थुप्रै सर्ट फिल्मका लागि कथा लेखिसकेको भए पनि,‘कथामा अल्झीएका प्रेम’ भन्ने पुस्तक प्रकाशित भएपछि मात्र म लेखिकाको रूपमा पनि चिनिएँ।
भर्खरभर्खर पाएको लेखिकाको नयाँ ट्यागलाइ लिएर म दंग थिएँ। भेटनेहरूले ‘ओहो टेलीभिजनमा कार्यक्रम, म्युजिक भिडिओ निर्देशन सँगसगँै अब लेखन पनि? ल बधाई छ’ भन्दा मुसुक्क हाँस्दै धन्यवाद दिन्थेँ।
किताब पढेकामध्ये कतिले ‘तिम्रो कथाले साह्रै मन छोयो’ भनी दिँदा म संसारै जिते जस्तो गरी मख्ख पर्थें। ‘पहिलो प्रयास हो ठीकै छ, तर अझ मेहनत गर्नुपर्छ’ भन्नेले मेरो भलो चाहेको सम्झेर हृदयदेखि धन्यवाद दिँदै मेहनत गर्न हौसिन्थेँ।
तर एकदिन अचानक भएको एकजना पुरानो साथीसँगको भेटले मलाई झसंग बनायो। म एकछिन सोच्न बाध्य भएँ, कतै लेख्न शुरु गरेर मैले गल्ती त गरिनँ? घरको लागि चाहिने सामान किन्न म कोटेश्वरको भाटभटेनी डिर्पाटमेन्टल स्टोरमा गएको थिएँ।
त्यहीँ उनीसँग मेरो वर्षौंपछि भेट भयो। स्कुल पढ्दामा हामी प्रायः ग्रुपमा नै एकअर्कालाई भेट्थ्यौँ। पुरानो स्कुल छाडेर नौ कक्षादेखि मात्र हाम्रो स्कुलमा पढ्न आएकी उसँग मेरो सम्बन्ध न त धेरै नजिकको रह्यो, न त टाढाको।
स्कुलका ती दिनहरुमा उनी प्रायः म, मेरो, मैले, मेरो परिवारसम्म मात्र सीमित हुन्थिन्। विषेशगरि मध्यपूर्वमा श्रमदान गरेर आय आर्जनका लागि जानुभएका उनका बाबा दशैँमा घर आउनु हुँदा ल्याइदिने सामानको बारेमा उनले बढाइचढाई गरेर सुनाउँदा हामी मुसुमुसु हाँस्थ्यौँ।
‘त्यो रातो ड्रेस त ठ्याक्कै करिश्मा कपुरले राजा हिन्दुस्तानी फिल्ममा लाको जस्तै छ, पैसा पनि कम हो त! नेपाली चार हजार प¥यो रे? ह्याँ नेपालमा त तिमरुले तेस्तो ड्रेस कहिँ खोजेर पनि पाउदैनौँ’ उनी भनिहाल्थिन्।
फेरी कहिले भन्थिन, ‘मलाई त नेपाली सामान युज गर्नै मन लाग्दैन, क्वालिटी भए पो!’ म झलक्क आफूले युज गर्ने मायालु साबुन अनि ब्राइटर टुथपेस्ट सम्झन्थेँ। ‘यो नेपालीहरुको त पाँच पैसाको बुद्धि हुँदैन सब अरुको नक्कल गर्ने त हो।’ उनको मुखमा यस्तै कुरा झुण्डिएका हुन्थे।
म मनमनै सोच्थेँ, ‘त्यसो भए उनी आफू पनि त त्यसमा परिन् नि, नेपाली भएकोले।’ तर, खै किन हो भन्नचाहिँ केही भन्दिथेँ। जेसुकै होस् भनेर चुप लाग्थेँ।
ठ्याक्कै ठाउँचाहिँ बिर्सें एकपल्ट हामी साथीहरु कतै भेला भएका थियौँ। भर्खर बजारमा आएको अंग्रेजी भाषाको नेपाली फेशन म्यागजिन ओल्टाइपल्टाई हेरिरहेका थियौँ।
बीचको पेजमा छापिएको एउटा फोटो हामीलाई राम्रो लाग्यो। हाफ पाइन्ट, टिसर्ट अनि ठूलो ह्याट लगाएकी चिटिक्क मिलेको फिगर भएकी मोडल, डुब्न लागेको घामतिर हेर्दै खेतको आलीमा बसेकी थिइन्।
हाफ लाइट अनि हाफ स्याडोमा खिचिएको त्यो फोटो साँच्चै राम्रो थियो।
त्यही बेला हाम्री साथी आइपुगिन् र म्यागजिनतिर हेरेर चिच्याइन् ‘वाउ! इंग्लिस म्यागजिन। खै ले त!’ सबैले हेर्दै गरेको म्यागजिन तानेर आफ्नो एकलौटी बनाइन् र पेज ओल्टाइपल्टाई हेर्न थालिन्।
