वर्षायामको सप्तकोसी, हेर्दै डरलाग्दो। झन् तर्नुपर्ने भएपछि नौनारी गलेर आयो। तरेर त्यही दिन फर्कन सम्भव थिएन। त्यसैले स्पर नम्बर २६.८८ मा उभिएर एकछिन कोसीलाई हेरेँ। आँखाले भ्याउने जति पानी नै पानी। आँटै आएन।
मनमा डर थियो, बाढी आएको कोसी तर्दैगर्दा डुंगा पल्टियो भने? चारैतिर कोसीले घेरेको टापुमा पुगेकै बेला कोसी उर्लेर टापु नै डुबायो भने? त्यो भएन भने पनि टापुभित्रको पानीको भेल तर्न सकिएन भने?
इटहरीमै हुँदा मैले कोसी र टापुको विषयमा जानकार दुई जना व्यक्तिसँग परामर्श गरेको थिएँ। टापुमै रहेकी महिला स्वयंसेविका प्रमिला कविरथले भनेकी थिइन्, ‘कम्मर–कम्मर आउने पानी जमेको छ, काँडैकाँडा छ, आउन सक्नुहुन्न होला ।’
कोसीसँग नजिक रहेका पत्रकार बाबुराम कार्कीले पनि बाढी आएको बेलामा टापुमा जानु जोखिमपूर्ण हुने बताएपछि म अवस्था हेरेर जाने पक्षमा थिएँ।
पत्रकार दाइ वेदराज पौडेल भने अघिल्लो दिनदेखि नै तयार हुनुहुन्थ्यो। चार बजे डुंगा प्रस्थान हुने कुरो थियो। स्परमाथि दुई घण्टा कुरेपछि तीन बजे कोसीको बीचमा एउटा डुंगा झुल्कियो।
आँखाले हेर्दा कति मानिस छन्, ठम्याउन गाह्रो थियो। मूभी क्यामरा सोझ्याएँ र जुम तानेँ। दुई चार मानिस रहेछन्। डुंगा आउँदा आउँदै बीचैमा अड्केको रहेछ। कोसीमा बालुवा थुप्रिएको भागमा पुगेर डुंगा अड्किएको रहेछ।
हिलो बाटोमा बसलाई ठेलेको देखेको थिएँ, तर त्यहाँ पानी कम भएको ठाउँमा डुंगालाई तानेर पानी भएको ठाउँमा पुर्याएको देखेँ। चतराभन्दा तल आइसकेपछि कोसी निकै चौडा भएर फैलिएको छ। त्यहाँ बीच–बीचमा बालुवा थुप्रिएको हुँदा डुंगाबाट कोसी एकैपटक तर्न सम्भव नहुने रहेछ। दुई–तीन पटक उत्रिएर हिँडेपछि मात्र यात्रु कोसी तर्दा रहेछन्।
हामी उभिएको स्परमा महेन्द्रनगर प्रहरीका इन्सपेक्टर अनिल पौडेल टिम लिएर आइपुगे। चार जना लाइफ ज्याकेट लगाएका प्रहरीसहितको उनको टोली आएपछि भने कोसी तर्न अलि आँट आयो। वारी आएको डुंगा पारि जान नमानेपछि हामी डुंगा लाग्ने माथिल्लो स्टेशन सिसौलीघाटतिर हुइँकियौं। त्यहाँ एउटा डुंगा हामीलाई नै कुरिरहेको थियो।
डुंगा चालक तथा डुंगा मालिक भोगेन्द्र भट्टराई बडा फुर्तिला युवा थिए। उनले सिसौली घाटबाट डुंगा चलाउने वार्षिक ठेक्का पारेका रहेछन्। एक रातको श्रीलंका टापु बसाइका क्रममा उनी हाम्रा लागि पथ प्रदर्शकसमेत भए।
‘त्यहाँबाट हेलियो भने बालुवाको थुप्रोमा अड्किँदैन र सिधै पारी पुग्छ,’ भोगेन्द्रले किनारमा उभिएर पाँच सय मिटर उत्तरको बगरलाई इकिंत गरे। डुंगालाई एकैपटक नदी पार गराउने योजनामा थिए उनी।
डुंगा तर्न केही यात्रु पहिलादेखि नै तयार थिए। डुंगालाई बाँधेको डोरी लामो गरी तन्काइयो। तीन–चार जना भएर डुंगालाई नदीको धारको उल्टो दिशातिर डो¥याउन थाले। हामी भने बगर–बगर हिँड्यौं। छिपछिपे बालुवामा खुट्टा भासिन्थ्यो।
