व्यक्ति र घटनामा अल्झिने नेपाली समाज आज डाक्टर केसीले उठाउनु भएको मुद्धा र सिद्दान्तलाई खासै सरोकारको विषय नबनाएर, उहाँको देवत्वकरण र दानावीकरण गर्ने ध्रुवमा उभिएको छ। केसी १३ दिनदेखि भोको बस्नुभएको छ, यस लेखमार्फत्, हामी उहाँले उठाउनु भएको माग, उहाँको व्यक्तित्व र आजको दिन आइपुग्नु पछाडिका घटनाहरूको कुरा गर्नेछौं। त्यसपछि, उहाँका समर्थकले भनेको जस्तो उहाँ जोगी हो कि उहाँका विरोधीले भनेको जस्तो विकास विरोधी, हजारौं विद्यार्थीलाई डाक्टर हुन नदिने रामराज्यको धोबी हुन्? ध्रुवीकृत नेपाली समाजमा, केसीका मागले थप विभाजन ल्याएको छ, जसले हाम्रो समाजको आउने दिन निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने छन्।
एकातिर आम सर्वसाधारणहरू स्वःस्फूर्त रुपमा केसीको समर्थनमा उत्रेका छन् भने नेपाली समाजले सम्मानपूर्ण ढंगले हेर्ने भोला रिजाल जस्ता व्यक्ति केसीको विरुद्धमा उत्रेका छन् ।
केही व्यक्तिगत प्रश्न आफैंलाई सोधौंः
१. तपाईं पैसावाला हुनुहुन्छ, तिर्न सक्नुहुन्छ, तर के तपाईँले पैसा तिरेपछि बाँकी काम अस्पताल, त्यहाँका चिकित्सक, स्वास्थसेवीले गर्नेछन् भन्नेमा ढुक्क हुनुहुन्छ? कि अब अस्पतालले मुर्गा बनाउने भयो भनेर भयभीत हुनुहुन्छ?
२. तपाईं पहुँचवाल हुनुहुन्छ, अस्पताल चिन्नुहुन्छ, डाक्टर चिन्नुहुन्छ, तर के ती चिनेका अस्पताल र त्यसको सेवाप्रति विश्वस्त हुनुहुन्छ?
३. बाबुआमासँग लाखांै लिएर मेडिकल स्कूलमा बल्ल बल्ल भर्ना हुनुभयो, तर तपाईंलाई पढाउने मास्टर निकम्मा, नालायक छन्, खडेबाबा छन्, अब यो पैसा माग्दादेखिको पीडा र ग्लानी लिएर बाँकी अध्ययन जबर्जस्ती गर्दै हुनुहुन्छ?
४. छोराछोरी जेहेन्दार विद्यार्थी छन्, ३०० देखि ३५० सरकारी सिटमा नाम निक्लेन, अब बाँकी रह्यो १८०० देखि १९०० सशुल्क सिट। अब त्यो सिटको लागि, ऋण गर्ने कि नगर्ने? गरे कति गर्ने? कुनै मापदण्ड, नियमकानुन बिना हरेक वर्ष बढ्ने फिसलाई रोक्ने कुनै उपाय छ तपाईंसँग?
अब घटनाहरूको कुरा गरौँः
१. अस्पताल र डाक्टरको हेलचेक्¥याइँ आफन्तको मृत्युको पीडा भोग्नु भएको छ? लास निकाल्न झगडा गर्नु परेको छ?
२. एक ठाउँमा सबै सुविधा उपलब्ध नभएर शहर शहर घुम्नु भएको छ? पूर्व र पश्चिमबाट काठमाडौं आउनु परेको छ?
३. जति औषधि उपचार गरेपनि देशमा निको नहुने वा लाखौं खर्च गरेर पनि रोग पत्ता नलागेर, विदेशमा उपचार गर्नु परेको छ? वा रोगी नै नभईकन महंगा आयातित मेशिनबाट विभिन्न जाँचको नाम मा पैसा स्वाहा भएको छ?
४. गलत डाक्टर, झर्किने स्वास्थ्य परिचारिका फेला पर्नु भएको छ? तपाईंको चित्त दुखेको छ? तपाईँलाई अब नेपालमा सामान्य रोगको उपचार गर्ने नसकिने होकि भन्ने चिन्ताले सताउन थालेको छ?
अब सिद्धान्तहरु हेरौंः
१. कर्णाली लगायतका दुर्गम विद्यार्थीको नियति केवल खरदार र नायब सुब्बा हुने हो? के उनीहरूले डाक्टर, इन्जिनियर हुने सपना पनि देख्न नपाउने अब ?