बीचको पेजमा पुग्दा भने एकछिन रोकिइन् अनि ध्यान दिएर फोटो हेर्न थालिन्।
‘वाउ! यस्तो पो फोटो त, क्या दामी यार, यो कुइरेहरुले जानेको हुन्छ के सबथोक, हेर त कस्तो राम्रो फोटो निकालेको!’ हामी तिर देखाउँदै उनले भनिन्, ‘अहिले यही फोटो नेपाली फोटोग्राफरले खिचेको भए कस्तो निकाल्थ्यो होला।’
उनी नेपाली फोटोग्राफरको मजाक उडाउँदै हाँस्दै अरु के के भन्दै थिइन्, हामी भने छक्क पर्दे एकअर्कालाइ हेर्न थाल्यौँ।
त्यहिबेला हामीमध्ये एउटीले भनिन्, ‘ओइ राम्ररी हेर त, यो नेपाली म्यागजिन नै हो अनि त्यो फोटो पनि नेपाली फोटोग्राफरले नै खिचेको हो, भाषा मात्रै अंग्रेजी हो।’
त्यहाँ लेखिएको नेपाली नाम पढिसकेर पनि उनी अझै फोटोलाई ध्यान दिएर हर्दै थिइन्। मानौ उनलाई पत्यारै भएन। हामी भने एकअर्काको आखाँमा हेरेर मुसुमुसु हास्यौँ।
मैले सोचेँ, आज त तिनलाई करै लाग्यो मान्नलाई कि नेपालीको काम पनि राम्रै हुन्छ भनेर।
तर एकैछिनमा उनले खोट निकालिहालिन्। ‘ए त्यही भएर पो रैछ, ल हेर्न नेपालीको बुद्धि, अब यस्तो राम्रो लुगा लगाएको केटी यसरी खेतको आलीमा आएर बस्छ त? कस्तो भिजन नभाको नेपाली फोटोग्राफरहरू, विदेशीको नक्कल गर्न खोजेको होला एक थोपा पनि सुहाएको छैन।’
अघिसम्म कुइरेले खिचेको भनेर गर्नु तारिफ गरेको त्यही फोटोमा अब तिनले खोटैखोट मात्र देखिन्। हामी जिल्ल पर्यौं।
हुन सक्छ त्यो फोटो परफेक्ट थिएन होला तर त्यसमा केही त यस्तो थियो जसले धेरैको ध्यान आफूतिर तानेको थियो। तर उनले त्यो देख्ने कुरै भएन।
फेरि एकदिन हामी साथीहरु बीच हलमा चलेको एउटा नेपाली फिल्म हेर्न जाने सल्लाह भयो, उनी जुरुक्क उठिन्।
‘ल भयो, मलाई नदुखेको टाउको दुखाउनु छैन, नेपाली फिल्म पनि हेर्छ कोही, अरुलाई सुनाउन पनि लाजै मर्दो, बरु हिन्दी फिल्म हेर्ने भए जाऔं नत्र मचाहि जान्नँ।’
उनी यसरी तर्किन् मानौँ हामीले उनलाई निलो फिलिम हेर्न जाम भनेका थियौँ। उनलाई नेपाली चिजसँग कति धेरै चिडचिड थियो किन हो कुन्नी थाहा छ्रैन। राम्रै मेहनत गरेर बनाएका नेपाली फिलिम हेर्न मान्छे तँछाडमछाड गरेर जान्छन् भनेर उनलाई कसले बुझाओस? करोडौँ लगानी भएका विदेशी फिल्म र सानो बजेटका नेपाली फिलिमको अन्तरबारे उनलाई बताउन सक्ने हामी पनि भैसकेका थिएनौँ।
जे होस्, यतिका वर्षपछि तिनै साथीलाई आफ्नो अगाडि अचानक देख्दा म खुसी भएँ। पुराना कुराहरु सम्झेँ। स्कुलका दिनहरु सम्झेँ। अनी सम्झेँ, अन्तिम पल्ट उनलाई उनैको बिहेमा भेटेको।
‘म त भविष्यको बैँक म्यानेजर पो त!’ उनी आफ्नो सपनाबारे सुनाइरहन्थिन्।
यति पुरा भएपछि मात्र बिहे गर्ने उनको सोचाइमा अचानक ब्रेक लाग्यो।
काठमाडौँको एउटा नाम चलेको हस्पिटलमा कार्यरत डाक्टरसँग उनको बिहे, भविष्यमा घर गृहस्थी सम्हालेर बस्ने शर्तमा भएको थियो रे!
