आमाको दुध अमृत समान हुन्छ भन्ने हामी सबैले जानेको कुरा होl बच्चा जन्मेको एक घण्टाभित्रै स्तनपान सुरु गर्नु पर्छ र ६ महिनासम्म आमाको दुध मात्रै खुवाउनु पर्छ भन्ने सन्देश मूलक सूचना हामीले दिनहुँ जस्तो देख्ने वा सुन्ने गरेका छौंl आफ्नो बच्चालाई दुध पुगेन भनेर पाउडर दुध (फर्मुला) वा गाइ-भैसीको दुध खुवाउने पनि चलन पनि छl
आखिर किन यस्तो हुँदैछ? अस्पतालमा जन्मेका बच्चालाई समेत पहिलो घण्टाभित्रै र ६ महिनाको उमेरसम्म पूर्णरुपले स्तनपान गराउन किन सकिरहेका छैनौं?
अंग्रेजी महिना अगस्टको पहिलो हप्ता यस वर्षपनि विश्व स्तनपान सप्ताह मनाइरहँदा वालविशेषज्ञका रुपमा मलाई पिरोली एउटा प्रश्न यो पनि हो l संसारभर सात करोड सत्तरी लाख नवजात शिशुले पहिलो घण्टाभित्र स्तनपान गर्न पाएका छैनन् र ५७ प्रतिशत शिशुहरुले ६ महिनासम्म पूर्णतया स्तनपान गर्न पाएका छैनन्l तर यस पटक हामी प्रत्येक बच्चाको जीवनको शुरुवात स्तनपान मार्फत गराउने लक्ष्यका बारे कुरा गर्दैछौं l हाम्रो लक्ष्य र वर्तमान अवस्थावीच निकै गहिरो खाडल छl
स्तनपानको फाइदा थाहा नहुने सायदै कोही होलान्l बजारमा पाइने दुधको डिब्बामा समेत स्तनपान शिशुको लागि सबै भन्दा राम्रो आहार हो भन्ने सन्देश लेखिएको हुन्छ l आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु (बिक्री वितरण, नियन्त्रण) ऐन २०४९ ले नै त्यस्तो सन्देश अनिवार्यरुपले उल्लेख गर्नु पर्ने कानुनी व्यवस्था गरेको छl
बच्चाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने खास खास रोग वा अवस्थामा बाहेक शिशुलाई स्तनपान नै गराउन सल्लाह दिनु पर्छ भनेर कानुनले नै स्वास्थ्यकर्मीलाई समेत बाध्य गराएको छ l जन-स्वास्थ्य नीति तथा कार्यक्रममा स्तनपान प्राथमिकतामा पर्दै आएको छ र परिनै रहनेछ l
‘मेरो बच्चालाई त मेरो दुधले पुग्दै पुग्दैन’ भन्ने गुनसो र चिन्ता सायद धेरै जसो आमालाई हुनेगर्छl अझ बच्चा रोइरहेको छ भने दुध नपुगेर हो भनेर परिवारका सदस्यले आमालाई जे भए पनि खुवाउन दबाब दिने गरेको पनि पाइन्छl तर सत्य कुरा के हो भने शिशुहरु बेलाबेलामा रुन्छन र शान्त हुन्छन्l भोक लाग्नुका अलावा कहिलेकाहिँ बच्चा दिशापिसाब गरेर, तातो वा चिसो भएर, केही कुराले दुखाएर वा बिरामी परेर पनि रोएको हुन सक्छन्l भोक लागेको भए आवश्यकता अनुसार स्तनपान गराउनु पर्छ।
आफ्नो बच्चालाई दुध पुगेको छ भन्ने सबैभन्दा भर पर्दो आधार भनेको दिनमा ६ देखि ८ पटक पिसाब फेर्नु हो l त्यस्तै सुरुको हप्ता बाहेक महिनामा लगभग आधा किलो तौल बढेको छ भने स्तनपान पर्याप्त छ भन्ने बुझ्नु पर्ने हुन्छ l
शिशुलाई दिनमा कति पटक स्तनपान गराउँदा पर्याप्त हुन्छ त? जन्मदा कम तौल भएको, उमेर अनुसार तौल नबढेको वा बिरामी परेको नवजात शिशुलाई २४ घण्टामा कम्तिमा ८ पटक दुध खुवाउनु पर्छ र रातमा समेत खुवाउनु पर्छ l प्रत्येक २-३ घण्टाको फरकमा स्तनपान गर्न वा दुध निचोरेर खुवाउन प्रयास गर्नुपर्छl
