संसार फिरन्ते साइकलयात्री पुस्कर शाहको पुस्तक पढेपछि मैले ‘उनीसँग चिया खान पाइएला?’ भन्ने आशयको केही शब्द फेसबुकमा पोष्ट गरेकी थिएँ। त्यसैलाई जोडेर केही दिनपछि एक सज्जनले मलाई म्यासेज पठाए- ‘तिमीले पुस्कर शाहसँग चिया खायौ त?’
म कार्यालयको कामले व्यस्त थिएँ, जवाफ पनि त्यस्तै लेखेँ। फेरि उसले म्यासेज पठायो- ‘पुस्कर शाह केटी भने पछि हुरूक्क हुन्छ, तिमीले भेट्छु भन्यौ ऊ आफैं तिमीलाई भेट्नै आउला नि।’
एकछिन म अलमल्लमा परेँ। तर अलमललाई मैले लम्बिन दिईनँ। बरू नमिठो र रूखो जवाफ फर्काएँ – ‘कुनै दिन मैले पनि पुस्करझैं प्रसिद्धी कमाएँ भने शायद तपाईँले भन्नुहुनेछ शितल केटा भनेपछि मरिहत्ते गर्छे। अझ अलिकति थप्न पनि सक्नुहुन्छ–शितल त मेरी प्रेमिका पनि थिइ भनेर।’
अनेपेक्षित जवाफ पाएका साथीले ‘आइ मिन्ट’ सम्म भन्न पाएनन्। मैले उनलाई सफाईको मौका दिनु जरूरी ठानिनँ। बिदा मागेँ।
केही समयअघि एक मित्रले पुस्कर शाह आफ्नो अभिन्न साथी भएकोमा गर्व गरे र उनले यो पनि भन्न छुटाएनन् तिनै पुस्करको विश्व भ्रमणको संस्मरण, ‘संसारलाई साँढे पाँच फन्को’ भने छोराछोरीले पढ्लान भन्ने डरले खाटमुनि लुकाएको खुलासा गरे। उनको टिप्पणी थियो–लाज मर्दो किताब लेखेछ पुस्करले।
बुबाले कस्तो अश्लिल सामाग्री पढेछ भन्ने त्रासले घरमा किताबमाथिनै प्रतिवन्ध लगाएछन्। मैले पनि खोजेर उक्त पुस्तक एकै रातमा पढिसकेँ। तर, किताब पढेपछि मैले त्यस्तो केही अनुचित सामाग्री पाउँदै पाइनँ। मित्रलाई फोन गरेरै भनेँ, ‘तपाईँले भनेको ‘लाजमर्दो’ कुराचाहीँ मैले पुस्तकमा पाइनँ।
मैले भने उनले एउटा राम्रो किताब पढ्नबाट आफ्नो केटाकेटीलाई रोके। मसँगको कचहरीका कारण उनी ठुस्किए।
***
साइकल चढेर विश्व यात्रा गर्ने र यात्रा समापनपछि विश्वको उच्च शिखर चढ्ने तिनै पुश्कर शाहका बारेमा अभि सुवेदीले लेखेका छन्, ‘यो पुस्तक नपढे जीवन पढ्न छुट्छ।’ मेरा प्रिय मित्र र धेरै साहित्य र गैर-साहित्यप्रेमीले भनेका कुरा पनि त्यही हुन्,‘पुस्तकका प्रत्येक हरफहरू जीवन्त छन्।’
पुश्कर शाहसँग बसेर चिया त होइन बरू उनैको हातले बनाएको दहीपानी खाएँ। फेसबुके साथीले भनेजस्तो पुस्कर शाह मलाई मरिहत्ते गरेर भेट्न पनि आएनन्। मलाईनै उनको किताबका शब्द शक्तिले तानेर उनै भएको ठाउँमा पुर्यायो।
म आफैं उनले दिएको समयमा भेट्न गएँ। टेलिभिजनामा देखेभन्दा अलि फरक। दाँयाबाँया कन्चटको भाग हाँस्दा थोरै मुजा पर्न थाल्ने भएका। आँखा पनि उमेर बढेसँगै अलि चिम्सा। परिपक्क तर, शरीरमा जोशिलो र जाग्दो फूर्ति। विश्व घुमेका मुसाफिर आफैंमा एउटा किताव थिए।
