काठमाडौं, भक्तपुर, ललितपुर, दोलखालगायतका विभिन्न स्थानमा मनाइने इन्द्रजात्रा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरेर परम्परागत रूपमा नेवारहरूले मनाउने एउटा मत्वपूर्ण जात्रा हो।
यसलाई नेवार जाति येंयाः (योसीं) भन्दछन्। यो जात्रामा जति रमाइलो हुन्छ, त्यति नै यसले महत्व पनि बोकेको छ। गुणकामदेवको पालादेखि इन्द्रजात्रा मनाउन थालिए पनि यसमा राखिने इन्द्रध्वजको उत्थान भने राजा प्रतापसिंह शाहले गरेको कुरा इतिहासमा उल्लेख गरिएको छ।
भाद्र शुक्ल द्वादशीका दिनदेखि आश्विन कृष्ण चौथीसम्म गरी आठ दिनसम्म मनाइने यो जात्रामा इन्द्रध्वजोत्थान, कुमारी जात्रा, पुलुकिसी नाच, आकाश भैरवको मूर्तिलाई बाहिर ल्याई पूजा गर्ने, अन्य विभिन्न नाच, गान गर्नेपरम्परा प्राचीनदेखि चलिआएको छ। १२ औंदेखि १८ औं शताब्दीतिर निर्मित थुप्रै मठ–मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो।
यो जात्राको विषयमा एउटा रमाइलो किम्बदन्ति प्रचलित छ – एक दिन आफ्नी आमाले वसुन्धराको व्रत लिनुभएको बेला स्वर्गलोकका राजा देवराज इन्द्र आमाको व्रत र पूजाका निमित्त पारिजातको फूल र कर्कलो लिन काठमाडौं आए। मरूटोल, इन्द्रचोकतिरका बगैंचामा पारिजातको फूल राम्रोसँग फुलेको देखेर इन्द्र त्यसतर्फ लागे।
मालीलाई नसोधी इन्द्रले पारिजातको फूल टिप्दा त्यहाँको माली र त्यहाँका बासिन्दाले देवराज इन्द्रलाई चोरको संज्ञा दिई, डोरीले बाँधी, सबैलाई देखाएर मरूटोलमा लगेर बाँधे। इन्द्रलाई त्यसरी बाँधेको थाहा पाएर इन्द्रकी आमा स्वयं त्यस ठाउँमा पुगी छोराको बदला कुहिरो दिने वाचा गरी छोरा देवराज इन्द्रलाई लिएर गइन्।
त्यही कुहिरोले गर्दा धानबाली समयमै पाक्ने हुन थाल्यो र जनजीवन सामान्य बन्दै गयो भन्ने किम्बदन्ति अझै पनि जनजिब्रोमा जीवितै छ। यसै अवसरमा हनुमानढोका क्षेत्रको श्वेतभैरवको मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिबाट इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि प्रारम्भ हुने यो इन्द्रजात्राको राष्ट्रप्रतिको देन पनि अतुलनीय छ ।
लिङ्गो गाडेको तेस्रो दिन अर्थात् यंलाथ्व चतुर्दशीका दिन नेवार समुदायले जिवित मान्दै आएको देवी कुमारी, भैरव र गणेशलाई रथमा राखी काठमाडौंको पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराइनाले सर्वप्रथम जयप्रकाश मल्लले आफ्नो पालादेखि यसमा राष्ट्रप्रमुखको उपस्थितिको प्रचलन चलाए ।
यसै दिन पृथ्वीनारायण शाहले कान्तिपुर शहरमाथि आक्रमण गरेर एकीकरणको क्रमलाई निरन्तरता दिएका थिए ।
इन्द्रजात्राको अन्तिम दिन वसन्तपुरमा लगेर इन्द्रध्वज फहराई, लिङ्गो ढालेर बाग्मतीमा सेलाएपछि इन्द्रजात्राको समाप्ती हुन्छ ।
