नेपाली खेल क्षेत्रमा सम्मानित विश्वकप खेल्ने एउटै खेल हो क्रिकेट। उपल्लो तहमा नभए पनि यु-१९ विश्वकपमा नेपालले धेरै पटक सहभागिता जनाएर सम्मानित नतिजा पस्केको कसैसामु छिपेको छैन।
छोटो समयमा विश्व मानचित्रमा नेपालको नक्सालाई चिनाउने खेलका रुपमा अगाडि बढेको क्रिकेट यतिखेर मुलुकभित्रै भने राजनीतिका कारण विवादमा रुमल्लीन पुगेको छ।
नेपाली खेल प्रशासकहरुको बदनियतको शिकार हुँदा नेपाली क्रिकेट यतिखेर अन्तर्राष्ट्रिय स्तरमा निलम्बनको सूचिमा छ। आपसी खिचातानी र राजनीतिक स्वार्थका कारण मुलुकको झण्डा फहराउने क्रिकेट यतिखेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को निगाहमा पालिनु परेको छ।
विश्वकपको यात्रामा निस्केका क्रिकेटरहरु खेल्न छाडेर संघ र संगठन खोल्न मैदानमा निक्लनुपर्ने अवस्था आएको छ। खेल्नका लागि खेलाडीहरुले आवाज उठाउनु पर्ने कस्तो बिडम्बना आइपरेको छ नेपाली क्रिकेटमा।
तर पनि सचेत छैनन्, खेल प्रशासकहरु। अझै राजनीतिक स्वार्थ र आफ्ना मतियारहरुलाई संघको ठेकेदार बनाउने अठोटमा बजारमा क्रिकेटका भाउ लगाउँदै छन् यिनीहरु। धिक्कार छ मुलुकको खेल निकाय र प्रशासकहरुलाई जसले राष्ट्रको झण्डा फहराउने क्रिकेटलाई लिलामी गरेर भागबन्डामा ब्यस्त छन्।
विश्व कप क्रिकेटको ढोकाका रुपमा रहेको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल सरिक हुने भएको छ। तर, खेल्ने प्रतियोगिता र खेलाडीका लागि व्यवस्थापन भने विदेशीले गर्दै छन्, कस्तो विडम्बना छ नेपाली क्रिकेटको। संघ र पदाधिकारी नभएपछि केही जागिरेहरु यसलाई कमाइ खाने भाडो बनाएर थाल ठटाउँदैछन् मैदानमा।
मुलुकभित्र राष्ट्रिय खेलकुद परिषद, मन्त्रालय अनि सरकार नभए झै टुहुरो भएको छ नेपाली क्रिकेट। खाजा, खाना अनि लत्ता कपडाका लागि आइसीसी गुहार्नु पर्छ उनीहरुले। मुलुकको क्रिकेट विवादका कारण निलम्बनमा परेपछि आइसीसीले नै खेलाडीको व्यवस्थापन गर्न थालेको हो।
‘तीन पटक यु-१९ विश्वकप खेलेका नेपाली राष्ट्रिय क्रिकेटर यशवन्त सुवेदीले भने,'हाम्रो मुलुकमा खेलाडीले खेल्न पाउनुपर्छ भनेर आवाज उठाउनुपर्छ अनि परिणामका बारेमा कसरी आँकलन गर्ने? यो जगत हसाउने कुरामात्रै हो।’
‘वास्तवमा यतिखेर खेलाडी फर्ममा छन्। सबै राम्रो छ तर, मुलुकको क्रिकेट निलम्बनमा छ, जुन बेलामा क्लिक हुनु पर्ने हो यस्तै यस्तै समस्याले जकडिएको हुन्छ क्रिकेट,’ मेलवर्नमा अध्ययनसँगै क्रिकेट खेलिरहेको सुबेदीले सेतोपाटीसँग भने। अर्को पटक संघ र व्यवस्थापन राम्रो भएपनि खेलाडी र टिम वर्क नराम्रो हुन सक्ने सुवेदी बताउँछन्।
