ह्वास्स गन्ध भित्र छिर्नासाथ, मानिसहरूको भीड टेकिसक्नु छैन। देशका विभिन्न ठाउँबाट त्यहाँ निःशुल्क प्रवेश पाएका सबै जातका श्वासप्रश्वास र पसिनाको गन्ध अस्पतालको स्थायी गन्धमा मिसीएपछि के चाहियो र लगाईरहेको मास्क उकुसमुकुस भएर उतारिदिएँ।
वाकवाकी नै लागेजस्तो भएपछि के गर्नू? म बुवाको बायोप्सी र रक्तपरीक्षणको रिपोर्ट लिने लाईनमा बसेँ। निकै लामो थियो लाइन, अलि छोटो लाइनतिर बसेर मुखमै पुगेपछि थाहा पाएँ यहाँ त एक्सरेको मात्रै हो, पल्लोपट्टी लिनुस्। रूखो महिला आवाजलाई केही जवाफ दिइनँ।
४८ मिनेटमा पालो आयो। पालो त आयो, रिपोर्ट आएन। म भन्दा पछाडि लामवद्ध मानिसहरू छिटो गरौं न, यो रिपोर्ट लिउन्जेल डाक्टर कतै गइसक्छन् के गर्ने होला भन्दै थिए। बीच बीचमा अस्पतालका कर्मचारी भन्दै सिधै अगाडि छेउबाट रिपोर्ट लिन आउँथे, अस्पताल कर्मचारीलाई लाइन बस्नुनपर्ने व्यवस्था गरिएको मैले बुझेकी नै थिएँ। तर पनि घण्टौं लाममा बसेकाहरू असन्तुष्टीका साथ अभिव्यक्त हुन्थे। हो पनि सवा घण्टामा बल्ल मैले रिपोर्ट लिएँ।
कठै! रिपोर्ट राखेको स्थिति हेर्दा असाध्यै दया लाग्यो। कुनै पर्चा, पम्प्लेट वा ब्रोसिएर जस्तो। खुल्ला चार्टमा च्यापेर राखेको छ। त्यस्ता रिपोर्ट च्यापिएका चार्ट थुप्रै छन्। प्रत्येकपटक त्यो चार्टका चाङ थुक लगाउँदै पल्टाउनु, ओल्टाउनु कति दुःख छ कर्मचारीलाई पनि। दिउँसै बत्ति बाल्दा समेत चाहिँदो उज्यालो नहुने त्यस्तो ठाउँमा रिपोर्ट दिने स्थान किन बनाएको होला? मनमनले सोधिरह्यो। अनि सँधै लाइन हुने त्यो रिपोर्ट दिने ठाउँमा थप जनशक्ति व्यवस्थापन गरे हुँदैन थियो र ?
काठमाडौंको ब्यस्त ठाउँको ब्यस्त शिक्षण अस्पताल। बुवाको उपचारका लागि प्रथमपटक यो अस्पतालको छेउकुनामा पुग्नैपर्ने अवसर पाएको थिएँ। बिरामी भेटघाट र अन्य आइपर्दाका काममा त शिक्षण अस्पताल गइरहेकै हो, तर यो पटक बुबाको उपचारको पूर्ण प्रक्रियाका क्रममा भने म शिक्षण अस्पतालसँग घनिष्ठ हुन पुगेकी थिएँ।
टिकटमा लाईन, बिरामी जचाउने ओपिडीमा लाईन, त्यसपछि विभिन्न जाँचपरीक्षणका लागि बील काट्न लाईन, जाँचपरीक्षणको क्रममा रक्तपरीक्षण, एक्सरे, भिडियो एक्सरेमा लाइन, परीक्षणको रिपोर्ट लिन लाईन, औषधी पसलमा औषधी किन्न लाईन। ओहो लाईन नै लाइन पूरै पार गर्दा एकजना बिरामी जचाउन पूरै दिन बितेको पत्तै हुँदैन। त्यहाँ स्वास्थ्योपचारका कुनै न कुनै कारणले आइपुगेका ती नागरिकहरूको यति दया लाग्छ, जब ऊ घण्टौं लाईन बसेर काउण्टरमा पुग्छ, तब यो यहाँ होइन फलाना ठाउँमा जानुस् भनिन्छ। अनि यताउता हिँडीरहेको वा उभिरहेको सेतो कोट लगाएका स्वास्थ्यकर्मीहरू देखे भने आफूले पुग्नुपर्ने कोठा वा विभाग कहाँनेर पर्दछ भनेर सोध्नेहरू प्रशस्तै हुन्छन् तर स्पष्ट बुझिने गरी बताउन पनि गाह«ो मान्छन् कर्मचारीहरू। कोही त बेमतलब !