त्यसको केही समयपछि अवसरहरुलाई पछ्याउदै म पनि विराटनगरबाट काठमाडौँ आएँ।
एउटै सहरमा भए पनि हाम्रो भेट कहिल्यै भएन। काठमाडौँको ब्यस्त जीवनमा एकअर्कासँग भेटघाट यसै पनि कमै हुने भैहाल्यो। अचेल शहरमा एकअर्कालाई जोड्ने फेसबुकमा समेत हामी थिएनौँ।
‘टिभीतिर त देख्थेँ तिमीलाई, तिमीले बनाको म्युजिक भिडियो अनि सर्ट फिल्म पनि हेरेको थिएँ, अब त लेखिका पनि भैछौ हैन? ल बधाई छ,’ उनले भनिन्।
उनको कुरा सुनेर मुसुक्क हाँस्दै मैले धन्यवाद भन्दै थिएँ। उनी त मलाई मौकै नदिई बोल्न थालिहालिन्,
‘हैन, मान्छेहरु नेपालीमा कसरी किताब लेख्छन् या पढ्छन् हँ? म त एक लाइन पढ्न सक्दिन बा। नेपाली किताबहरु खै के नमिलेको के? म त अंग्रेजी उपन्यासहरू मात्र पढ्छु। क्या लेखाइ हुन्छ उनीहरुको, त्यस्तो पो कथा त?’
उनको बानी अझै गएको रहेनछ म छक्कै परेँ।
‘नेपालीको त उही गाउँघरको कथा, उही डाँडाकाँडा, उही मायाप्रेम वाक्क लाग्दो। तिम्रो पनि प्रेमकथा नै हो क्यारे हैन?’ उनले सोधिन्।
मलाइ भने हो न हो, उनको कुरा सुनेर सबै म तिरै हेरेर हाँस्दै छन् कि झैं लाज लाग्यो। एकछिन त बोल्नै सकिँन।
‘अंग्रेजी उपन्यासको दाँजोमा नेपाली उपन्यास त एकछेउ नि पुग्दैन, के पढ्नु?’ एसएलसीमा अंग्रेजी विषयमा फेल भएपछि पढ्न छाडेकी उनी अझै आफ्नै सुरमा बोल्दै थिइन्। मेरो मन भने खिन्न भएर आयो।
उनले अंग्रेजी उपन्यासको तारिफ गरेकोमा होइन, नेपाली उपन्यासलाई कम मूल्यांकन गरेकोमा। हुन त सबैलाई आफ्नो विचार राख्ने स्वतन्त्रता छ। तर, कमेन्ट गर्नैका लागि मात्र कमेन्ट गर्नु कतिसम्म सही हो?
नेपालीहरुको कामलाई गाली गरेर विदेशीको रवाफ देखाउनेहरु उनी जस्तै धेरै छन् हामीकहाँ तै पनि मलाई अनौठो लागिरह्यो।
‘हैन तिम्रो श्रीमान्को कमाइ राम्रो छैन कि क्या हो ?’ उनले सोधिन्।
‘किन ?’ अचानक मेरो श्रीमान्लाई लिएर सोधिएको प्रश्नले म छक्क परेँ।
‘तिमीलाई यसरी यो पनि, त्यो पनि सबै काम गरेर हिँडेकी देखेर सोधेकी। म त सक्दिन बा, यसरी मरेर काम गर्न, आफूलाई त श्रीमान्ले सबथोक पु¥याइदेको छ, केलाई काम गर्नु?’
