प्रिय पुष्पकमल जी, लालसलाम।
तपाईं पहिलोपटक प्रधानमन्त्री हुँदै गर्दाका ती दिनहरू सम्झिदा इतिहासको निर्ममता प्रति उदेक लागेर आउँछ। तपाईंको त्यो उर्जा, तपाईंलाई अनुमोदन गरेको त्यो जनमत, ती सपनाहरू र आकर्षणहरु!
तपाईं, हाम्रो युगको मसिहा जसरी सिंहदरबार प्रवेश गर्नुभयो। पुराना दृश्यहरु अहिले सम्झेर ल्याउँदा शास्त्रमा बर्णित जिन्दगीको क्षण भंगुरताप्रति मलाई कता कता विश्वास जागेर आउँछ र तपाईंको भौतिकवादप्रति अनायासै फिस्स हाँस्न मन लाग्छ। कमरेड! तपाईं आफु पनि नढाटी भन्नुस् त के जिन्दगी क्षणभंगुर नै रहेछ त? सिद्धान्त, आदर्श र सपनाहरू सबै क्षणिक र क्षणभंगुर नै हुन त? के तपाईंका, मेरा र हामी सबैका काम, ब्यवहार, मान्यता, सिद्धान्तहरु सबै लिला मात्रै हुन? के हामी वास्तवमै गीतामा भनिए जस्तै कर्ता होइनौं त कमरेड?
यो प्रश्न किन भने, कथित संसदवादविरुद्ध हजारौंको बलिदान चढाइ सकेपछि तपाईं यस्तो निष्ठावान संसदवादी भएको देख्दा मलाई तपाईंले गरेको बिद्रोह, तपाईंले देखाएको सपना र तपाईंले प्रबचन दिनुभएको सिद्धान्त अनि तपाईंले अपनाउनु भएको "कमल थापा पथ"को तुलना गर्दा वास्तवमै संसार एउटा भ्रम, माया र लिला मात्रै होकी भन्ने शास्त्रीय तर्क मान्न कर लागेको छ। सबै कुरा क्षणभंगुर हुन जस्तो लाग्छ। सबै प्रभुको अपरम्पार लिला हो कि जस्तो लाग्छ।
प्रिय पुष्पकमल जी,
मलाई स्मरण छ तपाईंले संसदवाद विरुद्ध हतियार उठाई रहँदाका दिनहरुमा नैतिकताको खडेरी परेको हाम्रो राजनीतिको केन्द्र संसद, सबैभन्दा बद्नाम बजार थियो। त्यहाँ खुलेआम संसदहरु खरिद बिक्री हुन्थे। ॠतुहरु झै सरकारहरु परिवर्तन हुन्थे। आफ्नै सरकारबिरुद्ध मन्त्रीहरु भोट हालेर नयाँ मन्त्रिमण्डलमा सहभागी हुन्थे। संसद ग्यालरीमा टाउकाहरुको जोडघटाउ हुन थालेपछि नेपालदेखि बैंककसम्मका तारे होटलमा टाउकाहरुको मोलमोलाइ हुन्थ्यो। अनि त्यसविरुद्ध भएको तपाईंको भूमिगत हुंकारले एउटा आशाको तंरग ल्याइदिन्थ्यो। सभ्य र विकसित देशमा झै हाम्रो शासन व्यवस्थामा राजनीतिमा स्थिरता र नैतिकता आउँछ कि भन्ने आशाले तपाईँप्रतिको आकर्षण अरु बढेर जान्थ्यो।
तपाईंले गणतन्त्रात्मक लोकतान्त्रिक संसदीय व्यवस्था स्वीकार्दै आउँदा तपाईंप्रति हाम्रा केही अपेक्षाहरु थिए। तपाईंले संसदीय व्यवस्थालाई कान निमोठेर त्यसलाई नैतिक पथमा हिडाउनु होला भन्ने अपेक्षा! जनमतले प्रतिविम्वित गरेको हैसियत बस्ने र अरुलाई पनि त्यही राख्नु होला भन्ने अपेक्षा! अंक गणितभन्दा माथि उठेर देशलाई स्थिरता दिनुहोला भन्ने अपेक्षा! तर, कमरेड हजारौंको बलिदान र करोडौंका सपनामाथि तपाईंले अंकगणितको हतियारले गरेको प्रहार सहन हिजोको बारुद र बन्दुकको प्रहार भन्दा गारो भएको छ। प्रचण्ड नाम धारण गर्नुभएको तपाईंलाई लोकेन्द्रबहादुर र सुर्यबहादुरको नयाँ अवतारमा देख्नु पर्दा, त्यही शासन व्यवस्थाविरुद्ध तपाईंले लगाउनु भएको लासको चाँङ्को औचित्यलाई दैबको लिलाभन्दा अरु कुन तथ्यले पुष्टि गरेर चित्त गरू?