सप्तकोसीले बालुवामात्र हैन, रुख र मुढासमेत बगाएर ल्याउँछ। कोसीले बगाएर ल्याएका रुख, दाउरा संकलन गरेर स्थानीय रोजीरोटी गर्छन्। यस्तो काममा डुंगा चाहिन्छ, इन्द्र राई कोसी किनारमा नयाँ डुंगा बनाउँदै गरेको अवस्थामा भेटिए। उनले तीस हजार ज्याला दिएर कोसीमै बगेर आएका काठसमेत मिलाएर डुंगा बनाउन लगाएका रहेछन्। एकछिन उनीसँग कुरा गर्यौं।
डुंगा कोसी तर्न ठिक ठाउँमा पुग्यो। हामी डुंगामा बस्यौं । हामीसँग चार जना प्रहरीसमेत थिए। डुंगामा मानिस सँगै भैंसी पनि तार्ने कुरा चल्यो।
वर्षाको कोसी, त्यसमाथि डुंगामा भंैसी? सोचेरै डर लाग्यो।
‘भैंसी त हिजै लगिसकेको छ, पाडापाडी मात्र हो,’ कसैले भन्यो। चार वटा पाडापाडीको खुट्टा बाँधेर डुंगामा राखियो। डुंगा नदीको धारतर्फ सोझियो।
मैले छेउमै बस्ने एक जना बृद्धालाई हेरेँ। तिनले आँखा चिम्लिएकी थिइन्। अनि ओठ चलाएर के–के गुन्गुनाउँदै थिइन्। उनी डराएको थाहा पाउन मलाई कतिबेर लागेन। कोसीको मुख्य भंगालो पार भइसकेपछि तिनले आँखा उघारिन् र भनिन्, ‘आज त हल्लाएन है, राम्रोसँग तरियो।’
बादलले आकाश धुम्म परेको थियो। साँझको समयमा घामले बनाएको छाया मधुरो बन्दै गइरहेको थियो। कोसीको सतहभन्दा १० फिट जति अग्लो टापुको तिरैतिर दक्षिणतर्फ अघि बढ्यौं। त्यहाँ बाढीको नामोनिशान थिएन। बाढीले डुबान गरेको बस्ती भेट्न त्यहाँबाट चार घन्टा हिँड्नुपथ्र्यो।
गाउँ आइपुग्न लागेपछि बाटोमा पानी जमेका पोखरी तथा सिरुबारी भेटियो। हिजोदेखि पानी सुक्न थालेको रहेछ। कसैले सुनाउँदै थिए, ‘अस्ति त कम्मर कम्मरसम्म पानी थियो, घर सबै डुबेका थिए।’
ती महिला स्वयंसेविकाले भनेको कुरा याद आयो, ‘कम्मर–कम्मरसम्म पानी जमेको छ।’
कोसीले टापुमा चार वटा बाटोसहितको एउटा ठूलो हिस्सा बगाएको रहेछ। यो वर्षमात्रै सयौं बिगाहा जमिन कोसीमा बगेछ। यति नै भन्ने त यकिन भएन, तर मेरो अनुमानमा कम्तीमा दुई सय वटा फुटबल ग्राउण्ड अँट्ने भाग कटानमा परेको थियो।
त्यसमाथिका रुख, बुट्यान पनि कोसीले बगाएछ। बाटो नभएपछि झाडीको बीचमा नयाँ ट्र्याक खोलिएको थियो। बुट्यान र काँडा पन्छाइसकिएकै थिएन, पाइलैपिच्छे काँडाले कोपथ्र्यो। ती महिला स्वयंसेविकाको अर्को भनाइ याद आयो, ‘बाटोभरि काँडैकाँडा छन्।’
बिहान १० बजे खाना खाएर हिँडेको, हतारोको कुदाइले गर्दा बेलुकी सात बजेसम्म पनि केही खान पाइएको थिएन। केही किन्नलाई पसल पनि थिएन। डेढ घण्टा लगातार हिँडेपछि पूरै अन्धकार छायो। एउटा घरको फराकिलो आँगनमा सुस्तायौं। सानो पसल रहेछ, चाउचाउ र पानीले केही राहत दियो।