छैठौं शताब्दीका खगोल–गणितज्ञ वराह मिहिरको ‘बृहत्संहिता’ रएघारौं शताब्दीका राजाभोजको वास्तुशास्त्रीय ग्रन्थ ‘समराङ्गण–सूत्रधार’तथा विभिन्न पुराणहरूमा पनि लेखिएको पाइन्छ कि ‘जसरी देवताहरूको इच्छा पूर्ति गर्नका लागि, राक्षसी शक्तिको नाश गर्नका लागि इन्द्रध्वजाको उत्थान भएको थियो त्यसैगरी कलियुगमा देश विकास, राष्ट्रिय अखण्डता, स्वाभिमानता, विदेशी हस्तक्षेप जस्ता कार्यमा सफलता प्राप्त गर्नका लागि इन्द्रध्वजा फहराउनु आवश्यक मानिन्छ ।’
विभिन्न चित्रकलाद्वारा देवी–देवताको चित्र कुँदेर राम्रो वस्त्रमा विधिपूर्वक पूजा–अर्चना गरी बनाइएको ध्वजाले शत्रूनाश, बुद्धिप्रकाश, देशमा कल्याण, मानव जातिमा स्वच्छ भावना, शूरता, वीरता आदिको वृद्धि गर्नुका साथै ध्वजाको हावा जता फैलिन्छ त्यता डर, त्रासको निवारण गरी शत्रुनाश गर्छ भन्ने मान्यता शास्त्रहरूको छ ।
सर्वप्रथम देवर्षि बृहस्पतिले भगवान् ब्रह्मासँग सोध्नुभयो कि इन्द्रले देवद्रोही राक्षसहरूको संहार गरी विजय प्राप्त गर्न के गर्नुपर्ला? तब सृष्टिकर्ता भगवान् ब्रह्माले बृहस्पतिलाई भन्नुभयो – तिमीहरू मिलेर सम्पूर्ण रत्नहरूको ध्वजा बनाओ र त्यसलाई उपयुक्त मन्त्रहरूद्वारा अभिमन्त्रित गर्न लगाऊ । विभिन्न चित्र अङ्कित गरेर त्यस ध्वजालाई ठीक तरिकाले राखेर देवसेनाको अगाडि लगेर शत्रुहरूमाथि आक्रमण गर, अवश्य जित्नेछौ ।अनि ब्रह्माले बृहस्पतिलाई इन्द्रध्वजको तीन रूपको वर्णन गरेर बुझाउनु भयो । (१) सहस्रधार, (२) रिपुकुलान्तक र (३) दिव्यमय ।
विजयको इच्छा राख्नेवाला इन्द्रले तीनै रूपको समष्टिमा इन्द्रध्वज यन्त्र तयार गरेर शत्रुहरूमाथि युद्धको इच्छा राखे । इन्द्रध्वजको चमक, यसको शक्तिका प्रभावले शत्रुहरूले इन्द्रमाथि मायाजालका अस्त्रहरू वर्षाउन सकेनन् । तसर्थ, इन्द्रले आफ्नो हतियारले सम्पूर्ण शत्रुहरूको नाश गरेर ऐश्वर्य प्राप्त गर्दै त्रैलोक्यको राज्याभिषेक गरे ।
इन्द्रध्वजाको उत्थान गर्ने बेलामा ध्वजालाई राम्रा पताका, तोरण, वनमालाले विभूषित गरेर सद्गुणी व्यक्ति, राम्रा वस्त्र लगाइएका स्त्री–अप्सराहरू, घर–घरबाट जनताहरू पताकालाई विभूषित गर्न जानुपर्दछ भनेब्राह्मणद्वारा अत्यन्त पुण्य वेदको उद्घोष, कलाकारहरूको गायन, नाटक, नाच आदिले विभूषित बनाएर इन्द्रध्वजाले युक्त त्यस रथलाईनगरको परिक्रमा गराउनु पर्दछ ।
