ज्वरो आफैंमा रोग होइन, कुनै रोगको लक्षण हो। वयस्कको तुलनामा बच्चालाई बढी र बारम्बार ज्वरो आउने हुन्छ। ज्वरोको कारण सँधैं थाहा हुँदैन। धेरैजसो ज्वरो साधारण रुघाखोकीसँगै आउँछ र प्रायः आफैं ठिक हुन्छ। मौसमअनुसार फैलिने भाइरल ज्वरोले बच्चालाई प्रायः सताइरहेको हुन्छ। उमेर बढ्दै गएपछि संक्रमण र त्यसबाट हुने असर पनि घट्दै जान्छ।
तर, सबै ज्वरो सामान्य हुँदैनन्। बच्चामा ज्वरो आउने केही कारण निकै गम्भीर हुनसक्छन्। समयमै सही उपचार हुननसके ज्यान जाने खतरा बढ्छ।
बच्चालाई ज्वरो आउनुको प्रमुख कारण संक्रमण हो। गम्भीर संक्रमण धेरैजसो ब्याक्टेरियाले गराउँछ। तथापि केही भाइरल संक्रमण पनि गम्भीर हुन्छन्। परजीवी, ढुसीजस्ता अन्य कीटाणु पनि हुन्छन्, जसले प्रायः रोगसँग लड्ने क्षमता कमजोर भएका बच्चामा संक्रमण गराई ज्वरो उत्पन्न गराउँछन्। संक्रमणबाहेक क्यान्सर, बाथलगायत जटिल खालका रोग लागेर पनि बच्चालाई ज्वरो आएको हुनसक्छ।
ज्वरोसँग साधारण खालका भाइरल संक्रमणका लक्षण देखिएका छैनन् भने यसको कारण थाहा हुँदैन। त्यस अवस्थामा अभिभावक चिन्तित हुन्छन्।
कारण प्रष्ट नहुँदा डाक्टर पनि कहिलेकाहीँ दुविधामा पर्छन्।
उनीहरु बच्चाको उमेर अनुसार कुन संक्रमण वा रोग लागेको हुनसक्छ भनेर अनुमान गर्छन् र त्यसैअनुरुप परीक्षण गर्ने वा औषधि तथा परामर्श दिने गर्दछन्। अभिभावकका लागि सबैभन्दा सुरक्षित उपाय भनेको सकेसम्म चाँडो डाक्टरको सल्लाह लिनु हो।
बच्चालाई छाम्दा वा दुध चुसाउँदा तातो अनुभव भयो भने सकेसम्म थर्मोमिटरले तापक्रम नाप्ने। मर्करी प्रयोग हुने थर्मोमिटर निरुत्साहित गरिएकोले आजकल बजारमा डिजिटल थर्मोमिटर पाइन्छ। यो बच्चाको नाङ्गो छालामा काखीमुनि एकछिन राखेपछि आवाज आउँछ र त्यसपछि निकालेर तापमान हेर्न सकिन्छ।
कुन उमेरमा कति डिग्री र दिनसम्म ज्वरो आएको हो र बिरामी देखिन्छ कि देखिँदैन भन्ने आधारमा ज्वरोको गम्भीर कारण होला कि नहोला भनेर अनुमान गर्न सकिन्छ।
तीन महिनाभन्दा कम उमेरको शिशु, विशेषगरी नवजातमा ३८ डिग्री सेन्टिग्रेड वा १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनेवित्तिकै डाक्टरलाई देखाउनु पर्छ। तीनदेखि छ महिनाका शिशुमा ३९ डिग्री सेन्टिग्रेड वा १०२ डिग्री फरेनहाइटभन्दा बढी र ६ महिना बढी उमेरकामा ज्वरोको अवधि र अन्य लक्षणका आधारमा गम्भीर भएको सोचिन्छ।
बच्चा ज्वरो आएको बेला बाहेक अन्य समयमा स्वस्थ र सक्रिय देखिन्छ भने सम्भवत संक्रमण गम्भीर नहुन सक्छ।
यस्ता बच्चाले खानामा बेरुची वा रोजेर मात्र खाने भए पनि ज्वरो कम भएको बेला खुवाउन सकिन्छ। तर, ज्वरो घटेको बेलामा बच्चा बिरामीजस्तो लाग्छ भने चाहिँ पर्खेर नबस्नुस्।
कडा खालको संक्रमण भएको बच्चाले झिँझलो मान्ने वा सुस्त देखिन्छ। अझ गम्भीर हुँदै गएपछि बेहोस र कम्पन हुनसक्छ। सिकिस्त बिरामी बच्चाले आमाको दुध पनि चुस्न सक्दैन।