त्यहाँबाट आधा घन्टा हिँडेपछि रामबहादुर माझीको घरमा पुगियो। उनी पनि सानोतिनो ठेक्कापट्टाको काम गर्दा रहेछन्। हेर्दा मोटो जिउडाल, खाइलाग्दा माझीको घरमा चामलको पोको आयो। भात पाक्यो। खुँदोको सेन्तेरेम पनि आयो। पिउनेहरू जमे। रामबहादुरले नै बढी पिए। उनको पेट ठूलो पुक्क परेको थियो। ‘राम दाइको पेट चै घैलैजस्तो छ हौ,’ भोगेन्द्रले घरिघरि जिस्काउँथे।
ख्यालठट्टा र गफ लामै समय चल्यो। राति ११ बजेपछि कुखुराको मासुको झोल र भात आइपुग्यो। अघिपछि मरमसला हालेको तरकारी चाहिने स्वादे जिब्रोलाई लसुन र अदुवासँग पकाएको मासुको झोल सायद दिनभरिको भोक र थकानले पनि होला मिठो लाग्यो।
सुत्नलाई किसन राईको घरमा पुग्यौं। रातको १२ बजिसकेको थियो। उनको घरको बरण्डामा एउटा खाटमा दुई जना सुतिरहेका थिए। हामी पुगेपछि राईले दुबैलाई उठाएर भित्र सुत्न पठाए। हामीलाई खाटमा सुत्न दिए। भोगेन्द्र र अरु दुई जना भुइँमा सुते। बाँकी रहेका अर्कै घरमा सुतिसकेका थिए।
हामी सुतेको खाटमाथि र वरिपरि मकै नै मकै थिए।
बाढीभन्दा पनि धेरै आउने र टापुबासीलाई सताउने एउटा जन्तु छ, हात्ती। मकै नै मकैले भरिएको बरण्डामा सुतेका थियौं। मकै खानकै लागि हात्ती आयो भने के गर्ने? वेदराज दाइलाई पनि डर लागेछ। ‘हात्तीको त टेन्सनै नलिनु न, कसरी भगाउनुपर्छ मलाई थाहा छ,’ भोगेन्द्रलगायत अरुले ढुक्क बनाउन खोजे।
ब्युझँदा पाँच बजेको थियो। सबै सुतिरहेका थिए। कुखुरा बास्न थाल्यो। राति ११ बजेको अँध्यारोमा तरेको खोल्सो मात्र थाहा थियो। तर, हामी सुतेको घर वरपर घरैघर रहेछन्।
अर्को घरमा बास बसेका असई देवी सरको प्रहरी टोली लाइफ ज्याकेटसहित आइपुग्यो। हामी रिपोर्टिङका लागि हिँड्यौं । प्रदीप थापाको घरमा पुग्यौं।
उनी टापुका सानातिना झै–झगडा मिलाउने गर्दा रहेछन्। तर, उनी आफै भने पारिवारीक कलहमा फसेका थिए। दोश्रो श्रीमतीको रुपमा ल्याएकी छोरोसहितकी श्रीमतीले उनलाई छाडेकी रहिछन्। साथमा २० वर्षका छोरालाई पनि लगिछन्।
झन्डै दुई लाखको गहना पनि बोकेर हिँडिछन्। थापा भन्दै थिए, ‘१५ वर्ष सँगै बस्यौं, यो उमेरमा खै के गरेकी हो? मागेकै भए पनि म दिइहाल्थेँ नि।’
उनी आफैं क्यान्सरसँग जुधिरहेका रहेछन्। ‘किमो लिइरहेको छु,’ उनले सुनाए, ‘आफैं बिरामी भएपछि अहिले पहिलाजस्तो सक्रिय छैन।’ उनले आफैंलाई सुहाउने भन्दै एउटा नयाँ टुक्का पनि सुनाए, ‘कुकुर छैन गाउँ ठूलो, सम्पत्ति छैन नाम ठूलो।’
१० बजे डुंगा भेट्न किनारमा फर्किसक्नुपर्ने बाध्यता थियो। बाढी प्रभावित क्षेत्रसम्म हिँडेरै पुगेर फर्किँदा धेरै समय लाग्ने भयो। मोटरसाइकलको खोजीमा बद्री राईको पसलमा पुग्यौं। उनी भने त्यहाँ थ्रेसरसहित सानो पसल थापेर बसेका थिए। हामीले थप मोटरसाइकल जुटाइदिन अनुरोध गर्यौं। उनले मिश्रीलाल महतोलाई पनि बोलाए। हेर्दाहेर्दै तीन वटा मोटरसाइकलको जोहो भयो।
...
