असार २ गते बुधबार। बिहान साढे सात बजेको हुँदो हो म सुतिरहेकी थिए। त्यत्तिकैमा फोनको घन्टी बज्यो। अल्छि मान्दै फोन उठाएँ। अफिसको फोन रहेछ। सिन्धुली र मकवानपुर जानु पर्ने रहेछ। दिउँसो एक बजेको गाडी रहेछ हाम्रो त्यही खबर गर्न अफिसबाट फोन आएको। एक हप्ता लामो भ्रमण भन्ने जानकारी पाएपछि केही कपडा र आफूलाई आवश्यक अन्य सामानहरु प्याक गरें।
बर्खाको मौसम झरी निरन्तर परिरहेकै थियो। बल्खुबाट छुट्दैथियो, हाम्रो गाडी। करिब साढे १२ बजेतिर छाता ओढ्दै बल्खु पुगें। भ्रमण टोलीमा सहभागी हुने अन्य साथीहरुसँग त्यही भेट भयो। एक बजे भनेपनि हाम्रो गाडी दुई बजे मात्रै हिड्यो, काठमाडौंबाट हेटौंडातर्फ। नयाँ साथीहरुसँग परिचय गर्दै, बाटोमा रमाइलो गर्दै ४ घण्टाको यात्रा पछि हेटौंडा पुग्यौं। लगभग ६ बजेको हुँदो हो हामी हेटौंडा पुग्दा। पहिलो रात हेटौंडाकै होटेलमा बास बस्यौं।
असार ३ गते बिहान ८ बजे राईगाउँ जान गाडी चढ्यौं। निरन्तर ९ घण्टाको कठिन यात्रापछि माझगाउँ पुगियो। त्यो यात्राको क्रममा बाटोहरु देख्दा मैले फेसबुकमा देखेका केही पोष्टहरु साँच्चै हो जस्तो लाग्यो। हाम्रा सम्माननीय प्रधानमन्त्रीज्युले पानी जहाजको कुरा गर्दा फेसबुकमा एउटा पोस्ट निकै चर्चित भएको थियो। जसमा पानीमा बस गुडेको फोटो थियो। राईगाउँ जाने गाडी सडकमा भन्दा बढी नदिमा चल्दो रहेछ। अचम्म लाग्यो, हरेक दिन यहाँका मानिसहरु यस्तो कठिन यात्रा गरेर कसरी जीवन चलाउँछन्? म तराई मधेसमा जन्मेको मान्छे, मलाई यस्तो कठिन यात्राको अनुभव पहिलो थियो।
माझ गाउँबाट गाडी नचल्ने रहेछ अनि हामीले मकवानपुर र सिन्धुलीका विभिन्न गाविसको भ्रमणका लागि पैदलयात्रा गर्नुपर्ने भयो। हाम्रो भ्रमण सोचेको भन्दा बेग्लै थियो। अझ भनौं यो यात्रा मेरो लागि सपनाको एउटा टुक्रा जस्तै थियो। आफ्नै देशमा भएको यस्तो प्राकृतिक सुन्दरतालाई मैले यसअघि कहिल्यै हेर्न पाएको थिइनँ। हरिया पहाड, चिरबिर—चिरबिर चराचुरुङ्गीको आवाज, छङछङ बग्दै गरेका सुन्दर खोला, चुरे ...... आहा, त्यो प्राकृतिक सुन्दरता! जति बयान गरेपनि कमै हुन्छ। त्यो खोला, चुरे पहाडसँगको स्पर्शले मन आनन्दित हुँदो रहेछ।
काठमाडौंको धुलो र धुवाबाट टाढा थियौं हामी। बिहान फोहोर लिन आउनेले बजाएको सिठ्ठी र ब्यस्त सडकमा गुड्दै गरेको गाडीको आवाजले ब्युझिने म चिरबिर चिरबिर चरीको आवाज अनि एकाबिहानै खेत जोत्न हिडेका कृषकको आवाजले ब्युझिएँ। त्यतिबेला लाग्यो कठै हाम्रो जिन्दगी! यो सुन्दर प्रकृतिबाट कति धेरै टाढा छौं हामी। सबैभन्दा राम्रो कुरा उता मोबाइलको नेटवर्क हुँदैन थियो। व्यस्तता, होहल्ला र डिस्टर्ब बिनाको विन्दास जिन्दगी।
हरेक दिन ६÷७ घण्टाको हिडाइपछि बेलुका आनन्दको निन्द्रा लाग्थ्यो, सायद थकाइले पनि होला। सोच्थें, सधै हाम्रो जिन्दगी यस्तै हुने भए कस्तो हुन्थ्यो होला। प्रत्येक विद्यालयसम्म पुग्न चुरे र धेरै खोला हिड्नुपथ्र्यो। हामीले मकवानपुर र सिन्धुलीका विभिन्न सामुदायिक विद्यालयको भ्रमण गर्यौं। दुई जिल्लाका ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयको अवस्थाबारे जानकारी लिने मौका पाइयो। विद्यालयसम्म आइपुग्न विद्यार्थीहरुलाई ४÷५ घण्टा हिड्नुपर्ने रहेछ र दैनिक त्यति लामो दूरी पार गरेर पनि उनीहरु कक्षामा उपस्थित हुँदा रहेछन्। साँच्चै, कति सकस छ साना बालबालिकालाई। हाम्रो जस्तो विद्यालय जाने बेलामा घरमै लिन बस कहाँ आइपुग्थ्यो र त्यहाँ?