वाफ रे बोल्दै नबोली कसरी हिँड्न सकिएको होला ?एकछिन अस्पतालको मुख्य भवनभित्र उभिरहनुपर्छ, साथमा कागजपत्र च्यापेर बाटो खोज्दै हिँडेका, विभिन्न नम्बरका चोटा कोठासोध्नेहरु थुप्रे भेटिन्छ। मैले भवनका बीच भागमा केहीक्षण उभिएरसोधेजतिलाई बुझेसम्मका ठाउँ बताउन पाएँ।
विशेषगरी ल्याब, ओपिडी, एक्सरे, रिपोर्ट लिने ठाउँ, ब्लड बैंक, विभिन्न भवनहरु भएकोले भवन जाने बाटो र विभिन्न विभाग आदिका विषयमा धेरैले सोध्ने गरेको पाईयो। बुवाको उपचारको प्रक्रिया पूरा हुँदा दुइवटा कुराले म निकै गद्गद् भएँ। मुख्य त बुवाको शल्यक्रिया भएको र अब त्यो रोग बुवाको शरीरमा नरहेको भन्ने कुराले असाध्यै खुशी त थिएँ नै, महाराजगञ्ज शिक्षण अस्पतालभित्र अबदेखि म सरासर सबै विभाग र कोठाचोटा कसैलाई नसोधी पुग्न सक्छु र त्यहाँको झमेलालाग्दो लाइन र प्रक्रिया पनि पार गर्नसक्छु भन्ने दृढताले निकै राहत लाग्दो खुशी मिलेको छ। सबै प्रक्रिया पूरा गरेर भर्ना भई बेडसम्म पुग्ने बिरामी तथा बिरामीका आफन्तलाई निकै ठूलो कठिनतालाई जितेको महशुश हुँदोरहेछ।
चिकित्सकले फलानो मितिमा भर्ना र फलानो मितिमा शल्यक्रिया भनेर तोकिदिएको मितिमा भर्ना हुन जाँदा पनि बेड खाली नहुने, अरू नै बिरामीको शल्यक्रियाको मिति तोकिदिइसकेको हुने अनि प्रक्रिया नबुझेर दिक्किएर फर्कने गरेको समेत पाईयो। कमसेकम म फर्किन परेन भन्न त मिलेन तर भन्नुपर्छ म पनि फर्कें। बिहान ८:३० बजे एनेक्स वानमा भर्ना हुन सम्पर्क गर्नु भनेर भनिएकोमा २:०० बजे मात्रै आउनु भनी ९:०० बजे फर्काईएपछि दिउँसो २:०० बजे पूनः पुग्दा बल्ल ५:३० बजे मैले बेडसम्म पुग्ने अवस्था बन्यो।
त्यतिञ्जेल बिरामी बुबा असरल्ल, झोलातुम्बा बोकेकी म रणभुल्ल ! बेड त पाईयो तर बेडसीट ! ओहो सुन्दै अनौठो लाग्यो, ‘बेडसीट छैन आफै ल्याउनुस् है’। बेडसीट यसै पनि लगेकै थिएँ तर पनि भन्न मनलाग्यो, बेड भनेको फगत बेडमात्रै, बेडसीट नी नहुने के हो यस्तो ?‘मेसिन बिग्रेको केही दिनभयो त्यही भएर।’कुनै कर्मचारीबाट जवाफ त आयो, तर के जवाफमा चित्त बुझ्छ, सन्तोष हुन सकिन्छ? भोलि एक्सरे मेसिन बिग्रेला, अल्ट्रासाउण्ड बिग्रेला, शल्यक्रियाका केही प्रविधिमा खराबी आउला, सुधार गर्नुपर्दैन ?
