‘जीवन भ्रम, डेथ ईज रियालिटी’ डेढ वर्षदेखि एपेन्डिसाइटिसको क्यान्सर बिरुद्ध संघर्ष गरिरहेका डा. चित्रप्रसाद वाग्लेले केही महिनाअघि अन्तर्वार्तामा भनेका थिए।
डा. वाग्ले रहेनन। डा. वाग्लको निधन। स्वर्गीय डा. वाग्लेको आत्माले शान्ति पाओस्। बिहीवार दिउँसोदेखि फेसबुकका भित्ताहरुमा डा. वाग्लेका शुभचिन्तक फेसबुक प्रयोगकर्ताले डा.वाग्लेलाई सम्बोधन गरेर लेखेका प्रतिक्रियाले उनको मृत्यु भएको कुरा पत्याउन कर लाग्यो। ग्राण्डी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको कुरा समाचार माध्यमबाट बाहिर आयो। नेपालमै दिनहुँ सयौंको मृत्यु हुन्छ। तर धेरैको मृत्युको चर्चासम्म हुँदैन। तर डा. बाग्लेको मृत्युले धेरैलाई स्तब्ध बनाएको छ।
उनले भनेझैं भयो, ‘जीवन भ्रम, डेथ ईज रियालिटी’।
जीवन भ्रम। मृत्यु सत्य।
जीवनपछि मृत्यु निश्चित छ। मृत्यु साश्वत सत्य हो।
उमेर पुगिसकेका बृद्धको मृत्यु पनि असामायिक मानिन्छ। बिकसित मुलुकहरुमा बृद्धको मृत्यु असमायिक नहोस, अभाव र उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपरोस् भनेर राज्यले उसको सम्पूर्ण रेखदेख र उपचारको व्यबस्था गर्छ। दुई साताअघि सार्वजनिक भएको एक तथ्यांक अनुसार स्वीडेन विश्वमै एक नम्बरमा पर्छ बृद्धहरुको स्याहार र रेखदेख गर्ने देशहरुको सूचीमा। छिमेकी भारत ७७ आंै नम्बरमा पर्छ। नेपाल यो सूचीको सय नम्बरभित्र पनि पर्दैन। हो, राज्यका लागि डा. वाग्लेको मृत्यु असामयीक भएन भने उसका लागि बृद्धको मृत्यु अस्वाभाविक किन लागोस्?
राज्य भनेको के हो? सरकार केका लागि? जनतालाई किन आवश्यक पर्छ नागरिकता? यस्ता थुपै्र प्रश्नहरु एकसाथ जन्मिएका छन्, डा. वाग्लेको मृत्युसँगै।
म सुरक्षित छु, मेरो भूगोलभित्र। म मर्ने छैन, उपचार नपाई। एउटा नागरिकले राज्यसँग गर्ने एउटा सामान्य अपेक्षा हो, यो।
देश भनेको भूगोल मात्र होइन। नागरिकता बाँडेर मात्र राज्यको दायित्व पूरा हुँदैन। अकालमा कसैले ज्यान गुमाउनु नपरोस्। उपचारको अभावमा कसैको मृत्यु नहोस्। कसैले भोको पेट बस्न नपरोस्। दिनभरि लाइनमा बसेर साँझ चामल लिएर घर फर्कने आशा बोकेको एउटा नागरिक चामल होइन, साँझ प्रहरीको लठ्ठीको कुटाईको डाम लिएर रित्तै