हुन पनि हो, नेकपा माओवादी सरकारमा आएपछि टंक आङ्बुहाङको नेतृत्वमा बनेको क्यान राजनीतिक अखडानै बन्यो। प्रारम्भमा राजपरिवारको घेरामा रहेको नेपाली क्रिकेट जनताको हातमा आउन ५० वर्ष लाग्यो, आयो पनि तर बाँदरको हातमा नरिवल झै विदेश भ्रमण र राजनीतिक खिचातानीमै रुमल्लिँदा घरको न घाटको भएको छ।
खेलाडीको स्तर सुधारिएको छ, प्रतियोगिताका नतिजाहरु सकारात्मक र आशलाग्दा छन्। तर, खेल चलाउने संस्था लथालिङ्ग छ। दुर्इवटा संघ बनेका छन्, एउटा आफै निर्वाचित अर्को राष्ट्रिय खेलकुद परिषदले बनाइदिएको।
एउटा कार्यक्रममा अर्जेन्टिनाका राष्ट्रपतिको नाम सोध्दा धेरैले उत्तर दिन सकेनन् तर अर्जेन्टिनी खेलाडीको नाम सोध्दा भरर जवाफ आयो-म्याराडोना, मेसी, टेभेज, हिगुएन आदि आदि। खेलकुदलाई मुलुक चिनाउने माध्यमका रुपमा लिन नसक्दा र खेल प्रशासकहरुको स्वार्थका कारण आज यस्तो अवस्था आएको मेलवर्नमा स्थानीय क्लबवाट समेत क्रिकेट खेलिसकेका क्रिकेटर यशवन्त बताउँछन्।
वास्तवमै पश्चिम अफ्रिकन मुलुक आइभरीकोस्टलाई नजिकवाट नियाल्ने कमै होलान् तर, चेल्सीका डिडियर ड्रोग्बा विश्वमै मुलुकभन्दा बढी चिनिन्छन्। हाम्रो मुलुकमा खेलकुद राज्यको प्राथमिकताभित्र नपरेका कारण पनि खेल क्षेत्र राजनीतिक र खेल प्रशासकको स्वार्थपूर्तिको अखडा बनेको नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी प्रेम चौधरी बताउँछन्। धनगढीमा जन्मेर नेपलावाट यु-१९ विश्वकप खेलिसकेका प्रेम चौधरी हाल अस्ट्रेलियाको सिड्नीमा अध्यनरत छन्।
‘सायद नेपालमा खेलकुद राज्यको प्राथमिकताभित्र हुन्थ्यो त हामी मुलुकवाट बिश्वकप खेलिसकेका खेलाडी भबिष्य खोज्न विदेश आउनु पर्दैनथ्यो होला,’ चौधरीले भने। ‘नेपालमा निकै राम्रा खेलाडी छन्, मौका र एक्सपोजको खाँचो छ्, उनीहरुलाई। राज्य र खेल निकाय अनि संघ आ-आफ्नै डम्फुमा व्यस्त छन्, यस्तो अवस्थामा कसरी सफलता हात पर्छ त?,’ प्रश्न गर्छन् प्रेम।
दक्षिण एशियाको नेटो काट्न नसकेका फुटबलका खेलाडीहरु महिनामा ४०/५० हजार कमाउँछन्। तर, नेपालका क्रिकेटरहरु यसो स्कुल कलेजमा शिक्षकको जागिर पाएभने ५/१० हजार पाउँछन् अनि कसरी क्रिकेटको विकास हुन्छ भन्दै उनले आक्रोश पोखे।
यतिखेर मुलुकमा क्रिकेटको आधिकारिक निकाय निलम्बनमा परेको समाचारले अष्ट्रेलियामा रहेका यी क्रिकेटरहरु दु:खी छन् अनि उत्तिकै चिन्तित पनि। बल्लतल्ल केही हुन्छ जस्तो हुन्छ विवाद सुरु हन्छ। खेल प्रशासकहरुको राजनीतिक खिचातानी र खेल संघलाई राजनीतिक फरियामा बाध्ने फोहरी खेल बन्द होस् भन्ने कामना गर्छन् उनीहरु।
यशवन्त भन्छन्,‘जय नेपाल, लाल सलाम, अभिवादन कमरेड हैन, जय खेलुकद र जय खेलाडी अनि जय क्रिकेट भन्ने व्यक्तिको खाँचो छ नेपालमा।’