बेडमा डस्टबिन थिएन, माग्न गएँ। ऊ त्यहाँ छ, त्यहीँ फाल्नुस्। ३ वटा ठूलो ठूलो सामूहिक डस्टविन थियो, रातो, हरियो र निलो। रङ अनुसारको डस्टविनको अर्थ छ। कुहेर सडेर जाने, नजाने र अनि पूनः प्रयोगमा ल्याउनसक्ने जस्ता विविध वर्गीकरण गरेबमोजिम फोहोर संकलनलाई डस्टविनको रङ्ग दिईएको छ। झन त्यसमाथि मेडिकल वेस्ट भनेर स्वास्थ्यजन्य फोहोरपदार्थलाई संवेदनशीलताका साथ व्यवस्थितगर्न भनिएको छ।
तर त्यहाँ सामूहिक डस्टविन ३ वटै रङ्गहरूका भएतापनि त्यसमा सबैप्रकारका फोहोरहरू संकलन गरिएको र गरिँदैथियो। बेडको मुनि राख्दा बिरामी र कुरूवाहरूले फोहोर गर्छन् रे भनेर बाहिरै सामूहिक डस्टविन राखिरहँदा फोहोर संकलनमा कति व्यवस्थितगर्न सकियो किन नसोचेको होला अथवा किन हेलचेक्र्याईं गरिएको होला ?! मनभरि गुनासो रहीनैरह्यो र रहीरहेकै छ। बुबालाई पिसाबकै रोग थियो त्यसैले बाथरूम त नजिकै होस् है नानी भन्नुभएथ्यो, बुवाले भन्नुभएतापनि त्यो भन्दा अगाडि नै मैले डबल बेड क्याबिनको बेड छ भने त्यसैमा बस्छु भनेकी थिएँ। जनरलमा बेड थिएन, सिंगल क्याबिन आँट्न सकिएन।
ओहो ! सफाई (भुईंपुछ्ने) कर्मचारीको हप्की बिहानै यति नमज्जा लाग्यो की, बुवालाई भेट्न आउनुभएको शुभेच्छुक र आफन्त नै चकित पर्नुभयो। निज कर्मचारीको भनाई जस्ताको तस्तै राख्छु – ‘तपाईहरू उठ्नुहुन्न, अब त्यता पुछिन्न। पुछ्दै आएपछि उठ्नुपर्दैन ?’
बिरामीको बेड छेउ त झन् पुछ्नुपर्छ भाई भन्दै हामी उठ्यौं र बाहिर निस्कँदै थियौं, बहिनीले भर्खर ल्याएको खाना थियो हट्केसमा। त्यो हट्केस भएको झोला कुरूवा बस्ने मेचबाट फुत्त बेडमा फालिदिएर जोडबलले त्यो मेचमा धक्का दियो र पर पुर्याइदियो। बहिनीले हत्त न पत्त ओहो यो त खाना छ के गरेको हो भाई भनिन्। उसले रिसले बेडमुनि सुईँसुईँ पुछ्दा पानीका बोतल ढल्यो र स्टीलको गिलाँस छेउको सोकेसबाट ठङरङ्ग झरेर भुइँमा सनन्न बजिरह्यो। हामी तिनका अगाडि मुकदर्शक भएर मुर्मुरिरह्रयौं। हामी बुबालाई शल्यक्रियामा लैजान तयारी गर्दैथियौं, बिहान १०:३० बजेका लागि।
