‘चपला अबलाहरु एक सुरमा, गुनकेशरीको फूल लिई शिरमा।
हिंड्न्या सखी लिइकन वरिपरि, अलकापुरी कान्तिपुरी नगरी।’
माथिको कविताको हरफलाई हेरौं त! कति मार्मिक प्रकारले हाम्रो काठमाडौंको वर्णन गाइएको छ। स्वर्गसँग तुलना गरिएको छ। यसका सर्जक अरु कोही नभई हाम्रा आदिकवि भानु नै हुन्। नेपाली भाषा साहित्यको स्तरोन्नति अनि श्रीवृद्धिका लागि प्रथम साहसिक पाइला चाल्ने ती अग्रज प्रतिभा, संस्कृतको बोलबाला रहेको समय (वि.सं.१८७१—१९२५)मा खालि सर्वसाधारणको लोकजिब्रोमा मात्र झुण्डिएको, टुटफुट अनि विविध दृष्टिले पेलिएको, चेपिएको र हेपिएको नेपाली भाषालाई एकत्वभाव अनि सम्मानजनक अवस्थामा तानेर ल्याईपु¥याउने ती आदिपुरुष अनि धर्म—कर्मका ठेकेदार मानिएका संस्कृतका पण्डितहरुको व्यासासनबाट घर—घर अनि चुल्हाचोटा, शयनकक्ष, बिहेबारी, चाडबाड आदि समयमा समेत भाका हालेर गाउन मिल्ने रुपमा नेपाली रामायणको सिर्जना र प्रचारप्रसारमा अहोरात्र खटिएर लागिपर्ने ती युगपुरुषलाई नेपाली साहित्यको ‘पृथ्वीनारायण शाह’ भन्न नमिल्ला र ?
‘नेपाली रामायण’, नेपाली साहित्यको पहिलो महाकाव्यको जनकका रुपमा चिनिएका भानुभक्तको माथि उल्लेखित कविताजस्ता थुप्रै फुटकर रचना छन्। दैनिक जीवनयापनका घटना या आफूमाथि आइपरेका समस्यालाई समेत कवितात्मक भावमा व्यक्त गर्ने यी आदिकविलाई हामी काव्यकलाका ‘बहुमुखी प्रतिभा’ नै मान्न सक्दछौं। तिनले ‘गजाधर सोतीकि.......’ कवितामा आफूलाई साँझमा बास नदिई तिरस्कार गर्ने गृहिणीका बारेमा व्यंग्यात्मक भाव पोखेका छन् भने ‘.........भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली’ भन्ने कविताद्वारा नेपाली सरकारी कामकाजमा व्याप्त भोलिवादको उछितो काढेका छन्। यीबाहेक बधुशिक्षा, भक्तमाला जस्ता समाजोपयोगी कृति पनि छन् उनका।
भनिन्छ, यी कविलाई काव्यात्मकतातिर डो¥याउने यिनका बाजे कृष्णप्रसाद आचार्य मात्र नभई एक सामान्य घाँसी पनि थिए, जसको प्रेरणाले गर्दा आफ्नो कीर्ति राख्ने उत्कण्ठाका साथ तिनले रामायण अनुवाद कार्य शुरु गरे। ओछ्यान पर्ने बिरामी अवस्थामा पनि छोरालाई लेख्न लगाएर होस् या बिनाकारण जेल पर्नु पर्दासमेत उपियाँ र लामखुट्टेसँग संघर्ष गर्दै होस्, तिनले आफ्नो अभियान पूरा गरी छाडे।
यी महान हस्तीले साधारण व्यक्तिलाई समेत आफ्नो परिचय कवितामा नै दिने गर्दथे,
‘पहाडको अति बेस देश तनहुँमा श्रीकृष्ण ब्राम्हण थिया.............
..........इन्को नाति म भानुभक्त भनी हुँ यो जानी चिन्ही लिया’
भानुलाई ‘आदिकवि’को चिनारी दिलाउनका लागि उनका कृतिहरुको अन्वेषण गर्ने काम मोतीराम भट्टले गरेका थिए, त्यसैले तिनलाई पनि आजको दिनमा सम्झनुपर्ने हुन्छ।
अन्त्यमा, यी कविले हाम्रो बालाजुको वर्णन गर्दै लेखेका
‘यति दिनपछि मैले आज बालाजी देख्याँ, पृथ्वीतलभरिमा स्वर्ग हो जानी लेख्याँ.....’, यी पंक्तिहरु पढ्दा मन सिरिङ्ग हुन्छ आजको शहरीकरण र बालाजु सम्झेर तर पुनः उनैको अर्को कविताको पंक्ति सुनेपछि भने मन ढुक्क रहिरहन्छ,
‘......पशुका पति छन् रखवाली सरि
शिवकि पुरी कान्तिपुरी नगरी...।’