करिब एक दशकपछि नेपाल विद्यार्थी संघको अधिवेशन भएको छ। यति बेला आन्तरिक वादविवादका बीच पनि नेविसंघको अधिवेशन प्रक्रिया सुरु भएको छ। करिब ३५ सय प्रतिनिधि र पार्टीका नेता कार्यकर्ताको उपस्थितिमा अधिवेशनको भव्य उद्घाटन भयो। लामो समयपछि अधिवेशन भएको हुनाले पनि होला, एक प्रकारको उत्साह देखिन्छ। हाम्रो पुस्ताका लागि त नितान्त नयाँ अनुभव पनि हो। राजधानी नेविसंघले रंगिएको छ। जताततै नेविसंघको चर्चा छ। शिथिल भएको संगठन ब्युझिएको छ।
देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी अनि पुरानो पार्टी भएर पनि नेपाली कांग्रेसका सबै भातृसंस्थाको स्थिति उस्तै छ। विधानतः तोकिएको समयमा अधिवेशन नहुनु स्वभाविक भइसकेको छ, कांग्रेसमा। कुनै खास कारण बिना नै अधिवेशन हुँदैन तर न त पार्टी नेतृत्वले यसका लागि कुनै दबाब दिन्छ न त संगठनको नेतृत्वले जिम्मेवारी लिन्छ नै। राजनीतिमा नैतिकता सबैभन्दा महत्वपूर्ण मानिन्छ। राजनीतिले नै समाजका सबै क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले राजनीतिज्ञहरु अरु भन्दा बढी नैतिकवान हुनुपर्छ भन्ने मान्यता रहँदै आएको छ। राजनीतिज्ञलाई समाजको अगुवाका रूपमा लिने प्रचलन पनि छ तर जब राजनीतिज्ञमा नैतिकता हुँदैन अनि समस्याहरु त स्वभाविक हुने नै भइहाले। सायद यसैको परिणति होला, हामी लोकतान्त्रिक पार्टीको कार्यकर्ता भएर पनि लोकतान्त्रिक हुन नसकेको।
हामी लोकतन्त्रका हिमायती हौं। यो देशमा जहाँनिया राणा शासनको अन्त गरेर प्रजातन्त्रको दियो बाल्ने पार्टीका कार्यकर्ता हामी। देशमा निरन्तर प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्र स्थापनाका लािग भएका सबै आन्दोलनको नेतृत्व गरेको दलका कार्यकर्ता। हामी सधैं देशमा लोकतन्त्रका लागि लड्यौं तर आफ्नै पार्टी भित्र हराएको लोकतन्त्रको खोजी कहिल्यैं गरेनौं। हामीले लोकतन्त्र बिर्सिएका पनि होइनौं। हामीलाई थाहा थियो र छ पनि पार्टी भित्र लोकतन्त्रको खडेरी छ। आन्तरिक लोकतन्त्र निकै कमजोर भइसकेको छ। कतै प्रजातान्त्रिक पार्टीभित्र निरंकुशताको त जन्म हुँदैन भन्ने चिन्ता पनि नभएको होइन। तर पनि हामी चुपचाप रह्यौं। हामीले पार्टीभित्रको निरंकुशता सह्यौं। फलस्वरुप नौ नौ वर्षसम्म पनि अधिवेशन भएन। जबकि विधानतः दुई दुई वर्षमा अधिवेशन हुनुपर्ने हो। हामीले लोकतन्त्र सिकाएका र लोकतान्त्रिक बनाएका पार्टी हामीभन्दा बढी लोकतान्त्रिक भइसके। आज हामीभन्दा लोकतान्त्रिक अभ्यासमा अब्बल बन्दै गएका छन् उनीहरु तर हामीले आफूलाई लोकतान्त्रिक भन्न पनि लजाउनुपर्ने स्थिति आएको छ।