ओहो ! सफाई कर्मचारीहरूको शासन पटकपटक देखेभोगेपछि बुवाको शल्यक्रियापछि हामीलाई सारेको डबल बेड क्याविनमा रहेको अर्को बिरामीको आफन्त र मैले एउटा निर्णय गरें। डुङ्ङ गन्हाउने शौचालय, बेला बेलामा ह्वास्स ह्वास्स असह्य ढलको गन्ध आइरहने कोठा भएकोले डिटोल किनेर ल्यायौं र साँझदेखि नै हामी दुई बिरामीका आफन्तले मिलीजुली कुचो लगाउने र पुछ्ने गर्यौं। बाफ रे, शौचालयको बेसन त कस्तो टिलिक्क टल्कियो, माझेपछि। अनि बिहान ६:०० बजे कुचो लगाउने र डिटोल छर्केर पुछ्ने गर्यौं र सफाई गर्ने कर्मचारीकोकर्कश शासनलाई क्याबिन नम्बर ५१४ मा प्रवेश नै गर्नुनपर्ने गरी दैनिक हामीले नैं सफाई गर्यौं।
एकातिर मात्रै फर्कने पंखाको विरूद्ध घरबाटै हामी दुवैले पंखा ल्यायौं। लामखुट्टे छिर्ने झ्यालको जालीमा भएको प्रत्येक प्वालहरूमा टेपले टाल्यौं, झ्यालमा पर्दा त छँदै थिएन, त्यति झ्याल नी नखोले हावा पास हुने ठाउँ नै थिएन, झ्याल खोल्यो, ढलको गन्ध र झ्यालको सामुन्ने बनिरहेको विशाल भवनको निरन्तर ठ्वाकठ्वाक आवाज र कहिले त ड्वाङ्ङ सातो जाने आवाज निकै खपिरहेकै थियौं। बुवा असाध्यै खुशी हुनुभयो, आफ्नो काम आफै गरेको देख्नु भएर।
शौचालय सफा र कोठामा अब दुर्गन्ध कम भएकोमा हामी झनै खुशी थियौं। तर सिस्टर र कर्मचारीहरूले दिनकै भन्नुभएको कुराले अर्को आश्चर्य पारिदियो – ‘तपाईहरू यो पंखा भित्र (क्याबिनमै भएको भित्ते दराज) राख्नुस्, ब्लाङ्केट पनि पट्याएर भित्र राख्नुस्। अस्पतालको ब्लाङ्केट खोई, बेडमा राख्नुस् अहिले डाक्टरहरु आउनुहुन्छ।’ हामीहरूले बुझेनौं किन यसो भनिएको होला?! अस्पतालले केही दिन नसक्ने, व्यवस्थित गर्न नसक्ने, हामी आफूले सफा बेडसीट लगाएर सफा ब्लाङ्केट राखेर अनि पंखा राखेर बिरामीलाई दिएको सुविधाबाट अस्पताल आफैलाई लज्जाबोध हुने हो की अथवा यसो गर्न पाउँदैनस् भन्न खोजेको हो की खोई अनुमान मात्रै पो लगायौं।
तर तिमीहरू आफैले कोठा किन सफा गरेको ? भनेर चाहीँ अस्पतालका कसैले सोधेनन्। औषधी तुरुन्त ल्याउन चीट दिईएपछि फुत्त निस्किहाल्नुपर्छ, भुई सफा गर्दैगरिरहेको भन्ने एक त होस हुन्न, अर्को सफा गरिरहेकै भएपनि नगई हुन्न। सफाई गरिरहेका कर्मचारीको कोकोहोलो आवाज निस्किहाल्छ। ‘एकछिन बस्न सक्दैनँ, पुछिरहेको देखेन ?’ मैले त चिनजानको चिकित्सक र कर्मचारीहरुलाई तुरुन्त भनिदिएँ – यहाँ त सबैभन्दा ठूलो शासन सफाई कर्मचारीहरूको रहेछ, जा भन्दा जानुपर्ने, बस् भनेपछि बस्नुपर्ने। बिरामीको ज्यान र हाम्रो आफ्नै पनि हिँड्नुपर्ने अवस्था र समय हुन्छ नी। अनि बोली किन यति रूखो र किच्चक हुने हँ।
