भाषामा आतङ्क मच्चाएर भाषाको सत्ता प्राप्त गर्न सकिन्न भन्ने मेरो भनाइ सुनेपछि एक क्रान्तिकारीले मलाई भने, ‘दमनकारी सामन्ती बाहुनवादको जगमा उभिएको नेपाली भाषाको दासत्व भोग्न र सहन परेकोले नै हामी मारकस, लेनिन, र माओजस्ता विश्वका महान् नेता बन्न सकेनौँ।, हामी उनीहरूका अनुयायी मात्र बन्यौं। हामीमा महान् नेता बन्ने क्षमता नभएको कहाँ हो र।’ हरेक कुराको जवाफ हुँदैन। मसँग पनि भएन र म त्यहाँबाट हिँडें।
मलाई भने उनीहरूले भाषा साहित्यको सत्ता कब्जा गर्लान् र मेरो नेपाली भाषा मर्ला भन्ने चिन्ताभन्दा पनि कत्रो मेहनतले बल्ल बल्ल आफूलाई साक्षर कहलाउन सफल भएको मलाई यिनीहरुको यो भाषा आन्दोलन र अक्षर क्रान्तिले कतै फेरि निरक्षर बनाई दिने त होइन भन्ने पीरले लखेट्न छोडेन र यो लेख्दै छु। अर्को जन वर्णमाला या मार्कस वर्णमाला या बिपी वर्णमाला या त्यस्तै अरु केही नयाँ नामको वर्णमालाको किताब लिएर स्कुल भर्ना हुनु पर्ने दिन त आउन लागेको होइन? आफूले दुःख गरी, बाउ आमाको पैसा सिध्याएर, कति गुरुहरूको पिटाइ सहेर लेख्न पढ्न जानेका अक्षरहरु कैयौँ बेपत्ता र अरु कैयौँ अज्ञात सहिद घोषणा भइसकेका छन्। तिनका ठाउँमा आफूले नचिनेका कैयाँै नयाँ अक्षर सौता लाग्न आइसके। यस्तै हुँदै गयो भने आफूले चिनेका सबै सावाँ अक्षरको ठाउँमा नचिनेका सौता अक्षर आउन कति समय लाग्ला र? त्यसो भयो भने म त फेरि निरक्षर हुन्छु।
मैले सिकेको त्यो अक्षर खोइ? जो म पहिले प लेखेर अनि त्यसका अगाडि त्र को सामुन्नेका टुक्रा जस्ता दुई–तीन धर्का तानेर लेख्ने गर्थें। त्यो लेख्न जान्दा पाएको स्याबासी अनि नजान्दा पाएको पिटाइ र कान निमोठाइ झल्झल्ती सम्झन्छु। बिचरा त्यो सधँ अघिल्लो पानाको पनि सबैभन्दा अगाडि सधैँ भेटिने आफ्नो अक्षरको ठाउँमा ‘लौ मै हो तेरो अक्षरको ठाउँमा आएको अक्षर’ भनेर सौतेनी यो अ पो आइलागेको छ। बिचरो त्यो अक्षरलाई कता लगेर मारे कि, कतै थुनेका पो छन् कि, कतै बेचे कि, आजसम्म अत्तोपत्तो छैन।
त्र अक्षर लेखेरै त्यसका दाहिनेपट्टि पहिला एउटा गाँठो पार्ने अनि त्यसको तल ट को तल्लो भाग उल्टो टाँसेर लेखिने मेरो ऋ कुन आन्दोलनमा कुन पक्षले बेपत्ता पार्यो? त्यसको ठाउँमा सौता लाग्न ‘रि’ आएर मै हुँ तेरो ऋ भन्छ। कसरी स्वीकार्नु ? नस्वीकारे के चँै गर्नु ?
