कार्यालयको एउटा भवनबाट अर्कोमा जानु थियो। अचानक पानी दर्कियो। छाता ओढाउन सहयोग गर्दै ‘सेक्युरिटी गार्ड’ले ‘पानीमा नभिज्नुहोस् आन्टी म छाता ओडाउँछु’ भन्दा कसैले दुख्नेगरी चिमोटेजस्तो भयो मलाई। सुरक्षा गार्डको शब्दले मनको गहिराईसम्म चिमोट्यो। हप्काउँदै मैले भनेँ, ‘तिम्रो आन्टी चाहिँ म कहिलेदेखि भएँ हँ ?’ केटो हल्का डरायो, म पनि उसलाई हकार्न पाएर अलि शान्त भएँ। मनमनै भनें- कस्तो संस्कार हाम्रो, कसैसँग बोल्न एउटा न एउटा नाता लगाइहाल्नुपर्ने, त्यो पनि बिना कुनै औपचारिक सम्बन्ध! बिहे नै नगरेको मान्छेलाई आन्टी रे।
केही दिनअघि पनि मलाई उमेरमा एक जना पाको मान्छेले बारम्बार ‘दिदी’ भनेर सम्बोधन गरे। कार्यालयको कामले हप्ता दिनसम्म ती मानिससँग नियमित सम्पर्क गर्नुपर्ने बाध्यता थियो। आफूभन्दा उमेरले बुढो भएको मान्छेले बारम्बार ‘दिदी-दिदी’ भन्दा पहिलो र दोस्रो दिन रिसले आँखै देखिनँ। तर, मौन रहन उचित ठानेँ। तेस्रो दिन भने आफैंले जुक्ति लगाएँ। उनलाई मैले भाइ भनेर सम्बोधन गरेँ, त्यतिमात्र होइन आफ्नो रिसको साटो फेर्न भाइ र सम्बोधनमा पनि तपाईँको साटो ‘तिमी’ भनेँ। अर्थात् तिमी ‘यसो गर भाइ, उसो गर भाइ।’
सामान्यजस्तो लाग्ने भाषागत सम्बोधनले पनि मानिसलाई कस्तो विष्मयमा पार्दो रहेछ भन्ने मैले त्यहीबेला अन्दाज गरेँ। दुई अपरिचित मानिसले मलाई ‘आन्टी’ र ‘दिदी’ भन्दा म हप्ता दिनजति त्यसै विषयमा अल्झिएँ। अहिले सोच्छु ती मानिसले अझ मलाई ‘बहिनी’ वा सम्बोधनमा ‘तिमी’ भन्थे भने म कति अप्ठेरो मान्दो हुँ? मलाई ननिचिनेको वा आफू नजिक नभएको मानिसले दिदी, बहिनी वा कुनै सम्बोधन गरेर नाता लगाउँदा कहिल्यै सजिलो र आफ्नोपनको अनुभव भएन मलाई। यसलाई मभित्रको अहंकार मानियोस् या आत्मसम्मानको खोजी।
प्रसंग फरक छ तर जोड्न चाहेँ, एक जना केटासाथीले आफ्नो श्रीमतीसँग मेरो परिचय गराउँदै भने, ‘यो मेरो बुढी’ नाम...।’ मैले तत्कालै आपत्ति जनाएँ, ‘तपाईँजस्तो पढेलेखेको मानिसले आफ्नो श्रीमतीको परिचय गराउँदा ‘तँ र यो’ भन्ने शब्द प्रयोग गर्नुभयो जुन सुन्दा पनि मिठो लागेन।’ आफूलाई बचाउ गर्दै मित्रले पनि जवाफ दिइहाले, ‘मैले अरूलाई होर यार, आफ्नै श्रीमतीलाई पो ‘तँ’ भन्या!’ उनले अझ थपे, ‘श्रीमतीलाई माया गर्नेहरुले सम्बोधनमा ‘तँ’ नै भन्छन्।’
आफूलाई जसरी भए पनि सही र मलाई जसरी पनि ‘केवल अव्यवहारिक क्रान्तिकारी’ मात्रै बनाउने उद्देश्यले ती केटासाथीले मलाई छड्के हानेर भने, ‘शितलजी, तपाईँको बिहे भएको छैन, त्यसैले श्रीमानले ‘तँ’ भनेर सम्बोधन गर्दा पनि मायाले नै भनेको हो भनेर बुझ्न सक्नुहुन्नँ तपाई।’ उनले थपें, ‘मैले यस्लाई बिहे गरेकै दिन देखि ‘तँ’ नै भनेँ। यो खुसी नै छे आजसम्म।’