लाइन त मैले पैसा तिर्ने काउण्टरमा धेरैपटक बसीसकेकै थिएँ। तर एकदम हतारो थियो, शल्यक्रिया पछि पोष्टअपरेटिभमा हुनुहुनुहुन्थ्यो बुवा। यो रगत ईमरजेन्सी ल्याबमा दिनु भनिएको थियो। पैसा तिर्न काउण्टरमा निकै लामो लाईन। त्यसो त एनेक्स वार्डबाट बील तिर्ने काउण्टरसम्म दर्गुर्दै आउँदा पनि समय लाग्ने, माथिल्लो तल्लाहरुबाट आउन झन कति समय लाग्छ होला? बुवाको प्रतिकूल स्वास्थ्यअवस्थाले तनावग्रस्त मन। यसो अनुरोध गर्दा भइहाल्छ की भनेर अगाडि सोधें, काउण्टरका कर्मचारीले‘यी सबै ईमरजेन्सी हुन् तपाईजस्तै, लाइनमा बस्नुस्।’ भन्दै गर्दा सेक्युरिटीका कर्मचारी सिट्टी फुक्दै ठूलो आवाज गर्दै आए लाइनमा बस्न भनेर।
दिक्क लाग्यो। यति लामो लाइन छ, हातमा रगत बोकेको ट्युब छ। म भन्दा अगाडि त्यस्तै बायोप्सीको बोतल बोकेको एउटा भाइ छ। हुन त हो, सबै लाइन बस्नैपर्छ। तर काउण्टर किन एउटा मात्रै चलाएको ? सेक्युरिटी कर्मचारीले जवाफ दिए ९:०० बजेमात्रै अरु काउण्टर खुल्छ। यतिविध्न बिरामीको चाप हुने अस्पताल परिसरमा औषधी पसल २४ सै घण्टा खुल्छ, चिया खाजा खाना पसल २४ सै घण्टा खुल्छ।
डाक्टरहरूको सेवा ओपिडी र पेईङ दुवैमा हुन्छ। ल्याब सेवा ईमर्जेन्सीमार्फत २४ सै घण्टा हुन्छ भने यो बील काउण्टर किन हुन सक्दैन? प्रत्येक तल्लामा वा भर्ना भएका बिरामीका लागि छिटो हुने गरी छुट्टै काउण्टर राख्न सकिन्न? मेरो हातमा भएको परीक्षणका लागि बोकेको रगतको ट्यूब निकै तातिसकेको थियो, एउटा ईमर्जेन्सी बिरामी बच्चाको बाबु आयो र अनुरोध गर्यो बच्चा सिरीयस छ ईमर्जेन्सीमा, प्लीज मेरो यति गरिदिनुस् न। मेरो आफ्नो पालो थियो तर त्यो बच्चाको बाबुलाई आफ्नोस्थान दिएँ, पछाडि पंक्तिवद्ध महानुभावहरू बेलाइनमा मान्छे घुसाउने भन्दै कराउँदै थिए। कहिलेकाहीँ संवेदनशीलता पनि संकटमा पर्दोरहेछ।
मानिसहरूको ठेलमठेल भीडमा सेक्युरिटी कर्मचारीहरूको ठूलो आवाजले कर्कश पैदा गथ्र्यो। बिहान सबेरै ५ बज्दैगरेको अवस्थामा मैले देखें टिकट काउण्टरमा लाइनको लर्को भैसक्छ। उज्यालो छिप्पिदै जाँदा लाइनको लर्को झर्कोमा परिणत भैसक्छ। लाईनमा बसेका बिरामी र बिरामीका आफन्तहरुलाई कर्कशताका साथ निर्देशन र नियन्त्रण गरिरहेका ती सेक्युरिटी कर्मचारीलाई आवाज चाहिँ प्रकृतिले दिएकै हो, तर आवाजसँगसँगै सिठ्ठी फुईँय्य फुकेर यता जाऊ, उता सर, यसो गर भनी कोकोहोलो गरेको चाहिँ अलि सभ्य भएन की ! अस्पतालभित्र हुने ध्वनी प्रदुषण र व्यवहार अलि अपाच्य भयो की ! सहानुभूतिले भन्ने हो भने त्यत्रो भीडलाई आफूले नियन्त्रण गर्नु सेक्युरिटीका कर्मचारीहरुको निकै मेहेनत त छ नै तर मूल कुरो अस्पताल मूल व्यवस्थापनको न हो।
