‘बुवा यो तपाईंलाई।’
नयाँ लुगा दिनेबित्तिकै खुरुक्क लगाउनु भयो।
दिएको खानेकुरा खुरुखुरु खानुभयो।
अझ अचम्मको कुरा त आफैं अघि सरेर भन्नुभयो, ‘ल अब फोटो खिच।’
पोहोर बुबाको मुख हेर्ने दिनको कुरा गर्दैछु म। साह्रै आज्ञाकारी बालक जसरी उहाँ हाम्रो औपचाकिरतामा सहभागी हुनुभएको थियो। बिरामी बुबाका अनुहारमा देखिएको मुस्कान र उत्साहको सञ्चारलाई कैद गर्न म पनि हौसिई रहेँ। मनमा भने अलिकति कौतुहल थियो, कहिल्यै फोटो खिच्न जाँगर नगर्ने मान्छेलाई आज किन यति धेरै रमाइलो लागेको होला!
उत्तर अहिले पाउँदैछु।
त्यस्तो मीठो र आत्मीय क्षण हाम्रो जीवनमा सकिँदै रहेछ।
बुबालाई सायद त्यसको पुर्वाभास थियो। क्यामराको मेमोरीमै सही, उल्लासको घडी संगालि राखुन् भनेर उहाँ तयार हुनु भएको रहेछ। एकदमै कम बोल्ने उहाँका अभिव्यक्ति सांकेतिक हुन्थे। खै कति बुझ्यौं, कति बुझ्न सकेनौं जीवनमा।
बुबाको मुख हेर्ने दिन सामाजिक सञ्जालमा धेरैले आफ्ना बासँगका स्मृति पोखेको देखेँ। अनि त मेरो मनको बाँध के सक्थ्यो सम्झनाका खहरे रोक्न।
...
मेरा बुवा आफ्नो होइन सन्तानका खुसी र आकांक्षा पूरा गर्नै हरसमय तल्लिन हुनुभयो। प्रायः सबैका बुबा यस्तै हुन्छन्। तर, उहाँ अलिक फरक हुनुहुन्थ्यो। यस्तो हुनुपर्छ, यस्तो हुनु हुँदैन। यो यो गर, यो यो नगर भनेर कहिल्यै ‘आचारसंहिता’ बनाइदिनुभएन। जिम्मेवारीसहितको स्वतन्त्रता र त्यसको उपभोग गर्न आफैं सक्षम छ भन्ने विश्वास थियो उहाँमा सायद।
‘पढेर काममा गएन भन्दै बाले किताब अँगेनामा हाल्दिनुभो, पढाइ सढाइ खरानी,’ ३ कक्षाको मेरो नयाँ किताबमा गाता हाल्दिँदै गर्दा अचानक उहाँको मुखबाट निस्किएको थियो। नभए उहाँले कहिल्यै घर परिवारको बारेमा खुलेर गुनासो गर्नुभएन। तर म बुझ्थेँ बुबाको मनभित्र थुपै कुरा छन्। कुनै दिन तपाईंका स्मृतिका कथा लेख्छु नि बुबा भन्दा कति दंग पर्नुहुन्थ्यो। हौसिदै भन्नुहुथ्यो, ‘मैले गरेका दुःख त भनिसाध्यै छैन। किताबमा लेखेर कहाँ रित्तिन्छ र?’
दुर्भाग्य त्यो फुर्सदिलो समय न बुबालाई आयो न मलाई नै।
६० वर्षमै ब्यथाले उहाँलाई यसरी समायो, जीवनमा कहिल्यै हार नखानुभएको बुबा अन्तिममा निकै गल्नुभयो। त्यही समय आएर बल्ल महशुस भएथ्यो जस्तो लाग्छ ‘मैले सारा जीवन सन्तानलाई दिएँ, आफ्नो लागी कहिले पो बाँचे र?’
