आउनुस् न बसेर गफ गरम्। ए हजुर, आउनुस्, यता बसम्। नेता ज्यू, यहाँ आसन ग्रहण गरिदिनुहोस्। ल हामी बसेर बैठक गरौं।
नेपाल तथा विश्वका सबै देशमा बस्ने र बसाउने कार्य सम्मान जनाउन गरिने कार्य हो।
मेरी ३ कक्षामा अध्ययन गर्ने छोरीको गुनासो अर्कै छ। ‘बाबा स्कुको चेयरमा बस्दा बस्दा मेरो त ढाड नै दुख्छ,’ यसरी आरामका साथ बसेर अध्ययन गर्दा पनि दुःख?
कुर्सीमा बसेर गरिने काम होस् वा राजनीतिक पद या ठूला लाभका पदहरूमा बसेर नै गरिन्छन्। विश्वका अधिकांश महत्वपूर्ण पद तथा जिम्मेवारी दिनको ८/९ वा बढी घण्टा कुर्सीमै बसेर गरिने काम पर्छन्। महत्वपूर्ण निर्णय गर्न, छलफल गर्न, नयाँ समाधान निकाल्न, श्रृजना गर्न आदि बसेर नै गरिन्छ।
नेपालमा त स्वर्ग भनेको यस्तै बस्ने, रमाईलो गर्ने, कुनै दुःख कष्ट आदि व्यहोर्नु नपर्ने ठाऊँ वा यस्तै परिकल्पित सुखलाई मानिन्छ। पहाडबाट तराईमा बसाई सराई पनि यस्तै हिँडिरहन नपर्ने र शारीरिक दुःख पनि गर्न नपर्ने बसी बसी आराम हुने कुराले अभिप्रेरित भएको देखिन्छ। अरू आर्थिक कारण पनि हुन्।
तर, के यसरी आरामदायी कुर्सीमा बसेर गरिने कामले हामीलाई लाभ गरेको छ त? एउटा अध्ययनले थपक्क बसेर गरिने कार्य चुरोट खानुभन्दा घातक रहेको सिद्ध गरेको छ। एरिजोना राज्यका डा. जेम्स लेभिनले गरेको अध्ययन अनुसार अमेरिकीहरू अधिकांश समय बसेर गरिने गतिविधिमा संलग्न भएका कारण अनेक समस्याहरु आएको बताउँछन्। ढाड तथा कम्मर सम्बन्धि रोग, मोटोपना, मधुमेह, क्यान्सर तथा मुटुरोग जस्ता घातक रोगहरु यही बसेर गरिने कार्यका कारण हुने उनको अध्ययनले देखाएको छ।
उनी भन्छन्, ‘हामी बसिरहनु भनेको मर्नको लागि तयारी गरे सरह हो।’
मानवजातिको विकास क्रममा जब उनीहरु खेती किसानी गर्थे, आहार तथा पानीको लागि लामो यात्रा गर्ने तथा हिँडडुल गर्थे, उनीहरुमा पर्याप्त शारीरिक सकृयता हुन्थ्यो र यस्ता अहिलेका जस्ता रोगव्याधि लाग्दैनथ्यो। अब आधुनिक मानवजातिको जिवनशैली यस्तै कुर्सिमा, सोफामा, गाडी, कार तथा हवाइजहाजमा बसेर बितेको छ। परिणाम घातक रोगहरुको घर मानव शरीर भएको छ।
हाम्रो जिविको पार्जनको लागि गरिने कार्य, अध्ययन अध्यापन, मनोरञ्जनको लागि गरिने कार्य ( अधिकांश मनोरञ्जनको श्रोतहरु टेलिभिजन, स्मार्टफोन, भिडियोगेम आदिको कारण), जमघट, सभा सम्मेलन, बैठक आदि कार्यहरु बसेर नै गरिने अन्तर्गत पर्दछन्।
सम्भवतः त्यो तहमा अध्ययन नभए पनि नेपालीहरुको समस्या पनि साझा हो।
गर्ने के त, यसको लागि डा. जेम्स लेभिन सुझाऊँछन्, ‘बस्ने काममा कमी ल्याऔं। अफिसमा कार्य गर्दा स्टयान्डिङ डेस्क प्रयोग गरौं, काम गरेको प्रत्येक घण्टापछि ब्रेक गरि हल्का यता यता हिंड्न गरौं। चिया कफि वा पानी अफिस हेल्परले ल्याईदिने भन्दा आफैं गएर लिएर आउने। अफिस भवनमा सिँढि छ भने तलमाथि हिंढ्ने, खाजा खाना केही समय हिँडेर पुग्ने ठाउँमा जाने, बिहान बेलुका हिँडिरहने गर्न सकिन्छ।
हाम्रा बुढा भएका आमा बुवाहरुलाई पनि सकभर बसिरहन नदिने। स्कुल वा कलेजमा विद्यार्थीलाई प्रत्येक पिरियडपछि १० मिनेटको ब्रेक दिएर अध्ययन/अध्यापन गर्ने गराउने जसले गर्दा विद्यार्थीको दिमागको तिक्ष्णता बढेको, सकृयता बढाएको र उनीहरुको परीक्षा नतिजामा पनि सुधार आएको देखिएको फिनल्याण्डमा गरिएको एक प्रयोगले देखाएको छ।
यसरी बस्ने र बसाउने कार्य सम्मानजनक र आरामदायी भईकन पनि घातक देखिएको छ । समयमै सचेत होऔं।