अलि अगाडि हाम्रा औपचारिक कार्यक्रमका पट्यारलाग्दा सम्बोधनमा खर्च हुने समयका बारेमा मैले लेखेको थिइँ। शितल दाहालजीको लोग्ने र स्वास्नीबीचको सम्बोधनका खाडलबारे ब्लग पढेपछि केही नलेखीकन बस्न सकिएन।
दाइ र दिदीको सम्बन्ध लगाएर बोल्नु हाम्रो संस्कृतिको नराम्रो पक्ष नभएर सुन्दर पाटो हो। आज विश्वले आफ्नै दाजुभाइ, दिदीबहिनीलाई पराइ देखिरहँदा हामी सबैलाई आफ्नै परिवारको सदस्य देख्छौं। त्यसमाथि यी सम्बोधन हिउँद कटाइको वरिष्ठताभन्दा धेरै अर्थमा आदरसूचक हुन्। अपरिचितलाई दाइ, दिदी भन्नु त हाम्रो रगतमै छ र यसमा नराम्रो के छ र? अलि विचारणीय कुरो के पनि छ भने उमेरले कान्छो हुँदा पुरुषले दाइ सुन्न सक्छ तर उमेरमा बढी नै भए पनि महिलालाई दिदीको सम्बोधन पाच्य हुँदैन। त्यसमाथि शितलजीलाई त आन्टी नै भनेछन्।
पश्चिमा सभ्यताले यी सम्बन्धसूचक सम्बोधनको भेउ हामीले पाइराखेका छैनौं। अहिले एकात्मकताबाट सगौल हुनुपर्ने आवश्यकता टड्कारो हुँदैजाँदा सम्बोधनका आवश्यकता महसुुस गर्दैछौं। र त हामी दाइ, दिदी छाडेर नामले सम्बोधन गरी आधुनिक भइराख्दा ती पश्चिमा सम्भयाताहरू सम्बन्धका नाम प्रयोग गर्न खोज्दैनन्।
हामीले धेरै चिज आयात गर्यौं, उत्पादन गर्न सकेनौं। अरूमा परनिर्भर हुनपर्यो र केही हदसम्म सम्बन्धका बुझाइमा पनि। लोग्ने स्वास्नीका सम्बन्धका विविध आयाम हुन्छन् र यसमा सम्बोधनले भन्दा एक–अर्काप्रतिको समर्पणले नै सम्बन्धको जग निर्माण हुन्छ। एक-अर्काको बुझाइ, माया र विश्वासमा यो टिकेको हुन्छ। समाजलाई पितृसतात्मक भन्नु र सम्बोधनकै फरकलाई नै ठूलो विषय देख्नु संकीर्ण मनोभाव पनि हो। पक्कै पनि आफूलाई नवीन पुस्ताका प्रतिनिधि ठान्ने मजस्ता धेरै साथीहरूले आफूले श्रीमतिलाई तँ भन्दा श्रीमतीको तँ सम्बोधनलाई सामान्य लिइरहेका छौं।
पुस्तान्तरसँगै सम्बन्ध र सम्बोधनका नयाँ आयाम हामीले देखिनैरहेका छौं। सहपाठी र सहकर्मी सहलिङ्गीका बीच एक किसिमको र विपरित लिङ्गीका बीच अर्को सम्बोधन सुनिँदै र गर्दै आएकोमा अहिलेको पुस्ताले विपरित र सहलिङ्गीका बीच विभेदपूर्ण सम्बोधन गरेको छैन। अहिलेको प्लस टु पुस्ता गृहस्थी जीवनमा पुग्दा यी सामान्य विषय सतहमा देखिने पनि छैनन्।
आज एक केटाले केटाको वा केटीले केटीको हात समातेर हिडिँराख्दा हामीमध्ये धेरै उनीहरूबीचको सम्बन्धको कुरो सोच्छौं जब कि यो त आत्मीयतासँगै आएको प्राकृतिक व्यवहार नै हुन्छ। समाजका विविध आयाम हामीले नभोगेका हैनौं। चार वर्ण छत्तीस जातको साझा फुलबारीका रुपमा रहेको मुलुकमा जातीयताको कुरोले कसरी प्रधानता पायो भन्ने विषय सोचनीय छ। हाम्रै समाजमा दमाइ दाइ, सार्की दाइ मिलेर जातैले सम्बोधन गर्दा उँच–निच नहुने, अहिले थर लेख्दा गाह्रो स्थिति बनाएका पनि हामीले नै हौं नि। अनि बोली र सम्बोधनमा विभेददेखि राख्दा समतामूलक समाज निर्माणका लागि व्यवहारमा हुनपर्ने परिवर्तनहरू गौण त बनाइरहेका छैनौ? एकपटक यतातिर पनि गम् खाऔं।
महिला र पुरुषलाई गरिने व्यवहारमा नै विभेद गर्नेहरू दण्डनीय छन्। शितलजीले भनेको झैं प्रेम गर्दा तिमी चल्ने विवाहपश्चात तपाईं खोज्ने पाखण्डीहरू मात्रलाई पुरुष प्रतिनिधि मानिनु हुँदैन। सम्बोधनका विभेद पुरुषका प्रसङ्गमा जसरी जोडिएको छ त्यो त नारी पुरुषका अनन्त सम्बन्धलाई कमजोर देखाउने चेस्टामात्र भएको बुझाइ मेरो रहेको छ।
आज प्लस टु पढ्ने सहपाठीहरू वा सँगै काम गर्ने सहकर्मीबीच तँतँ-मम चल्छ र यो लिङ्गका आधारमा विभेद भएका छैनन्। शितलजी तपाईंका हजुरबुवा हजुरआमाका बेलाका लोग्ने स्वास्नीका सम्बन्ध बुवाआमाका समयमा फरक भयो र यो तपाईं मेरा समयमा अझै परिस्कृत हुनेछन्÷भइरहेका छन्। सम्बोधनको सानो आकाशले लोग्ने स्वास्नीका धर्तीरुपी सम्बन्धलाई ढाक्न सक्दैन र पुरुषलाई दोषी पात्रका रुपमा बुझ्ने संकीर्णताबाट माथि उठ्नैपर्छ।