वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै राजधानीमा केही दिनयता दबाबमूलक कार्यक्रम हुन थालेका थिए। यस्तै कार्यक्रममध्ये आइतबार केसीका समर्थक अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाहिर प्रदर्शन गर्न जाँदैछन् भन्ने खबर आयो।
खबर पाएलगत्तै अख्तियार पुग्दा लगभग साढे ११ बजिसकेको थियो। ढाल-डन्डा बोकेका प्रहरी नक्सालदेखि नै छ्यायप्छ्याप्ती थिए।
त्यहाँबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेटसम्म पुग्दा बाटोभरि प्रहरी नै प्रहरी थिए। सशस्त्र प्रहरी पनि ढाल-डन्डासहित तैनाथ थिए। यता सय–डेढ मिटरदेखि नै प्रहरी तयारी अवस्थामा थिए, उहाँ भने अख्तियारको गेट वरिपरि चालचुल केही थिएन।
‘जुलुस–सुलुस त छैन कि कसो?,’ हामीले आपसमा कुरा गर्यौं।
अख्तियार वरिपरि पार्किङ थिएन। हामीले भाटभटेनीमा मोटरसाइकल पार्किङ गर्यौं। त्यसको ठिक अगाडि मन्दिरमा दस-पन्ध्र जना देखिए। कसैले ब्यानर बोकेका थिए, कसैले ‘पागल’ लेखेको कालोपट्टि टाउकोमा बाँधेका थिए।
हामी मन्दिर छिर्यौं। एक फन्को मारेर बाहिर निस्कियौं। घाम बेस्सरी लागेको थियो। केहीबेर त्यत्तिकै हेरिरह्यौं। मन्दिरबाहिर एकापट्टि छेउमा मैले प्रहरी डिएसपी नवराज कार्कीलाई देखेँ। छोटो वार्तालाप भयो। उनीसहित प्रहरीको एउटा टिम त्यहाँ तयारी अवस्थामा बसेको थियो।
केही बेरमा मान्छे बाक्लिँदै गएँ। त्यहाँ एप्रोन लगाएका केही मेडिकल विद्यार्थी थिए भने केही सर्वसाधारण। हातमा भिख माग्ने कटोरा लिएर बसेकाहरू पनि देखिन्थे। केही मधेसी समुदायका युवा छातीमा ‘स्वतन्त्र नागरिक’ लेखेको पोस्टर टाँसेर आएका थिए। ती सबैले टाउकोमा ‘पागल’ लेखेको कालोपट्टि बाँधेका थिए। डा. केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग सिफारिसको माग गरेपछि अख्तियारले उनलाई ‘पागल’ भनेको थियो।
त्यसपछि हल्का भाषण सुरु भयो। कार्यक्रम स्थलमा एक–दुईवटा माइक्रोफोन र साउन्ड बक्स ल्याइएको रहेछ। हेर्दाहेर्दै सहभागीको संख्या सय नाघ्यो। एक जना युवाले माइक्रो फोन डुलाउन थाले।
‘म सबैलाई सोध्छु, तपाईं किन पागल?’ उनले भने, ‘यसको उत्तर दिनुहोला।’
यसको जवाफमा एक जना सहभागीले भने, ‘भ्रष्टाचारको विरोध गर्ने पागल हुन्छन्, म पनि भ्रष्टाचारविरोधी हुँ, त्यसैले म पनि पागल।’
अर्कोले भने, ‘सोलुखुम्बुमा पनि स्वास्थ्य सेवा पुर्याउनुपर्छ भन्छु, त्यसैले पागल।’
