अधिकांश मुस्लिम बस्तिहरु अहिले रमजान महिनाको एक महिने रोजा (व्रत) को बिदाइ र रमजानको समाप्तिसँगै आउने महान चाड इदको रौनकले तातिएका छन्। सदाझंै यस वर्ष पनि अरबिक क्यालेण्डर अनुसार नवौं महिनामा रमजान भरि सक्षम मुस्लिमले एक महिने रोजा सफलतापूर्वक सम्पन्न गरेका छन्। यसरी एक महिने कठिन व्रत सफलतापूर्वक सम्पन्न गरेको खुसीयालीमा हर्षोउल्लासका साथ यो महान पर्व इद–उल–फित्र मनाउने परम्परा रहेको छ।
इस्लाम धर्मका पाँच आधार स्तम्भमध्ये चौथो आधार रमजानको रोजा प्रत्येक उमेर पुगेका र रोजा (व्रत) बस्न सक्षम मुस्लिम समुदायका मानिसका लागि यो अनिवार्य गरिएको छ। जब अन्तिम सन्देष्टा हजरत मुहम्मद सल्लल्लाहो अलैही वसल्लमलाई धर्मकै कारणले उनलाई दुश्मनले अत्याधिक सताउन थालेपछि उहाँ र उहाँका केही अनुयायी आफ्नो जन्मस्थल मक्काबाट हिजरत (प्रस्थान) गरी मदिना गएको दुई वर्षपछि अर्थात् हिजरी संवत दुईबाट रमजान महिनामा महिना भर रोजा बस्न सुरुवात भएको प्रमाणहरु हामी कुरान सरिफमा प्रस्ट पाउन सक्छौं। मुस्लिमहरुको सबैभन्दा ठूलो पवित्र धर्म ग्रन्थ कुरान सरिफ यसै महिनामा अवतरित भएकाले पनि यो महिनाको महत्व झनै बढेको हो। हिजरी दुईबाट सुरु भएको यो पर्व विश्वभरका सम्पूर्ण मुस्लिम समुदायका मानिसले एकै साथ मनाउँछन्। संसारभर सामान्यतः एकै दिनबाट सुरु भएर एकैदिन अन्त्य भई यो महिनाको अन्तिम दिन अथवा रोजाको अन्तिम दिनलाई सबैभन्दा ठूलो उत्सवका रूपमा इद पर्व मनाउने गरिन्छ।
वैज्ञानिकका अनुसार रोजा (व्रत) बस्नाले आत्मसन्तुष्टि, पेटको बिमार, रगतको बिमार, उच्च रक्तचाप, मुटुको रोग, कान, आँखा, जोर्नी तथा ढाड दुख्ने बिमारबाट समेत बच्न सकिन्छ। भोको बस्नुको उत्तम तरिका रोजा (व्रत) हो जुन इस्लामिक तरिका अनुसार रोजा (व्रत) राखिन्छ।
अल्लाह र आफ्नो धर्मको लागि जुनसकै त्याग गर्न पनि तयार रहने मुस्लिम समुदायले एक महिनासम्म कठोर व्रत राख्ने गर्दछन्। रोजा (व्रत) राख्नाले लोक परलोक दुबैमा फाइदा हुन्छ। यस लाभको साथसाथै महत्वपूर्ण कुरा यो हो कि मुसलमानहरु रोजा (ब्रत) केबल अल्लाहको प्रशन्नता प्राप्तिका लागी अल्लाहको आज्ञा अनुसार रोजा (ब्रत) राख्दछन् र यो एक महिनासम्म राखिन्छ तर इदका दिन व्रत बस्नु जायज (उपयुक्त) छैन।
आपसी मेलमिलाप र सद्भावका साथ मनाइने इदुल फित्रमा परिवारका सबै सदस्य तथा नातेदार एकै ठाउँमा जम्मा भई हर्षोल्लासका साथ मनाइने इदका दिन बिहान सबेरैदेखि मुस्लिम बस्तिमा निकै चहलपहल हुने गर्दछ। बिहान सबेरै उठेर नुहाएर नयाँ कपडा लगाउने, बिभिन्न खानेकुराका परिकार बनाई खाने, लगभग नौ बजे सै पुरुष ईदगाह वा मस्जिदमा एकै ठाउँमा भेला भई विशेष किसिमको २ रकात इदको नमाज पढी एकआपसमा अंकमाल गरी खुसी साटासाट गर्ने, आफ्ना मरेका आफन्तजनको च्रि शान्तिका लागि अल्लाहसँग दुवा गर्ने, लगायतका गतिविधि गरी धुमधामका साथ मनाउने परम्परा रहेको छ।
