फेसबुकका वालमा हरिया चुरा र मेहेन्दीले भरिएका हातका फोटाले रंगिएको देख्दा मलाई केही लेख्न मन लाग्यो।
आज हामी एकातिर महिला पुरुष समानताको लागि दिनहुँ जसो कार्यक्रम गर्ने, भाषण गर्ने गरिरहेका छौं भने अर्कोतिर हामी महिला आफैं महिला भएकै कारणले गर्दा महिलालाई केवल कमजोर बनाउनका लागि बनाइएका परम्परागत संंस्कृतिलाई विस्तारै हटाउँदै जानुको सट्टा झन् त्यसलाई आधुनिकताको नाममा विकृति फैलाउँदै गइरहेका छौं।
एउटा चुरा कम्पनीले चुराको व्यापार धराशायी हुँदै गएपछि आफ्नो व्यापारलाई फैलाउनको लागि विभिन्न महिना वा चाडपर्वको बहाना बनाएर कुनै सेलिबे्रटीलाई प्रयोग गरी निश्चित महिना वा चाडपर्वमा निश्चित रङको चुरा प्रयोग गर्नुपर्ने अफवाह फैलाई दिएर नारीको भावनालाई प्रयोग गरी आफ्नो व्यापार व्यवसाय फैलाएको सत्य सर्वविदितै छ। तर यसलाई नारीलाई प्रभाव पार्ने गरी भगवान शिवपार्वतीको कथासँग जोडी दिने काम पनि कुनै वैज्ञानिक कुरा होइन। केवल धर्म संस्कृतिको माध्यमबाट महिलालाई अधिकांश समय अनुत्पादक कार्यमा समय खर्चन लगाई पुरुषहरु अगाडि बढ्ने माध्यम मात्र हो। यो त झन् विकसित हुँदै गएर सम्पूर्ण पहिरन नै एउटै रङको प्रयोग गर्ने प्रचलन दूरदराजमा रहेका शिक्षाबाट टाढा रहेका महिलाले भन्दा बढी शहर बजारमा बस्ने शिक्षित महिलाहरुले नै बनाएको विकृति हो।
मैले आजसम्म देखे भोगे अनुसार जतिसुकै अध्ययन गरेको महिला भए पनि चाहे डाक्टर, पाइलट, इन्जिनियर, वकिल नै किन नहोस् तर पुरुषहरुले हामीलाई विभेद गरे, अन्याय गरे भनेर भाषण गर्न र चर्का कुरा गर्न धेरै सजिलो छ। त्यसलाई जरादेखि नै निमिट्यान्न पार्नको लागि धर्म संस्कृतिले हामी महिलालाई महिला भएकै कारणले बाध्यकारी बनाइएका गलत परम्परा र संस्कारलाई यो वा त्यो प्रकारले आफ्नो प्रकारले व्याख्या गर्दै अन्धभक्त भएर अनुशरण गरिरहेका हुन्छांै। यो हामी महिलाको सौभाग्य हो, अथवा आफ्नो इच्छाले व्रत बस्नु कुनै नराम्रो कुरा होइन, आफ्नो श्रीमानको लागि एक दिन व्रत बस्नु नराम्रो होइन वा यो त एउटा आनन्दको पाटो मात्र हो भनिरहँदा हामीहरु पुरुषभन्दा पछाडि धकेलिने कुरालाई नकार्न सकिँदैन। हामी महिलाहरु महिला विभेद अन्त्य हुनु पर्दछ भनेर कुर्लिरहँदा भन्ने गर्दछौं कि हामी महिलालाई महिला भएकै कारणले अन्याय गर्न पाइँदैन तर धर्म, संस्कृतिको नाममा हामीलाई महिला भएकै कारणले पढ्न लेख्नुभन्दा पनि सुन्दर बन्नु, पुतली बन्नु, पुरुषको लागि आकर्षणको विन्दु बन्नु पर्दछ भनेर गरिएका व्याख्याहरु गलत छन्। यसलाई अनुशरण गर्नु आवश्यक छैन भनेर बुझ्ने दिन कहिले आउँछ ?