राति १० बजेपछि अस्पतालको करिडोर र पेटीमा मानिसहरू लस्करै सुतिरहेका हुन्छन्। विशेष गरी अपरेशन थिएटर र पोष्ट अपरेटिभको सामुन्ने चिकित्सकहरूले भित्रबाट खोज्दा तथा बोलाउँदा सुनियोस् भनेर अरु बढी कुरूवाहरू लस्करै सुतेका हुन्छन्। शौचालयको खपिनसक्नुको दुर्गन्ध, बाटोमा मानिस आवतजावत गरिरहँदाको धुलो, मैलोसहित चिसो भुईंमा मानिसहरू म्याट ओच्छ्याएर सुतेका हुन्छन्, तर त्यहीँ छेउमा कागजका कार्टुन च्यातेर र पत्रिका ओच्छ्याएर आमा र बच्चा सुतेको पनि देखियो। यो दृश्य लगभग सबै वाडका बाहिरी करिडोरहरूमा देखियो। दुर्गम ठाउँबाट गरिब जनताहरू उपचारको क्रममा आउँदा न बासको ठेगान हुन्छ न गाँसको।
उपत्यका बाहिरबाट आउने अझ विशेषगरी उपत्यकामा आफन्त कोही नभएका बिरामीका कुरूवालाई बस्ने व्यवस्थाका लागि कुरुवा घरको व्यवस्थागर्न सकिन्न ? अझ पोकोपुन्तुरो बोकेर ग्रामीण भेगबाट आएका बिरामी र आफन्तहरू कहाँ कसरी बस्ने भन्ने मेलोमेसो नपाएर, कुनै कुनामा पल्टिरहेका बेला उठाउने, उठेर अन्तै जाउ भन्ने र हेलोहेचो गरेको सम्म देखियो। शिक्षण अस्पताल स्वास्थ्योउपचारका लागि आवश्यक उपकरण र प्रविधि तथा सबै प्रकारका रोगको उपचारका लागि वरिष्ठ तथा सक्षम चिकित्सक उपलब्ध हुने र सबैलाई केन्द्र पर्ने एवं पहुँच पनि हुने अस्पतालको रूपमा जनताले बुझ्ने गर्दछन् र बुझेकै पनि पाईयो। तर सँगसँगै अव्यवस्था र भद्रगोल स्थितिले बिरामी र बिरामीका आफन्तले नकरात्मक सन्देश लिएर गएको पनि उत्तिकै पाईयो। अस्पतालमा बिरामीको चाप बढेको बढ्यै छ, भवनहरू पनि थपेकै छ। विगतका भन्दा केही राम्रा भएका छन् तर ती राम्रा सुधार भएका कुराहरू पनि प्रशासनिक कमजोरीले र अव्यवस्थापनले गर्दा बिरामीले दुःखै पाएका छन्। त्यहीँका कर्मचारीले अभिव्यक्त गरेको कुरा हो यो।
हुन त हामी क्याबिनभित्र पनि म्याट ओच्छ्याएर त्यसरी नै रात गुजारेका थियौं, मुश्किलले एक जनासम्म सुत्नसक्ने स्थान थियो। बिरामीको बेड छेउमा कम्तिमा एकजना कुरूवा बस्न र सुत्नसम्म मिल्नेगरी सामान्य व्यवस्थापन पनि गर्न सक्दैन अस्पतालले ? क्याबिनमा समेत त्यो व्यवस्था गरेको भेटिएन। शल्यक्रियाको क्रममा कुर्नका लागि जहाँ बस्न भनियो, त्यहाँ आइसियुका बिरामी कुरूवाहरू टन्नै थिए