कमरेड, तपाईं हिङ होइन तर नेपाली उखानमा हिङ बाधेको टालोको पनि ठूलो महत्व छ। तपाईंलाई हिङ सम्झेर हामीले शासनसत्ता सुम्पेको प्रति हामीले दोस्रो संबिधानसभामा भुल सुधार गरिसकेका छौँ। तर जसरी तपाईंले पहिलो संबिधानसभाको जनमतको सम्मान गर्न सक्नुभएन त्यसरी नै दोस्रोपटक तपाईं र तपाईंको दललाई दिएको जनादेशको पनि इज्जत राख्न सक्नुभएन। त्यसैले अब तपाईं हिङ बाधेको टालो पनि रहनु भएन। आखिरि सत्ताको लुछाचुंडी नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्राथमिक कार्यब्यापार हुन्थ्यो भने हामीसँग कांग्रेस, एमाले र राप्रपा छँदै थिए कमरेड। हामीसँग २०५ को अंकगणित छँदै थियो। ०४७ सालको संबिधान छँदै थियो। फेरि यत्रो विधि श्रम, धन, समय र जिन्दगीहरु लगानी गरेर फेरि यही रमिता नै देखाउनु थियो भने, तपाईंको नाम प्रचण्ड हुनुको के औचित्य रहयो र कमरेड! तपाईंले जपेर नथाक्ने जनयुद्ध नै थियो भने पनि त्यसको पनि के औचित्य रह्यो र?
अन्त्यमा,
कमरेड कुनै पनि तन्त्र, वाद र ब्यवस्था नैतिकताको खडेरीमा झाङिन सक्दैन। मलाई याद छ, जनआन्दोलन-२ को पूर्वसन्ध्यामा जब जनता दिक्क भएर सडकमा आउन आनाकानी गर्दै थिए, त्यो बेला तपाईंहरुले बारम्बार संसदवादी भनेर आलोचना गर्ने गरेका दलका नेताहरू अब हामी संसद खरिदबिक्रीमा लाग्दैनौं भनेर सार्वजनिक रुममै रुदै आत्मालोचना गर्दै थिए। हामीले उनीहरुलाई त्यो बेला शंकाको लाभ दिएका थियौं। तर हामीलाई पुच्छर सिधा हुँदैन भन्ने लगभग थाहा थियो। यहाँनेर आईपुग्दा त्यो सिधा नभएको प्रष्ट भएको छ।
तर कांग्रेस-एमाले वा राप्रपालाई छोडेर तपाईंलाई मात्रै पत्र लेख्नुको आसय के हो भने, कम्तिमा तपाईं हिङ बाधेको टालोसम्म हुनुपर्छ भन्ने हाम्रो कठोर आग्रह छ। हामीले पनि तपाईंले जस्तै संसदवादीबाट उस्तो अपेक्षा गरेका थिएनौं र छैनौं पनि। तिनको कान निमोठेर तह लगाउने जिम्मा जनमतले तपाईलाई सुम्पेको थियो। तर बिडम्बना तपाईं स्वयं सबैलाई उछिन्ने अब्बल दर्जाको 'संसदवादी' हुनु हामीलाई नराम्ररी खड्किएको छ। कम्तिमा तपाईंले जनमत र " जनयुद्ध"को, ती सपना र आकर्षणको हत्या नगरी दिएको भए हामी तपाईंप्रति आभारी हुने थियौं।
कान चिरेको जोगीको भयावह दुष्चक्रबाट सिंहदरबारको त्यो एकथान कुर्सी जोगाउन नसक्नुलाई हामीले दैबको लिला नै भनेर आज चित्त बुझाए पनि इतिहास सधैं नेपाली जनता जत्तिकै सोझो र सहनशील नहुन सक्छ। इतिहासले रौद्र रुप धारण गरेर आफुलाई कुनै दिन दोहोर्याएछ भने त्यसको जिम्माको ठूलो हिस्सा तपाईंको भागमा पर्नेछ। साबधान रहनु होला। लालसलाम ।