एक पटकमा यौटा स्तनबाट दुध नसकिउन्जेल खुवाउनु पर्छ किनकी बच्चाको तिर्खा मेटाउने खालको दुध बढी मात्रामा शुरुमा निस्कन्छ र चिल्लो पदार्थ बढी भएको भोक मेटाउने खालको दुध त्यसपछि निस्कन्छl आलोपालो अलि-अलि चुसाएमा शिशुलाई अघाएको आभास हुँदैन र भोकाए जस्तो गरेर रुन्छl
पहिलो पटक आमा बनेका धेरै जसोका लागि स्तनपान शुरु गराउन केही गाह्रो हुने गर्छl बच्चाले जन्मने बित्तिकै दुध चुस्न खोज्छ र बिस्तारै यो कलामा पारङ्गत हुन्छl आमाको लागि पनि यो सजिलै सिक्न सकिने सीप हो l तर सुरुका दिनहरुमा आमा र बच्चालाई स्तनपानमा सहायता चाहिन्छl हामी स्वास्थ्यकर्मी र परिवारका सदस्यको उनीहरुलाई सहयोग गर्नुपर्छ।
सफल स्तनपानका लागि महत्वपुर्ण आधार भनेको सहि आसन र सहि स्तन सम्पर्क हो l आमा जुनसुकै आसनमा भए पनि केही फरक पर्दैन तर शिशुको आसन मिल्नुपर्छ र शिशुले सहि तरिकाले आमाको स्तन चुस्नुपर्ने हुन्छ l
सहि आसन भन्नाले शिशु आमातिर फर्केको हुनुपर्छ, टाउको र शरिर सिधा र राम्ररी समातेको हुनुपर्छ र शिशु स्तनको सकेसम्म नजिक हुनुपर्छl यो आसनमा जव शिशुले आफ्नो चिउँडोले आमाको स्तन छोएर मूख पुरा खोल्छ, तल्लो ओठ बाहिर पार्छ र स्तनको कालो भाग सकेसम्म धेरै मुखभित्र पारेर चुस्न थाल्छ, त्यसपछि दुध बाहिर निस्कन्छl यसरी सहि तरिकाले घुटुक घुटुक दुध निलेको आवाजसहित सन्तुष्ट हुने गरी दुध खाइदिँदा आमालाई पनि सन्तोष महशुश हुन्छ र आत्मविश्वास बढ्छl
तर आसन र स्तन सम्पर्क सहि भएन भने पर्याप्त दुध आउँदैन र शिशु भोकै हुने मात्र हैन रिसाउन पनि थाल्छl शिशुले दुध चुसेको छैन भने दुध बन्ने प्रक्रिया पनि रोकिन्छ र क्रमश स्तनपान नै रोकिने सम्भावना हुन्छ l स्तनको टुप्पोमा घाउ हुने र त्यसले गर्दा गानिने, पाक्ने जस्ता समस्या पनि आउन सक्छl त्यसैले स्तनपानमा समस्या आउँदा समयमा नै उपयुक्त व्यवस्थापन हुन जरुरी छl पूर्णतया स्तनपान गराउने हो भने शुरुका दिनमा आउने यी समस्या निराकरण गर्ने पर्ने हुन्छl
अपरेसन गरेर बच्चा जन्माउँदा वा प्रसुतिको बेला भएको शारीरिक जटिलताले सुरुका केही दिनमा आमालाई सिधा बसेर दुध खुवाउन गाह्रो हुन्छl अझ सिजरियन सेक्सन गर्दा ढाडबाट बेहोस गर्न लगाउने औषधिको टाउको दुखाउने साइड इफेक्ट हुन्छl तर उक्त दुखाई कम्तिमा २४ घण्टासम्म सुतिरहने हो भने निकै कम हुन्छl आजकाल ठूला अस्पताल, विशेष गरी निजी अस्पतालमा अपरेसन गरेर बच्चा जन्माउने क्रम अस्वाभाविक रुपमा बढेको देखिन्छ l
बच्चा जन्मेको पहिलो घण्टाभित्र स्तनपान शुरु गर्न यस्तो प्रक्रिया बाधक हुने गरेको छl तर आमालाई सजिलोसँग सुताएरै बच्चाको सहि आसन र स्तन सम्पर्कसहित स्तनपानमा सहायता गर्ने हो भने पहिलो घण्टाभित्रै पूर्ण रुपले स्तनपान गराउन सम्भव छl
कतिपय अभिभावक र केही स्वास्थ्यकर्मीले आमालाई सुतेर दुध नखुवाउनु सल्लाह दिनेगर्छन्l किनकी कहिलेकाहिँ बच्चाको आसनमा ध्यान पुर्याउन नसक्दा दुध सर्काउने जोखिम त हुन्छl त्यसकारण सुतेर दुध खुवाउँदा साबधानी आपनाउनु पर्छl आमा सुतेर दुध खुवाउँदा बच्चाको कान पाक्छ भन्ने धारणा चाहिँ भ्रम मात्रै हो l