आन्तरिक लोकतन्त्र सुदृढ नभएसम्म देशमा समग्र लोकतन्त्र र लोकतान्त्रिक व्यवस्था संस्थागत हुन सक्दैन। व्यक्ति व्यक्तिबाट समाज, समाज समाज हुँदै क्षेत्र र राष्ट्र बनेजस्तै जब पार्टीहरुमा आन्तरिक लोकतन्त्र बलियो हुन्छ यसको प्रभाव समाजका सबै क्षेत्रमा पर्छ। जसले गर्दा लोकतन्त्र मजबुत मात्र होइन यो संस्थागत बन्छ। कुनै तानाशाहीले लोकतन्त्र लुट्न खोजे पनि त्यो सफल हुँदैन। हामी आफूलाई लोकतान्त्रिक भन्छौं तर हामी आफैं लोकतान्त्रिक हुन सकेका छैनौं।
महामानव बीपी कोइरालाले भन्नुभएको छ, ‘तरुणहरुले त्याग र तपस्याको बाटो अंगाल्नु पर्छ, स्वार्थ र आत्मोन्नति र व्यक्तिगत महत्वकांक्षा पट्टी पटक्कै लाग्नु हुन्न।’ तर आज हामीले समीक्षा गर्ने बेला आएको छ, के हामी बीपीले भनेजस्तै त्यागी छौं ? के हामी समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक बनेका छौं ? छैनौं किनकि हामी आत्मकेन्द्रीत भएका छौं। हामी समाजको भलाईभन्दा पनि आफ्नो स्वार्थमा बढी समय व्यतित गरिरहेका छौं। प्रश्नहरु बल्ग्रेती छन्। हामीमा समस्या धेरै छन्। तर आज समय आएको छ। हामीले जिम्मेवार युवाको परिचय दिनु छ। त्यसका लागि हामीले विवेक प्रयोग गर्ने समय यही हो।
लामो समय कुहिरोभित्र अलमलिएका हामी त्यहाँबाट बाहिर निस्किएका छौं। अब हामीले आफ्नो गन्तव्य पहिल्याउनु छ। हामी नेविसंघका नेता कार्यकर्ता मात्र होइनौं। हाम्रै पुस्ताले भोलि यो देशको नेतृत्व गर्ने हो। त्यसकारण समाजले पत्याउने र विश्वास गर्ने व्यक्ति हामी बन्नुछ अनि नेविसंघ पनि विद्यार्थीको मात्र नभएर सिंगो समाज र राष्ट्रको स्वंयसेवक संगठनका रुपमा चिनिनु छ।
जोन हफ केनेडीले भन्नुभएको छ– हामी युवाहरु नवयूवाहरुका लागि आशा र सपनाका प्रतिक बनौं। हामी आज जे गर्छांै भोलिको पुस्ताले पनि सिक्ने त्यही हो। भोलिको पुस्तालाई पनि समाज र देशप्रति जिम्मेवार नागरिक बन्न हामी सच्चिनु जरुरी छ। युवा आफैंमा विवेकशील व्यक्ति हो। समाज दिनानुदिन शिक्षित बन्दै गएको छ। हाम्रो ज्ञानको दायरा फराकिलो बन्दै गएको छ। के सही के गलत छुट्टाउने क्षमता हामीमा छ। तर पनि हामी युवाहरु कहिलेकाहिँ विवेक गुमाइदिन्छौं। गलत हो भन्ने जान्दाजान्दै हामी गलत बाटो समात्न पुग्छौं। कारण, राजनीति नै हो। हामी आफ्नो विवेकभन्दा पनि अरु कसैको विवेकमा चल्छौं। स्वचालित भन्दा पनि परिचालित भइदिन्छौं। आज देश जुन स्थितिबाट गुज्रिरहेको छ, यसमा हामी पनि दोषी छौं। अहिलेको राजनीतिक नेतृत्वलाई हामीले दोष दिँदै गर्दा हामीले कति खबरदारी ग¥यौं भन्ने कुरा बुझ्नु जरुरी छ।