हात घर फर्किनु परेको बाजुराको समाचार पुरानो भईसकेको छैन। पेटभरि खान होइन, दसैंमा अक्षता लगाउन चामलका लागि लाइन लाग्नुपर्ने अबस्था नमिठो सत्य हो। तर सत्य यही हो। नेपालका पहाडी जिल्लाहरुमा अज्ञात रोगबाट नागरिकको मृत्यु भएको समाचार प्रकाशित भइरहेकै छ। पियनका भरमा स्वास्थ्य चौकी भए पछि रोग पत्ता लाग्ने कुरा पनि त भएन। अनि सबै रोग अज्ञात। सरकार निशुल्क औषधी उपचारको घोषणा गर्छ। तर स्वास्थ्य चौकीमा न त औषधी पठाउँछ। न त स्वास्थ्यकर्मी। जनताले न उपचार पाए, न त पैसा नै तिर्नुप¥यो। सायद राज्यका लागि यही हो, निशुल्कको परिभाषा।
यदि नागरिकताले मात्र आफ्नो देशप्रति मान्छेलाई जोडिरहँदो हो भने देशको माया मारेर सदाका लागि शरणार्थीको दर्जामा बाँच्नका लागि अर्काको मुलुकसँग नाता कसैले जोड्दैनथे। अमेरिका, क्यानाडा लगायतका मुलुकहरुमा सपरिवार बसाइँ सरिसकेका र जान पालो कुरेर बसिरहेका भुटानी शरणार्थी यसको पछिल्लो उदाहरण हुन्। वर्षौदेखिको आफ्नो देश फर्किने आशा त्यागेर जीवनको खोजीमा उनीहरु झापाका शरणार्थी शिविरबाट बिदेशिरहेका छन्। पालैपालो। नागरिकता रछ्यानमा फालेर पराईको देशमा शरणार्थीको जीवन बाँच्न उचित ठान्नुपर्ने लखेटिएका नेपाली भाषी भुटानीको अबस्था र उदाहरण यही भन्छ, नागरिकका लागि नागरिकता सबैथोक होइन।
कबिलाहरुको राज्यमा पनि आफ्ना रैतीप्रति सरदारहरु जवाफदेही हुन्थे। आफ्ना रैतीको रक्षा गर्नु सरदारको धर्म हुन्थ्यो। हामी कविलाको युगबाट जनताका लागि जनताद्धारा गरिने जनताको शासन व्यबस्थामा आईपुगेका छौं। प्रजातन्त्र र लोकतन्त्रभन्दा माथिको राजनीतिक अबस्था मानेर होला, हामी अहिले जुन अबस्थामा छौ, त्यस व्यबस्थालाई गणतन्त्र भनिएको गणतन्त्र भन्नलाई मात्र भयो। न त महशुस गर्न पायौं। न त गणतन्त्रले हामीलाई छोयो नै। अझ रैती होइन, हामी सार्वभौम नागरिक हांै भन्दै कुर्लिने नेताहरुका भाषण सुन्दै मख्ख पर्छौं। पर्दैछौं।
सत्य त के हो भने यहाँ हामी बाँचेका छौं त, कसैले नमारिदिएका कारण बाँचेका छांै, सुरक्षा मजबुत भएका कारण वा राज्यले सुरक्षाको कडा बन्दोबस्त गरेका कारण होइन। हजारौं सेनाका बीचमा रहेका राजा र उनको परिवारको वंश नाश भयो भने हामी को हौं?