हो, उहाँ विल्कुलै बाँच्नुभएन आफ्नो लागि। जब आफ्नै लागि बाँचौला भन्ने सोच्दै हुनुुहुन्थ्यो, निष्ठुर र क्रूर दैवले त्यो अवसर दिएन। बिमारले थला परेर बस्नुभएथ्यो। सुगर र प्रेसरले थलिएको त्यो शरीरमा प्रत्येक दिन सुई रोपेको देख्दा मेरो मानसपटल खल्बलिरहन्थ्यो, म मनमनै विक्षिप्त हुन्थेँ, तर तपाईंलाई हौसला दिन म राम्रा कुराहरु मात्रै सुनाउँथे। अहिले त तपाईले त्यो पीडाबाट मुक्ति पाइसक्नुभाको छ।
अहिले त्यो सुई छैन, त्यो औषधिको रुटिन छैन। मात्र शान्त मुद्रामा तपाईं घरको भित्तामा हुनुहुन्छ। प्रत्येक दिन म तपाईंसँग मौनसंवाद गर्छु। तपाईंलाई बोल्न मन लागे सपनामा आफैं आउनुहुन्छ। सम्बन्ध र सामीप्य देहातीत हुन्छ भन्थे, बुझ्दैछु अहिले।
तपाईं मैभित्र त बाँचिरहनुभएको छ। तपाईंकै रगत बगेको छ ममा, तपार्इंंकै प्रेरणा छन् मनमा। तपाईंकै अथक संघर्षबाट आर्जित वैभवमा बसेकी छु। तपाईंकै देन, समर्पण र आर्शिवार्दले भरिएकी छु।
सम्झाएकी छु आजभोलि आफैंलाई, संसार नाशवान छ, शरीर नाशवान छ, मृत्यु अजेय छ। तपाईं जहाँ हुनुहुन्छ, भोलि म त्यही ठाउँमा आइपुग्नेछु। मात्र धर्तिमा तपाईं पहिला आउनुभयो, म पछि आएँ तपाईंकै पदचापमा। फेरि पनि त्यही पदचाप पछ्याउँदै आउनेछु। आत्माको अतृप्तता तपाईंसँग बसेर पूरा गरौला।
समाजसेवी दिलशोभा श्रेष्ठकोमा तपार्इंको मासिक तिथिमा जाँदा एउटी नेवार आमाले भन्नुभएको थियो, ‘नानी, तिम्रो बुबा त स्वर्ग गइसक्यो।’
हो बुबा, तपाईं स्वर्गमा हुनुहुन्छ, त्यहीँबाट छोरीलाई आशिर्वाद दिइराख्नुस्।
जति सम्झाए पनि अल्पायुमै तपाईंको लेखा यो जगत र हाम्रो लेखा तपाईं सकिएको पीडा बल्झिहाल्छ। सामाजिक सञ्जालमा एक दिन दाजु शिव गाउँलेले ‘मेरो ८४ बर्षे बुबा पत्रिका पढ्दै’ भनेर फोटो हाल्नुभयो।
फोटो देख्नेबित्तिकै मैले आफ्नो बुबा सम्झिएँ, काश मेरो बुबा भइदिइएको भए यसैगरी पत्रिका पढन्नुहुँदो हो। यस्तो लेख्या रैछ नी भनेर सुनाउनुहुँदो हो। मैले भनेँ, कति भाग्यमानी तपाईं, यति उमेरसम्म बुबा भनेर सम्बोधन गर्न पाउनुभएको छ। सबै सन्तानमा त्यो सौभाग्य कहाँ हुन्छ र ?
...