र गफिने क्रममा भन्दैथिए – सँगै जोडिएको शौचालयको चरम दुर्गन्धले गर्दा बस्नै सकिएन। तर के गर्नु, यहीँ गाँस बास भएको हप्तौं भैसक्यो। खाना खाँदै गरेको कुरूवाहरू शौचालयको गन्ध पनि निलिरहेका थिए। हामी बसेको क्याबिन भन्दा अलिपरतिरको क्याबिनमा चार्जमा राखिरहेको मोबाइल चोरी भएको खबर आयो। त्यसरी खुल्ला करिडोरमा सुतेकाहरूको कति चोरी हुँदो हो। खोइ को कुरूवा, को बाहिरको मान्छे कसले चेकजाँच गर्ने ?दिउँसोको समयमा पनि जो जसरी आउँदा पनि बिरामी र स्वास्थ्यकर्मीहरूको बीचसम्म पुग्नसक्ने गरी खुल्ला गरिएको छ समय। कम से कम रातिको समयमा त सुरक्षा चेकजाँच हुनुपर्दछ। एकदिन ११:३० बजे राति २ जना सुरक्षाकर्मी कर्मचारी करिडोरमा हिँडीरहेको चाहिँ देखें। तर के पत्तो उनी आफै सुरक्षा जाँच्न हिँडे की अन्यथा कुनै कारणले हिँडे।
बिरामी मात्र होइन, स्वास्थ्यकर्मी र कर्मचारीहरूको सुरक्षाको लागि पनि रात्रीकालीन समय शुरु हुँदा र मध्यरातमा पनि कम्तिमा २ पटक सुरक्षा जाँच गर्न किन सकिंदैंन र? अस्पतालका प्राय भित्ता र झ्यालका कुना कुइनेटाहरू पान खाएर थुकेका बग्रेल्ती देख्न पाइन्छ। तर न त त्यो पुछपाछ गरिएको छ न त पान खाएर नथुक्न वा जथाभावी फोहोर नगर्न भनी कुनै सूचना राखिएको छ। कहिँ त कुकुर पसेर आची गरेको पनि देख्न पाईयो।
चिकित्सकहरू आफ्नो समयमा आउने जाने त गर्नुहुन्छ तर बिरामीका आफन्तलाई राम्ररी काउन्सिलीङ गर्ने, बिरामीको पनि कुरा राम्ररी सुन्न धैर्य गर्ने विषयमा निकै कमजोर लाग्यो। बिरामीको बाहिरी स्वरूप मात्रै हेर्ने, ड्युटी डाक्टर र नर्सहरूले भरेको नोटको आधारमा मात्रै धारणा बनाउने, बिरामीको शल्यक्रिया गरेको घाउ दोहो¥याएर नहेर्ने, ड्रेसिङ्ग अघि र पछिको अवस्था बुझ्न कोशीस नगर्ने, आकस्मिक परेर काउण्टरमा नर्सलाई बोलाउन जाँदा बोलाउने बित्तिकै नआउने गरेको पाईयो।औषधी पसल छ तल बील काउण्टरसँगै, सजिलै हुन्छ भनेर शुरुमा औषधीको लिष्ट लिएर गएँ, आधा भन्दा कम मात्रै औषधी पाउने, बाँकी बाहिर लिनुस् भने। त्यसपछि उता सबै औषधी अस्पताल भवन बाहिर नै लिन बाध्य भएँ, त्यसैले पनि अस्पताल प्राङ्गणभित्रको औषधी पसल असाध्यै भीड हुने रहेछ।
