‘खेमको असामयिक निधनले मुलुकलाई अपुरणीय क्षति’
‘म स्तब्ध भएँ’
‘उहाँ असल व्यक्तित्वका धनी हुनुहुन्थ्यो’
यो पक्कै पनि दुःखद् समाचार थियो। जतिबेला गायक खेम गुरुङको निधनलाई लिएर सामाजिक सञ्जाल र मिडियामा यस्ता कुराहरू आइरहेका थिए त्यतिबेला मेरो मनमा भने एउटै कुरा खेलिरहेको थियो, ‘यस्तो अल्पायुमा जानै नपर्ने जिन्दगी गयो। एउटा जीवन र प्रतिभाको अनाहकमा अन्त्य भयो।’
म खेम गुरुङलाई व्यक्तिगत रुपले चिन्दिन थिएँ। तर, एउटा गीतले भने उनीसँग मलाई दह्रोसँग जोडिदिएको थियो। हो, त्यही गीत, ‘वारि जमुना पारि जमुना।’
नेपाली गीतको इतिहासमा यो सम्भवतः सबैभन्दा हिट गीत थियो। त्यसो त खेमले अरु गीतहरू पनि नगाएको वा थप एल्बमहरू पनि ननिकालेका होइनन्। तर, दुर्भाग्यवश उनको पहिचान ‘वारि जमुना’भन्दा माथि उठ्न सकेन। उनले कोसिस नगरेका होइनन्। तर, हामी श्रोताहरूले उनलाई ‘पारि जमुना’ भन्दा अगाडि स्वीकारै गरेनौं र एउटा सिसाको बाकसमा यसरी थुनिदियौं कि ‘गजबको एउटा गीतका गायक’कै रुपमा उनी रहिरहे।
खेमका थुप्रै प्रारम्भिक म्युजिक एल्बमहरू ‘म्युजिक नेपाल’बाट निस्केका थिए। जतिबेला उनको पहिलो एल्बम ‘जीवन–१’ निस्केको थियो त्यतिबेला म रेडियोमा काम गर्थें। त्यो एल्बमलाई कसैले ध्यानै दिएन। त्यत्तिकै हरायो। त्यसपछि आयो ‘जीवन–२’। तर, यसको भाग्यमा पनि अघिल्लो एल्बमजस्तै गुमनाम हराउने रेखा कोरिइसकेको थियो। नेपाली संगीतको बजारलाई त्यतिबेला क्यासेट चक्काले धान्ने गरेको थियो। न चक्का बिके, न कुनै मिडियामा यसको चर्चा चल्यो।
एल्बम निस्केको महिनौं बितिसकेपछि जब सबैथोक सामसुम भइसकेको थियो, अचानक त्यसैको एउटा गीत ‘वारि जमुना’ले बजारमा लोकप्रियताको शिखर चढ्न सुरू गर्यो। कसरी? यस विषयमा अरुले दिएका तर्कहरू पनि होलान्। तर, यहाँ म आफ्नै अनुभव राख्न खोज्दैछु।
त्यतिबेला म र मेरा साथीहरूले मिलेर एकजना मित्रका निम्ति ‘ब्याचलर पार्टी’ आयोजना गरेका थियौं। पार्टी सकिनै लाग्दा हामीमध्येका एक जना साथीले भने, ‘डान्स रेष्टुरेन्ट जाऔं न।’
त्यो समय काठमाडौंमा डान्स रेष्टुरेन्टको प्रचलन अकाशिएको थियो। च्याउ उम्रेजस्तै त्यस्ता रेष्टुरेन्ट जताततै भेटिन थालेका थिए।
रात गहिरिएको मात्र होइन, हामीमध्ये अधिकांश साथीको शरीरमा मात्राभन्दा बढी मदिरा प्रवेश गरिसकेको थियो। तैपनि डान्स रेष्टुरेन्टको मादक शब्दले सम्मोहन लगाएपछि हामी सबै तयार भयौं र टेकुस्थित एउटा रेष्टुरेन्टमा पुग्यौं। त्यो रेष्टुरेन्टको नाम त याद छैन तर केही तल्ला चढ्नु परेको थियो। त्यो रात रमाइलोसँग बित्यो र ‘ब्याचलर पार्टी’को निहित उद्देश्य पनि त्यहाँ मजैसँग पूरा भयो।
