पछिल्तिर महांकाल बाबा विराजमान छन्। अघिल्तिर भानु उभिएका छन्। भानु अगाडि भानुकै शिष्यहरू छन्। असारे झरीले चौरस्ता भिजेको छ। ओसिलो चौरस्तामा दौरा-सुरुवाल, ढाकाको टोपी अनि चौबन्दी चोली र फरियामा सिंगारिएका नरनारी छन्। लाग्छ, कुनै महान् चाड हो आज। मानौं, कुनै ठूलै विभूति वा विशिष्ट व्यक्तिको आगमन हुँदैछ।
२०६१ असार २९ गतेको कुरा हो। असार २९ गते अर्थात् दार्जिलिङेहरूको राष्ट्रिय चाड। बिहानीको झिसमिसेदेखि नै पहाडकी रानीलाई भुइँ कुहिरोले गमक्कै छोप्दा सिमसिमे पानीले लुथ्रुक्कै भिजेका साहित्य अनुरागी भानु जयन्तीको दिन चौरस्ता चोकमा खचाखच भरिएका छन्। आयोजकको तामझाम बेग्लै छ।
नेपाली सञ्चारकर्मीको एक टोली त्यहाँ पुग्दा नेपालकै कुनै जिल्लामा भव्य भानु जयन्ती मनाइरहेको भान हुन्थ्यो। त्यहाँ रहेको भानुको सालिकलाई बेहुली झैं सिँगारिएको छ। सयौं संख्यामा भेला भएका नेपाली भानुजयन्ती मनाउन बेफुर्सदिला भएका छन्। कुनै उल्लासमय चाड वा उत्सवजस्तो लाग्थ्यो त्यहाँको परिवेश नियाल्दा। त्यहाँको सामाजिक परिवेशलाई बुझ्दा त साँच्चै भानु जयन्तीलाई दार्जिलिङेले राष्ट्रिय पर्वका रुपमा नै मान्दै आएका रहेछन्।
नेपाली भाषा साहित्य, संस्कृति भनेपछि मरिमेट्ने दार्जिलिङेले नेपालको एउटा कुनामा जन्मेका भानुभक्तको जन्मजयन्ती यत्रो उल्लासका साथ मनाइरहँदा नेपालमा विरलै स्थानमा कार्यक्रम हुँदैथिए। चुँधीरम्घामा मात्र होइन राजधानी काठमाडौंमा पनि भानुलाई स्मरण गर्ने कुनै महान तयारी थिएन। तर चौरस्ताको चेहेरा खुलेको थियो त्यो दिन। हुस्सुले छोपे पनि कञ्चनजंघा हाँसेको थियो। नेपाली भाषा, साहित्यका पहरेदार दार्जिलिङेहरुको मन चंगाझै उड्दै थियो। रामायणको श्लोकलाई भाका हालेर गाउँदै पाका हौसिएका थिए। खैँजडी र अन्य बाजागाजामा चौरस्ता साँच्चै गुञ्जायस थियो।
यो सन्दर्भ जोडेर यात्रालाई सम्झिएको मात्रै होइन। यो त दार्जिलिङे नेपालीको आस्थाको उदाहरण हो।
भानु जयन्तीलाई लामो समयदेखि भारतीय नेपालीहरूले नेपाली जातिलाई एकताको सुत्रमा बाँध्ने पर्वका रुपमा मनाउँदै आएका छन्। प्रत्येक वर्ष चौरस्ता चोकमा भरिएको सयौं विद्यार्थी तथा साहित्य र भाषाप्रेमीको भीडले नेपाली साहित्यको जगेर्नामा पूर्वोत्तर भारत कति गम्भीर छ भन्ने देखाउँछ। सिक्किम, आसाम, मणिपूर, नागाल्याण्ड, सिलिगुडी पनि भानु जयन्तीमा यही तामझाम देखिन्छ। सन् १९९२ मा भारतीय संविधानमा नेपाली भाषाले स्थान पाउनु पनि भानुजयन्तीको प्रेरणा रहेको मान्छन् दार्जिलिङबासी। यहाँका नेपालीहरू भानुभक्तलाई नेपाली भाषा, साहित्य र जातिको पथप्रर्दशक नै मान्छन्।
प्रत्येक वर्ष भानु जयन्तीको दिन चौरस्ता चोकमा भानुभक्तको सालिक अगाडि हुनेरामायण वाचनले अझ दार्जिलिङको साहित्यप्रति लगनको निरन्तरता प्रष्ट देखिन्छ। रामायणका श्लोकहरूको लयवद्ध गुञ्जन सुन्दा लाग्छ, दार्जिलिङमा अझै भानु जीवित छन्।
भानुले वि.स. १८९८ मा रामायणको ‘बालकाण्ड’ लेख्न सुरु गरी १९१० मा तयार भएको कृति यतिबेला खण्ड-खण्ड दार्जिलिङेले वाचन गरिरहेका छन्। श्रवण गरिरहेका छन्। श्लोक गाएर गोर्खाली हुनुमा गर्व गरिरहेछन्।