निष्कपट निश्चल जीवनहरूमा ईश्वर खोज्ने र तिनका चहराइरहेका घाउमा लक्ष्मीप्रसादको मल्हम लगाउने मेरो सानैदेखिको रहर अचेतनामा नै विलिन भएको थियो। रौनक र रोमाञ्चकताको बाक्लो बादलमा अलमलिएको थियो, सायद। भीमकाय व्यक्तित्वको खोजीमै कयौं समय खर्चिए, कामभन्दा ठूला नाम भएकाहरूको गुनगानमा कयौं प्रहर व्यर्थिए, शब्दका फूलबुट्टा भर्नेहरूलाई दोहोर्याइ–तेहर्याइ अन्तर्वार्ता लिइयो।
स्टुडियोका बन्द कोठाहरूबाट कयौंपटक ती दुःखी जीवनका कथा व्यथा बोलिरहँदा मलाई लाग्थ्यो, यी मेरा अभिव्यक्तिका औचित्य के? मेरा वकालतको अर्थ के? ती जीवन जसमा कृतिमताको कुनै धर्सो छैन, अत्तरले मगमगाएर सिफनमा बेरिएकी मैले उनीहरूका लागि एउटा सिन्को पनि त भाँच्न सकेकी छैन। कान्तिपुर टेलिभिजनका होनहार प्रस्तोता स्वर्गीय इन्द्र लोहनीलाई सम्झेँ। टेलिभिजनका पर्दाबाट उर्लेर उनी कसरी बाढीमा बगिरहेकाहरूलाई उद्दार गर्न जीवन बाजी राख्दै पानीमा हाम्फालेका थिए।
सबैले भन्छन्, त्यो तीनतले रातो घर फलानोको। त्यसको आडमा रहेको पहेँलो चाहिँ फलानो मन्त्रीको। त्यो ब्यांकरको, त्यो घरवाला डाक्टर। तर सधैं हिँड्दा हरिया मकैको यो मीठो बासना आउने झुपडी कसको भनेर हेक्का राख्ने फुर्सद कसलाई? त्यहाँ बस्ने धिरेन लामाका बिलौनामा फुलबुट्टा छैनन्। उनी कसैलाई प्रायोजन गर्न पनि सक्दैनन्। न त उनको सिफारिसले कसैलाई जागिर नै दिलाउन सक्छ। मात्र, उनको व्यथा अधिकांश नेपालीको जस्तो छ।
काठमाडौंको चप्पल कारखाना सडकछेउ असारे हिलो, त्यही छेउ मकै पोलिरहेकी बुद्धिमाया लामा अनि अलि पर पालमुनि ह्विलचेयरमा बसेर एकोहोरो टोलाइरहेका उनका पति हुन् धिरेन लामा! गएर सोध्न मन लाग्यो ती दुवैको कथा, जीवनका सुख दुखका कथा माया पिरतीका कथा...।
‘आमा मलाई मकै पोलिदिनुस न एउटा अनि हरियो खुर्सानीको धुलो पनि,’ म यसै भन्दै उनको नजिक पुगेँ।
‘तपाईंहरूको कथा सुन्न मन लाग्यो!’
बुद्धिमाया त लजाइन्। धिरेन लामाले भने ‘आउनु बैनी यता भित्र’ भन्दै पालमुनि बोलाए!
एउटा खाट, छेउमा स्टोभ अनि जुठा भाँडा, भाँचिएको सोफा! त्यही सोफाको धुलो टक्टक्याउदै मलाई बस्न आग्रह गरे अनि सुरु गरे आफ्नो कथाः
मेरो घर सर्लाहीको राजघाट भन्ने ठाउँ! हामी दुवै जना एकै गाउँका, बुवाआमाले हेरिदिनु भएर ०३६ सालमा विवाह गरियो, हामी दुवै १९ वर्षका थियौं! त्यतिखेर खेतीकिसानी गरिन्थ्यो, माया साटासाट गरिन्थ्यो, दुःखसुख भए पनि जीवनमा एकअर्काको साथले संसार जितिन्थ्यो भन्ने आँट थियो! त्यही क्रममा मैले वनपालेको काम सुरु गरेँ! रहँदाबस्दा दुई छोरा, एक छोरी जन्मिए, परिवार ठूलो भयो!
सन्तानको आवश्यकता पूरा गर्न म अहोरात्र काममा खटिन्थेँ! दिनभरको थकान, तर घर आउँदा हँसिली श्रीमती अनि उनको सन्तुष्ट व्यवहारले म आफूलाई निकै भाग्यमानी श्रीमान ठान्थेँ, जसले अर्को दिनभर जति काम गरे पनि नथाक्ने ऊर्जा दिन्थ्यो! मेरो पेन्सन पाक्न तीन वर्ष मात्र बाँकी थियो, तर देशमा द्वन्द्व चर्किएको थियो! काम नछाडे मारिदिने धम्की आएपछि पूरै परिवारसहित हामी काठमाडौं आयौं!