२०४६ सालको राजनीतिक परिवर्तनपछिका करिब २६ वर्षमा हामीले २४ वटा सरकार बदल्यौं। जब कि छिमेकी भारतमा यही समयमा १० पटक मात्र सरकार परिवर्तन भएको छ भने दक्षिण एसियाली अन्य श्रीलंकामा ५ पटक, बंगलादेशमा ९ पटक, पाकिस्तानमा १२ पटक सरकार परिवर्तन भएका छन्। २४ पटक सरकार परिवर्तन भएसँगै उत्तिकै संख्यामा प्रधानमन्त्री देशले पाएको छ भने मन्त्रीको संख्या त कति कति। तथ्यांक अनुसार नेपालमा एउटा सरकार सरदर ४ सय दिन टिक्दैन। निरन्तरको अस्थिर राजनीतिले देशमा परेको प्रभाव बारे भनिराख्नु पर्दैन। यसको सबैभन्दा ठूलो शिकार हामी भएका छौं। तर हामीले स्थिर राज्यव्यवस्थाका लागि कहिल्यै दबाब दिएनौं बरु राजनीतिक नेतृत्वलाई प्रोत्साहन दियौं। यो हाम्रो देशको राजनीतिक संस्कार बनिसकेको छ।
निराशा व्यापक छ। एउटा युवा आफ्नो भविष्यप्रति निश्चिन्त हुन सकेको छैन। आफ्नै लागि बाँच्न गाह्रो छ यो मुलुकमा। तर हामीसँग समय अझै छ। हामी जिम्मेवार भयौं भने देश बन्न समय लाग्दैन। अहिले त्यही समयको महत्वपूर्ण क्षणमा हामी आइपुगेका छौं। हामी हाम्रो विवेक प्रयोग गर्ने समयमा छौं। आज हामी हाम्रा लागि मात्र नभएर भोलिको पुस्ताका लागि पनि आशा बन्नु छ।
११ औं महाधिवेशनको निर्वाचन प्रक्रियामा हामी सहभागी हुँदै गर्दा आज हामीले चयन गर्ने नेतृत्वबारे गम्भीर हुनु जरुरी छ। हामीले सुझबुझ तरिकाले निर्णय गर्नुपर्ने बेला हो यो। आज हामीले चयन गर्ने नेतृत्व केवल संगठनको नेता मात्र होइन, सिंगो समाज र राष्ट्रकै आशाको केन्द्र हो। आजको नेतृत्व भोलिको राष्ट्रको नेता हो। त्यसकारण हामीले गुटउपगुट, आग्रह, पूर्वाग्रहबाट माथि उठेर संगठनलाई सही दिशा दिन सक्ने नेतृत्व चयन गर्नु जरुरी छ। हामीले छानेको नेतृत्व भोलिको पुस्ताका लािग पनि आशाको केन्द्र बन्न सकोस्।
आज राजनीतिमा निष्ठा, नैतिकता, आदर्श र इमान्दारिताको खाँचो छ। ईमान्दार र निष्ठावानहरु राजनीतिबाट पलायन हुने अवस्था छ। जब राजनीतिमा इमान्दार र निष्ठाको खाँचो हुन्छ तब राजनीति गलत मान्छेको हातमा जान्छ। कुमार र गणेशको कथा जस्तै नेताको घर चाहर्ने, कार्यकर्ता र जनताभन्दा पनि नेताकै चाकडी गर्नेहरु राजनीतिमा स्थापित हुँदै गएका छन्। आज राजनीतिमा त्यही गणेश प्रवृत्ति हावी हुँदै गएको छ।
शिक्षालय बाहुबल प्रयोग गर्ने थलो होइनन् यिनीहरु त विचारको प्रतिस्पर्धा गर्ने मन्दिर हुने भन्ने बीपीको भनाईलाई हामी आफ्नो आदर्श वाणी ठान्छौं तर आज स्थिति के छ भनिराख्नुपर्दैन। त्यसकारण म सबै विवेकशील प्रतिनिधि साथीहरुलाई आग्रह गर्छु कि हामी संगठनलाई सशक्त र जुझारु भएको देख्न चाहन्छौं र आदर्श र निष्ठाको राजनीतिलाई जीवन्त राख्न चाहन्छौं भने साँच्चिकै विवेक प्रयोग गर्ने बेला आएको छ। राजनीतिप्रति बढ्दो वितृष्णालाई कम गर्न पनि हामीले समाजले विश्वास गर्ने नेतृत्व चयन गर्नु छ। किन कि जब राजनीतिप्रति समाजमा वितृष्णा बढ्छ, त्यसले अन्ततः तानाशाह जन्माउँछ। हाम्रो तीन पुस्ता तानाशाह विरुद्ध लड्यो अब फेरी तानाशाह विरुद्ध भावी पुस्ताले पनि लड्ने दिन नआओस्। हामी विवेकशील बनौं।
(बर्मा नेविसंघ नेतृ हुन्। )