स्कूल जानुभन्दा पहिल्यै जंगलबाट एक भारी दाउरा या घाँस ल्याउनुपर्ने हाम्रो घरको नियम। स्कूलमा ढिलो गरी पुगे एक रुपैया फाइन तिर्न पर्छ। बिहान प्रायः ढिलैसम्म सुत्न पाए हुन्थ्यो जस्तो लाग्छ। तर, भाले बासेपछि उठिहाल्नुपर्ने आमाको मान्यता ६ वर्षमाथिका सबैमा पूर्णरुपले लागू हुन्छ। म उठ्नेमा परें। त्यसैले पनि झिसमिसेमै अर्नी (खाजा) खाएर काममा लाग्नुपर्छ।
प्रायः बिहान उठ्नेवित्तिकै बरान्डामा बसेर आमा भैंसीका पेट हेर्दै भन्नुहुन्छ, ‘आज कालीको पेट अघाएको छ, थोरीले भने घाँस टेकेर चौपट पारिछे।’ कहिले कराउनुहुन्छ, ‘आज भैंसी भोक्कै छन्, घाँस हाल्नु पर्दैन? यिनीहरु कस्सैले गरीखान्नन् । न भनेको मान्ने, न आफै जान्ने।’ घरमा तीनओटा भैंसी छन् । गाई र गोरु १४ र २१ बाख्राका सन्तान। आमा प्रत्येक विहान सबैको पेट, दाम्लो, स्वास्थ्य अवस्थाबारे बुझ्नुहुन्छ। र, त्यही अनुसार कतिजनाले घाँस काट्ने, कसले दाउरा ल्याउने, लगायतका कामको बाँडफाँट हुन्छ।
बुवालाई सन्चो छैन। अघिल्लो सालबाटै खोकी र वान्ता गर्ने समस्या बल्झीरा’छ। यस वर्ष त बोक्सी, भुत, मसान लाग्यो भनेर नयाँ–नयाँ झाँक्री बसेका बस्यै छन् घरमा। तर पनि निको भा’छैन। नत्र पशु विभागको ‘हेड’ त बुवा नै हो। बुवा सध्दे भा’बेला त आमालाई चम्सुगा (पुरै नसुकेका) दाउरासँग रिसाउदै गरेको अवस्थामा चुल्होतिरै भेटिन्छ।
विहे भइसकेकी ठुली दिदीलाई नगन्ने हो भने ठुलोबाका परिवार र हामी गरी १२ जना सँगै बस्छौं। कान्छी छोरी भएकोले अरु भन्दा ढिलै उठ्ने छुट पाएकी छु। म उठ्दा अरु काममा गइसकेका हुन्छन्। बाटोछेउकै घर भएकोले रेडियो सुन्ने, तमाखु र सुल्पा खानेहरुको उपस्थिति सधैं हुन्छ।
२०५३ साल। ठ्याक्कै महिना याद छैन। जाडो समय हो। सधैंझैं आँखा मिच्दै बरन्डामा गएकी थिएँ, आमाले धरो (पटुका) को कुटीरो फुकाएर मिठाइ दिनुभयो। र, भन्नुभयो, ‘अरु कस्सैलाई नदेखाइ खा। जा भित्र गएर बस्।’ पैसा र मिठाइ हुँदा आमाको धरोमा कुटीरो पर्छन्। आँखा नखुल्दै मिठाइ पाएपछि मेरो खुसीको सिमै रहेन। स्कूल लगेर अरुलाई देखाएर चित्ताउँदै (लोभ्याउँदै) खाने सोचेर मुठ्ठीभित्र राखें। केही छिन त्यहीं बसें। अरु पनि दिनुहुन्छ कि? आश लागिरह्यो।
अर्नी खाइसकेपछि भान्से र बुवाको सहयोगी मात्र बस्छन घरमा। तर, आज त पाँच÷छ जना घरका मान्छेहरु एक आपसमा विस्तारै विस्तारै कुरा गरिरहेका छन्। बुइँगलबाट गुईंगुईंऽऽऽऽ आवाज आइरा’छ। एकाविहानै मिठाइ हात पर्नु, घरका मान्छेहरु काममा नजानुले म अक्क न बक्क भएँ।
एकैछिनमा सबै तैं चुप मै चुप भए। अब सोध्नु पनि कसलाई? सोध्न नहुने पो हो कि? तैपनि आमालाई सोधें —आज हाम्रो घरमा के भयो? ‘केही भा’छैन। गारापारी (नदीपारी) को एकजना मान्छेले केटी भगाएर ल्याएको रैछ। राती आएर बुइँगलमा सुत्याछन्। केटीका बाआमाले खोजीरा’छन् रे। उज्यालोमा कसैले देख्ला, थाहा पाउला भनेर हाम्रो घरमा लुक्या’छन्। कस्सैलाई नभनेस् है।’ आमाको कुरा सुनेर ती दुलैनीलाई भेटौं भेटौं भयो।