पुस्करले आफ्नो किताबमा आफूलाई खुल्ला किताब जसरी नै पस्किए। पुस्कर बोले, ‘वियर र सेक्सलाई हाम्रो समाज लुकेर मात्र मजा लिनु उचित ठान्छ। समाजको समझ विपरित यिनै दुई कुरामा म भने खुल्ला रुपमा प्रस्तुत भएँ। संसारभरि बियर खाइन्छ तर नेपालमा मात्र लुकेर खाने गरिन्छ। यौनको सवालमा त हाम्रो मानसिकता एकदम संकुचित छ। यौनका बारेमा हाम्रो समाजले अपनाएको अनुदारवादी रणनीतिले घाटा समाजलाई नै भएको छ, र हुन्छ।’
किताबको प्रसंगमा उनले थप्न चाँहे– कितावमा जम्मा १४५ फरक शीर्षक छन् जसमध्ये १४ वटा शीर्षक यौन र वियरसँग सम्वन्धित छन्। प्रतिशतका हिसाबले जम्मा ९ प्रतिशत। ९१ प्रतिशतलाई बेवास्ता गरेर कोही मलाई स्त्रीलम्पट वा जड्याँहाको नजरले हेर्छ भने मैले ‘बिचरा’ बाहेक के भनौँ? अभिले पनि सही भने-‘किताब नपढे संसार पढ्न छुट्छ।’
एउटा वैशालु ठिटो संसार घुम्न निस्कन्छ, मानिसका जैविक आवश्यकतालाई कम प्राथमिकतामा राख्दै। बुनेका सपनाहरुलाई केलाउन नपाउँदै संसार घुम्ने धुनमा उसले कति धेरै हण्डर र ठक्कर खायो त्यो पुस्तकमा केही उल्लेख छ, पुस्करको स्मरणमा अंकित छ त्यो भोगाई। जीवन न हो, उतार चढाव भै हाल्छ।
यही जीवनमा कहिले प्रेम हुन्छ, प्रेमीलाई आँखैमा राखु जस्तो हुन्छ। कहिले त्यही प्रेमले चोट दिन्छ, मानौं तेजावको छिट्टा हृदयमा परे जस्तो। पुस्कर शाहले संसारलाई साँढे पाँच फन्को लगाएर सबैलाई जोड्न चाहे। जोड्ने क्रममा कहीँ कतै कसैसँग सम्मोहक प्रकृतिप्रदत्त माया पनि जोडे होलान्। तर, उनको स्पोष्टोक्ति छ –घरबार गरेर बस्ने मेरो उद्धेश्य थिएन र त्यसै कारण पनि प्रेमका टुसालाई बिरूवाको आकार दिन सकिनँ। उनैको भाषामा भन्ने हो भने उनी अहिले अर्धविवाहित अवस्थामा छन् रे।
मान्छे धेरै कुराहरू भावनामा नै उमार्छन्। उनले भावुकतामा एउटा सपना देखे र आमासँग एक सय मागेर विश्व यात्रा थाले। आफ्नो देशको नाउँ उँचो राख्न भनेर एउटा ठिटो पाङ्ग्रा गुडाउँदै संसार घुम्न थालिहाल्यो। ऊ ढुंगालाई सिरानी हालेर निदायो। अरूले खाएर फालेको सुन्तलाको बोक्राले पेट समेत भर्यो कुनै रात उसले।
दसैंको उल्लासले देशलाई छोप्दा ऊ संसारकै सुख्खा साहारा मरुभूमिमा पुग्यो। घर र आमाको सम्झनाले पिरोल्दा साहारा मरुभूमिमा बालुवाकै टिको लगाई दशैँमा आफू एक्लै रमाउने कोशिश गर्यो। तर पनि यो गोर्खे आफ्नो यात्रामा कति पनि बिचलित भएन। र त, हरेक दिन उसले आफ्नो डायरीमा लेख्न भुलेन, ‘संसार कँहाबाट कँहा पुग्यो!’ संसारका सातौं मात्र होइन अनेकौँ आश्चर्यलाई आफ्नै आँखाले, आफ्नै हातले र आफ्नै हृदयले अनुभव गरेको त्यो गोर्खे यात्री अहिले सोच्छ–नेपाल किन सम्भावना नै सम्भावनाले घेरिएर पनि पछ्यौटे युगमा थन्कियो!
