहिलेसम्म पनि सजीवरूपले विद्यमान छन्, जसमध्येका बालक, किशोर र नवयुवकहरू कुराकानी गर्दागर्दै फुत्त फुत्त चियाइरहन्छन्। आज बिहान सबेरै म र मेरी श्रीमती किरण उहाँका घरमा गयौँ। मैले उहाँको उमेर ३५ हजार ४३१ दिन पुगेको बताएँ। उहाँको मुहार अझ उज्यालियो, झण्डै झण्डै एउटा बालकले झैँ उत्साहित भएर सोध्नुभयो, "कतिवटा पूर्णचन्द्र देखेँछु हँ?"
यही एउटा प्रश्नले भन्छ उहाँका बारेमा धेरै कुरा। सोझो हिसाबले गणना गरेर ११८० पूर्णचन्द्र नाघिसकेको बताएँ। तर उहाँजस्ता व्यक्तिलाई त्यसरी दिएको जवाफ आफैँलाई चित्त बुझेन। घर आएर खोजेँ, अघिल्लो पूर्णिमा उहाँको जीवनको १२०० औँ पूर्णिमा रहेछ। कस्तो गजब! त्यही दिन थाहा पाएको भए उहाँको जीवनको त्यो महत्त्वपूर्ण चन्द्रदर्शनलाई एउटा उत्सव बनाइने थियो। तर पछुतो लाग्न दिएन उहाँकै कविताले, "वर्षैभरि उत्सव उत्सवै रे!"
रमाइलोको कमी नै कहाँ छ र जीवनमा!
धेरैले उहाँसित उहाँको दीर्घ जीवनको रहस्य सोध्दा हुन्, म पनि उहाँसित कुरा गरिरहन्छु तर दीर्घायुका बारेमा होइन, सुदीर्घ सृजनशीलताका बारेमा। एकदिन उहाँले भन्नुभयो, "मलाई लाग्छ, यसका दुईवटा तह छन्। नवयुवक छँदै थालेको योगाभ्यासले मलाई स्वस्थ रहन धेरै मदत गरेको छ। तर मलाई सृजनशील बनाएको भने जीवनलाई हेर्ने आफ्नै दृष्टिकोणले हो जस्तो लाग्छ!"
उहाँको कविता याद आयो,
"बिहानका मिर्मिर रश्मि आई
चियाउँछन् सुन्दर मुस्कुराई
म नित्य नौलो दिनले भरिन्छु
रमाइलो सिर्जनले भरिन्छु।
म नित्य नौलोपनले भरिन्छु
र जीवनै जीवनले भरिन्छु।"
झट्ट पढ्दा साह्रै सरल लाग्नु र बिस्तारै गह्रौँ हुँदै जानु माधव घिमिरेका कविताहरूको विशेषता हो। उहाँका एकदमै दार्शनिक कविता पनि अत्यन्त सरल लाग्छन्। जीवन र राष्ट्र उहाँको कविताका मूल विषय हुन् र अत्यन्त उम्दा शिल्पले तिनलाई मनोहर बनाएको छ। उहाँका कवितामा नयाँ पाठक जन्माउने, तिनलाई अड्याएर राख्ने र तिनको बौद्धिकतालाई खुराक दिनसक्ने क्षमता छ। समालोचकहरूको क्षेत्राधिकारभित्र प्रवेश गर्न त मलाई सुहाउँदैन। एउटा इमानदार पाठक (त्यसो त उहाँले 'कविताका मर्मज्ञ' भन्ने पगरी गुताइदिनु भएको छ) का नाताले मैले भन्न मिल्ने कुरा यति मात्र हो, उहाँका कवितामा मान्छेको हृदयका सबै तारहरूलाई झङ्कृत गराइदिने क्षमता छ। राम्ररी पढ्ने हो भने उहाँका कविताले मान्छेको जीवनमा थाहा हुने किसिमका परिवर्तन ल्याइदिन सक्छन्। कविता पढ्नु अघिको मान्छे पढिसकेपछि फेरिन्छ फेरिन्छ!