रुखमा झुन्डिएको आँप जस्तो डांठमा झुन्डिएको ल अक्षरका मुनि एउटा ट अक्षरको तल्लो भाग टाँसेर लेखिने मेरो लृ र त्यही टुक्रो फेरि झुन्ड्याएर लेखिने ल्लिल्रीलाई कुन पाटीले बेपत्ता बनायो बनायो।
त्यस्तै उता व्यञ्जन पक्षका पनि धेरै ज्ञात अज्ञात सहिद, अपांग, घाइते भएका छन्। ग अक्षरको पहिलो गोड़ो छोटो तर डीकोबाट सोझै झरेको हुन्थ्यो। अब त लेख्नेले बिचरा ग कोमाथि तिघ्रैदेखि बंग्याएर त्यसलाई झन्डैझन्डै त्र जस्तो बनाई सके। त्यति माथिल्लो हरफको ग लाई कति तल्लो हरफको त्र जस्तो बनाएको ? सायद समानता भनेको त्यही होला, माथिकोलाई तल झार्ने अनि तलकोलाई तलै राखी राख्ने। दुई पोखरी छ भनेर सिकेको छ त आजभोलि तीन पोखरी छ जस्तो पो देखिन्छ। पहिलाका दुई पोखरी बीचको डिल भत्काएर अर्को सानो पोखरी जस्तो दाहिनेपट्टि जोडेका छन्।
झ को झगडा अझै टुङ्गो लागेको छैन। साझाको झ के खान हो अजिङ्गरले जस्तो मुख बनाएर बसेको छ। भकारी भ ले २ अङ्कको साथ लिएर म चैँ आधिकारिक झ हुँ भन्दै छ। उहिले नेपालमा प्रेस नहुँदा साझाको झ उता बनारसका छापाखानातिर गएर बेपत्ता भयो अनि त्यसका ठाउँमा यो नयाँ झ सौता बस्न आएको भन्ने बुढापाका भेटेको छु। अब त नेपालमा प्रेसहरु भए। आफ्नो घर फर्किएर आए पनि हुन्थ्यो। उसको एउटा टुहुरो छोरो यता साझाका भित्तामा टाँसिएको टाँसिएकै छ, भित्तो छोडेर एक पाइलो चल्न सक्दैन।
ञ बिचरा झुलुक्क हेर्दा त्र जस्तो देखिने गरी अर्ध भूमिगत भएको छ। अलि टाढाबाट चिन्नै गाह्रो छ। ट र ठ अक्षरको भेट्नु कसले चुडाली दिएर हो डीकोदेखि नै बाङ्गिन सुरु गर्छन हाते लेखाइमा। उहिले ङ सानो फुलीसहित देखा पर्थिन। फुलीसुली कसले लुटी दिएछ अहिले त बिचरा बुच्चै देखिन्छ।
आफूलाई तिन धर्के ण भन्दै सामन्ती पारा देखाउने ण का धर्कासर्का थुतिदिएर अब त एक धर्के बनाइ दिएछन् र बाँकी दुई धर्का बटारेर जोल्ठ्याइ दिएछन्। कानलौरी ध को एकापट्टि काँध माथिको लौरी नै कसैले थुतेर लगिसकेछ। लेखिने न निहुरिएको देख्दा कर्मचारीले नेतालाई नमस्कार गरेको झझल्को आउने भएछ। फ अक्षर बिचरा को पछाडिपट्टिको फुर्को पनि फुस्काइ दिएछन्, अगाडिपट्टिको टीको सानो फुली पनि लुटी दिएछन्।
ब अक्षरको पेट चिराइ पनि कसैले दाहिनेबाट कसैले देब्रे पट्टिबाट चिर्दा रहेछन्। अरु धेरै अक्षरको काँधमाथिको डिको जस्तै बिचरा भ अक्षरको पनि एकापट्टिको डिको बिनै भ्वाङ देखाएर बसेको छ। र अक्षरको बीचमा पर्नु पर्ने गाँठो पनि फुस्किसकेछ। आँप जस्तो भेट्नुसहित झुण्डिनु पर्ने ल एउटा गाँठो एक हातले समाएर लर्केको छ। फ र ड को जस्तै बिचरा व को सानो फुली पनि लुटिदिएछन्। व पनि कहिले ब भएर आउँदो रहेछ, कहिले ब पनि व भएर प्रस्तुत हुँदो रहेछ। बिचराहरुको पहिचान नै संदिग्द भए छ।
विभेदरहित समाज निर्माणमा अगाडि बढेका हामीलाई तालब्य र दन्ते स छुट्याउन खोज्नु भनेको पश्चगमन गर्नु हो। बिचरो त्यो पेट चिरेको ष कहिले चोर आएजस्तो लुसुक्क आइ पनि हाल्दो रहेछ, कहिले उसको सट्टा स र श मध्ये कुनै एउटा आएर उसको ठाउँ कब्जा गरिदिँदा रहेछन्।
एक्लो बिचरा क्षत्री क्ष लाई छद्मभेषी छ र बुढो य को गठबन्धनले अब सफाया गरिदिने तानाबाना बुन्दै रहेछन्। छ र य मिलेर एक्लो बिचरा क्ष को हत्या गर्न तम्सिदा पनि वरिपरि रहेका भद्र भलाद्मी देख्नेले केही नबोलेको देखेपछि ग र य को संयुक्त मोर्चा कसेर बिचरा ज्ञ को हत्या गर्न तम्सिरहेका छन्।