उसको निष्कर्ष छ –जबसम्म सोच बदलिँदैन तबसम्म ब्यवहार बदलिँदैन। जबसम्म ब्यवहार बदलिदैन तबसम्म परिवर्तन असम्भव छ। हुन पनि संसारलाई हेरेर पछिल्लो प्रविधि प्रयोग गर्न हामी कति हतारो गर्छौ तर आफ्नो सोच बदल्न हामीलाई पहाड छ। सात समुद्रपारीबाट आएको जात र गोत्र बिनाका गोरालाई छोरी बिहे गरेर पठाउने हामीहरू आफ्नै डाँडापाखा पँधेरामा हुर्केको अर्को नेपालीलाई यो जात र ऊ जात भनेर छोइछिटो गर्छौँ । सोच बदल्न हामीलाई कहिल्यै आवश्यक लागेन।
मानिसका जैविक आवश्यकतालाई किन हामी चरित्रसँग जोड्छौ? पुस्कर शाहले कति रक्सी पियो र कति स्त्रीसँग सहवास गर्यो, त्यो हाम्रो प्राथमिक चासो र सरोकारको कुरो होइन। पुस्करले कसलाई प्रेम गर्यो र कसलाई वास्ता गरेन त्यो पनि हाम्रो चासोको कुरा होइन। न त हामी अरूको सोच र जीवन शैलीलाई बदल्ने क्षमता राख्छौ। हाम्रो सरोकार त यत्ति हो–पुश्कर शाहले साइकल चढेर विश्व भ्रमण गर्यो। उसले विश्वभर तीनकुने झण्डा फहरायो। ऊ आज पनि हाम्रै समाजमा साइकल चढ्दा हुने फाइदा र संसार घुम्दाका आफ्ना अनुभवहरु बाँड्दै अर्को साइलक चढ्ने नयाँ विश्व साइकल यात्रीलाई प्रेरणा दिँदैछ। उसले विश्वका धेरै कुरा फस्र्टह्याण्ड बुझ्न पायो । यो पो हो हाम्रो सरोकारको विषय।
म आलोचक वा समालोचक केही होइन। तर म अर्को मुसाफिर हुँ–काठमाडौंको रामकोटदेखि काठमाडौंको कान्तिपथको एउटा कार्यालयमा ओहोरदोहर गरेर विश्व बुझ्न खोज्ने।
पुस्तकको भाषा र शुद्धाशुद्धीमा मेरो दख्खल र पकड छैन। तर मेरो अनुभव के हो भने यो किताब पढ्ने जो कोही पुस्करसँगै संसार घुम्न निस्कन्छ। पुस्कर शाहले वियर खान्छ, रक्सी पिउन मन नपराउने पाठकले पनि एकैछिनका लागि त्यो तितो झोल घुटुक्क पार्छ। पुस्करले नयाँ केटी साथी बनाउँछ, पाठकले घुमन्तेको रोमाञ्चक प्रेमोत्सवको कल्पना गर्छ। पुस्कर चुम्बन र आलिङगनमा मग्न हुन्छ, पाठकले विश्वप्रेमको रसास्वादन गर्छ। कहाँ छ यार पुश्करको पुस्तकमा नग्नता? बरू छ भने पुस्कर यो अश्लिल समाजमा सबैभन्दा श्लिल छ।
कम्तीमा उस्ले सच्चाईलाई ओकल्ने हिम्मत गर्यो,नभए आजसम्म आफ्नो छलकपटलाई कसले पो सार्वजनिक गर्ने हिम्मत गरेको छ र।