हातमा लगाएको मसिनो डिजाइनको सुनको चुरा खेलाउँदै, उनी आफनै तालमा बोलिरहेकी थिइन्, ‘फेरि नेपालमा साहित्यमा लागेर, मिडियामा लागेर कति नै कमाइ होला र ? साँच्चै तिमी त डाइरेक्सन पनि गर्छो हैन?’ उनले सम्झेझै गरेर भनिन, ‘यसरी डाइरेक्सन गर्दा त झन् कस्तो कस्तो मान्छेसँग काम गर्नु पर्छ होला है, रातबिरात सुटिङ गर्नुपर्छ होला, तिम्रो श्रीमान्ले केही भन्दैनन्?’
उनले यो सबै भनिरहँदा उनका सशंकित हुँदै फैलिएका ठूल्ठूला आँखाले मलाई झनै पिरोलिरहेको थियो।
अब भने नियन्त्रण गर्दागर्दै पनि रिसले मेरो अनुहार रातो हुन थाल्यो। मेरो कामलाई उनले मेरो श्रीमानको कमाइ अनि मेरो चरित्रसँग पनि जोड्न भ्याइन्। लामो समयपछि भेट्दा अब त उनको अरुलाई होच्याएर आफूलाई मात्र ठुलो ठान्ने विचार बदलियो होला कि भन्ने मेरो झिनो आस पनि उनले गलत सावित गरिदिइन्।
कहाँ हिजोकी किशोरी केटी, कहाँ आजको घर गृहस्थी सम्हालेर बसेकी महिला पक्कै फेरिएको हुनुपर्छ भन्ने सोच्दै थिएँ। समय सँगसँगै उनको सोचाइको ढर्रा त झनझन मजबुत हुदै पो गएछ। ‘घरबाट बाहिर निस्केर काम गर्ने हरेक महिलाले पैसाको लागि मात्र काम गर्छन् जस्तो लाग्छ तिमीलाई त्यसैपनि कला, साहित्यको कुनै मोल हुँदैन र जोसुकैले चाहँदैमा यो क्षेत्रमा लाग्न सक्ने पनि होइन!’ मैले भनिदिएँ।
‘किन सकिँदैन? पैसा भए जति पनि सकिन्छ,’ उनको धाक सानो थिएन,‘पैसा भएकै कारणले कलाकार, साहित्यकार बनेकाहरु हामीले पनि धेरै देखेका छौँ।’ ‘हुन्छ होला नि त्यस्तो पनि तर खै त्यस्तालाई धेरै समय कसले सम्झिन्छ र?’ मैले सकेसम्म आफ्नो कामको बचाउ गरेँ।
‘तिमी त रिसायौ कि क्या हो ? मैले त हामी नारीहरु जतिसुकै ठूलो पोस्टमा पुगे पनि, जतिसुकै चर्चित भए पनि आफ्नो छोराछोरीलाई हुर्काउन टाइम दिन सकेनौ भने सब बेकार हुन्छ,मात्र भन्न खोजेको!’ उनले फ्याट्टै भनिन् र मेरो मर्ममा हानिदिइन्। मैले झलक्क युकेजीमा पढ्दै गरेकी मेरी छोरीलाइ सम्झेँ। अनि सम्झेँ उसले अस्ति मात्र मलाई सोधेको प्रश्न।
‘मामु तपाईँ किन अफिस जानुहुन्छ? अनि घरमा पनि सधँै अफिस कै होमवर्क गरिरहनु हुन्छ?’
उसले अघिदेखि कथा सुनाउन गरेको अनुरोधलाइ बेवास्ता गर्दे म लेख्न बसेकी थिएँ। त्यो लेख मैले अर्को दिनसम्ममा सिध्याउनुपर्ने थियो। तर उसको प्रश्नले मलाई झसंग बनायो। म लेख्न छाडेर सोच्न थालेँ, ‘के भनू ? म किन अफिस जान्छु?’