लगभग सबैजसो बलिउडका ‘आइटम’ र रेष्टुरेन्टका ‘आइटम नर्तकी’का चमत्कारहरूमाझ एउटा विचित्रको प्रस्तुतिले चाहिँ मेरो ध्यान खिच्न सफल भयो। परम्परागत नेपाली पहिरनमा एउटा ठेट गाउँले भेषका बृद्ध मञ्चमा देखापरे। सेतै कपाल फुलेका ती बृद्धले ‘अहम्’ गर्दै खोकेको हामी वरपरका स्पीकरमा सुनिन थाल्यो। मेरो निम्ति त्यहाँ फैलिरहेको धुन युनिक थियो भने डान्स बारको जुन प्रकारले परिवेश बनाइएको हुन्थ्यो त्यसभन्दा यो प्रस्तुति बेग्लै र रोचक पनि देखिन्थ्यो। ‘वाउ...यो के हो?’ मेरो मुखबाट त्यतिबेला हठात् निस्केको थियो। यो जे भए पनि प्रारम्भिक धुन र मञ्चमा फेरिँदै गएको दृश्य गजब लाग्यो।
त्यसको लगत्तै मञ्चमा ती बृद्धलाई परम्परागत नेपाली पोशाकमा सजिएका नर्तक र नृत्यांगनाहरूले घेर्न थाले। यी तिनै नृत्यांगनाहरू थिए, जसले अघिल्ला प्रस्तुतिहरूमा हामीलाई अलग पहिरनमा फरक किसिमले नाचेर बेग्लै स्वाद चखाएका थिए भने अहिले फेरि यो पहिरनदेखि नृत्यसम्मको भद्रतामा अर्कै आनन्दको सयर गराउन थालेका थिए। मौलिक र हामी सबै रमाउने नेपाली स्वाद थियो यो। गीत र नृत्य सुरू भएपछि त झनै मन डुब्न थाल्यो, ‘हा...एकादशी बजारैमा...फन्के रोटी थालमा हो एकादशी बजारैमा...।’
यो गीतको मेलोडी र नृत्य असाध्यै राम्रो थियो। हामीमध्येका कतिपय साथीहरू चाहिँ ‘यो डान्स बार हो कि सांस्कृतिक कार्यक्रम हो?’ भनेर प्रश्न गरिरहेका थिए। म भने त्यस रातका अघिल्ला सबै आइटम डान्सहरू बिर्सेर त्यो अन्तिमकै प्रस्तुति मनमष्तिष्कमा राख्दै घर फर्केको थिएँ।
भोलिपल्ट बिहान उठ्नेबित्तिकै पनि मेरो मुखबाट त्यही गीतको धुन निस्किरहेको थियो। त्यसका सबै शब्द नजाने पनि मैले अनायासै गुनगुनाइरहेको थिएँ। मलाई त्यतिबेलै लागेको थियो, ‘यो गीतमा केही छ...कुनै चमत्कार छ।’
त्यतिन्जेल मैले त्यो गीत कुनै पनि माध्यमबाट सुनेकै थिइनँ। मेरो डान्स रेष्टुरेन्ट अनुभवको केही महिना पनि नबित्दै त्यो गीत त काठमाडौंका अधिकांश डान्स रेष्टुरेन्टहरूले अन्तिम प्रस्तुतिका रुपमा देखाउन थालिसकेका थिए। मध्यरातमा यस्ता डान्स देखाइने काठमाडौंका जुवाघरदेखि पार्टीहरूसम्म। र, यदि मेरो अनुमान सही हो भने यो नै यस्तो झिल्को थियो, जसले वनमा लागेको डढेलोजस्तै त्यस गीतलाई लोकप्रियताको चरम चुलीमा उकाल्दै लग्यो। बाँकी, इतिहास साक्षी छ।
यो एउटै गीतले खेमलाई धेरैतिर पुर्यायो। यस गीतका रेकर्डेड ट्रयाक बोकेर उनी देश र विदेशका कुनाकाप्चासम्म पुगे। यस्ता यात्रा कति व्यापक घेरामा भयो होला भनेर त हामी अन्दाज मात्र पनि लगाउन सक्छौं। कुनै पनि नेपाली कलाकारले सपनामा देख्ने गरेका जति पनि नाम, दाम र चर्चा होलान् त्यो सबै त उनलाई यही एउटै गीतले जुराइदिएको थियो।