त्यसैगरी विजयको लागि सेतो पताकाको प्रयोग गर्नुपर्दछ भने देशबाट रोग हटाउनका लागि पहेंलो पताका प्रयोग गर्नुपर्दछ । हरेकमा जयको कामनाले इन्द्रध्वजा उठाउँदा अनेक चित्रले विभूषित गराउनुपर्दछ भने आफ्नो शस्त्र–अस्त्रको प्रकोपलाई बढाउनका लागि अर्थात् आफ्नो सेना व्यवस्था, हात–हतियारको संयोजन, विदेश प्रतिको दृष्टिकोण आदि इत्यादिका लागि भने रातो पताका हुनु आवश्यक भनिएको छ ।
समराङ्गण–सूत्रधारको तेह्रो अध्यायमा २१२ श्लोकद्वारा इन्द्रध्वजाको परिचय, उत्पत्ति, आवश्यकता, उपयोगिता, महत्व, यसको उत्थान, इन्द्रध्वजोत्थानको फलाफलहरू, इन्द्रध्वजाको लागि उचित हवन, स्वस्तिवाचन, ध्वजोत्थान, ध्वज–चित्रपट, चित्रपट्ट पताका आदिको फलाफल, इन्द्रध्वज–पात आदि इन्द्रध्वजाको बारेमा अनेक चर्चा–परिचर्चा, व्याख्या, सन्दर्भ दिइएको पाइन्छ ।
शाहवंशीय कालमा प्रत्येक युद्धका बेला भगवती देवीको आराधना–पूजा गरेर इन्द्रध्वज तथा ध्वजा–पताका सहित युद्धका सैनिकहरू अगाडि बढ्दथे । राज्यमा युद्धको अवस्थामा जीतको आवश्यकतालाई परिपूर्ति गर्न सहयोग गर्ने इन्द्रध्वजलाई जयप्रकाश मल्लले आफ्नो देशको विकास, समृद्धि तथा उच्च अभिलाषाका साथ इन्द्रजात्रामा प्रयोग गरेका थिए ।
त्यही समयबाट अहिलेसम्म इन्द्रजात्रामा इन्द्रध्वजको प्रयोग हुँदै आइरहेको छ । त्यसमा पनि इन्द्रध्वजको प्रयोग किन गरिएको हो भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन र कसैले चाख पनि देखाएका छैनन् । राष्ट्रको उन्नति, राष्ट्रको गरिमा, सार्वभौमिकता, सार्वभौम सत्ता, स्वत्व, स्वतन्त्रता आदि देशको जुन गरिमा अद्यावधि विद्यमान छ त्यसको श्रेय नेपालमा मनाइने चाडपर्वलाई पनि जान्छ ।
अहिलेको परिवेश जनता आ–आफ्नो घर–परिवारमा व्यस्त रहेको अवस्थाले ग्रसित छ । त्यसमा थाहा पाएर वा नपाएरै भए पनि देशको लागि, राष्ट्रको इज्जतको लागि गरिएको राम्रो कामले सधैं देशलाई बचाउन प्रेरित गर्दछ । ध्वजोत्थानले हरेक मुटुमा देशप्रेम छर्न सक्छ । तर, अहिले इन्द्रजात्रामा आएको विकृति, इन्द्रध्वजको अपर्याप्त श्रृङ्गार, मन्त्र, विधि, पताका, ध्वजा, लिङ्ग आदिको अपरिपक्व व्यवस्थाले गर्दा त्यसले जति विकास र उत्थान हुनुपर्ने त्यति हुन नसकेको महसुस हुन्छ । इन्द्रध्वजको उत्थानले देशमा आइपर्ने सङ्कट, युद्ध, दुर्घटना, हत्या, हिंसा, रोग, व्याधी आदिको निवारण गर्दछ भने शूरता, वीरता, आत्म गौरवता, स्वाभिमानता आदि राम्रा पक्षहरूतर्फ बल प्रदान गर्दछ ।
त्यसैले, हरेक चाडपर्वलाई सही र व्यवस्थित ढङ्गबाट मनाउने र त्यसले देशमा हुने राम्रो पक्षलाई सम्झेर लगावपूर्ण सहभागिता दिने हो भने इन्द्रजात्रा जस्तै घोडेजात्रा, गाइजात्रा, बिस्केटजात्रा आदि प्राचीनकालदेखि चलिआएका अर्थपूर्ण र गम्भीरभाव बोकेका जात्राहरूको प्रयोगले पनि देश विकास र शान्ति कायममा मद्दत पुग्छ कि ?