बिरामी बुवालाई भेट्न आउनुभएका छिमेकी दाजुको अस्पताल प्राङ्गणमा पार्किङ्ग गरेको मोटरसाइकलबाट लक काटेरै हेल्मेट चोरी भयो। पार्किङ्गको सुरक्षा हुने भएकोले अलि भित्र र अस्पताल भवनबाट पनि नजिक हुने ठानेर पार्किङ्ग गरेछन् एकजना कुरूवाले राति। तर त्यो स्थान कर्मचारीको लागि मात्रै थियो, किन पार्किङ्ग गरेको भनेर मोटरसाइकल झिक्ने बेलामा सेक्युरिटी कर्मचारीले झिक्नै नदिएर निकै कचकच गरेर तनाव दिएको कुरा मैले सुन्न पाएँ।
शिक्षण अस्पतालको बसाई र भोगाईलाई बीट मार्दै थियौं, डिस्चार्ज काउण्टर धन्न माथि नै रहेछ, ४/५ जनापछि पालो आउँदैथियो। लामो लाइन त बस्नुपरेन तर अर्को कर्मचारी काउण्टर कोठाभित्र छिरेर काम गरिरहेको कर्मचारीसँग गफिन शुरु गरे। गफ टुङ्गीदैंन त। गफ पछि गरौं, काम गर्न दिनुस् न भनेर पर्खाईमा बसेका सबैले दवाब नै दिनुप¥यो। बीलमा जे जे मा खर्च भएको हो, त्यसको शीर्षक दिनुपर्दथ्यो। एकमुष्ठ बील मात्रै दिएपछि मैले खर्चको ब्रेकडाउन गरिदिन मिल्दैन भनेर सोधें, कर्मचारीको जवाफ आएन। प्रत्येकसँग दश रूपैयाँ र पाँच रूपैयाँ पुगेन भन्दै माग्न मात्रै सक्ने रहेछ तर जवाफ दिन बोली नआउने रहेछ यी कर्मचारीलाई जस्तो लाग्यो र डिस्चार्ज भैसकेपनि प्रक्रियाको पर्खाईमा दिक्किसक्नुभएका बुवालाई लिएर अस्पताल बाहिर निस्कन हतार थियो। ९ औंदिनमाअस्पताल छाड्दै गर्दा नौ सय स–साना तर अत्यन्तै मार्मिक र नागरिकले प्रत्यक्ष अनुभूत गर्ने कुरा मनभरि लेखेकी छु, यति लेखमा कहाँ सकिनु र ?
फेरि अर्को श्रृंखलामा पोखुँला र देशको एउटा मुख्य अस्पतालभित्रको अव्यवस्था नहटुन्जेल, बिरामीले सास्ती पाइरहुन्जेलमेरो शाब्दिक अभियान जारी नै राखुँला। यो जाँगर जगाईदिने शिक्षण अस्पताललाई धन्यवाद !अनि अस्पताल भवनबाट बाहिर निस्कँदा बेतोडको ठूलो वर्षा भयो। छाता थिएन, पुरानो र नयाँ ईमर्जेन्सी बीच जोडिएको पुलसम्म पुगें, खचाखच मानिसहरु वर्षा छल्न उभिएको थियो, हातमा डिस्चार्ज सहितको औषधी नोट र साट्नुपर्ने औषधी थियो, सामुन्ने अगाडि कालो छाता ओढेर एक भद्र महिला उभिइरहेकी थिईन्। मैले अगाडिको नुवाकोट औषधी पसलसम्म तपाईको छातामा पु¥याइदिनुस् न औषधी साट्नु छ भने। आम्मै सातो गयो मेरो त, कस्तो विवेक पनि मरिसकेछ वा मर्दैछ हामी मान्छेमा भनेर।तिनै भद्र कालो लेगिङ्स र टिसर्ट लगाएकी कालै छाता ओढीरहेकी महिलाको जवाफ यस्तो पो आयो ः ‘अहँ, हुँदैन मेरो खुट्टामा हिलो लाग्छ, पानी पर्छ।’ दुईपटक पो भनिन् त। छाता सहितको कालो रङ्गमा सजिएकी ती गोरी भद्र महिला मलाई तिनले पहिरेको कालो रङ्ग भन्दा पनि झन्निख्खर कालो लाग्यो।