मलाई खेमको व्यक्तिगत जीवन कस्तो थियो भन्ने थाहा छैन। तर, यस किसिमको सफलताले मानिसलाई दुर्भाग्यको बाटोमा पनि डोर्याउन सक्छ। उनले दसभन्दा बढी एल्बम निकाले। सक्दो प्रयास र मेहनत पनि लगाए। तर, जति गरे पनि उनको त्यो एउटै गीतभन्दा माथि उनी उक्लनै सकेनन् र हाम्रो लागि ‘एउटा गजबको गीतका गायक’ कै रुपमा रहिरहे।
संखुवासभाबाट उदाएका एक लोकगीतका अभ्यासकर्ता रातारात स्टार भए। र, जतिन्जेल रात थियो उनी चम्किरहे...तर, प्रकृतिको नियम त चलिरहन्छ... उनको चम्किलो रात कायम रहेन। जब उनले देखे ताराहरू विस्तारै मध्यम हुनथाले, उनको ओह्रालो धेरै पर थिएन। दुर्भाग्य, उनको तीब्र ओह्रालो सुरू भयो।
धेरै कलाकारका निम्ति यो स्वाभाविक भोगाइ हो। कलाकारका रुपमा सबैले यो कुरा बुझ्नै पर्छ। श्रोता र दर्शक तिनै हुन् जसले तपाईंलाई असाध्यै माया गर्छन् र कुनै पनि बेला यस्तो आइदिन सक्छ कि उनीहरू नै तपाईंको निम्ति सबैभन्दा क्रुर बनिदिन्छन्। आफ्नो हात उनीहरूलाई सुम्पेको बेला तपाईंलाई लोकप्रियताको शिखरमा पुर्याउने काम पनि उनीहरूले नै गर्छन् भने कुनै बेला यस्तो आइदिन्छ, तपाईंको पतन पनि त्यसरी निश्फिक्री सुम्पिएको हातकै कारण तपाईंबाट थकित उनीहरूले नै गराइदिन्छन्। के भइरहेको छ भन्ने थाहा पाउँदा नपाउँदै तपाइँ लडिसक्नुभएको हुनेछ।
जब तपाईं सफलताको शिखरमा रहनुहुन्छ त्यतिबेला पनि तपाइलाई आफू उभिएको भूमि कतिपय मामलामा असहज लागिरहेको हुन्छ। तपाईं अझ उड्न चाहनु हुन्छ। तर, हरेक असफलतासँगै तपाईं अर्को एउटा काम पनि गर्नुहुन्छ ‘उड्नका निम्ति तात्कालिक सहयोग जुटाउने।’ यस्ता तात्कालिक सहयोगहरू धेरै किसिमबाट प्राप्त हुन्छन्, जुट्छन्। र, यस्तै सहयोगहरूको लहरमा मिसिएर आउँछ रक्सी वा लागुऔषधको प्रयोग।
म यो विषयको विज्ञ त होइन। तर, धेरै कलाकारहरूको जीवन नजिकबाट हेरेको र उनीहरूका बारेमा पढ्दै गरेको आधारमा मलाई मेरो निष्कर्ष वास्तविकताको नजिक नै छ जस्तो लाग्छ। मैले भर्खरै पनि एक चर्चित कलाकारलाई यस्तै कुरामा राम्रो सुझाव दिन खोज्दा उनले ‘म मेरै पारामा रमाउन चाहन्छु भने मेरो बारेमा मूल्यांकन गर्ने तिमी को हौ?’ भनेर तीतो उत्तर फर्काए। हो पनि, म को हुँ र उनलाई सुझाव दिने? तर, एउटा साँचो संगीतप्रेमीका रुपमा जब म कोही कलाकारले ओह्रालोको गन्तव्य समातेको देख्छु, मलाई दुःख लाग्छ नै।
विदेशमा यात्रा गर्दा नेपाली कलाकारहरूले असाध्यै चर्को हिनताबोध गर्नुपर्ने हुन्छ। म कलाकार टोलीसँग विदेश पुगेका बेला प्रायः मानिसका मुखबाट सुन्ने गर्छु, ‘फलाना फलाना ठूला भनिने गायक त मेरो बैठकमै बसेर गीत सुनाउँथे’, ‘नेपालका फलानी चर्चित हिरोइनले त ऊ त्यही कोठामा नाचेर मेरो महफिललाई रमणीय पारिदिएकी थिइन्।’
