आठ वर्षअघि ०६५ साउन ३२ गते रक्षा बन्धनका दिन दलितहरुलाई समेत रक्षा बन्धनको धागो बाँध्ने प्रवन्ध मिलाउन त्यतिबेला सदरमुकामको त्रिभुवन उमावि प्रवेशद्वार अगाडि जोतिष पसल गरेका भवानीप्रसाद शर्मालाई ३–४ दिन पहिलेदेखि आग्रह गरेको थियौं, उनी सहमत पनि थिए। धेरै पृष्ठभूमी बाँधेर आग्रह गरेपछि मात्र उनी सहमत थिए। तर, के पो आउँदैनन् कि भनेर नियमित सम्पर्क बनाई राखेकोमा त्यही दिन बिहान ८ बजे एक्कासी पसल बन्द गरी हिँडेछन्, मोवाइल पनि स्वीच अफ!
उनकै सल्लाहमा सदरमुकामको लोकतान्त्रिक चोकमा सार्वजनिक कार्यक्रम गर्ने गरी ब्यानर समेत लेखाई सकिएको थियो । दलितहरुको भेला पार्ने जिम्मा भएका साथीहरु त्यसमा जुटेका थिए, पण्डित ल्याउने मेरो जिम्मा थियो। पण्डित भागेको खबर गरूँ, कार्यक्रम विथोलिने आई लाग्यो। विकल्प केही भइहाल्ला भनेर बिहान ९ बजेतिर नयाँबजारतिरबाट पुगेकै बेला नारायण मन्दिरतिरबाट आउँदै गरेका काँग्रेस नेता पण्डित तिलकप्रसाद रिजालसँग लोकतान्त्रिकचोकमै भेट भयो।
उनलाई देख्ने वित्तिकै रक्षा बन्धन बाँध्न लगाउन सकिन्छ होला भन्ने दरिलो विकल्प र मनमा अठोट लिइसकेको थिएँ ।
सुरुमा नमस्कार गरेँ तर म रोकिइन उनीसँगै कदम मिलाएर नयाँ बजारतर्फ फर्किएँ । त्यस क्रममा त्यतिबेला भरखरै काँग्रेसले राष्ट्रपति जितेको र एमाओवादी–एमाले गठबन्धनको सरकारको विषयमा हिँड्दै २ मिनेट जति राजनीतिक गफ भए भीम टेलर्स नजिक पुग्दा कुरा खोलेँ आज त रक्षा बन्धन दलितहरुलाई पण्डितहरुले धागो समेत बाँध्न इन्कार गर्छन् तपाईँको धारणा के भनेर सोधेँ । पत्रकारले सोधेको त्यसमाथि दलित अधिकारकर्मीले सोधेको कुरामा उनले सजगतापूर्वक जवाफ दिए, ‘बेद, पुराण वा कुनै पनि धर्मग्रन्थमा विभेद गर्नुपर्छ भन्ने छैन दलितहरू पनि हिन्दू भएको बाँधिदिए हुन्छ।’
लोकतन्त्रको हिमायती पार्टीको जिल्ला कार्य समितिका सदस्य पत्रकारको प्रश्नमा जवाफमा अपूरो नहोस् भनेर होला यसलाई उनले प्रष्ट्याउँदै गए।
हिंड्दै भलाकुसारी चलिरहेको थियो अदालत अगाडि पुग्दा उनलाई मैंले अनुरोध गरेँ, ‘आज तपाईँले दलितहरुलाई रक्षा बन्धन बाँधिदिनू पर्यो।’ प्रतिउत्तरमा उनले भने, ‘बाँधीदिन्थें तर आज व्यस्त छु।’ मैंले फेरि कसेँ जसरी पनि समय निकाल्नु पर्यो आधा घण्टा मात्र । उनले उम्कन धेरै प्रयास गरे पछ्याईरहें, बाल मन्दिर नजिक पुग्दा बासुदेव तिमल्सिनाको डेरा पस्नुछ भने, त्यहाँ पनि संगै गएँ।
उनका माइती रहेछन्, बासुदेव र उनीको परिवारलाई धागो बाँधीदिए । मलाई पठाउने उद्देश्यले त्यहाँ करिब पौने घण्टा रोकिए तर मैंले छोडिनँ।
बासुदेवको डेराबाट अगाडि मूलबाटोमा आई पुग्दा मलाई पठाउने उनले प्रयत्न गरेका थिए, मैंले भने काँग्रेस कोषाध्यक्ष हिक्मत बिश्वकर्मा, दलित संघका नेता मोहन सुनारलाई तपाईँलाई आउँदै हुनुहुन्छ भनेर म्यासेज गरी सकें भनेपछि नाई भन्न नसकेर भने “म डेरामा खाना खाएर आउँछु, तपाईँ जानुस्।” भवानी गुरु भागेजस्तै उनी पनि भाग्लान् भन्ने मनमा त्रास थियो मैंले मानिनँ, हुलाक नजिक उनको डेरामा संगै पुगें ।