कहिलेकाहिँ शिशुलाई जन्मने बित्तिकै सास फेर्न समस्या पर्ने वा जटिल बिरामी पनि हुनसक्छ l हाम्रो ध्यान सकेसम्म चाडो स्तनपान सुरु गर्नेतर्फ हुनुपर्छ l कुनै कुनै रोग वा औषधिको प्रयोगमा बाहेक प्राय जसो आमाको दुध खुवाउन कुनै रोकटोक हुँदैनl
बोतलको निप्पलबाट दुध सजिलै बच्चाको मुखमा आउने हुँदा उसले आमाको स्तनबाट चुसेर निकाल्न अल्छी गर्न थाल्छ र त्यसपछि स्तनपान नै रोकिने हुनसक्छ l दुध सहि तरिकाले बनाउन र सरसफाईमा ध्यान पुर्याउन वच्चा बिमारी पर्न सक्ने सम्भावना पनि हुन्छ।
स्तनपान चाँडै सुरु गर्ने, छ महिनासम्म आमाको दुध मात्र खुवाउने र त्यसपछि पनि स्तनपान जारी राख्दै थप आहार खुवाउँदा शिशु मृत्युदर धेरै हदसम्म कम गर्न सकिन्छ भन्ने प्रमाणित भैइसकेको कुरा हो l आमको दुधमा शिशुलाई चाहिने सबै थरिका पोषकतत्व पाइने, अरु दुध भन्दा पचाउन सजिलो हुने, रोगसँग लड्ने प्रतिरक्षा प्रणाली मजबुत बनाएर संक्रमण घटाउने हुँदा आमा दुध वच्चाका लागि महत्वपूर्ण हुन्छl त्यसबाहेक आमाबच्चाको आत्मियता मजबुत हने र आमाको स्वास्थ्यमा समेत फाइदा पुग्ने अनुसन्धानले देखाएको छ।
स्तनपान गराउन आमाले सन्तुलित आहार साबिक भन्दा धेरै खानु पर्छ र तनाव र थकानबाट मुक्त हुनुपर्छ l पूर्णतया स्तनपान गराउन आमालाई आराम र समय दिनुपर्छ l सुत्केरी बिदा, कार्य क्षेत्रमा स्तनपान कक्ष र स्तनपानमा पिताकोको पनि सहयोगी भूमिकाको हुनु जरुरी हुन्छ।
प्रसुति तथा नवजात शिशु स्याहार प्रदान गर्ने सबै स्वास्थ संस्थाहरु आमा-बच्चा मैत्री बनाउन र अस्पतालबाटै स्तनपानको सुरुवात गराउन र मार्गदर्शन गराउन सन् १९९१ देखि विश्व स्वास्थ्य संगठन र युनिसेफले सिफारिस गरेका निम्न १० बुँदालाई तत्कालिन अवस्थासँग समायोजन गरेर कडाइका साथ अबलम्बन गर्नुपर्ने देखिन्छ l
१. स्तनपान सम्बन्धी लिखित नीति हुनुपर्छ जुन सबै स्वास्थ्यकर्मीलाई नियमित रुपमा सुचित गरिनु पर्छ l
२. सबै स्वास्थ्यकर्मीलाई स्तनपान नीति कार्यन्वयन गर्न चाहिने सीप सिकाउन तालिम दिनुपर्छ l
३. सबै गर्भवती महिलालाई स्तनपानको फाइदा र व्यवस्थापन बारे बताउनु पर्छ l
४. आमालाई बच्चा जन्मेको आधा घण्टाभित्रै स्तनपान सुरु गर्न सहयोग गर्नुपर्छ l
५. आमालाई स्तनपान कसरी गराउने र शिशुसँग छुट्टिनु परेको बेला कसरी आमाको दुध खुवाइँरहनु पर्छ भनेर देखाउनु पर्छ l
६. शिशुलाई चिकित्सकले सिफारिस गरेको आमाको दुध बाहेक कुनै पनि खुवाउने र पिउन दिनुहुँदैनl
७. आमा र शिशुलाई चौबिसै घण्टासंगै बस्न पाउने व्यवस्था मिलाउनुपर्छl
८. माग अनुसार स्तनपान गराउन प्रोत्साहन गर्नुपर्छ।
९. स्तनपान गर्ने शिशुलाई कृतिम निप्पल वा ‘प्यासिफायर’ दिनुहुँदैन l
१०. स्तनपान सहायता समूह गठन गर्ने र अस्पतालबाट घर पाठाएपछि त्यस्ता समूहमा जान प्रोत्साहन गर्नु पर्छ l
(वाल रोग विशेषज्ञ डा. धरेल धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपप्राध्यापक हुन् ।)