मलाई अप्ठ्यारोमा परेको देखेर, मेरो श्रीमानले छोरीलाई माया गरेर काखमा राख्दै भने,‘बिहान तिमी स्कुल अनि म अफिस जान्छु त्यसपछि ममी एक्लै घरमा बोर हुनुहुन्छ त्यसैले।’
‘मेरो साथीको मामु त जानु हुन्न त? त्यो आन्टीलाई बोर लाग्दैन?’
प्रश्नमाथि प्रश्न सोध्ने उनको यो उमेरमा म पनि त्यस्तै थिएँ रे, आमाले भन्नुहुन्थ्यो। तर, त्योबेला मैले सोध्ने प्रश्न भने अलि फरक हुन्थ्यो रे! घर गृहस्थी मै सीमित मेरी आमालाइ धेरैजसो मेरो प्रश्न एउटै हुन्थ्यो रे।
‘आमा तपाईँचाहिँ किन अफिस नजानु भएको ? बाबा मात्र किन जानु भएको ?’
जवाफ दिन आमालाइ निक्कै गाह्रो हुन्थ्यो रे ! बाबा सरह आमालाई पनि अफिस जाने रहर धेरै थियो। तर, आइए पास गर्नुभएकी मेरी आमाले आफ्नो रहर त्यागेर हामीलाई हुर्काउन–पढाउनमा आफ्नो समय लगाउनु भयो।
‘भोलि–पर्सी ठूलो भएर तिमी अफिस जान सकोस भनेर,’ आमाले मलाई यति नै भन्नुहुन्थ्यो रे। आज म आमाको ठाउँमा उभिएकी छु र मेरी छोरी मलाइ सोध्दैछे, ‘अफिस किन गएको ?’
उ चाहन्छे स्कुलबाट फर्कँदा ममी घरमा होस्, खेल्नलाई उसको साथी बनिदेओस, राति निदाउने बेला कथा भनिदेओस्। हुन त घरमा उसको बाबा सधैँ उसँगै हुन्छ। उनीहरुको स्कुल, अफिस जाने बाटो अनि समय लगभग एउटै भएकोले सँगै जान्छन् अनि सँगै फर्कन्छन्। तर, मेरो भने घर पुग्ने समय कहिल्यै एउटै हुँदैन। कहिले उनीहरु भन्दा चाँडै पुग्छु त कहिले ढिला। म सक्दो कोसिस गर्छु, घर अनि बाहिरको कामको तालमेल मिलाउन। तर, हम्मे हम्मे पर्छ। छोरी यो सब बुझ्दिन। उ मात्र चाहन्छे बाबा र ममी दुबै उसँगै होस। बस्।
यी सब कुरा सम्झेर मेरो मन उदास भयो। एकछिन अघिको रिस कता हरायो कता। मेरो अगाडि उभिएर मलाई टुलुटुलु हेरिरहेकी मेरी उही पुरानो साथीले मेरो मन अमिलो भयो भन्ने बुझिन् कि बुझिनन् कुन्नी।
‘तिमी आफैँ सोच न जब श्रीमानले कमाइरहेको छ भने हामीले छोराछोरी हेरेर बसे भइहाल्यो त, केका लागि खट्नु? आखिर छोराछोरी हुर्काउनु पनि कम ठूलो काम हो र? म त सक्दिन बा छोराछोरी छाडेर काममा जान।’ उनले भन्न छोडिनन्,‘तिमरु कसरी जान्छौ खै? तिम्रो पनि त एउटी छोरी छ क्यारे हैन? अस्ति सुधाले भनेर थाहा पाएँ, ल म गएँ, घरमा केटाकेटीले मलाइ पर्खिरहेका होलान्, आफूलाई त एकछिन बाहिर निस्क्यो कि कहिले घर पुगेर उनीहरुको अनुहार हेरुँ झै हुन्छ। तिमीलाइ त्यस्तो हुदैन ?’
