जीवनमा सबैभन्दा महत्वपूर्ण सायद मृत्युको बोध हो। जब मानिसलाई आफू सन्निकट अँगालो हाल्न आतुर मृत्युको बोध हुन्छ, केही समयसम्म ऊ छट्पटिन्छ, आक्रोशित हुन्छ, रुन्छ, फडफडिन्छ। र, एक दिन त्यस्तो समय आउँछ, ऊ मृत्युलाई स्वीकार गर्छ।
मस्तिष्कले मन्थन गर्छ– अरे, ममात्र मरिरहेको छैन, सारा मानिस मरिरहेका छन्, सारा अस्तित्व पलपल मरिरहेको छ, किन म जीवनकालमै आफ्नो मृत्युको यति गहिरो शोक गरिरहेको छु?
त्यसपछि सास फेरिरहेकै क्षण मृत्युको शोकमा छट्पटिनुको सट्टा मानिस जीवनको वास्तविक यात्रामा डोरिन्छ। जीवनलाई प्रेम गर्न थाल्छ।
जीवनप्रति गहिरो प्रेम सायद मृत्युको बोधमा मात्र प्राप्त हुन्छ।
प्रकृतिको एउटै स्वभाव प्रेम हो। प्रेमको जगमा प्रकृति उभिएको छ। जब हामी प्रेम गर्न थाल्छौं–आफैंलाई, प्रियजनलाई, संसारलाई, अस्तित्वलाई– हाम्रो जीवनको साँचो यात्रा सुरु हुन्छ।
क्यान्सरले सात वर्ष थलिएर ६७ वर्षको उमेरमा बिहीबार बिहान ओम अस्पतालमा शरीर विसर्जन गरेका साहित्यकार तथा समाजसेवी जगदीश घिमिरेको जीवनमा साँचो प्रेम, मेरो अनुभवमा, जब उनलाई यो घातक रोगको निदानसँगै मृत्युको गहिरो बोध प्राप्त भयो, तब बल्ल सुरु भयो।
चिकित्सकीय भाषामा मल्टिपल माइलोमा भनिने एक प्रकारको रक्त क्यान्सरसँग जुधिरहेका घिमिरेको शरीरले पाँच सातासम्म ओम अस्पतालमा भएको सघन उपचार थेग्न सकेन।
र, उनी गए।
घिमिरेको जीवन सामान्य थियो– रामेछाप, काठमाडौं, विदेश, संघसंस्था, साहित्य, श्रीसम्पत्ति, क्यान्सर र मृत्यु।
यो सिलसिलामा एउटा कोसेढुंगा छुटेको छ, ‘अन्तर्मनको यात्रा।’ सायद उनको जीवनको सबैभन्दा महत्वपूर्ण अनुभव ‘अन्तर्मनको यात्रा’ हो। क्यान्सरले उनलाई मृत्युबोध दियो र उनले एउटा ‘अन्तर्मनको यात्रा’ पूरा गरे।
रोगले थलिएपछि उनले मनभित्रै गरेको यो यात्राले मदन पुरस्कार हासिल गरेको थियो।
यसअघि उनले साविती उपन्यासहित केही कृति लेखेका थिए। तर, उनी क्यान्सर लागेपछि जति हिट भए, त्यसअघि साहित्यमा त्यति हिट थिएनन्। क्यान्सर लागेपछि उनले लेखेका दुई सिर्जना ‘अन्तर्मनको यात्रा’ र ‘सकस’ नेपाली साहित्यका दुई कालजयी कृति हुन्।
तामाकोशी सेवा समिति खोलेर जिल्लामा थुप्रै काम गरेका उनी समाजसेवी छँदै थिए, क्यान्सरपछि सय प्रतिशत समाजसेवी बने। बाहिर पनि।
साहित्यकार छँदै थिए, क्यान्सर लागेपछि सय प्रतिशत साहित्यकार बने र हजारौं पाठकको मनमा प्रेरणा जगाए।
सय प्रतिशत मित्र, सय प्रतिशत पति, सय प्रतिशत बुबा बने। मलाई लाग्छ, क्यान्सरले उनलाई जीवनप्रति गहिरो प्रेम महसुस गरायो।
हामी सबैसँग प्रेमको अंश हुन्छ, तर जबसम्म त्यो पूरापूर, सय प्रतिशत हुँदैन, तबसम्म अपूरो रहन्छ।
र, मृत्युको गहिरो बोधले नै जीवनमा प्रेमको वास्तविक अनुभव सुरु हुन्छ।
क्यान्सरपछिको सात वर्ष जगदीश घिमिरे जति सक्रिय र ‘इन्थुजियास्टिक’ थिए, सायद त्यसअघिको साठी वर्षभरि नै थिएनन्।
जीवनको साँचो अर्थ उनले यिनै सात वर्षमा हासिल गरे। त्यसको प्रमाण उनले ‘अन्तर्मनको यात्रा’मै दिएका छन्।
क्यान्सर मृत्यु बोधको एउटा मौका बन्न सक्छ तर भयानक र पीडाले भरिएको हुन्छ त्यो। सायद जगदीश घिमिरेको परिवारले जति नजिकबाट, अझ दशकौंदेखि उनीसँगै जीवनगाडा डोर्याइरहेकी दुर्गा घिमिरेले जति नजिकबाट कसले बुझेको होला भयानक रोगले दिने मृत्युबोधको पीडा?
र, प्रियजनको निधन मृत्युबोधको अर्को मौका हो।
घाटमा कसरी मानिसले आफूले गरेका सारा गल्तीहरुको लेखाजोखा गर्छ? कसरी अन्तर्मनको यात्रामा डोरिन्छ मलामी गएको क्षण मानिस? कसरी प्रियजनको जलिरहेको शरीरसँगै आफ्नो सांसारिक यात्राको क्षणभंगुरता महसुस गर्छ?
अन्तर्मनको यात्रा, मृत्युबोध, मृत्युलाई गहिरोसँग स्वीकार गर्ने गुण र प्रकृतिको प्रेमपूर्ण स्वभावमा एकाकार भएर प्रेमले भरिएको यात्राको सुरुवात नै सायद प्रिय जगदीश घिमिरेको निधनले दिएको सबैभन्दा ठूलो तत्वज्ञान हो।
मृत्युबोधजति जीवनमा केहीले पनि रस भर्न सक्दैन तर त्यही मृत्युबोध हामीलाई जगदीश घिमिरेजसरी क्यान्सरबाट होइन, यिनको जीवनलाई गहिरोसँग महसुस गरेर प्राप्त भयो भने घिमिरेको आत्माले केही राहत महसुस गर्नेछ।
मृत्यु सुरुवात हो र यसका आफ्नै दार्शनिक व्याख्या होलान्।
जगदीश घिमिरेको मृत्यु कमसेकम मेरा लागि भने मृत्युबोध यात्राको सुरुवात हो।
जगदीश दाइ! तपाईंको निधनमा मेरा आँखाबाट थोपै आँसु खसेनन्। सायद संसारतिरको यो विद्रुप यात्राले मेरा आँखा रित्तिएका छन् तर तपाईंको निधनले मभित्र केही नराम्रोसँग हल्लिएको छ र म त्यो थर्थराहट अहिलेसम्म पनि महसुस गरिरहेको छु।
सायद तपाईंको मृत्यु मेरालागि मृत्युबोधको मौका बन्न सक्छ।
हामी सबैका लागि।
तपाईंको आत्मालाई धन्यवाद!