सहज बुद्धिका साधारण नागरिकको मनमा सपनाका खात भरिदिएर वाककुशल ओली लोकप्रिय बनेका थिए। प्रवास उनको हाई–हाई गर्दै थियो, घरघरमा उनको चर्चा थियो। म पनि ओलीका ठट्यौली, चोटिला व्यंग्य र सपनाहरूको जबर्जस्त प्रशंसक बनेको थिएँ।
राजनीति र कूटनीतिका कुशल खेलाडी ओलीको शैली अरू राजनीतिक नेताहरूभन्दा फरक छ। उनी रंगीन छन्, उनको शैली रोमाञ्चक छ। त्यही भएर कहिलेकाहीँ हाँसोको पात्र बन्छन्। यो उनको रणनीति पनि हुन सक्छ। कसैले यसलाई सस्तो लोकप्रियता भनेका छन्। वास्तविकता के हो, समयले नै बताउला। मलाई भने ओलीसँग भेटेर एउटा प्रश्न सोध्नु थियो– देशको प्रधानमन्त्रीजस्तो व्यक्ति हाँसोको पात्र बन्दा कस्तो लाग्छ?
नेताहरूसँग मेरो खासै नाता छैन। म ठान्थेँ, प्रक्रिया पुर्याएर सर्वसाधारण नागरिकले पनि आफ्नो सर्वोच्च नेतालाई भेट्न पाउनु, मनको कुरा पोख्न पाउनु, दुःख बिसाउन पाउनु प्रजातन्त्रको सुन्दरता हो। त्यही भएर साधारण नागरिकको हैसियतमा अनुरोध पठाएँ। कसैले टेरपुच्छर लाएन। त्यसपछि सञ्चारकर्मीको धाक लगाएर पहुँच पुर्याउने प्रयास गरेँ। तै सफल हुन सकिनँ। आश्वासन त प्रशस्त पाएँ, पूरा भएनन्। म कुनै प्रतिष्ठित मिडियाको संवाददाता परिनँ। न सम्पादक परेँ न प्रकाशक, न त पत्रकारका नेता। यो नाचिज त ‘गीत र मनोरञ्जन’ मै सीमित रेडियो प्रस्तोता न पर्यो। त्यसैले, उनलाई भेटाइदिन्छु भन्नेहरू एक साता हराउँथे, अनि माफी माग्दै भन्थे, ‘माफ पाउँ अहिले सम्भव देखिएन।’
यता मेरो त बानी नै नराम्रो, जे काम गाह्रो हुन्छ त्यो नगरी नहुने!
म प्रधानमन्त्रीलाई भेट्न गोरु बेचेको सम्बन्ध खोज्नतर्फ लागेँ। संयोगले मेरा एक जना नातेदारको चिनजान रहेछ। उनले भोलिपल्ट बिहान ७ बजे भेटाइदिने पक्कापक्की गरे। म उनले भनेबमोजिम बालुवाटार गेट नम्बर ३ अगाडि पुगेँ। ती नातेदार मलाई भित्र छिराउने चाँजो मिलाउन थाले। म ‘वेटिङ रूम’ मा बसेँ। त्यहाँकी महिला सुरक्षाकर्मी साह्रै हँसिली रहिछिन्। म ऐनामा गाजल मिलाउँदै थिएँ, उनले ‘गुड–गुड’ भनेर गेटभित्र प्रवेश गराइन्।
खुला चौर। अलिपर सचिवालय भवन। सुरक्षाकर्मीहरू। सितल वातावरण। करिब एक मिनेटको हिँडाइपछि गेट नम्बर २ पुगियो। त्यहाँ पनि केही बेर सोधपुछपछि ‘भिजिटर कार्ड नम्बर ७’ झुन्ड्याएर हामी गेट नम्बर १ तिर लाग्यौं।
रंगीचंगी फूल फुलेको बगैंचा नाघेर प्रधानमन्त्री निवास पुग्यौं। माथिल्लो तलामा प्रवेश हतपत कसैले नपाउने रहेछ। गेट नम्बर १ मै प्रधानमन्त्रीका पिताजी भेटिनुभयो। उहाँ नाम चलेका ज्योतिष हुनुहुन्छ। उहाँले मिठो मुस्कानसहित भन्नुभयो, ‘आज मलाई धुलिखेल घुमाउन लगिदिने रे, त्यसैले कुर्दैछु।’
उहाँ पनि व्यंग्य गर्न साह्रै सिपालु हुनुहुँदो रहेछ। बाबुछोरा भेला हुँदा घरको रौनक नै बेग्लै हुन्छ होला! ‘छोरा त अहिले साह्रै व्यस्त छ, बिहान झुलुक्क देखेको, त्यत्ति हो, तर देशको लागि अग्रसर छ, म साह्रै खुसी छु,’ उहाँ यति भन्दै त्यहाँबाट निस्कनुभयो।