उदाहरणको रुपमा वर्षको एकपटक स्वस्थानी पढ्नुको सट्टा महिला अधिकारका, महिला मुक्तिका कुरा पढ्न सक्यौं भने महिलालाई फाइदा पुग्दछ। स्वस्थानीले कुनै ज्ञानगुनका कुरा नदिई कुनै समयमा महिलालाई दबाउनको लागि धर्मको माध्यमबाट गरिएका महिला विभेदका कुरा सिवाय त्यसबाट केही फाइदा हुँदैन, यसको अध्ययनले झन् महिला हिंसा र बलात्कारका घटना बढ्ने गरेका छन्।
यस प्रकारका गलत परम्पराले गर्दा पुरुषलाई फाइदा पुग्नेछ, पूँजीपतिलाई पूँजी थुपार्ने माध्यम त बन्नेछ तर हामी महिलाहरुको मुक्ति हुन सक्दैन। समाजमा रहेका गलत धारणालाई हामी महिलाले नै मिलेर महिला र पुरुषमा रहेका प्राकृतिक असमानता बाहेक अरु सबै असमानता पुरुष प्रधान समाजको उपज हो यसलाई अन्त्य गर्नु आवश्यक छ र यसको अन्त्य लागि पनि हामी महिला नै अग्रसर हुनपर्ने आवश्यक छ।
यसो भनिरहँदा सबै महिला धर्म संस्कृतिको कारणले मात्र पछाडि परिरहेका छन् भनेर बुझ्नु गलत हुनेछ। कैयौं छोरीहरु अझै पनि छोरी भएको कारणले पराईको घरमा जाने जातलाई लगानी गर्नु हुँदैन भन्ने गलत धारणाका कारण शिक्षा जस्तो नैसर्गिक अधिकारबाट बञ्चित हुनुपरिरहेको छ। अझ कति बालिका यो धर्तीमा आउन नपाउँदै भ्रुणकै अवस्थामा मै निमोठिनु परिरहेको छ। अझै पनि हजारौंको संख्यामा महिला पुरुषबाट विभेदको शिकार हुनु परिरहेको छ, चाहे त्यो दाइजोको निहुँमा होस् वा छोरी जन्माएको निहुँमा होस्, दिनहुँ जसो महिलाहरु जिउँदै जलिरहने वा मृत्युको शिकार बन्ने परम्परा अझैसम्म पनि रोकिएको छैन ।
आज हामीले गर्व गरिरहेका छौं कि मुलुकका तीन महत्वपूर्ण र गरिमामय पदमा महिलाले ठाउँ पाइसकेका छन्। तर तीन जना महिलाहरु माथिल्लो स्थानमा पुग्दैमा सबै महिलाले अब विभेद खेप्नु पर्दैन, अब शिक्षाको अधिकारबाट बञ्चित हुनु पर्दैन भनेर भन्न सकिँदैन। उपयुक्त ठाउँमा चाहे पुरुष होस् चाहे महिला होस् यो मुख्य कुरा होइन कि उसले बोक्ने विचार कुन छ भन्ने कुरा मुख्य हुन्छ। एक जना पुरुषले महिलाका लागि राम्रो काम गर्न सक्छ। तर कतिपय अवस्था यस्ता हुन्छन् कि पूर्ण समानताको अवस्था नभएसम्मका लागि दुईवटा परिस्थिति कायम रहन्छन् एउटा क्षमताको आधारमा अवसर प्रदान गर्ने अर्को पनि यत्तिकै महत्वपूर्ण हुन्छ कि अवसर प्रदान गरेपछि पनि क्षमता विकास गर्दै जाने, आजको आवश्यकता भनेको यी दुवै अवस्थाहरुलाई व्यवहारमा लागु गर्नुपर्ने अवस्था हो।
संविधानमा महिला अधिकारका कुरा सुनिश्चित गर्नको लागि केवल महिलाले मात्र सम्भव भएको होइन केही पुरुषको पनि समानताको सोच भएका कारणले सम्भव भएको हो। हुन त महिला अधिकार सुनिश्चित गर्नको लागि महिलाको योगदान कम चुनौतीपूर्ण थिएन तर पनि पुरुषले साथ नदिएको भए सायद यो सम्भव हुन सक्ने थिएन।
महिला अधिकारका लागि जे जति कानुन अहिलेसम्म बनेका छन् यो कदम अरु देशको भन्दा अगाडि नै छ। तर, यो नै अन्तिम बिन्दु होइन अझै धेरै कानुन बन्न आवश्यक छ, यो केबल प्रगतिशील कदम मात्र हो। केवल महिलाहरुलाई अहिले दिइएका पदमा मात्र सिमित हुन नपरोस्। आउँदा दिनहरुमा सबै क्षेत्रमा महिला सहभागिता केवल कोटाको आधारमा मात्र नभई पूर्ण प्रतिस्पर्धाको आधारमा जान सक्ने अवस्था आउनु पर्दछ। यो काम महिलाले गर्न सक्छन् र भनेर शंका गर्ने परम्पराको अन्त्य हुनुपर्दछ। आजसम्म चालिएका कदम केवल समानताका लागि गरिएको मात्र हो पूर्ण समानता आउन बाँकी छ। यसको लागि अझै ठूलो मेहनत र संघर्षको खाँचो छ।
अन्त्यमा चाहे पुरुष होस् चाहे महिला आ–आफ्नो ठाउँबाट समानताको लागि पहल गर्नु पर्दछ। परम्परादेखि चलिआएका धर्म र संस्कारका नाममा रहेका गलत धारणाको अन्त्य गर्नुपर्दछ। यसको अन्त्य गर्नको लागि पुरुषको सहयोगको खाँचो छ भने महिलाले अनुशरण गर्नुभन्दा अगाडि आफूले यसलाई अनुशरण गर्दा मलाई के फाइदा हुन्छ र सिंगो समाजले यसबाट के फाइदा लिइरहेको छ भनेर विश्लेषण गर्नु आवश्यक छ। साथै महिलाका लागि जे जति कानुन बनाइएका छन्, ती कानुनहरु कार्यान्वयनको पक्षमा पहल गर्नु पर्दछ। भावी पुस्ताले छोरी भएका कारणले कुनै प्रकारका विभेदको शिकार बन्नु नपरोस् भन्ने कामना सहित प्रयास सबैले गरौं।