दिनहुँ राष्ट्रिय पत्रपत्रिकामा बचाउन गुहार माग्दै छापिने पाठक पत्रहरुले रोगले थलिएर पैसाको अभावमा उपचारबाट बञ्चित भएका नेपालीहरु अबस्था कस्तो छ प्रष्ट पार्छ। बिपन्न वा दयनीय अबस्था भएका सामान्य नागरिकको हविगत भन्दा फरक भएन, डा. वाग्लेको मृत्यु। उनले आफ्नो जीवनको अधिकांश समय दिनदुखीको सेवामा बिताए। अढाइ दशकभन्दा लामो समय बिरामीको उपचार गर्दा उनले आफ्नो स्वास्थ्यको ख्याल गरेनन्। बिरामीका लागि डाक्टर भगवान मानिन्छन्। तर तिनै भगवानको जीवन बचाउन यो देशका प्रधानमन्त्रीहरुले आश्वासन मात्र दिए। अहिलेका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले झैं तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वाग्लेको उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यले व्यहोर्ने आश्वासन दिए। प्रधानन्यायाधीश भएकै कारण मुलुकको सत्ताको बागडोर सम्हालेका रेग्मी र देश र जनताका लागि जनयुद्ध लडेको बताउने माओवादी नेता डा. बाबुराम भट्टराईबीच कुनै भिन्नता रहेन। दुईटैले आश्वासन मात्र दिए।
आश्वासन भ्रम, फ्रड इज रियालिटी। शासकहरुको बोली र व्यवहारले पुष्टि गरेको छ।
तिनै रेग्मीले संयुक्त राष्ट्र संघको महासभामा जाँदा बित्थामा एक करोड ६४ लाख र डा. बाबुराम भट्टराईले प्रधानमन्त्री हुँदा आफ्नै पार्टीका कार्यकर्ता र पार्टी निकट संस्थाहरुलाई राज्यका ढुकुटीबाट करोडौ रुपैया दिएको समाचार प्रकाशित भएको नेपाली जनताले बिर्सेका छैनन्।
यसले पनि के प्रष्ट पार्छ भने कुर्सीभन्दा प्रिय यो देशका नेतालाई अरु केही छैन। देश डुबोस् वा रहोस्। कसलाई परवाह । जनता मरुन् वा बाँचुन्। कसलाई मतलव। बस, कुर्सी गुम्नु भएन। नेताहरु जिम्मेवार भएको भए संबिधान नबनी संबिधान सभाको अबसान हुदैनथ्यो।
कुनै पनि देशको जीवनमा युगमै एक पटक आउने संबिधान सभाको निर्बाचन ६ वर्षकै अन्तरालमा दुई पटक हुँदैनथ्यो।
जीवनभर पैसा भन्दा जनताको सेवालाई प्राथमिकता दिने डा. वाग्लेहरु उपचार नपाएर मृत्युवरण गर्न बाध्य हुन्छन्। तर राज्यको प्राथमिकतामा डा. वाग्लेहरु कहिल्यै पर्दैनन्। सरकार भने नेताहरुको स्वास्थ्यमा सानो समस्या आउदा राज्यको ढुकुटीबाट करोडौ रुपैया उपचारका नाममा खर्चिन्छ। देशमा गणतन्त्र आएको भनिएपनि यसले के कुराको पुष्टि गर्छ भने कविलाको सरदार जत्ति पनि जिम्मेवार छैनन्, शासकहरु।
डा. वाग्लेको उपचारका लागि राज्यले केही गरेन भनेर गाली गर्ने हामी उनको मृत्युमा त्यत्तिकै जिम्मेवार छौं। उनको उपचारका लागि हामीले के गर्यौँ?
तीन करोड नेपालीले एक रुपैयाँका दरले आर्थिक सहयोग गरेको भए डा. वाग्लेले उपचार नपाएर मर्न पर्दैनथ्यो। तर, सबैले आफ्ना संवेदनाहरु अहिले फेसबुकका भित्ताहरुमा प्रकट गरिरहेका छन्। पत्रपत्रिकामा लेखिरहेका छन्। कति सस्ता अनि बनावटी भएका मानवीय भावना र संवेदनाहरु। अब केही दिन डा. वाग्लेको निधन भएकोमा दुःख गर्दै लाखौ रुपैया समबेदना र श्रद्धाञ्जली छाप्न खर्च गरिनेछ। तर के यसरी खर्च गरेर उनको आत्माले शान्ति पाउनेछ। राज्यलाई कि त गोली ठोक, कि त उपचारका लागि खर्च देऊ भन्दा भन्दै निधन भएका डा. वाग्लेको नियति आम नेपालीको नियति हो।
हामी बाँचेका छौ त त्यस्तो रोग नलागेरमात्रै। फेरि पनि हामी उपचार नपाएर मृत्यु हुने डाक्टरको देशमा जीवन खोजिरहेका छौं।
(लेखक रेडियो पश्चिम टुडे ८८.८ मेगाहर्ज तथा पश्चिम टुडे दैनिक धनगढीसँग आबद्ध छन्।)