२. ९३ प्रतिशत साधारण शिक्षा र मात्र ७ प्रतिशत प्राविधिक शिक्षा भएको मुलुकमा स्वास्थ्य शिक्षालाई सबैभन्दा बढी फाइदाजनक र मुनाफमुलक व्यापार बनाउन मिल्छ? अरु कुनै प्रविधिक शिक्षा छैन? यो देशमा नाफा कमाउने अरु उद्योगधन्दा खोल्ने बाटो बन्द भैसकेको हो ?
३. सबै अस्पताल काठमाडौंमै बनाएर देशभरका रोगीहरु काठमाडौंमा थन्काउने हो? देशमा भएको हरेक महामारीको संक्रमण कुनै पनि समय साठी लाख मानिस बसोबास गर्ने ठाउँमा ल्याउनु हुन्छ?
४. सत्तरी वटा हस्पिटल काठमाडौंको खाल्डोमा किन चाहियो? अनि खुलेका हस्पिटल चलेनन् भने, त्यसलाई पछि, अहिलेका बैंक जस्तै गाभ्ने हो, लगानीको नाममा? अनि, नेपालीले ती गाभेका हुल अस्पताल किन्न सकेनन् भने विदेशी लगानीकर्ता र स्वामित्वलाई बेचिदिने हो?
डाक्टर केसी, हाम्रा सांसदमार्फत यी प्रश्नहरू सोधिरहेछन्। यो लडाईं आफ्नै शरीरमा भैंसी देख्ने मानिसको हो, जो हामीलाई एकोहोरो, बारम्बार, आठ आठ चोटी सत्यको आग्रह गरेर व्रत बसेको छ वा यो बौलाहा हो जो खाली जुम्राजस्तो एउटा मात्र कुरा गरेर हामीलाई बोर गरिसक्यो?
यो निष्क्रिय र सक्रिय समाजको द्वन्द्व हो। यो द्वन्द्व चुपचाप समाचार पढेर बिचरा भनेर घरमा बसेर नन्दप्रसादको लास नउठाउने र अर्को नन्दप्रसाद बनाउन दिँदैनौ भन्ने सक्रिय समाजबीचको हो। यो पीडित र पीडकबीचको अन्तरद्वन्द्व हो। अस्पतालको पैसा तिर्ने र लिनेको बीचको हो । यो भोका, नांगा रोगी नेपालीहरू र गरिबको लासमाथि नाफा देख्ने माफियाबीचको लडाइँ हो।
यो लडाइँ पचासौं लाख विदेशिएका नेपालीले रगत पसिना बेचेर कमाएको सम्पूर्ण पैसा आफ्नो र आफन्त बचाउन स्वास्थ्य किन्न खर्च गर्न नपरोस् भन्नका लागि हो। यो शान्ति र सुरक्षाको नाममा नागरिकको स्वास्थ्य र शिक्षालाई बजारीकरण गर्ने झुण्डको विरुद्धको लडाइँ हो। यो लडाइँ डराएको पुरानो पुस्ता र निडर नयाँ पुस्ताबीचको हो। यो पुरानो परिभाषा र नयाँ बुझाइबीचको संघर्ष हो। आज हाम्रो निम्ति सुरक्षा, बन्दुकले घेरिनु होइन। हामी आज खाद्य सुरक्षा, स्वास्थ्य सुरक्षा र शिक्षा सुरक्षाको प्रत्याभूति चाहन्छौं। के हामी दुई लाख नेपालीलाई बन्दुक बोकाएर आफैंले आफैंलाई त्यही बन्दुक तेस्र्याएर सुरक्षित बन्न सक्छौं? यो आजको सबैभन्दा महत्वपूर्ण प्रश्न हो।
इतिहासको यो घडीमा हाम्रो पक्ष कुन हो? यो लडाइँ हामी सबैको हो यो या एउटा डाक्टर को हो? के केसी आफ्नो स्वार्थका लागि अनसनमा बसेका हुन्? अनि यो लडाइँमा तपाईं कुन पक्षको समर्थन गर्नु हुन्छ? एउटा जोगी जो हामीलाई उसले काम गर्ने ठाउँको बेथितिविरुद्ध सचेत गराइरहेछ, जो बारम्बार एउटा मात्र आग्रह लिएर सत्य बोल्दै हिँड्छ वा एउटा बहुरुपिया धोबी, जो हाम्रो यस्तो राम्रो रामराज्यलाई बारम्बार नचाहिने लान्छना लगाइरहन्छ? यो मुद्दालाई बुझ्ने अनि कुन पक्षमा उभिने रोज्न तपाईं स्वतन्त्र हुनुहुन्छ।