यति भनेर उनी मुसुक्क हाँसेर गइन्। मलाईचाहिँ तिनको मुस्कानले गिज्याइरह्यो। आमा भएर पनि मैले आमाको कर्तव्य पुरा गर्न नसकेको दोष तिनले मलाई घुमाउरो पाराले लगाएर गइन्। मन अपराधबोधले भरियो।
त्यसपछि धेरैबेर त्यहाँ अडिन सकिनँ र सरासर घर आएँ। श्रीमान टिभी हेरिरहेका थिए। छोरी आफ्नै रुममा होमवर्क गर्दै थिइन्।
मलाइ देख्ने बित्तिकै उसले भन्यो,‘कफी खान्छौ? म आफ्नो लागि बनाउन जाँदै थिएँ।’
‘ल,’ मैले सोफामा थच्च बस्दै सानो स्वरमा भनेँ। मेरो हाउभाउ वा बोली सुनेर होला उसले सोध्यो।
‘के भयो ?’
आवाज सुनेरै एकअर्काको मनको अवस्था बुझ्न सक्ने भएरै होला, श्रीमान् श्रीमतीलाइ सोलमेट भन्ने गरेको। अर्थात आत्मैदेखिको अन्तरंग। हामी पनि एकअर्काको मनको अवस्था सजिलै बुझ्छौं। अनि सानोभन्दा सानो कुरा पनि एकअर्कासँग सेयर नगरी बस्न सक्दैनौँ।
आज डिपार्टमेन्टल स्टोरमा पुरानो साथी भेटेको र उसँग भएको सबै कुरा मैले सुनाएँ।
‘अनि के भयो त?’ उसले नबुझेझैँ गरी सोध्यो।
‘छोरीलाइ भनेजति टाइम दिन नसकेकोमा मलाई साँच्चै गिल्ट हुन्छ,’ मेरो आँखा भिज्न खोज्दै थियो।
मेरो कुरा सुनेर ऊ मेरो नजिक आएर बस्यो अनि मेरो हातलाइ आफ्नो हाथमा लियो। मेरो मन झन् भरियो।
उसले भन्यो,‘कमाएर गृहस्थी चलाउनु पर्ने बाध्यता तिमीलाई छैन। भगवानको कृपाले हामीलाई सबथोक पुग्दो छ। काम गर्नु, नगर्नु तिम्रो आफ्नो इच्छाको कुरा हो। बिहे अघिदेखि नै तिमी सक्रिय भएर काम गरिरहेको मान्छे। बिहे भयो वा बच्चा भयो भन्दैमा मैले काम छोड्न नपर्ने तिमीले मात्र किन छोड्नु पर्ने ? माने कि हामी दुई मात्र छौं, त्यही पनि हामीले छोरीलाई कहिले पो एक्लै छाडेका छौं र ? कहिले म हुन्छु–कहिले हामी दुबै हुन्छौं। दिनभरि घर बसे पनि छोराछोरीमा कम, हिन्दी सिरीयलमा बढी ध्यान दिने आमाहरू पनि त यहाँ धेरै छन नि! कमसेकम तिमीले त्यस्तो त गरेकी छैनौ। तिमीले छोरीसँग कति समय बिताउँछौ भन्दा पनि कस्तो समय बिताउँछौ भन्ने कुराले बढी महत्व राख्छ हैन र ? तिमीले जस्तो कथा लेख्न, फिल्म बनाउन म जान्दिनँ, म त आफ्नो टाइम सेडयुल भित्रको जब मै खुशी छु। तर, यदि सक्थेँ भने के तिमीले मलाई रोक्थ्यौ र ? त्यो पनि बस यति कारणले कि अब हाम्रो छोरी पनि छ भनेर। यदि होइन भने मैले तिमीलाइ किन रोक्ने ? सबैले चाहेर सबैथोक गर्न सक्दैन। तिमीले यो सब गरिरहेको छौ किनकि तिमीमा त्यो क्षमता छ। हुन त घर गृहस्थी मात्र सम्हालेर बसिरहेका आमाहरुको च्यालेन्ज पनि कम छैनन्। तर तिमीले त घर गृहस्थी सँगसँगै बाहिरका चुनौतीसँग पनि जुध्दै, आफूलाई हरेक कुरामा अपडेट राखेकी छौ। सो आइ एम प्राउड अफ यु, अनि म चाहन्छु मेरो छोरी पनि भोलि तिमी जतिकै एक्टिभ बनोस्। आफूभित्र भएको क्षमतालाइ उसले कुनै पनि बाहानामा नदबाओस्। त्यसैले तिमी आफनो मनमा कुनै गिल्ट नराख।’
