‘भुइँचालो’ भन्ने शब्द सम्झेपछि दिमागमा सधैँ उही अतृप्त तस्वीरहरु घुम्छन्।
हाइटीमा भुइँचालो गए ताका बाल्यकालका तस्वीर र घटनाहरु सम्झिरहेँ। भुइँचालोमा ज्यान गुमाउनेहरुको दु:खमा होइन, आफुले भोगेका ती धमिला सम्झनाहरुले आँखा भरिएर आए। मान्छे स्वार्थी हुनुको पराकाष्ठ नमुना यसैलाई भन्छन् क्यारे।
पोहोर साल भुइँचालो गएपछि बिजुली जस्तै चम्केर फेरि आँखामा तिनै धमिला फुटेजहरु दौडिन थाले। ‘डिलिट’ हुन लागेका ती टुटेफुटेका ‘ब्लाक एण्ड ह्वाइट’ तस्वीरहरूलार्इ जम्मा गरेर अक्षर बनाउँछु भन्ने सोँचे तर, सकिनँ। भुइँचालो जति-जति दोहोरिँदै गयो, धमिलिँदै गएका सम्झनाहरुमा अलि अलि रंग वस्न थाल्यो।
अब लाग्दै छ-मेमोरीमा बाँकी रहेका टुक्राटाक्री तस्वीरहरु जम्मा गरेर अक्षरहरु बनाउन सक्छु।
असार साउनको महिना हुनुपर्छ शायद।
भर्खर आमा बितेको आलो घर। ‘घर’ हुनलाई चाहिने आमा नभएपछि, घर घरजस्तो हुने कुरै भएन। जाडो महिना लागेपछि खेतको लिस्सो माटो ल्याएर घरको छतमा हालिन्थ्यो। अनि पो घर चुहिँदैन थियो। चिप्लो माटो छतमा हाल्न नभ्याउँदै आमाले प्राण त्यागिन्। घर चुइने व्यथा त्यहींबाट सुरु भयो।
आमा नरहेपछि छतमा माटो हाल्दिने मान्छे कोही भएन। पुरुषले डोको बोक्नै नहुने काँठे बाउन् संस्कार थियो गाउँमा। स्वास्नी भर्खर मरेको आलो घरमा लोग्ने मान्छेले डोको बोक्ने क्रान्ति गर्न असहज भयो होला बालाई त्यो वेला शायद। त्यसैले लिस्सो माटो हाम्रो घरको छतसम्म आइपुगेन।
म जन्मेको ठाउँमा आइमाइले संसार चलाउँथिन् र लोग्नेमान्छेले त्यसको श्रेय लग्थ्यें। अहिले पनि त दूरदराजका गाउँमा के परिवर्तन भएको छ र! आमा मरेको केही महिनामै घर जिर्ण भैसकेको थियो। घर, घरजस्तो नाइ, बसाइ सरेर मुग्लान पसेका लाहुरेहरुको आधा भत्किएको गोठ जस्तो!
पानी छिट्यायो कि घर चुइने। आकाशमा दिउँसो बादल मडारिन थाल्यो कि बालाई तनाव हुन्थ्यो। ‘हे मष्ट, राति पानी बर्स्यो भने यि बालखहरुलाई कसरी छोप्ने होला!’
असार साउनको महिना। बाले भनेको न मष्टले सुन्ने, न आकाशले। पानी पर्न किन रोकिन्थ्यो र! मध्यराति ओछ्यानमा तप..तप.. पानी चुइन थालेपछि साघुँरा तीनवटा कोठाको घरभित्र ओभानो ठाउँ खोज्न बालाई आपत पर्थ्यो। जता सर्यो त्यतै पानी। बेलाबेलामा बाले भनेको सम्झन्छु। ‘मष्ट, कस्तो आपत आइपरेको मलाई।’
‘मष्ट’ मैले बुझ्न सक्ने शब्द थिएन। तर, बाको अनुहारमा कहिलेकाहिं मष्टप्रति जाग्ने भरोसा देख्दा यस्तो लाग्थ्यो–बाले काँधमा हालेर हिँडेका सारा दु:खले पार पाउन र मैले पेटभरी खानलाई मात्र भएनी, मष्ट हाम्रो घरमा नआइ हुँदैन। हाम्रो घरसम्म ‘मष्ट’ आइपुग्न कति ढिला गरेको होला!’