बच्चाले पटक-पटक र खाएको जति सबै वान्ता गर्न सक्छ। उसको टाउको, पेट दुख्ने, छिटो-छिटो पिसाब फेर्ने र फेर्दा पोल्ने वा रुने, दिशामा रगत देखिने, खोक्ने वा सास फेर्न गाह्रो हुने तथा छिटो-छिटो सास फेर्ने, कोखा हान्ने, रातो वा नीलो डाबर देखिने, पिप भरिएको घाउ बन्ने, जोर्नी सुन्निने, दुख्ने र रातो हुने, कानबाट पीप बग्ने, निल्न वा बोल्न गाह्रो हुने गरी घाँटी दुख्नेजस्ता लक्षणले गम्भीर संक्रमणको संकेत गर्छ।
विभिन्न अंगमा हुने संक्रमणका कारण यस्ता लक्षण देखिन्छन् र तिनलाई छुट्टाछुट्टै नाम दिइएको हुन्छ।
आजकल फैलिरहेको किर्नाको टोकाइबाट सर्ने ‘स्क्रब टाइफस’ हुँदा पनि ज्वरो आउँछ। प्रायः संक्रमणमा प्रयोग गरिने एन्टिबायोटिक खुवाएर उक्त रोग निको नहुन सक्छ। तर, समयमा नै सही उपचार नगरेमा ज्यान समेत जान सक्छ।
कहिलेकाहीँ ब्याक्टेरियाको संक्रमण रगतमा फैलिएको हुन्छ। यसलाई ‘सेप्सिस’ भनिन्छ र यो जोखिमपूर्ण अवस्था हो। सेप्सिस हुँदा मुटु, कलेजो, फोक्सो, मिर्गौला, मस्तिष्कलगायत विभिन्न अंगमा आघात पुग्छ र त्यसले ज्यान लिनसक्छ।
शिशुमा हुने ब्याक्टेरियाको संक्रमण बढी जोखिमपूर्ण हुनुको कारण सेप्सिस हुने भएर हो। कुपोषण भएका, विभिन्न कारणले रोगसँग लड्ने प्रतिरोध क्षमता गुमाएका बच्चामा प्राणघातक सेप्सिस हुनसक्छ।
कुनै भाइरल संक्रमण पनि प्राणघातक हुन्छन्। खासगरी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, जापानिज एन्सेफलाइटिस्, दूषित खाना वा पानीबाट सर्ने हेपाटाइटिस ए र इ, दादुरा, ठेउला, आमाबाट जन्मने बेलै सर्ने एचआइभी र एड्स, हेपाटाइटिस बी लगायत जटिल खालका भाइरल संक्रमण हुन्। मलेरिया, कालाजार, क्षयरोग भने नेपालमा प्रशस्त देखिने ज्वरो गराउने अन्य संक्रमण हुन्।
बच्चामा ज्वरो आउन संक्रमण नै हुनुपर्छ भन्ने छैन। घाँटीको संक्रमण ठिक भइसकेको दुई-चार हप्तापछि जोर्नी पालो-पालो सुन्निने र दुख्ने अनि मुटुको भल्भमा असर गरी छाती दुख्ने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या ५ देखि १५ वर्षका बच्चा धेरैमा देखिन्छ।
त्यस्ता समस्या देखिँदा पनि ज्वरो आउँछ। जोर्नी दुख्ने वा सुन्निने वा शरीरको अन्य अंगमा मात्र असर गरेर पनि लामो समय ज्वरो आइराख्ने बाथ रोग हुन्छन् जुन बच्चामा पनि देखिन्छ।
त्यस्तै बच्चामा रगतको क्यान्सर धेरै देखिन्छ जसमा पटक-पटक ज्वरो आउन सक्छ। अन्य अंगमा देखिने क्यान्सरमा पनि ज्वरो आउन सक्छ। तर, संक्रमणबाहेकका ज्वरो आउने यी गम्भीर रोग लागेका बच्चाको संख्या धेरै हुँदैन।
आफ्नो बच्चालाई ज्वरो आउँदा पक्कै पनि सतर्क हुनुपर्छ। कस्तो अवस्थामा डाक्टरलाई तुरुन्त देखाउनु पर्छ भन्ने बुझिराख्यौं भने प्राणघातक रोग समयमै पत्ता लाग्नसक्छ र उपचार गरी बच्चाको ज्यान बचाउन सकिन्छ।
(बाल रोग विशेषज्ञ डा. धरेल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप प्राध्यापक हुन्।)