र, यी सबै बेला म बुझ्ने गर्छु त्यहाँका आयोजकहरूले बाध्य पारिदिएपछि उनीहरूले तयार पार्ने यस्ता परिस्थितिलाई निरीह कलाकारले कसरी स्वीकार्छन्। त्यसरी आयोजित कोठे कार्यक्रमहरूमा गरिएका लोकप्रिय कलाकारका भिडियो रेकर्डहरू हेरेर म धेरैपटक बिचलित भएको छु।
भिडियो रेकर्ड त कन्सर्टकै पनि दिक्कलाग्दा हुन्छन्। धेरैजसो कार्यक्रमहरूमा स्टेजमा नभई नहुने आधारभूत स्तर त परै जाओस् कलाकारको मर्यादालाई सुहाउँदो वातावरणसमेत ख्यालै गरिएको हुँदैन। अधिकांश नेपाली कलाकारहरूले साथमा म्यानेजर वा एजेन्टबिना नै विदेश यात्रा गर्ने भएकाले त्यहाँका स्थानीय आयोजकले अनेक तरिकाबाट गर्ने भावनात्मक ‘ब्ल्याकमेल’का सामुन्ने उनीहरू स्वयंलाई समर्पित हुन बाध्य हुन्छन्। ‘टिकट बेचिसकेका छौंं’, ‘दर्शकहरू आइसकेका छन्’, ‘तपाईंको अनुकूल हुनेगरी स्टेजको व्यवस्थापन भएन मान्छौं, तर जे–जस्तो भए पनि प्लीज गएर गाइदिनुस् दाइ’...यस्ता रोइलोहरू सुरू भएपछि कलाकार बाध्य भएर स्टेज चढ्छन्।
यस्तो क्रम दोहोरिँदै, तेहरिँदै गएपछि कलाकारहरूले पनि सोच्न थाल्छन्, ‘जे जस्तो भए पनि यदि यसबाट मैले पैसा पाइरहेकै छु भने किन स्तरको वास्ता गर्ने?’ हो, यहीँबाट समस्या सुरू हुन्छ। उनीहरूको दिमागले त यसलाई ‘व्यावसायिक सम्झौता’ भनिदेलान् तर मनले भने त्यहाँको व्यवहारलाई खेपेर हिनताबोध गरिरहेकै हुन्छ। त्यतिबेला दिमागले भन्छ- मनलाई थिचेर बढ। र, त्यो बेला नै सबैभन्दा ठूलो सहयोगीका रुपमा आइपुग्छ रक्सी। कलाकारहरू सबैथोक भुलेर रक्सीले झुम्म पर्दै स्टेजमा उक्लिन्छन्। डार्करुमको अँध्यारोमा आँखालाई कालो चश्माले ढाकेर उनीहरू सबैथोक लुकाउन खोज्छन्। एकछिनको निम्ति त मदिराको नशाले आफू परिस्थितिलाई काबुमा राख्न सफल भएको ठान्लान्। तर, उनीहरू कस्तो दलदलमा फँसिरहेका छन् भन्ने चाल पाउँदैनन्। अगाडि बढिरहेको जस्तो त लाग्ला, तर यथार्थमा यो डुबानले विस्तारै डुबाउँदै लैजान्छ।
मैले कतिपय यस्ता घटनाहरू पनि सुनेको छु जसमा कलाकार अत्यधिक नशाले धुत्त भएर स्टेजमै चढ्न पनि सक्दैनन्। कतिपय आयोजकले मलाई नै भनेका पनि छन्, ‘फलाना हिरोइन त यस्तरी मातेकी थिइन् कि उनलाई हामीले बोकेर सुत्ने कोठामा लगिदिएका थियौं।’
यस्ता कुराहरू जब उनीहरूले महसुस गर्न थाल्छन् अर्कोतिर फेरि अर्काखाले विचित्रका उदाहरण पनि उनीहरूकै मनमा जन्मन थाल्छन्। ‘नारायणगोपाल, अम्बर गुरुङ र हरिभक्त कटुवाल चाहिँ कस्ता थिए? रक्सीबिना उनीहरूको कल्पना गर्न सकिन्छ? यी महान गायक, संगीतकार र कविहरुको मुड त रक्सीले नै जगाउने गथ्र्यो। हामीले पनि त उहाँहरूकै पदचिन्ह पछ्याइरहेका हौं।’