टापुमा विद्युत छैन। उज्यालोको लागि सोलार राख्ने क्रम सुरू भएको छ। तर, सोलारले मोबाइलसम्म मुस्किलले चार्ज हुन्थ्यो। मैले बोकेको मोबाइलको चार्ज सकिइसकेको थियो।
राति ल्यापटप खोलेर मोबाइल चार्ज गरे पनि भोलिपल्ट बिहानै रातो देखाइहाल्यो। अघिल्लो दिन नै चार्ज नगरेका कारण पुरानो भिडियो क्यामेराको ब्याट्री घिटिघिटि गरिरहेको थियो। टापुमा चार्ज हुन सकेन । राम्रो ब्याकअप दिने ब्याट्रीसहितको क्यामरा नभएकै कारण चाहेजति तस्बिर र भिडियो खिच्न सकिएन।
हिलो र पानी जमेको खोल्सोबाट तर्कंदै मोटरसाइकलमा बाढी प्रभावित क्षेत्रसम्म पुग्यौं। पानी निकै घटिसकेको रहेछ। बाढी आएको बेलामा औषधि उपचार पनि नपाएको गुनासो स्थानीयले गर्दैथिए।
यो पटक समयमै ढोका नखोलेकोले पानी जमेको मिश्रीलाल महतो बताउँदै थिए।
...
श्रीलंका टप्पुमा १० हजार बढी घर छन्। सात हजारको हाराहारीमा परिवार बस्छन्। टापुमा मानिसभन्दा तीन गुणा बढी गाईभैंसी र राँगा होलान्। टापुको लोभलाग्दो चरन क्षेत्रमा सप्तरीदेखिका भैंसी र राँगा ल्याइन्छ। त्यहीँ पाडापाडी जन्मन्छन् र भारत लगेर बेचिन्छन्।
२०२० सालसम्म त्यो भू–भागमा कोसी बग्थ्यो। कोसीको धार पूर्वतर्फ सोझियो। पश्चिमतर्फ टापु बन्यो। टापुमा सुनसरीको प्रकाशपुर, महेन्द्रनगर गाविसका केही वडा पर्छन्। उदयपुरका तपेश्वरी गाविसको केही भू–भाग पनि पर्छ।
अहिले कोसी पश्चिमतिर सोझिएको छ। जसको कारण टापुको पूर्वी क्षेत्र निरन्तर कटानमा परिरहेको छ। त्यहाँ बाँध बाँधेर कटान रोक्न पनि समस्या छ। अहिले कोसी बगिरहेको ठाउँमा नम्बरी जग्गा छन्। ती जग्गाधनीहरूले क्षतिपूर्ति र मु–आब्जाको लागि संघर्ष गरेको वर्षौं भइसक्यो।
२०६५ सालमा कोसीको पूर्वी तटबन्ध भत्केर आएको बाढीबाट पीडित बनेकाहरूले उहिल्यै क्षतिपूर्ति पाइसके। तर, ती पुराना कोसी पीडितहरूले पाएका छैनन्। कोसी पीडित संघर्ष समितिका बाबुराम कार्कीका अनुसार त्यसरी क्षतिपूर्ति दिने दायित्व कोसी ब्यारेजका नाममा कोसीलाई नियन्त्रण गर्ने भारत सरकारको हो, तर नेपाल सरकारले नै क्षतिपूर्ति दिलाउन पहल नगरेको पीडितहरूको बुझाइ छ।
नम्बरी जग्गामा नदी कुदाएर नदीको जग्गालाई मानव बस्तीको रुपमा संरक्षण गर्न कानुनतः सम्भव छैन। त्यसैले वर्षेनी आउने बाढी र कटानबाट टापुमा बस्ने मानिसहरू त्रस्त छन्।
यातायातको सुविधा छैन। वर्षायाममा कोसी उर्लेको बेलामा डुंगासमेत नचल्दा बाहिरी संसारसँग टापुको सम्बन्ध विच्छेद हुन्छ।
डुंगा पनि जतिखेर पायो, त्यतिखेर चल्दैन। डुंगा पार गरिसकेपछि पनि बजार पुग्न दुई घन्टा बढी हिँड्नुपर्छ। स्वास्थ्योपचार, बैंक र सरकारी सेवाबाट टापुबासी टाढा छन्।
...