उसको कुरा सुनेर मन हलुको भएर आयो। म आएको थाहा पाएर सिटिङ रुममा आइपुगेकी छोरीलाई जुरुक्क बोकेर माया गरेँ। उसले सानो सानो हातले मलाई अंगालो मारेर च्यापी। उ कफी बनाउन जान खोज्दै थियो। मैले उसलाई रोक्दै, छोरी दिए र भनेँ, ‘तिमी बस। म कफी बनाएर ल्याउँछु।’
म सरासर किचनमा आएर कफी बनाउन थालेँ। मन त्यसैत्यसै फुरुङ्ग भएर आयो। श्रीमान्को मनमा आफूप्रतिको माया अनि सम्मानलाई अनुभव गरेर रमाइलो लागिरहेको थियो।
कतिपय अवस्थामा स्वयं महिलाहरूमा नै अघि बढ्ने जोश जाँगरको कमी देखिन्छ। हुनत, घर बाहिर गई काम गर्ने महिलाहरु मात्र सफल अनि गृहस्थी सम्हालेर बसेकाहरू असफल भनेर सोच्नु गलत हो।
संसारमा लाखौँ यस्ता पुरुषहरू छन् जसको सफलताको श्रेय, गृहस्थी सम्हालेर बसेका उनीहरूका श्रीमतीलाई जान्छ। जसले दिनरात नभनी, घर अनि छोराछोरीको जिम्मेवारी एक्लैले सम्हाली, आफ्ना श्रीमानलाई उनीहरुले चाहेको लक्ष्यसम्म पुग्न मद्धत गरेका छन्। जहाँसम्म घर बाहिर गएर काम गर्ने महिलाहरुको कुरा छ। उनीरूहरुले त झन् दोहोरो जिम्मेवारी एकसाथ निभाउँदै आइरहेका छन्। घर गृहस्थी अनि अफिस वा भनौं आफ्नो करियर। यति हुँदाहुँदै पनि उनीहरुलाई प्रोत्साहन दिनेहरु कमै भेटिन्छन्।
अझ भनौँ प्रायःजसो महिलाहरु नै महिलाको कामको तारिफ गर्न कन्जुस्याँइ गर्छन्। बरु मौका मिले कुरा काट्न भने पछि पर्दैनन्। सायद विभिन्न अवस्थामा, विभिन्न कारणहरुले बाटो छेकेकोले पो हो कि? कतिपय महिला आफूले भित्रभित्रै दबाउनु परेको आफ्ना चाहनालाई कुण्ठाको रूपमा बेला मौकामा अर्को महिलामाथि यसरी खन्याउने गर्छन्। शायद त्यसैले कहिले सासुबुहारी, त कहिले नन्दभाउजुको झगडाको बारेमा हामी प्रायः सुन्छौं तर ससुराबुहारी अनि देवरभाउजुको बारेमा कम। यस अर्थमा पुरुषको ज्यादति महिलाप्रति कम छ भन्न खोजेकी होइन। त्यस बारेमा लेख्न बसेँ भने अर्को सयवटा लेख तयार हुन्छ। तर, यदि हामी महिलाहरू स्वयं आफू अनि आफ्नो लक्ष्यप्रति सजग रहने हो भने त्यस्ता कुनै पनि झिनामसिना कुराहरूले हाम्रो बाटो छेक्दैन थियो कि ?
एकपल्ट फेरि तिनै पुरानो साथीलाई सम्झेँ। आफ्नो जीवनलाई अरुको शर्तमा बाँच्नु पर्दाको उनको पीडालाई अनुभव गरेँ। त्यसपछि भित्रैदेखि तिनको माया लागेर आयो। धन्न मसँगको भेटमा कमसेकम तिनले आफ्नो कुण्ठा पोख्ने ठाउँ त पाइन्। धेरै हदसम्म मन हलुको भयो होला तिनको। यति सोचेर मेरो पनि मन हलुका भएर आयो।
त्यसपछि तात्तातो कफीलाई कपमा खन्याएर मुस्कुराउँदै म सिटिङ रुमतिर लागेँ। बाहिर बाबाछोरी हाँस्दै खेलिरहेको आवाज आइरहेको थियो।