आमा मरिसकेपछि माया लाग्दो अनुहार बाकेर घरको अगेनामा एक्लै बा को बाटो हेरेर कुरिरहने वालक थिएँ म। मलाई घरको अगेनामा छाडेर बा विहानै खै कता जान्थ्ये। उज्यालो नहुँदै मालीगाइको आधा कचौरा दुधलाई ‘आमाको दुध हो’ भनेर दिएपछि मेरो दिन टर्थ्यो।
आमा मरेको पहिलो वर्ष भत्किन लागेको घरको आँगनमा जम्मा हुने हिलो, धुलो, मैलो, माटो र गोवरमा डुबेँ र, कयौँ चोटी त्यसैले पेट भरेँ होला। हिलोमै सुतेकाबेला बा ले उठाएर ओछ्यानसम्म लग्दै गर्दा बाका आखाँबाट वगेको आँसुले हिलो पखालेको दिन नी सम्झिन्छु।
दिन जेनतेन जान्थ्यो। तर, वेलुका हुन थालेपछि भने मुश्किल। झमक्क हुन्जेल नी कहिलेकाहिं बा घर नआइपुग्ने। भोकले ‘भोक लाग्यो’ समेत भन्न नसक्ने गरी थलिएको हुन्थ्यो अनुहार। चिसोले दाँत किट्किट् गरिरहेको हुन्थ्येँ। शरीर कक्रक्क परेको हुन्थ्यो। खाली पेट र नांगो शरीर बालवालिकाका लागि दुवै ठूला सजाय हुन्। भोक र चिसोलाई कुनै वालकले नी कहिल्यै सामना गर्नु नपरोस्।
घरको डिल छाडेर अर्को घरसम्म जान सक्ने भएपछि। मैले मागेर खान सक्ने भएपछि। खान हुने र नहुने छुट्याउन सक्ने भएपछि। अझ त्यो भन्दा वेसी, मैले जिन्दगी बाँच्न सिकिसकेपछि ‘टुहुरो’ को नाममा मप्रति प्रेम दर्शाउनेहरु सम्झिँदा अहिले नी दया लाग्छ।
एकदिन वेलुका वर्षात बढ्यो।
रातभरी ओछ्यान सार्दै बा गुनगुनाइरहे। ‘आज खोलाले खेत लग्ने भयो।’ बिहान बा कतिखेर निस्के पत्तो पाइन। आँखा मुसार्दै बाहिर डिलमा निस्के। झम झम पानी पर्दै गरेको र अध्यारो आकाश देखेँ। डरले झन आँशु सुक्ने गरी रोएको थिएँ।
कोही मान्छे आफ्नो घरको डिलमा देख्यो कि आश लाग्ने। एकसरो कपडा शरीरमा थिएन। हिलोमा लत्पतिएको थिएँ। आफन्ती आइपुगे। रित्तो घरको डिलमा हिलोले आधा डुवेको ४/५ वर्षको बालकलाई एक टुक्रो रवर थमाए र भने ‘आज दिनभरी झिंगा मारेरै वस्नु, वेलुका यही खाने हो।’
उनले जे सिकाएर गए मैले त्यही सिके। वालक मस्तिष्क जो थियो। झिंगा मार्ने उद्यम सिकाएर जाने मेरो ति आफन्तीलाई आजकल म वर्षमा हजारबार सम्झन्छु।
डिलमा झिंगा मार्दै गर्दा हिजो रातिवाट पर्न थोलेको पानी बुढो माटोको पर्खाललार्इ छिचोल्दै घरभित्र पस्न थाल्यो। घरभित्र पस्दै गरेको पानी म हेरिरहेँ। घरको छतमा राखेको ठूलो ढुंगा झर्यो। ढुंगाले थिचेको माटोलार्इ पानीले बगाउँदै लग्न थाल्यो। फेरि अर्को ढुंगा झर्यो। म वस् हेरिरहेँ। एकाएक कानमा आकाश खसेजस्तो आवाज आयो। बुढो घरको पाखोतिरको पर्खाल गर्ल्याम गुर्लुम्मै ढल्यो।
चुटिएको रवरको टुक्राले मारेर जम्मा गरेका झिंगालाई हतार हतार सोरेँ। बा घर फर्किदा घरको आधा भाग थिएन। किन हो कुन्नी एकोहोरो बाले हिलोमा लतपतिएको मेरो अनुहार र मैले मारेर जम्मा गरेको झिंगाको थुप्रो हेरिरहे। मैले मुखबाट बलले स्वर निकाले र भने–‘मैले गरेको होइन।’
मैले पर्खाल भत्काएको होइन भन्ने स्पष्टिकरण दिन म लगातार रोइरहेँ। बा एक शब्द बोलेनन्। पानी नपर्ने पर्खालको आडमा बाले आगो बाले। रवरको टुक्राले मारेर मैले जम्मा गरेका झिंगालाई आगोमा हाल्दै बाले वल्ल बोले। ‘आज हाम्रो घरमा भुइँचालो गयो।’
भुइँचालो भन्ने शब्दले हरेकपटक यही घटना चित्र ‘रिफ्रेस’ गराउँछ। थाहा छैन हाम्रो मात्र घर भत्काउने गरी आएको त्यो कुन भुइँचालो थियो?