हो मैले बिहेको जग्गे घुमेको छैन। मलाई श्रीमानले कसरी माया गर्छन् , कसरी थाहा होस्,’ यत्ति भनेर मैले कुरा टुङ्ग्याएँर। फिस्स हाँस्दै आफ्नो बाटो लागेँ।
बाटोभरि मनमा कुरा खेल्यो, ‘के प्रत्येक माया गर्ने श्रीमानहरुले श्रीमतीलाई सम्बोधन गर्दा ‘तँ’ नै भन्नुपर्छ त ?’ मैले आजसम्म श्रीमानलाई अघोरै माया गर्ने श्रीमतीहरुले आफ्ना श्रीमानलाई मायाले नै सम्बोधनमा ‘तँ’ भनेको कहिल्यै सुनिनँ। बिहे हुनुअघि प्रेमीप्रेमिका भएर एकअर्कालाई सम्बोधनमा ‘तिमी, तिमी’ भने पनि बिहेपश्चात प्राय: केटीहरुले श्रीमानलाई ‘तपाईँ, हजुर, आइस्योस र गइस्योस्’ भनेको मात्र सुनेँ मैले। श्रीमानलाई तिमी भनेको सुन्न समेत कता हो कता।
भन्नेहरुले मलाई यस्तो सानो कुरामा पनि ‘छुद्र बहस’ गर्ने उग्रक्रान्तिकारी भन्न सक्छन्। हुन पनि म यस्तै झिनामसिना कुरामा समाजमा ठूलो विभेद लुकेको छ भन्ने ठान्छु। श्रीमानले श्रीमतीलाई ‘तँ’ भन्दा माया बढेको देख्ने मेरो समाजको मेरो केटा साथीलाई श्रीमतीले बातैपिछे ‘तँ’ भन्दा उसको कन्सिरी कति तात्ला अन्दाज गरौँ त! रिसको झोकले तोरीको फूल देखेर श्रीमतीलाई मुक्का बजाउन समेत उसलाई निमेष नलाग्ला।
मान्न तयार छु, यस्ता भाषामा हुने सानातिना कुरामा पनि केको बहस? बहसको श्री गणेश मैले त्यहाँबाट गरेँ जब श्रीमानले भन्ने गरेको ‘तँ’ सम्बोधनमा खुसी भएका महिला बिरलै पाएँ। सबैको उस्तै गुनासो उही थियो ‘भन्नलाई पो रथका दुई पांग्रा’ हाम्रो सम्बोधनको भाषाले रथको एक पांग्रालाई उचो र अर्को पांग्रालाई निचो देखाउँछ। पांग्रा नै होचो र अग्लो छ भने जिन्दगीको यात्रा कसरी सजिलो होला?
मैले यही लेख तयार पार्नको लागि कयौ विवाहितासँग सोधें- तिमीहरुको मायाप्रेम हुँदा पनि के यही तँ र तपाईंको भाषा चल्छ? सबैको लगभग उस्तै जवाफ थियो, ‘चल्दैन’। शारीरिक सम्बन्धका बेला त प्रायः श्रीमानहरुले सम्बोधनमा ‘तिमी’ नै भन्ने रहेछन्। मेरो मन गुनासो गर्छ, ‘तिमी’ सम्बोधन गर्दा बढी माया पाइन्छ भनेर होला। आफ्नै जीवन संगिनीलाई आफू बराबरको दर्जा दिन अन्कनाउने प्यारो पुरूषले जिन्दगीको लामो यात्रा कसरी पार गर्लान् भनेर अनि म घोत्लन्छु।
म अहिले अविवाहित नै छु। समयले मेरो बिहेको साइत जुरायो भने म मेरो श्रीमानलाई ‘तपाईँ’ र आफू ‘तँ’ भएर बाच्दिनँ । साझा उद्देश्यले तय गरेको जीवनको यात्रामा हृदयबाट नआएको बढ्ता सम्मान दिए भने त्यो पनि मेरो हुनेवाला श्रीमानका लागि धोका हुनेछ। मेरो ‘जीवनसाथी’ मेरो ‘साथी’ हो नकि मेरो कार्यालयको हाकिम वा न मेरो मान्यजन। र, अर्को कुरा जति नै मायाले भनिएको होस् मलाई मेरो हुनेवाला श्रीमानले ‘तँ’ भनेको सम्बोधन कदापि स्वीकार्य छैन। उदण्ड र अराजक सुनिएला यो घोषणा तर मेरो त मन मान्दैन।