म ज्यामी काम गर्न थालेँ। उनी छाप्रोमा चिया पसल चलाउँथिन्! भाडाको छिँडी कोठा, संघर्षमय जीवन, तैपनि उनी साथमा थिइन्। कहिलेकाहीँ जिम्मेवारीको भारले हतोत्साहित् हुँदा उनले नै अँगालोमा बाँधेर सम्झाउँथिन्! लाग्थ्यो जीवनको जस्तै कठिन मोड पार गर्न पनि उनकै त्यही माया र साथ भए पुग्छ बस!
एक दिन अचानक टाउको दुख्यो। चार वर्षअघिको कुरा यो। उठ्न नसक्ने भएँ। उनी काममा गइसकेकी थिइन् तर मेरो शरीरको आधा भाग चल्नै छाड्यो। म अत्तालिएँ। छोराछोरीलाई छिट्टै आमालाई बोलाएर ल्याउन भनेँ! त्यसपछि मलाई केही याद छैन।
एकैचोटि तीन दिनपछि अस्पतालको बेडमा होस आउँदा आँखाभरि आँसु लिएर बसेकी उनैलाई सुरुमा देखेँ। मेरो आधा शरीर नचल्ने भएछ! बाटोछेउ चिया पसल रुंगेर ६ लाख रुपैयाँ उनले जम्मा गरेकी थिइन्, सर्लाहीमा गएर एक कठ्ठा जग्गा किनुंला भनेर। तर, त्यो सपनालाई पर सार्दै उनले मलाई उपचार गर्न सिक्किम लिएर गइन्! एक महिना त्यहीँ बसियो। उनी दिनरात मेरो सेवामा हुन्थिन्। सन्चो हुन्छ पीर नमान्नुस् भनेर आँसु पुछिदिन्थिन्। तर, यसपटक सोचेजस्तो भएन। पैसा सकियो, तर मेरो आधा शरीर कसैगरी पनि चलेन। हामी देश फर्कियौं। उनी दिनभर बाटो छेउ चिया पसल चलाउन थालिन्। मैले नजिकै बसेर हेर्नु सिवाय केही साथ दिन सकिन।
त्यही बेला अर्को बज्रपात आइलाग्यो। जेठो छोरा घर बनाउने काम गथ्र्यो। प्लास्टर गर्ने क्रममा छतबाट खसेर उसको मृत्यु भयो। दैव पनि कति निष्ठुरी, सबै दुःख एकैचोटि आइलगाइदिने। कसरी पार गर्लान फगत यी मनुवाले भन्ने पनि कहिल्यै नसोच्ने।
सायद भगवानको मन हुँदैन क्यारे!
अझ वैशाख १२ गतेको महाभूकम्पपछि त मलाई त्यो कुरा पक्का भयो। हामी भाडामा बसेको ठाउँ चर्कियो। केही दिन त छेउको पाकिस्तान दूतावासको खुला चौरमा गएर बसियो तर असार महिनाबाट यहीँ पाल हालेर बसिएको छ। हिलो छ, मैलो छ, छेउमा अग्ला हाउजिङले हावा छेकिदिएका छन् तर जाने विकल्प छैन। उपचारपछि लगत्तै औषधि खान पर्ने तर चार वर्ष लाग्यो नखाएको! यो ह्विलचेयर धेरै ठाउँ भाँचिएको छ, अर्को चाहियो भनेर निवेदन दिएको दुईपल्ट, खै कहिले आउने ठेगान छैन। आफैं किन्न १८ हजार पर्ने रहेछ।
यता शौचालयको ठूलो समस्या छ! नजिकैको शंख पार्कका गेटपालेसँग कुरा मिलाएको छु। उनैले बिहानै उनी आएपछि र जानुअघि मलाई झाडीमा लगिदिन्छन्। रातभर लामखुट्टेले सुत्न दिँदैनन। ओड्ने ओडुँ गर्मी छ, नओडे यो पालमुनिको सुताइ लामखुट्टेले निदाउनै दिँदैन! कान्छो छोराबुहारी साथै छन्। उनीहरू चिया बनाउने व्यापारमा सहयोग गर्छन। मीठो मीठो खान पाए, हाँसीखुसी गर्न पाए म कति रमाउँथेँ तर खै उनी बिहानै काममा जान्छिन्, छोराबुहारी पनि काममा लाग्नु परिहाल्यो। म एक्लै पालमुनि रुंग्छु बस्छु, बरु त्यही बेला संसार छोड्न पाको भए नि हुन्थ्यो कमसेकम सबैलाई बोझ त हुन्नथ्यो! अहिले त चार वर्ष भैसक्थ्यो... उनले पनि मलाई बिर्सिसकेकी हुन्थिन् होला तर खै अझै पनि मलाई यति माया गर्छिन्, कहिले मन दुखाउँदिनन्, सधैं हँसिली छिन्, उनी मात्रै सँगै नभएको भए मेरो त के हाल हुन्थ्यो होला...।
आँखाभरि आँसु बनाएर आफ्नो कथा सुनाएका धिरेन लामाको कुराले भावुक बनायो! मैले अन्तिम प्रश्न सोधेँ, ‘तपाईंलाई के गर्न मन छ, पैसा भए के गर्नु हुन्थ्यो होला?’
