छातीमा थाल जत्रो ब्याज। खादा। दुई शब्द भनिएकामा शब्द भण्डार नै रितिने गरी बोल्ने वक्ता। सभापति, प्रमुख अतिथि, विशेष अतिथिका लम्बे लिस्ट र केही कार्यक्रममा त दर्शकभन्दा मञ्चमा बस्ने नै बढी। तेसमाथि उद्घोषक, उसको वाक्कला। कार्यक्रमको सुरुवात नै समयमा कार्यक्रम हुन नसकेको तर यो नै नेपाली समय हो भनेर आफ्नो कमजोरीलाई देश कै हो भनेर गर्व महसुस गर्ने आयोजक।
कार्यक्रमका उद्धेश्यलाई तिलाञ्जली दिदैं आफ्नो डङ्का पिट्ने, जुन कार्यक्रममा गए पनि सधैं एउटै कुरा फलाक्ने, विशेषज्ञको पगरी गुथ्ने अनि नचाँहिदा कुरामा मगज मथ्ने, लोकप्रिय हुन जे पनि बक्ने जत्था देखि हामी आजित भइसक्यौं।
सलाइन चढाएको बिरामी भेटेदा, उद्घाटनका रिबन काट्दा वा स्मृती सभामा सरिक हुँदा बोलेका कुरा उस्तै सुनिन्छ। धेरै स्वनामधारी वुद्धिजीवि अरुका कुरा सुन्ने भन्दा आफ्नो पालामा बोलीको झटारो के हान्ने भनेर गमी रहेका भेटिन्छन्। अनि यी प्रकृतिका कार्यक्रममा युवा सहभागिता न्यून भो भनेर अलाप गर्नुको साटो कार्यक्रमलाई औपचारिकता भन्दा प्रभावकारी बनाउन मिहेनत गरे प्रतिफल मिल्न सक्छ।
म भन्दा अघिल्ला अग्रज वक्ताहरुले सबै कुरा भनिसक्नुभयो भनेर सुरु गर्यो अनि अघिल्ला वक्ताहरु भन्दा लम्बा भाषण दियो। फेरि त्यो भाणणलाई केलाउने हो भने धेरै समय सम्बोधन, आयोजकलाई वधाई वा धन्यवाद, दर्शकलाई धन्यवाद जस्ता फम्र्याटका कुरा बढी। अनि जुन विषयमा बोल्न बोलाइएको त्यसको फिक्का प्रस्तुति। अध्ययनको कमी र विषय बस्तुको ज्ञान नभएर नि हाम्रा कार्यक्रमहरुमा औपचारिकता बढी उपयोगिता न्यून भएको होला।
समयसँगै धेरै कुरा फेरिए तर कार्यक्रम गर्ने तरिकामा परिवर्तन आएन। प्रथम त केहीलाई मञ्चमा आसन ग्रहण गराउने अनि बाँकीलाई आफ्नो यथास्थानमा बसाउने परिपाटी नै विभेदपूर्ण छ। ढिलो गरी आउने विशिष्टलाई मञ्चमा बस्ने स्थान नहुँदा मुर्मुरिएको धेरैको अनुभव होला। सामान्यत सबैलाई मञ्चमा राख्न नसकिने हुँदा बरु मञ्चमा कोही नबोलाई आएकाहरुको स्मरण गराइदिए राम्रो। बीचबीचमा आउने मान्छेका नाम लिईराख्दा कार्यक्रम पट्यारलाग्दो हुन जाने त छदैँछ। वक्ताहरु तेसमाथि दर्शक/श्रोताका मनोभाव बुझी छिटोछरितो हुनको सट्टा अर्को कार्यक्रम नै नहुने जसरी बोलिदिँदा यस्ता कार्यक्रम नै झुर नै हुन्छन् भन्ने छाप बढ्दो छ।
बिना तयारी बोल्ने, बोल्दा केही नसोच्ने, विषयमा भन्दा कुरालाई सनसनी बनाएर सस्तो लोकप्रिय हुन खोज्ने, प्रचारात्मक हुने जस्ता यावत् कारणले यस्ता कार्यक्रममा मान्छे जानै नचाहने, गए पूरा समय नबस्ने स्थिति सृजना भएको छ। धेरै अवस्थामा सामान्य कुराको पनि हेक्का गरिएको हुँदैन। घरको मूली त्यस घरका निमित्त जसरी अतिथि हुनसक्दैन त्यसरी नै आयोजक मन्त्रालयको मन्त्री आफ्नै कार्यक्रममा प्रमुख अतिथि वा अतिथि बनाइनु हुँदैन। मन्त्री वा ठालूलाई खुसी बनाउने मेसोमा आफ्नैलाई अतिथि बनाउनु सम्मान नभएर अपमान पो हो कि।
तेसो त आयोजक मात्र दोष भएका र सहभागी सबै राम्रा भन्न खोजिएको नि होइन। निम्तो पाएपछि जाने/नजाने बारे भन्ने जिम्मा प्रापकको हो भन्ने सामान्य सिद्धान्तलाई खिल्ली उडाउँदै कार्यक्रम हेरी जत्था नै बोकेर जाने, ढिला पुग्ने रोग दर्शकमा नि उत्तिकै छ। फोन, इमेलमा आएका निम्तोलाई नमानेर पत्रे निम्तो खोज्ने, सामाजिक सञ्जालका निम्तो पढ्दै नपढी जाने भनेर क्लिक गर्ने अनि नजाने। रोग एता पनि उस्तै छ।
कैयन् सामाजिक कार्यक्रमहरुमा जाने पक्का गर्ने सयौंको संख्यामा देखिदाँ सहभागीको संख्या दश पाउन मुस्किल भएको पाइएको छ। सामान्यत निम्तो जुनसुकै माध्यम भेटेर, मौखिक, इमेल, पत्र, कार्ड मार्फत आए पनि यसको सूचनाभन्दा पनि अरुलाई कार्ड पठाउने मलाई इमेल भनेर सराप्नेको पनि संख्या ठूलै छ।
कार्यक्रम विषय केन्द्रित, लक्ष्यमा आधारित, तथ्यका आधारमा विषयको विवेचना हुँदा यो सफल हुन्छ। संख्या र को को आए भन्ने आधारमा कार्यक्रमको सफलता मापन हुनु भएन। अझ जसरी सुरु हुने समयको किटानका साथ निम्तो गरिन्छ सकिने समय पनि उल्लेख हुँदा सहभागीलाई सजिलो हुनेछ।