हिजो मलाई एउटा मिटिङमा पुग्नुपर्ने हतारो थियो। आफ्नो स्कुटी भद्रकाली मन्दिरनेरबाट थापाथली निस्कने नयाँ बाटोतिर स्कुटी मोडेँ। त्यो बाटो म पहिलो पटक हिँड्दै थिएँ। मलाई त्यो बाटोका नियमबारे पनि थाहा थिएन। मैले अलि शान्त देखेपछि एउटा अर्को स्कुटर सरर्र त्यो बाटो गयो। म ढुक्क भएर अगाडि बढेँ।
अघि बढ्ने चोकको मुखैमा एक जना ट्राफिक प्रहरी उभिएर सवारी साधनलाई सङ्केत गरिरहेका थिए। उनले मलाई रोकेनन् र नजाने संकेत पनि गरेनन्।
तर तल थपाथली मुखमा पुगेपछि अर्का ट्राफिक प्रहरीले मलाई रोके। उनले मेरो लाइसेन्स र ब्लुबुक मागे। मैले दिदैँ गर्दा उनले गलत बाटो आउने हो भने। म अचम्म परेँ। कता गलत बाटो? मलाई थाहै भएन।
यो बाटोमा उताबाट कुनै सवारी आएको देख्नु भएको छ– उनले प्रश्न गरे।
मैले भने, ‘सरी दाइ म थाहा भएर यो बाटो आएकी होइन। भर्खरै हजुरकै अगाडिबाट एउटा स्कुटी सिंहदरबारतिर लाग्यो त्यसलाई केही भन्नुभएन। म पहिलो पटक हिँडेको हो बाटो। अरूलाई नरोकेपछि जान पाइने होला भनेर आएँ। फेरि त्यहाँ हुने ट्राफिकले मलाई केही भन्नुभएन पनि। अनि कसरी थाहा पाउने मैले?’
अर्को स्कुटर गएको उनले पनि देखेका थिए।
त्यो गइहाल्यो त म के गरूँ? उल्टै मलाई उनले प्रश्न गरे।
म सकेसम्म प्रहरीको झन्झटमा फस्न चाहन्नथेँ। मैले नम्र भएर आफ्नो गल्ती स्वीकारे। आइन्दा यस्तो नगर्ने वाचा पनि गरेँ तर उनले चिट काट्ने निधो गर्दै मलाई अगाडि बढ्न लगाए।
म अझै पनि फुत्कन खोज्दै भनेँ, ‘दाइ म टिचर हो। मैले नै विद्यार्थीलाई सडक नियमको बारेमा पढाउन पर्छ। जानी जानी म किन गल्ती गर्थे र। त्यहाँ वान वे को कुनै सङ्केत नै छैन । फेरि प्रहरी हुँदाहुँदै मलाई उताबाट किन पस्न दिएको?’
उनले मलाई बग्गीखाना लैजाने निधो गरे । मेरो लाइसेन्स र बिलबुक उनकै हातमा थियो । जानै पर्ने भएपछि मैले उनलाई आफ्नो पछाडि बस्न अनुरोध गरेँ। मेरो स्कुटीको पछाडि बस्न उनले अप्ठ्यारो माने। उनको अघिसम्मको हठ आँखाबाट हटिसकेको थियो।
‘यसरी कसैले पनि छोड्दैनन्। तपाईँ शिक्षक हुनुहुँदो रहेछ। आइन्दा यस्तो नगर्नुहोला। जानसक्नुहुन्छ,’ उनले मेरा कागजपत्र मलाई फिर्ता दिए। उनको नाम सोधेँ मैले र धन्यवाद दिदैँ भने, ‘बाटोमा केही चिन्ह त हुनुपर्यो नी। यता जाने नजाने कसरी थाहा पाउने?’
उनले त्यो बाटो गाडी नै नआएपछि थाहा पाउनुपर्यो भन्ने कुरा गरे। मैले पनि त्यही समयमा नआउन पनि त सक्छन् भन्दा उनले जवाफ दिएनन्। तर उनले मेरो समस्या भने बुझे नै। उनलाई धन्यवाद।
म त्यहाँबाट हिँडे। मैलाई अझै पनि काठमाडौँका सबै बाटोको नियम थाहा छैन। तर सबैमा नियम उल्लेख पनि छैन।
के सडक ट्राफिक प्रहरीको जाल थाप्ने थलो हो? जहाँ सवारीलाई चपेटामा पारेर ढडिया भर्ने काम गरिन्छ? छिर्ने बेलामा न कुनै संकेत छ न कसैले रोक्छ। कोही हुँइकिन सक्ने पार हुन्छन् हामी जस्ता जालमा पर्छन्। यो जानाजान थापेको पासा हो।
मैले त मेरो समस्या राखेँ, ट्राफिक पनि समस्या बुझ्ने रहेछन् र सफाइ पाएँ तर गल्ती स्वीकार गरेर मात्र। तर दैनिक त्यहाँ जालमा कति पर्छन्, यो कसले रोक्ने?