गजब। तर्कमा दम छ। हामी यस्तो संसारमा बाँचिरहेका छौं जहाँ कलाकारलाई जीवित होइन, उनीहरूको मृत्युपछि महान बनाएर पुज्न रुचाउँछौं। नारायण दाइ र अम्बर दाइले फलाना भट्टीमा खोयाबिर्के रक्सी पिउने गर्थे भनेर हामी त्यसका चर्चा गर्ने र समाचार लेख्ने गर्छौं। रक्सीसँग जोडिएका थुप्रै कलाकारहरूका कथालाई अझ सुस्वादु बनाएर हामी प्रस्तुत गर्छौं। जँड्याहा मिथहरूमा रमाउँछौं। र, उदाउँदा कलाकारहरूले जब–जब आफू अभरमा परेको महसुस गर्छन् यस्तै तर्क र कथालाई समातेर अत्यधिक मदिराको कूलतमा पर्न प्रोत्साहित हुन्छन्।
हामीले धेरै परिचित नेपाली कलाकारलाई रक्सीको कूलतकै कारण मृत्युवरण गरेको देखेका छौं। लगुऔषध र एचआईभीका केस पनि छन्। तर, जब थप एउटा प्रतिभा फेरि यस्ता कुराकै कारण हामी बीचबाट गुम्छन्, हामी फेरि पनि यो अँध्यारो पाटोको चर्चा गर्न चाहँदैनौं। मृत्यु भइसकेपछि हामी उनको कसरी देवत्वकरण गर्ने भन्ने होडबाजीमा यस्तरी लाग्छौं कि उनका खराब पाटाहरूको चर्चा पनि गर्न आँट गर्दैनौं। मरिसकेका मानिसका नकारात्मक पाटो खोतल्दा समाजले के भन्ला भनेर हामी डराउँछौं।
छेउमा लाश भएर ढलेका साथीलाई के भयो भनेर हामी बोल्न हच्किन्छौं र एउटा नाटकको पात्र जस्तै आफैँले आफैँलाई ढाँट्दै प्रेसका सामुन्ने भन्छौं, ‘उहाँ महान कलाकार हुनुहुन्थ्यो’, ‘संगीत क्षेत्रकै निम्ति यो अपुरणीय क्षति भयो।’ आदि इत्यादि।
अत्यधिक मदिरापान गर्ने व्यक्ति जसको कलेजोमा नराम्रो असर परिसकेको छ र चिकित्सकले अब एक थोपा पनि नपिउन सुझाव दिइसकेको छ, त्यस्ता व्यक्तिको मदिराकै कारण निधन हुन्छ भने के त्यो असामयिक निधन हो? कसैले लागुऔषधको ओभरडोज लिँदा मृत्यु भएको छ भने के त्यसलाई अचानक मृत्यु भन्न मिल्छ?
के खेम गुरुङको निधनलाई अचानक निधन भन्न मिल्छ?
म त भन्छु एउटा जीवन र प्रतिभा व्यर्थै खेर गयो। मलाई त यस्तो बेलामा सही श्रद्धाञ्जली प्रकट गर्ने हो भने यस किसिमको दुर्भाग्यपूर्ण घटना फेरि दोहोरिन नदिन जनचेतना बढाउनु पर्छ जस्तो लाग्छ। त्यसले कम्तीमा नशालाई लिएर भ्रममा बाँचिरहेका मानिसको आँखा खोल्न अलिकता भए पनि मद्दत गर्नेछ। अझ विशेष गरेर कलाकारहरूको।
खेम गुरुङ अरु पनि थुप्रै ‘वारि जमुना’ जन्माउन सक्षम थिए। तर, उनीसँगै त्यो सम्भावनाको अन्त्य भएको छ। म आशा गर्छु अरु पनि थुप्रै कलाकारहरूले उनीहरूको जीवन पूरा बाँचुन्, त्यसको आनन्द लिउन्, उनीहरूमा भएको क्षमता समाज र राष्ट्रले पुरापुर उपभोग गर्न सकोस्।
म हृदयदेखि नै खेमकाप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। उनको आत्मालाई शान्ति मिलोस्।
मदिराले मानिसको ज्यान लिनसक्छ... यसलाई जिम्मेवारीपूर्वक मात्र पिउँ...।
(लेखक नेपालयसँग आवद्ध रहेर संगीत प्रवर्द्धनमा सक्रिय छन्)