सन्तानका खातिर बुबाआमाले के गर्न सक्दैनन्? अनि त्यही सन्तानले बुबाआमाको खातिर के गर्छन् ? जीवनमा सारा संघर्ष र समर्पण छोराछोरीका लागि गर्छन् हरेक बुबाहरु। आमा जस्तो खुलस्त हुँदैनन् बुबा, तर एउटा कमलो मन सधैं रहन्छ भित्री कुनामा कतै। साँच्चै बुबा परिवारको दियो हुन् जो आफू मुनिको अन्धकारमै पनि बलेर परिवारलाई उज्यालो छरिरहन्छन्।
बुबा परिवारको मियो हुन्, जो बलियोसँग अडिएर सबैलाई आफ्नै गति प्रदान गर्छन्, साँच्चै बुबा अभिभावक हुन् जो बिनास्वार्थ सबैको खुसी चाहन्छन्। बुबा हुनु र नहुनुको फरक त गुमेपछि मात्रै थाहा हुने रहछ। त्यसैले बुबा हुने सबैलाई मेरो यत्ति आग्रह छ, बुबाको आँखाको भाव बुझ्नुस। उहाँको मन पढ्नुस्। हामी साना हुँदा कसरी इच्छाहरु पूरा गर्न खटिनुहुन्थ्यो, त्यत्ति बुझै जुन तपाईं अहिले आफ्ना छोराछोरीलाई गर्नुहुन्छ। एकपटक गएपछि त्यो छत्रछायाँ तपाईले लाखौं बिन्ति गरेर पनि पाउनुहुन्न, त्यो अभावको पूर्ति कहिल्यै हुँदैन। त्यो अकाट्य सत्यलाई आत्मसाथ गर्नुस, चित्त कत्ति नदुखाउनुस बुबाको।
आफूलाई जन्म दिनेलाई पनि खुसी बनाउन सकिँदैन भने जीवनमा अरु कसबाट खुसी खोज्ने अपेक्षा गर्नुहुन्छ? अन्तिम गुनासो रहेर बुबा जान सक्नुहुन्छ, त्यो गल्ती कहिल्यै नगर्नु। माया गर्नुस्, सम्मान गर्नुस्, मिठो बोल्नुस्, बुबा सन्तानबाट अरु केही चाहँदैनन्। बुबा कतै जाँदै हुनुहुन्छ भने सोध्नुस, बुबा खर्च छ? तर बुबासँग नै हुन्छ खर्च। बुबाले खोक्नुभयो, सोध्नुस्, बुबा सञ्चो भएन, औषधि ल्याइदिउँ? औषधी बुबाले ल्याइसक्नुभाको हुन्छ। तपाईं विदेश जानुभयो, बुबालाई सोध्नुस, बुबा हजुरलाई के ल्याइदिउँ? बुबाले भन्नुहुनेछ, मलाई केही पर्दैन, सबै चिज छ, बरु आफ्नो ख्याल गरेस्। यस्तै सामान्य कुरा हुन्, बुबाप्रति देखाउने ब्यवहार, जसले बुबाको चित्त सदा प्रसन्न रहनेछ। बुबा हुनेहरुका औंशी झलम्मल हुन्छन्, बाँचुञ्जेलका हरेक दिन यस्तै उज्जवल बनाउनुस्।
मलाई यत्तिमा आत्मसन्तुष्टि छ जीवनभरी जसका लागि मरिमेट्नुभयो, त्यो माया, त्यो आत्मीयता र त्यो समपर्णको गुण तिर्न मैले कुनै कसर बाँकी राखिन। मात्र गुनासो यत्ति रह्यो, तपाईं कम बाँच्नुभयो, तपाईंको महाप्रस्थान अप्रत्यासित, अकल्पनीय र मर्माहत क्षण थियो मेरो। तपाईंसँग नजिकै बसेँ, पानी खुवाएँ, औषधी खुवाएँ, अन्तिम समयअघि मैले टाउको सुम्सुम्याएँ। सकारात्मक रुपमा हेर्दौ मैले गरेका कर्मका फल हुन्, थोरै समय सही मैले यति गर्ने सौभाग्य पाएँ। अन्तिम साससम्म थिएँ तपाईंसँगै।
अँध्यारो औंशीमा बुबा भेटेपछि पूर्णिमाको उज्यालो मिल्थ्यो, अबका त औंशीमात्र होइन पूर्णिमा पनि चुक घोप्ट्याएझैं अन्धकार हुन थालेको छ। जीवनको ज्योति निभेको छ, कहिल्यै नबल्ने गरी। उज्यालो छ त केवल पोहोरको त्यही फोटो, जसमा बुबा शालिन मुस्कान छरिरहनुभएको छ।