साँवा अक्षरको यस्तो बिजोग छ भने अङ्कहरुको ताण्डव नृत्य पनि कम त्रासदिलो छैन। त्यो पाँचको अंक ५ त आफ्नो बटारिएको पुच्छर र टाउकाको डिको फालेर ताकपरे म अङ्क पार्टीकै प हुँ भन्ने नत्र अक्षर पार्टीकै हुँ भनेर दोहोरो नागरिकता देखाउने भएछ। त्यो देखेर ६ को अङ्क पनि ताकपरे अक्षर पार्टीको नत्र अङ्क पार्टीको हुँ भन्दो रहेछ। ७ को अंकलाइ भने रामदेवको योग ले भेटेछ। कसैका लेखाइ सात शिर्षाशनमा छन् त कसैका सात लमतन्न उत्तानो परेर शवासनमा, अनि कसैका भने हरुवा कुकुरको टाङ्गमुनि छिरेको पुच्छर जस्तो पुच्छरासनमा देखिन्छन्। कसैका आठ अङ्कको बिंड सोझै भएर खेत खन्ने पाते कोदाली जस्तो भने कसैका बिंड ठाडो ताडाशन गर्ने कोशिशमा आकाशतिर फर्किएका देखिन्छन्। ९ अङ्कको नौ रुपका कुरा नगरौं। एकको अङ्क उल्टो लेखे पनि ९, आठको अङ्कमा टुपी थपेर अगाडि फर्काए पनि अङ्क नौ, छ अक्षरले घुँडा नखुम्च्याइ खुट्टा लमतन्न पसारे पनि अङ्क नौ, डाङ्गडुङ्गे ड को डिको झिकिदिए पनि अङ्क नौ, ओहो नौ अंकको नौ नै रुप भएको कुरा नगरम्। धन्न सुन्नाचँै अझै बाटुलो नै रहेछ तर एकभन्दा बढी शुन्नाहरु लहरै उभिनपर्यो भने एकको टुप्पी अर्कोको टुप्पमा गाँसेर मात्रै उभिने नयाँ फेसन चलेको रहेछ।
यसरी जुन भाषाको आधारशिला अक्षर र अङ्कको रुपमा त कुनै मापक निर्धारण गर्न सकिएको छैन भने नेपाली भाषाको कुन चँै लगौंटी समातेर कस्तो चैँ मापक तयार पार्न तम्सिएका होलान् ? एउटा विषय विशेषज्ञले उसका विशिष्ट ज्ञानको आधारमा सिङ्गो देश र समाजलाई उसको विषयका सम्बन्धमा यसो गर्नुहुन्छ र उसो गर्नु हुँदैन भनेर निर्देशित गर्ने हैसियत राख्छ र त्यस्तो निर्देशन सिंगो समाजले स्वीकार्न पर्ने हुन्छ। उदाहरण चाहिन्छ भने ज्योतिष शास्त्रका ज्ञानीले तिथिमिति तोकिदिन्छन र सिंगो समाज त्यही पात्रो अनुसार चल्छ।
नेपाली भाषाका विषयमा ‘यसरी लेखिएको अक्षर, यसरी लेखिएको हिज्जे र यस्तो व्याकरण अनुसार लेखिएको नेपाली वाक्यलाई मात्र मान्यता दिनु दिलाउनु’ भनेर अदालतलाई निर्देशनात्मक सुझाव दिने हैसियतमा बस्नु पर्नेहरु नै उल्टै अदालतसँग नेपाली भाषा कसरी लेख्ने हो, निर्देशन पाऊँ भनेर न्यायालय गुहार्दै छन्। त्यो पनि कस्तो ठाउँमा गएर गुहार लगाउन पुगे भने जहाँ महिलालाई श्रीमान् भनेर सम्बोधन गरिन्छ। जुन संस्था आफ्ना बाध्यताले गर्दा नेपाली भाषा व्याकरणका केही नियम मान्न सक्ने अवस्थामा छैन, त्यही संस्थामा गएर नेपाली भाषा व्याकरणका मापक कस्तो हुनुपर्छ भनेर के सोध्न गएको होला ? यो सबैको परिप्रेक्षमा एउटा विश्वास चैँ के जाग्न थालेको छ भने निकट भविष्यमा यस्तो समाचार पढ्न पाइने पक्कापक्की भयो –पाणिनीवादको झन्डा बोकेर पूर्वतर्फबाट आएका एक हुल भाषाविद्हरु को जमात र पश्चिमतर्फ बाट फाइदावादको झण्डा बोकेर आएका अर्का हुल भाषाविद्हरु बीच झडप हुँदा आज भाषा आन्दोलनमा यति भाषाविद् शहिद भएका छन् भने केही घायल भएका छन्। घायल भाषाविद्हरुलाई उपचार गर्न मानसिक अस्पतालमा भर्ना गरिएको छ’ आजको फलाना पत्रिकामा ढिस्कानाले लेख्नु भएको छ।
ऊ क त स मा चा र प ढ् ने प र षा इ मा। हैट्
अशुभम्।