मौका पर्नासाथ म उहाँकहाँ पुगेर उहाँका कविताका बारेमा कुरा गर्छु। उहाँजस्ता कालजयी कविसित बसेर कविता केलाउन पाउनु मेरो जीवनको उच्चतम उपलब्धी हो र समय र संयोगहरूले त्यो अलभ्य लाभ मलाई दिएका छन्। आफ्ना कविता कण्ठ राखेकोमा र तिनको मर्म केलाएकोमा सधैँ उहाँ मेरो तारीफ गर्नुहुन्छ, म पनि सधैँ दङ्ग पर्छु।
तर यी त म आफैँ फुर्किने कुरा मात्र हुन्।
केही वर्ष अघि शिक्षक मासिकमा हामीले कविवर घिमिरेका बारेमा एउटा लेख र एउटा अन्तर्वार्ता छाप्यौँ, जसको मुख्य लेख नारायण वाग्लेले लेख्नु भएको थियो। उहाँका बारेमा केही लेख्नु ठूलो कुरा होइन। किनभने उहाँका बारेमा थेसिस लेखिएका छन्, पीएचडी गरिएका छन् र किताबका ठेलीहरू प्रकाशित छन्, पत्रिकाका विशेषाङ्कहरूको गन्ती छैन। तर हामीले (मूलतः सम्पादक राजेन्द्र दाहालले) दुईटा कुरा भन्यौँ, पहिलो, सम्भवतः ती कुरा भने अरूले भनेका छैनन्। शिक्षक मासिकमा हामीले भनेको पहो कुरा थियो, (शब्दमा तलबितल पर्न सक्ला) माधव घिमिरे बाँचेको परिवेशमा बाँच्न पाउनु, उहाँले सास फेरेको हावामा सास फेर्न पाउनु मात्र पनि हाम्रो सौभाग्य हो। र दोस्रो, अबको ५०० वर्ष पछि नेपाली भाषी समाजले यस समयका कुनै नेपालीलाई सम्झिन्छ भने माधव घिमिरेलाई मात्र सम्झिन्छ।
ती कुरा लेखेकोमा हामीलाई गर्व छ।
एकदिन राजेन्द्रजीले भन्नु भयो, "सयवर्ष पुग्न लाग्नु भयो माधव घिमिरे। हामी सयवर्षभन्दा उताको जीवनको कल्पना गर्दैनौँ। वेदमा पनि 'जीवेम शरदः शतम्' (सय शरद्सम्म बाँचिरहौँ) भनेको छ। बूढामान्छेको मनले पनि कतै त्यही सय वर्षलाई त पल्लोछेउ मानेको छैन?" धेरै कुरामा हामीभन्दा धेरै कम प्रतिक्रियात्मक लाग्ने साथीका कुराले मलाई पनि छोयो। अनि फेरि मौका पर्दा कविवरलाई सोधिहालेँ।
"हो, सयवर्ष बाँचूँ भन्ने सबैलाई हुन्छ। तर त्यसको अर्थ सय वर्ष मात्र बाँचूँ भनेको हुँदै होइन। 'जीवेम शरदः शतम्' त भनेको छ, तर 'भूयश्च शरदः शतात्' (फेरि अर्को सय शरद्सम्म बाँचिरहौँ) पनि त भनेको छ। त्यसैले सय वर्ष मेरालागि कुनै सीमाना होइन।"
मेरो स्थूलमतिलाई त जवाफ पुगेको थियो, तर उहाँ रोकिनु भएन, "समयको सीमा एउटा कुरा हो। त्यसदेखि उता पनि अन्धकार छैन, कतैबाट कहालीलाग्दो किसिमले हाम्फाल्नु पर्दैन भनेर हाम्रा ऋषिमुनिहरूले हामीलाई आश्वासन दिएका छन्। हामी कहिल्यै पनि समाप्त हुँदैनौँ भन्ने ठूलो आश्वासन छ हाम्रा सामु। तिमीलाई हात थाप्ने ईश्वर छ भनिदिएको छ। त्यसलाई ईश्वर नभनेर जे भने पनि हुन्छ। ऊर्जा वा महाजीवन भने पनि हुन्छ। त्यहाँ कहालीलाग्दो केही छैन भन्ने चेतना हाम्रालागि महत्वपूर्ण कुरा हो र म पनि त्यसैमा विश्वास गर्छु।"
पला पलामा जति श्वास फेरूँ
म त्यत्ति ताजा बनि विश्व हेरूँ
सधैँभरि नै हरियोपना द्यौँ
नयाँ नयाँ स्वप्न र कल्पना द्यौ
क्यै काम नौलो नगरी नजाऊँ
अकालमै हे, म मरी नजाऊँ
आयुष्य देऊ र भविष्य देऊ
मभित्र जीवन्त मनुष्य देऊ
बुढेससम्मन् पनि ज्यून जानूँ
यो जीवनीको रस प्यून जानूँ
खाई पिई आखिर तृप्ति शेष
हेरी उज्यालो, चिर दीप्ति शेष
हे धर्ति! जीवन्त बनेर बाँचूँ
परन्तु जीवन्मृत भै नबाँचूँ।
(धर्तीमाताबाट)
आज बिहान, उहाँलाई शुभकामना भनेर र उहाँबाट आशिर्वाद लिएर फर्किने बेलामा भीमबहादुर अधिकारी, रमा शर्माहरू पुग्नुभयो। प्रा. डा. हेमाङ्गराज अधिकारी पनि त्यहीँ भेटिनु भयो। मैले प्रस्ताव गरेँ, "पराघौँ, उहाँ १०० वर्षमा प्रवेश गर्ने जन्मोत्सव पछिको वर्षलाई नै उत्सव बनाऊँ है!"
उहाँहरूले हुन्न किन भन्नुहुन्थ्यो र?
त्यसबेला पूर्णिमाको गन्ती १२२५ बाट उकालो लाग्दै गरेको हुनेछ!