उनकी श्रीमतिले मलाईँ पनि खाना सोधिन्, खाना भन्दा ठूलो कुरा तिलक गुरुलाई धागो बाँध्ने कार्यक्रम लैजान लागेको कुरा खोलिदिएँ । त्यतिबेला विहानको साढे १० बतिसकेको थियो मैंले खाना खाएको त थिइन तर गुरुलाई लिएर गए पुग्छ भनेँ । तिलक गुरु खाना खाएपछि १ घण्टा सुत्ने बानी छ भनेर ओछ्यानमा पल्टिए, त्यतिबेला करिब ११ बजिसकेको थियो।
कार्यक्रम स्थलमा व्यानर टाँगेर साथीहरु पर्खिरहेको मोवाइल एसएमएसबाट अपडेट गर्दै थिए ‘आउँछन् भने छिटो गर्नुस्, नहुने हो भने पनि टण्टा नगरौं।’
यता तिलक गुरु खाना खाएर १५–२० मीनेट मात्र सुतेका थिए, मैंले भनेँ ‘आज चाहिं पूरा १ घण्टा सुत्न पाउनुहुन्न, साथीहरुले कार्यक्रम सुरु गरी सक्नु भएको छ अब कार्यक्रमतिर जाम।’ अभिव्यक्त नभएको भद्र दवावमा जान तयार भए त्यहाँ पुग्दा उनको भव्य स्वागत भयो। सामूहिक रक्षा बन्धन औपचारिक कार्यक्रमको तयारीमा जुटेका कमल विक, पार्वती बिशुन्के, कृष्ण बिक, सबिना बिश्वकर्मा, रेशम बिश्वकर्मा, पदम सुनार लगायतका साथीहरुले तयारी पूरा गरेका थिए।
पण्डितको स्वागतपछि उनीलाई संक्षिप्त भाषण गर्न लगाइयो उनले भने “बेद, पुराण वा कुनै पनि धर्मग्रन्थमा विभेद गर्नुपर्छ भन्ने छैन दलितहरु पनि हिन्दू भएको बाँधिदिए हुन्छ । म समानताको पक्षधर पार्टी नेपाली काँग्रेसको जिल्ला कार्यसमिति सदस्य समेत भएकोले रक्षा बन्दन बाँध्न हिच्किचाउने कुरै भएन, त्यसैले रक्षा वन्धनको धागो बाँध्ने आएको छु ।”
भाषणपछि रक्षा वन्धनको धागो बाँध्न सुरु गर्दा धागो बाँधी माग्ने सबैलाई ‘मन खोलेर दान दिनू’ भनी कड्किए । दलितहरु दानदातव्यमा लोभ गर्दैन भन्ने थाहा नपाएका होइनन् फेरि पनि उनी कड्किएकै कारण सबैले सक्दो धेरै दान दिए, करिव १ घण्टा चलेको सामूहिक रक्षा बन्धन कार्यक्रममा करिब २३ सय भन्दा बढी रकम जम्मा भयो, त्यो रकम अनाथलयलाई दिने घोषणा गरेर गए। दलित मात्र सहभागी सामूहिक रक्षा बन्धन कार्यक्रमबाट तिलक गुरु फर्किंदा दलित अगुवाहरुले हार्दिकतापूर्वक सम्मान गरेर पठाए ।
जिल्लाकै बरिष्ठ पण्डित तिलकप्रसाद रिजालले दलितलाई रक्षा वन्धन धागो बाँधेको कुरा स्थानीय रेडियो र पत्रपत्रिकाहरुले ठूलो महत्व दिएर समाचार प्रसारण तथा प्रकाशन गरे । तर त्यही दिन बेस्तडामा दलित स्वाबलम्वी समाजका कर्मचारी जनकलाल सुनार र बेस्तडा बजारका चन्द्रबहादुर बिकलाई दलित भएकै कारण रक्षा वन्धन धागो बाँध्दैन भनी तर्केको विषयमा रुम गाविस–७ का २२ वर्षीय दिपक उपाध्याय विरुद्ध जातीय विभेदको मुद्दा अदालतमा पुग्यो।
त्यो मुद्दा परेपछि जिल्लाभरका सबै ब्राम्हणहरुको एक भेला भयो, त्यो भेलामा तिलकप्रसाद रिजालप्रति सबै पण्डित खनिएर आपत्ति जनाएछन् ‘तपाईँले बाँध्नुथियो भने अब सबैले बाँध्नू भनीदिनू पथ्र्यो। आफू दलितहरुको प्रियपात्र बन्ने, हामीलाई मुद्दा लगाउने तपाईँकै परपञ्च हो ।’ जवाफमा उनले भनेछन् ‘मन्त्र नगरेको धागो पो बाँधि दिएको हुँ।’