अरबिक महिनाको रमजान महिना अर्थात् यस महिनालाई मुस्लिम धर्मवालम्वीले अरु महिनालाई भन्दा विशेष महत्व दिने गर्दछन्। यही महिनामा आफूले एक वर्षसम्म कमाएको सम्पत्तिको केही प्रतिशत धार्मिक कर अनिवार्य तिर्नु पर्ने हुन्छ। यसरी बुझाएको करलाई जकात भन्ने गरिन्छ। साढे ५२ तोला चाँदी, साढे ७ तोला सुन वा सो सरह सम्पत्ति भएको प्रत्येक मुस्लिमले आफ्नो कुल सम्पत्तिको २.५ प्रतिशत कर अनिवार्य तिर्नुपर्ने हुन्छ।
यसरी तिरेको जकात (कर) गरिब, दुखीका लागि बाँड्ने प्रचलन रहेको छ। अनाथ, गरिब र दुखीले सम्पत्ति कै कारण बिहान बेलुका खाना र आफ्ना आवश्यकता पूर्ति गर्नबाट र धनीले झैं चाडपर्व मनाउनबाट बञ्चित नहोस् भनेर प्रत्येक मुस्लिमले यसरी प्रत्येक बर्ष अनिवार्य धार्मिक कर तिर्नु पर्ने नियम पवित्र धर्मग्रन्थ कुरान र विभिन्न धार्मिक पुस्तकमा पाउन सक्छौं। यस पर्वमा अर्को सद्कतुल फित्रको पनि बिशेष महत्व हुन्छ। सदकतुल फित्र खासगरी मुस्लिम समुदायले एक महिनासम्म राख्ने रोजाको अन्त्यमा र रमजानको अन्त्यसँगै इदको नमाज पढ्नु अघिसम्म आफ्ना एक महिने रोजामा भएका गल्ती, कमीकमजोरीलाई दुर गर्न तथा इदको खुसीयालीबाट गरिबहरु समेत वञ्चित नहुन भन्ने उद्धेश्यले प्रदान गरीने एक किसिमको दान हो। यसलाई छोटकरीमा सद्का पनि भनिन्छ। यो इदको नमाज पढ्नु अगावै निकाल्नु पर्ने हुन्छ। सद्का जति सक्दो धेरै निकाल्नु उत्तम मानिन्छ।
मुस्लिम समुदाय इद पर्वलाई खुसीको महाउत्सवका रुपमा लिने गर्दछन्। अरबिक क्यालेण्डर अनुसार आठौं महिना साबानको अन्तिम तारिखका दिन बेलुका आकाशमा चन्द्रमा (चाँद) देखेसँगै रमजान महिनाको व्रत सुरु हुने र एक महिनापछि रमजानको अन्तिम तारिखका दिन बेलुका पुन आकाशमा चन्द्रमा (चाँद) देखेपछि एक महिने व्रत समाप्त भएको खुसीयालीसँगै भोलि पल्ट हर्षोल्लासका साथ महाउत्सव इद–उल–फित्र मनाउने गरिन्छ।
अन्त्यमा, यति महत्वपूर्ण रमजानको रोजा र इदुल फित्रले सम्पूर्ण जात–जाती, धर्म र समुदायबीच एकात्मकताको सन्देश दिँदै यस वर्ष विस २०७३, सन् २०१६ अर्थात् हिजरी सम्वत् १४३७ हामीबाट गइसकेको छ। आशा छ एकात्मकताको संवाहकको रुपमा रहेको यस्तै अर्को रमजान र इदुल फित्रको आगमन अघि नै हाम्रो देशले नयाँ गति लिनेछ र नयाँ नेपाल निर्माण भई देशले विकासको मुहार फेर्नेछ। विश्वास छ सारा नेपालीबीचको मेलमिलाप, मित्रता र जातीय, धार्मिक तथा साम्प्रदायिक सद्भाव अझ प्रगाढ र मजबुत बन्नेछ। इद पर्व इस्लामिक पर्वका रुपमा मात्र नभई सारा नेपालीकै पर्वका रुपमा स्थापित हुनेछ। सबैलाई मोहसिनको इद मुवारक!