फर्कँदै गर्दा टापुमा अथाह सम्भावना देखेँ। मलिलो माटो, ठूलो क्षेत्रफल। सरकारले टापु जोगाएर त्यहाँको जमिनमा कुनै परियोजना सञ्चालन गरेर विदेशी पर्यटक र अनुसन्धानकर्तालाई आकर्षित गर्न सक्छ।
टापुमा अचेल घुम्न, पिकनिक खान र रमाइलो गर्न जाडो याममा फाट्टफुट्ट मानिसहरू पुग्ने गरेका छन्। यो आकर्षणलाई सुनसरी जिल्ला र सरकारले नै आम्दानी गर्ने अवसरका रुपमा सदुपयोग गर्न सक्छ। आवश्यकताअनुसार रबर बोटसमेत सञ्चालनमा ल्याउन सकिन्छ। तर, त्यतातिर सरकारी नजर छैन।
सप्तकोसी तरेर श्रीलंका टापु प्रायः जाडो याममा पुगेको थिएँ। वर्षामा भने ७० सालको साउने भेलमा सप्तकोसीमा डुंगा चढेको अनुभव छ। डुंगा दुर्घटनाको रिपोर्टिङ गर्ने क्रममा सशस्त्र प्रहरीको रबरबोटमा गएको थिएँ। रबरबोटमा अलि बढी नै हल्लाउँदो रहेछ। कोसीको बीचमा पुगेपछि त गइयो भन्ने लागेको थियो।
कोसी त तरियो, तर सशस्त्र उतै बस्ने भयो। हामी उदयपुरतिरै अड्कियौं। ठोक्सिला गाविसको एउटा गाउँमा रात बितायौं। भोलिपल्ट फर्कँदा तीन घन्टा हिँडेर चतरामाथिको झोलुंगे पुल तरेर आएका थियौं। त्यतिखेर चतरामा अहिले बनेको पक्की पुल निर्माणाधीन थियो भने पारिपट्टी सडकको ट्रयाक खोलिँदै थियो।
यसपटक भने त्यति समस्या थिएन। डुंगा मालिक हामीसँगै थिए। ११ बजे टापुबाट किनारसम्मका लागि मोटरसाइकलमै गुड्यौं। किनारमा आइपुग्दा हामीले देख्यौं, पेन्ट काँडाले कोतरेर च्यातिएछ। घिसार्दा घिसार्दा फिताले खुट्टा पिल्सिएर चप्पलै लगाउन नहुने भएको थियो।
हिलोमा गाडिँदा चप्पल १० गुणा बढी भारी हुन्थ्यो। भारी चप्पलले झन् पिल्साउँथ्यो। किनारमा आएर कोसीको पानीमा खुट्टा भिजाएँ। चिसो भयो। पानीबाट खुट्टा झिक्नै मन लागेन।
डुंगा चढ्यौं। डुंगामा अरु १०–१२ जना स्थानीय पनि थिए। डुंगाले मानिस तारेको २० रुपैयाँ लिन्छ। जाँदाजस्तो फर्कँदा एकैपटक कोसी पार गर्न सकिएन। बीचमा बालुवामा उत्रिएर हिँड्यौं। त्यहाँ पानीको सतहदेखि बालुवाको सतह आधा फुटमात्र अग्लो थियो। वरिपरि पानी नै पानी।
कोसीको मुख्य धार पार गर्नै बाँकी थियो। त्यहाँ ठूला–ठूला ढ्याउ उठिरहेका थिए। ढ्याउ उठ्दा डरलाग्दो आवाज आउँथ्यो। ढ्याउमा पसेको डुंगा अलिकति गल्ती भयो भने पनि उचालिएर एकापट्टि कोल्टिन सक्थ्यो।
डुंगा वारि ल्याउने पनि भोगेन्द्र नै थिए। ढ्याउ छल्न खोज्दा नमिलेपछि भोगेन्द्रले ढ्याउ बीचबाटै डुंगा लाने निधो गरे। एकछिन ढलपल ढलपल गर्यो। यात्रुहरूले ढुंगा र नजिकै भएकाहरूको हात दह्रो गरी समाते। ढ्याउ पार भयो।
कोसीको बीचमा रहेको सानो होटलमा खाना खायौं। खाइसकेर फेरि डुंगा नदीको अर्को भंगालोतर्फ लाग्यो। हामी कोसी पार भयौं।