महिलाहरुको अवस्था वर्षौं अघिको जस्तै रहेछ आजपनि। चाहे त्यो घरायसी काम गर्ने महिला हुन् या त सरकारी वा गैरसरकारी संस्थामा काम गर्ने महिला। महिलाको जीवनशैलीमा खासै परिवर्तन भएको महसुस मैले गर्न सकिनँ। जहाँ पनि महिलाले पुरुषकै इच्छा अनुसार चल्नुपर्छ रैछ। पुरुषप्रधान हाम्रो समाजमा महिलाले आफ्नो हक, अधिकार, मान, मर्यादा र स्वतन्त्रता कहिले पाउने हुन्, खोइँ?
विद्यालयको कार्यक्रममा महिलालाई बोलाउँदा पुरुषले “जानु पर्दैन त्यस्तो कार्यक्रममा” भनेर घरबाट आउने अनुमति नदिएको थाहा पायौं। बल्ल बल्ल कोही महिला कार्यक्रममा आइहाले पनि बस्तुभाउलाई घाँसको व्यवस्थादेखि लिएर घरको सबै काम भ्याएर आउनुपर्ने। कार्यक्रम सकिन नभ्याउँदै फेरि घर फर्किन हतारो। यसरी महिलाहरु आउँदा ढिलो र फर्किन चाडै चाहन्थे, किनभने उनीहरुलाई घर फर्किएर फेरि सबै काम भ्याउनुपर्ने हुन्थ्यो।
पुरुष वैदेशिक रोजगारीमा गएका घरका महिलाहरु भने सामाजिक काममा बढि सक्रिय रहेछन्। गाउँघरमा हुने हरेक कार्यक्रममा उनीहरुको उपस्थिति हुने कुरा सुन्दा खुशी लाग्यो। तर, के पुरुष नभएका घरका महिलाले मात्रै गाउँ समाजको कुरा थाहा पाएर पुग्छ? महिलाहरु जब घरबाट बाहिर निस्कनै पाउँदैनन् भने देशका बारेमा, गाउँ समाजका बारेमा नयाँ कुराहरु कसरी जानकारी हुन्छन्?
केही महिलाहरुसँग हामीले सोध्यौं घरका पुरुषहरुको बारेमा। तपाइको घरका पुरुषहरु के गर्नुहुन्छ? भनेर, उहाँहरुको जवाफ सुनेर म आश्चार्यमा परें। भन्नुभयो,‘खोइ म्याम खेतीको सिजनमा खेती गर्नुहुन्छ नत्र खाना खान र सुत्नमात्र घर आउनुहुन्छ।’ सोचें, यही व्यवहार महिलाले देखाउँथे भने परिवार र समाजले के मात्रै भन्न बाँकी राख्थ्यो होला? गाउँ घुम्ने क्रममा मैले अर्को पनि एउटा समस्या देखें।
महिला प्रधानाध्यापक भएको विद्यालयमा उनीहरुले पाउने मानमर्यादा पाउन सकेका थिएनन् र आफ्नो निर्णयमा काम गर्न पाएका पनि थिएनन्। महिला भनेर प्रधानाध्यापकले गर्नुपर्ने निर्णयमा पुरुष शिक्षकले हस्तक्षेप गर्ने, आफ्नो अनुकुल निर्णय गर्न दबाब दिने र अन्त्यमा महिलालाई कसरी असफल बनाउने हो त्यसको उपायको खोजिमा लाग्ने प्रचलन त्यहाँ पनि उस्तै थियो। हुन त राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश जस्तो देशको सर्वोच्च पदमा पुगेका महिलाका बारेमा समेत कुरा काट्ने समाजले प्रधानाध्यापक र कार्यालय प्रमुखलाई के बाँकी राख्थ्यो? महिलाको क्षमतामा विश्वास गर्न किन गाह्रो भइरहेको छ हामीलाई?
जतिसुकै मेहनत गरेपनि, सक्षम भएपनि अनेकौ प्रश्नहरुको सामना गर्नुपर्ने र असहयोग झेल्नुपर्ने नियति कहिलेसम्म भोग्ने होला महिलाले? वर्षौ संघर्ष गरेर निर्णायक तहमा पुगेका महिलाले ‘फलानोको आफन्त भएर त्यहाँसम्म पुगि’ भन्ने वाक्य कहिलेसम्म सुन्नु पर्नेहोला? मलाई लाग्छ मैले घुमेको सिन्धुली र मकवानपुरका ग्रामिण भेगमा मात्रै होइन यस्ता समस्या देशैभरि उस्तै छन्। दैनिक मैले हिड्ने बाटोको चिया पसलमा घण्टौसम्म पुरुषहरु गफ गरेर बसिरहेका हुन्छन्। किराना पसल अगाडि लुडो र तास खेलेर बस्छन्। दैनिक घण्टौ समय त्यसरी बिताउने पुरुषहरुले त्यो समय घरको काममा सघाउने हो भने कामकाजी महिला दोहोरो जिम्मेवारीले समस्यामा छन् भनेर हामीले गुनासो गरिरहनु पदैन थियो।
हामीले वर्षौदेखि भन्दै आएका छौं, महिला र पुरुष एकै रथका दुई पांग्रा हुन्। अनि त्यो रथ अघि बढ्न दुबै उत्तिकै बलियो हुन जरुरी छ। पुरुषको साथ र सहयोगबिना महिलालाई अगाडि बढ्न साँच्चै गाह्रो छ। समाज परिवर्तन र महिला समानताका लागि पुरुषहरुको संकुचित सोंच हैन, फराकिलो दृष्टिकोण र आत्मीय साथ चाहिन्छ। महिलाहरु अघि बढ्नु र आत्मविश्वासका साथ काम गर्न सक्नु घर परिवार मात्रै होइन सिंगो देशका लागि सकारात्मक कुरा हो। अनि हामीले भनेको नयाँ नेपाल पनि त यस्तै होला नि हैन र?