उनले भने, ‘बूढीको सर्लाहीमा एक कट्ठा जग्गा किन्ने सपना अधुरै रह्यो। पैसा भए आजै जग्गा किन्थेँ अनि पूरै परिवार लगेर खेतीपातीको काममा लगाउथँे। कमसेकम यो बाटो छेउ पाल्मुनिको विरक्तलाग्दो जीवनबाट त छुटकारा मिल्थ्यो, मेरी बूढी कति खुसी हुन्थी होला तर अब यो जुनीलाई यस्तै हो।’
...
कुराकानी सकेर बिदा माग्ने क्रममा मैले उनलाई बेलुका केही मीठो खानुहोला भनेर केही रकम हातमा थमाइदिएँ तर पट्टक्कै लिन मानेनन्। मैले धेरै आग्रह गरेपछि मात्र स्वीकारे।
‘हस् त फेरि आउँछु’ भनेर त्यहाँबाट निस्केर त्यो पाल हेर्दा, उनको मुहारमा चिन्ताका रेखा देख्दा अनि मकै पोलिरहेकी बुद्धिमायालाई नियाल्दा लाग्यो, यो माया भन्ने चीज खै कस्तो कस्तो हो!
कार्यक्रम प्रसारणलगत्तै धेरै स्रोताले ‘सहयोग गर्छु’ भन्दै लेख्न थाल्नुभयो। मेरो इनबक्स सहयोग गरौँ भन्ने सन्देशले टनाटन भरियो। लाग्छ, नेपालीको मनकारी भावनाको जति प्रशंसा गरे पनि कम हुन्छ।
केही दिनपछिको कुरा हो, एक जना स्रोता छनौट गरेर धिरेन लामालाई ह्विलचेयरको व्यवस्थामा सहयोग गर्न बुझ्नुपर्यो भनेर म पुनः उनी भए ठाउँ पुगेँ! तर, परिस्थितिमा आएको ट्विस्ट सोच्दै नसोचेको थियो! उनलाई भेट्न दुई जना व्यक्ति सँगै खोज्दै खोज्दै आउनुभएछ, त्यही टहरोमा। नाम पनि भन्नु भएनछ, गुमनाम, सुटुक्क १८ हजार दिनुभएछ अनि जानुभएछ। पातली गोरी–गोरी केटीमान्छे अनि केटा मान्छे चाहिँ रातो वर्णको अग्लो– यस्तो हुलिया लामाले बताए।
मैले राष्ट्रिय अपांग महासंघ नेपालमा फोन गरेर धिरेन लामाको ह्विलचेयरको सिफारिस प्रक्रिया कहाँ पुगेको भनेर सोधेँ। अहिले त उपलब्ध नभएको र त्यो त डोनेसनमा आउने हो, कहिले आउँछ ठेगान नै हुँदैन भन्ने उत्तर पाएँ! लामाले अनामनगरको आफूले चिनेको एउटा ठाउँमा जाने अनि ह्विलचेयरको आवश्यकता पूरा गर्ने बताए।
उनलाई आगामी दिनको शुभकामना दिँदै म त्यहाँबाट त फर्कें तर मनले भनिरह्यो– तपाईं दुई जना जो भए पनि, जता भए पनि मेरो धन्यवाद स्विकार्नोस्। भगवानको सच्चा रुप रहेछ तपाईं भित्र। तपाईंलाई कहिले कुनै कुराको दुःख हुने छैन। न कहिले अभाव नै। तपाईंलाई उहाँको आशिषले सधैं संरक्षण गर्ने छ।
पन्ध्र वर्षको रेडियो जीवनमा भर्खर बुझ्दै छु, वातानुकूलित बन्द दिवारहरूभन्दा पर गएर खोज्नुपर्छ पवित्र आत्माहरू र त्यहीँ टन्टलापुर घाममा भेटिन्छन् सच्चा भगवानहरू।