हार्दिक समबेदना डा. वाग्ले,
आज डा. चित्र वाग्लेको मृत्युको खबर र त्यस भित्रको तितो यथार्थबारे केही लेख्न मन लाग्यो। हो, डा. वाग्लेले भनेझै जीवन् भ्रम हो र मृत्यु त्यस भित्र लुकेको एक सत्य हो। तर मृत्युको मुखमा नपुगुन्जेल धेरै कम मात्र महापुरुषले यो कुरा आत्मसाथ गर्छन् र सत्मार्गमा आफ्नो जीवन बिताउँछन ।
केहीहदसम्म डा. वाग्लेले दुर्गम (नेपालमा धेरै बिकट ठाउँहरूको तुलनामा अर्घाखाँचीलाई दुर्गम भन्न त नमिल्ला तैपनि डाक्टरहरूको नजरले हेर्दा दुर्गम भन्दा पनि अन्यथा नहोला) मा बसेर कार्य गर्नु भयो। जनताहरूले यो गुन कहिल्यै बिर्सदैनन्। शायद कुनै डाक्टरले ८० वर्षमा नलगाउने गुन ४६ वर्षमै डा. वाग्लेले लगाउनुभयो।
तपाईंको आत्मालाई चिर शान्ति मिलोस्।
अब कुरो रह्यो सरकारले डा.वाग्लेको उपचार गरेन वा गर्न चाहेन। सबै जनाले प्रस्ट बुझ्नु पर्छकि, हामिले अहिलेसम्म जनतालाई हेर्ने सरकार इतिहासमै बनाउन नसकेको कटु यथार्थ हो। सरकारले की त राजपरिवार हेर्यो, की त राणालाई हेर्यो की त केहि बहुदलपछीका नेताहरू र उनिहरुका आसेपासेलाई हेर्यो। र हामी जनताहरू उनिहरुको समर्थन गर्दै हिड्यौ।
एक हिसाबले हेर्दा हामीलाई उनीहरुको चाकडी गर्नमै फुर्सद भएन। बिरालो पालेर त्यसको दुध दोएर खाने सपना देख्ने हामीले पल्लो घरबाट किनेर ल्याएको दुध पनि खाइदिन्छ भनेर हेक्का कहिल्यै राखेनौं ।
हो हामीले प्रस्ट रुपमा बुझनु पर्ने कुरो यो होकी सरकारले डा. वाग्लेको उपचारको लागि २-४ करोडको व्यवस्था गर्न सक्ने थिएन किनकि हामीले त्यस्तो जनतालाई हेर्ने सरकारको परिकल्पना कहिल्लै गरेनौ । सरकारसँग २-४ करोड खाँचो भएर हैन किनकी नेता तथा उसको परिवारलाई पर्यो भने उसले १० करोड पनि दिन सक्छ । त्यस्तो सरकारको परिकल्पना नेताहरुले गरेका थिए, छन् अनि गरिरहने छन् र हामी उनीहरुको समर्थन गरिरहेका थियौ, छौ र सायद गरिरहने छौ ।
सरकारले उपचार खर्च नदिनुको प्रमुख कारण उसलाई नजिर बस्ला भन्ने भयौ नै हो ताकी भोलि सम्पूर्ण कर्मचारीहरुलाई सम्पूर्ण उपचार खर्च दिनु नपरोस्।
नेपालीहरु धेरै मात्रामा इमान्दार, सहयोगी, र दयालु छन, त्यो कुरा उनीहरुले सधै जस्तै यसपाली पनि देखाए र हामी सबैले उनीहरुको भावानाको कदर गर्नु पर्छ तर बिडम्बना राजतन्त्र, राणा अनि केहि हदसम्म बहुदलपछीका नेताहरूले हाम्रा यी भावाना हरुको उपहास गरिरहे ।
बहुदलपछीका नेताहरुप्रति हाम्रो त्यति धेरै गुनासो छैन र हुनु पनि हुदैन किनकि उनीहरुको लगाम केहि हदसम्म जनताहरुसँग नै छ यदि हामीले प्रयोग गर्यौ भने ।
फेसबुक ट्विटर र अन्य मिडियाहरुमा डा. वाग्लेप्रतिको समवेदनामा जनताको प्रतिक्रिया - 'डा. भएर पनि उपचार अभावमा मर्नु पर्दोरहेछ' भन्ने भावनाको कदर गर्दै के थप्न चाहन्छु भने, यदि तपाई हामिहरुले साच्चिकै चाहने हो भने भोलि कुनै पनि किसान, भरियाहरुले समेत उपचार खर्चको अभावमा मर्न नपर्ने दिनको कल्पना गर्न सक्छौ ।
सरकार कस्तो हुनु पर्छ त ? ताकि भोलि कोहि पनि नेपाली चाहे नेता होस चाहे कर्मचारी होस वा कुनै विद्यार्थी वा किसानले उपचार खर्चको आभावले प्राण त्याग्न नपरोस । हो हामीलाई गरिब, शारीरिक तथा मानसिक असक्तता भएका व्यक्तिहरुलाई हेर्ने सरकार चाहिएको छ ताकि भोलि कुनै पनि बाबुले मर्नु अघि आफ्नो १२ वर्षे अपाङ्ग छोराको भविस्यको कहाली लाग्दो कल्पनामा प्राण त्याग्न नपरोस ।
हो हामीलाई गुणस्तरीय तथा सर्वसुलभ अस्पताल, विद्यालय, विश्वविद्यालय, कलकारखाना तथा स्वरोजगारको उचित अवसर चाहिएको छ । हामीलाई १८ वर्षसम्म प्रत्येक बालबालिकाको, आधारभूत आवस्यकता को ग्यारेन्टी, मानसिक तथा शारीरिक रुपले अपाङ्ग मानिसहरुको जिन्दगीभरको ग्यारेन्टी, बुढा-बुढीहरुको उचित हेरचाह तथा युवाहरुलाई राम्रो रोजगार दिन सक्ने व्यवस्थाको खाँचो छ ।
यसको लागि परिपक्क बहुदलीय व्यवस्था र कम्तिमा भ्रस्ट्रचारीलाई फूलमालाले स्वागत नगर्ने तथा इमान्दारलाई प्रोत्साहन गर्ने समाज चाहिएको छ। ताकि भोलि कुनै पनि चित्र वाग्लेहरू गरीव तथा दुःखिहरूको सेवा गर्न नहिचकिचाऊन् तथा कुनै पनि चीत्र वाग्लेहरूलाई आफ्नो सन्तानको अध्यारो भविस्यको कल्पनामा मृत्युवरण गर्नु नपरोस्।
रुप्से, पाल्पाका खनाल हाल: एरीजोना बिश्वविद्यालय,अमेरिका छन्