तेस्रोले जवाफ दिए, ‘चिकित्सा क्षेत्रमा माफियागिरी अन्त्य होस् भन्दा डा. केसीलाई लोकमानले पागल भने, त्यसैले म पनि पागल।’
चौथोले भने, ‘तीन करोड नेपालीको स्वास्थ्य राम्रो होस् भन्ने चाहना छ, त्यसैले म पागल।’
यही क्रममा प्रत्येकले आ-आफ्नो राय दिँदै गए।
यसबीच सडकमा सवारी आवागमन निर्वाध थियो। जुलुसमा आएकाहरूले कुनै अवरोध पुर्याएका थिएनन्। उनीहरू सबै सडकपेटीमै थिए।
सबैले ‘म किन पागल?’ भन्ने प्रश्नको जवाफ दिएपछि माइक्रोफोनबाट ‘माफियाको मन्त्र, लोकमान तन्त्र’, ‘सांसदको घडीमा लोकमानको ब्याट्री’, ‘सबैतिर प्रस्ट छ, अख्तियारै भ्रष्ट छ’, ‘१,२,३,४, भ्रष्टाचार बन्द गर’, ‘५,६,७,८, भ्रष्टाचारी भागाभाग’ लगायत नारा लाग्न थाल्यो।
नारा चर्कँदै गयो।
यतिञ्जेलमा नेपाल प्रहरीले पानीको फोहोरा हान्ने गाडी ल्याइसकेको रहेछ। अग्रपंक्ति नेपाल प्रहरी र पछाडिपट्टि सशस्त्र प्रहरी तैनाथ थियो।
केही बेरको नाराबाजीपछि ट्राफिक र प्रहरी आफैंले सवारीसाधन डाइभर्ट गर्यो। ट्राफिक प्रहरीका डिएसपी त्यहीँ देखिन्थे। गाडी पनि आउन बन्द भएपछि सडक खुला भयो। प्रदर्शन गर्नेहरू पेटी छाडेर सडकमा ओर्लिए।
त्यसपछि प्रहरीको ढालडन्डा टिमले कसिलो तरिकाले बार लगायो। पछाडि सशस्त्र प्रहरी पनि उस्तैगरी तयार थियो।
टंगाल–नक्साल निषेधित क्षेत्र थिएन। ती प्रदर्शनकारी अख्तियारको गेटसम्म पुग्न चाहन्थे। वातावरणले त्यही जनाउ दिन्थ्यो। तर प्रहरीले अगाडि नै त्यो हुन नदिने रणनीति बनाएको थियो। त्यहाँ प्रहरी संख्या यति बाक्लो थियो, मानौं हजारौंको प्रदर्शन छ। प्रदर्शनकारीमध्ये केही अगाडि बढ्नेबित्तिकै प्रहरीले धकेल्यो। अरू सडकपेटीमै थिए। उनीहरू अगाडि बढ्दै नारा लगाउँदै थिए, ‘हामी पछि हट्दैनौं।’
आन्दोलनकारी पछाडि सर्दै, अगाडि प्रहरीको भीडतिर बढ्ने क्रम चलिरहेको थियो। घम्साघम्सी सुरू भयो, प्रहरीले कतिपयलाई त लाठी नै हान्यो, धमाधम पक्रिन थाल्यो। लाठी हानेपछि कोही पछाडि हटे, कोही त्यसै ठिङ्ङ उभिएर नारा लगाउँदै थिए।
म लगायत केही मानिसहरू एक साइडमा थियौं, प्रहरीले त्यहाँबाट हट्न निर्देशन दियो। प्रहरीको रणनीति थियो, अब फेरि अगाडि सरे भने पानीको फोहोरा बर्साउने।
म पछाडि सरेँ। मेरो पंक्तिमा रहेका सबै पछाडि सरे। तर प्रहरीले अनाहक प्रदर्शनकारीमाथि लाठी बर्सायो र पक्राउ गर्यो, जसको कुनै कारणै थिएन। किनभने, उनीहरू प्रहरी टोलीलाई ठेलेर अगाडि बढेका भए पनि सशस्त्र प्रहरी तैनाथ थियो। त्यसैले, यति ठूलो बल प्रयोग गर्नुपर्ने खाँचो थिएन।