त्यसपछि हामी कडा सुरक्षा पार गर्दै मुख्य भवनमा प्रवेश गर्यौं। हामीलाई पाहुनाले प्रतिक्षा गर्ने कोठामा लगियो। ठूलो कोठाका भित्तामा अहिलेसम्म देशले पाएका प्रधानमन्त्रीहरूको तस्बिर लहरै टांगिएका थिए। मैले अनुमान गरेँ, यही फोटोको खातिर त हो यो सबै उथलपथल। कोठाको बीचमा नेपालको झन्डा अनि प्रधानमन्त्री बस्ने कुर्सी थियो। साधारण तर सुन्दर कोठा।
एकैछिनमा ग्रिन–टी आइपुग्यो। चाहनाअनुसार मिल्क, लेमन र ब्ल्याक–टीको पनि सुविधा रहेछ। हामी पुग्दा कोठामा अरू पाहुना पनि प्रतिक्षामा थिए। प्रधानमन्त्री भने प्रचण्डसँग अर्को कोठामा भेटघाटमा रहेको जानकारी आयो। प्रधानमन्त्रीनिकट एक जनाले सुनाए, ‘अत्यन्तै व्यस्त हुनुहुन्छ, खाना खान त घडी हेर्दै मिनेट–मिनेट गन्दै खानुहुन्छ, औषधि खान त भ्याउनुहुन्न, तर तपाईंहरू लक्की, आज बाहिर खाने कार्यक्रम खासै छैन।’
हामी दंग पर्यौं।
‘प्रधानमन्त्रीज्यू, मिटिङ सकिनेबितिकै लिफ्टबाट झर्नुहुन्छ, तपाईंहरू यहीँ कुर्नुस्,’ यस्तो सुनेपछि मेरा मित्र ‘खाना खान जान्छु’ भन्दै भान्सामा पस्नुभयो। प्रतिक्षा गरिरहेको कोठाबाहिर बगैंचाछेउको भान्सामा धेरैका लागि खाना खाने व्यवस्था रहेछ।
केही समयपछि प्रधानमन्त्रीको आगमन भयो। सफा सेतो कुर्ता सुरुवाल, आँखामा चस्मा, हातमा पिंक कलरको आइफोन–६ प्लस। मलाई देख्नेबित्तिकै सोधे, ‘१५ वर्ष काम गरेर पनि कार्यक्रम छोड्न नसकेको रे, त्यस्तो पो पढेको थिएँ, किन नि? अब त पोडकास्ट सुरु गर्यौ रे?’
देशका प्रधानमन्त्रीले त्यस्तो सोध्दा कम्ता खुसी लागेन!
म आफ्नो पालो कुर्दै बसेँ। अन्य भेटघाट चलिरहँदा उनले केही बेर फोन स्क्रोल गरिरहे। भने, ‘त्यो समाचार खोज्दै छु खै भेटिएन!’
मैले सोधेँ, ‘तपाईं सोसल मिडिया फलो गर्नुहुन्छ?’
‘किन नगर्नु, के के हुँदैछ अपडेट हुनुपरेन त?’
केही बेरमै उनी ‘अब अर्को मिटिङ छ’ भन्दै उनी हिँड्न थाले।
मैले सोधेँ, ‘अझै कति बेर कुरुँ हजुरलाई?’
टक्क अडिएर प्रधानमन्त्रीले सोधे, ‘ज्वाईं कहाँ हो?’
मैले उत्तर दिएँ, ‘यतै।’
‘कति वर्ष कुरेर बिहे गरेको?’
मैले भनेँ, ‘तीन वर्ष।’
तुरुन्तै उनको बोली खसिहाल्यो, ‘अनि मलाई एकैछिन कुर्नु हुँदैन त?’
उनको व्यंग्य शैलीको के कुरा गर्नु!
‘शेरबहादुरजीलाई कसरी कुराउँ, बस म आइहाल्छु,’ उनी यही भन्दै कोठाबाट बाहिरिए।
त्यतिबेला ओली सरकारको आयु छोट्याउने खेल भर्खरै सुरु भएको थियो। उनको यो व्यस्त भेटघाटको कारण पनि त्यही थियो।
लगभग १० मिनेटपछि उनी फर्के।
मैले तुरुन्तै आफ्नो मनमा खेलिरहेको प्रश्न सोधिहालेँ, ‘देशको प्रधानमन्त्रीजस्तो व्यक्ति हाँसोको पात्र बन्दा कस्तो लाग्छ?’
उनले भने, ‘कसैले विरोध नगरे राजनीतिका ‘सटर’ (ढोका) बन्द हुन्छन्। पसल खुला राख्न पनि यो विरोध हुनैपर्छ। यो अनौठो हैन।’
उनी मलाई अझै सहज रूपमा बुझाउनतर्फ लागे, ‘ईश्वर मान्ने कुरामा त मतभेद छन् भने मान्छे मान्ने कुरामा मतभेद हुनु अस्वाभाविक हैन।’
म छोटो कुराकानी सकेर बाहिरिएँ। ओलीसँगको भेटघाट र उनका कुराले मनको तृष्णा त मेटियो तर ठेलमठेल लोकल बस चढेर घर फर्किँदा मनमनै सोचेँ, ‘भगवान मान्ने कुरामा मतभेद हुनसक्ला तर जनताले मागेको दुई मुठ्ठी सुख दिलाउने कुरामा त कुनै मतभेद हुन नपर्ने नि!’
sabeenakarki