हुनत मन परेकी केटीलाई फकाएर ल्याउने, फकाउँदा नमानेपछि जवर्जस्ती लतारेर ल्याउने र मन मिलेको अवस्थामा पनि घरबाट रोकावट भयो भने केटीलाई भगाएर ल्याउने हाम्रो ठाउँ (रुकुम) को चलनै हो। यस अघि पनि केटी भगाएर ल्याउनेहरु हाम्रोमा लुकेका थिए। छोरी÷बहिनीको खोजीमा आएकाहरुले हाम्रो घरमा लुकाएको शंका नगर्ने र थाहा पाएपनि आमा र दाईहरुको अगाडी कुटपीट गर्न नसक्ने हुँदा हाम्रोमा लुक्न आउँथे। मलाई भने भगाएर ल्याएकी केटीको अनुहार, कपडा हेर्न र लजाएकी छ÷छैन, रोइरहेकी छ की खुसी छ, सानी होली कि तरुनी अरुभन्दा पहिला थाहा पाउन मन लाग्थ्यो।
पहिलोपटक लुक्न आएको जोडीलाई मैले खाना लैजाने निहुँमा हेरेकी थिएँ। अर्कोपटक लुकाइएकी मेरै साथीकी दिदी थिइन् । ‘कसैलाई भन्दिन, विद्यानास्’ भन्दापनि यसपटक त भेट्नै पाइएन। मलाई झन कौतुहल लाग्यो।
बुइँगलका मान्छेहरु विस्तारै भान्सामा झर्दैछन्। बाह्र–पन्ध्र जना निस्किए। केटी निस्केकै छैन। पहिला लुक्न आउनेमा चारभन्दा बढी थिएनन्। विस्तारै बुइँगलका मान्छेहरु तल्लो तलामा ठुल्दाइको कोठामा गए। आमाले बाहिरबाट ताल्चा लगाइदिनुभयो। मेरो कल्पनाकी दुलहीभन्दा फरक दुईजना तरुनी पनि झरे।
के रुन्थे? कुनै अप्ठेरो नमानी निर्धक्कसँग बोल्न थाले। आमासँग पनि निक्कै पहिलाको चिनजान जसरी। दुवैले भान्साको काममा सघाउन थाले। उनीहरुको कुरा सुन्दा मलाई नि मज्जा लाग्यो। भगाएर ल्याएकी कुन हुन्? थाहा पनि भएन। म फुच्चीलाई भनुन् पनि किन? मैले पनि सोधिन।
‘यी नानी त क्रान्तिकारी होलिन् जस्ती छन्,’ एउटीले भनिन्। मैले केही बुझिन। स्कूल जानु नपरे हुन्थ्यो जस्तो नि लाग्यो। अरु मिठाई पनि ल्याएका छन की ? सोध्ने मन हुँदाहुँदै स्कुल गएँ। आमाले फेरी पनि कसैलाई नभनेस् भनेर सम्झाउनुभयो। विहानैको मिठाई कक्षा तीनका विद्यार्थीलाई चित्ताउँदै हिरा र मैले खायौं। मिठाई त कति नै थियो र? औंला चाट्यौं बेस्मारी। हापटाइम भरी हामीले मिठाइ खाएको चर्चा भयो स्कूलमा। म भने घर पुग्दा ती केटीहरु हुन्छन् कि हुँदैनन्? गए कहाँ जालान्? फेरी आउलान् कि नआउलान् भन्ने सोचिरहें।
स्कूल सकिएपछि बतासिएर घर पुगें। अर्नी खानुभन्दा पनि उनीहरुलाई हेर्न चटारो थियो मलाई। घर सुनसान थियो। उनीहरु थिएनन्। ठुल्दाईको तल्लो कोठा र भान्सासँगै जोडिएको पश्चिमतिरको कोठामा ताल्चा लगाएको थियो। सोचें, केटीपक्षका मान्छे निक्कै कडा हुँदाहुन्, त्यसैले उनीहरुले नभेट्टाउन् भनेर यसरी दिनभरी ताल्चा लगाउनु परेको होला। कति दिन बस्लान् भन्ने लागिरह्यो।
एकैछिनमा तिनैमध्येका बलिया जस्ता लाग्ने एकजना केटाले तीनओटा ढु¨ा नजिकै राखेर आँगनको छेउमा चुलो बनाए। खेल्नको लागि बनाएको हाम्रो ख्यालख्यालको चुलोजस्तो तर ढु¨ाभने ठुला। आगो फुक्ने काम मेरो भयो। घरमा भएमध्येको ठुलो तामाको ताउलोमा पानि तात्यो। भित्र तरकारी पाक्यो। अर्को चुलोमा भात पाक्यो। उसिनेर सुकाको सागको झोल। ताउलाभरी ढिंडो तिनै मान्छे मिलेर बनाए। मैले त्यति धेरै खाना पकाएको पहिलोपटक देखें।
अँध्यारो हुन लाग्दा ती मान्छे खाना खान थाले। मैले थाल, कचौरा, गिलास र पानी पु¥याएँ। खाना खाँदा त २५÷३० जना। ती दुई केटीले पनि खाए। अँध्यारोले मान्छे नचिनिने भएको बेला अरुपनि थपिए। उनीहरु कहाँ बसेका थिए कुन्नी? खाना हाम्रोमा खाएनन्। उनीहरु जाने तयारी गर्दै थिए। आमाले मलाई भित्र पठाउनुभयो। यसअघि लुकेका केटाकेटी जानेबेला त सामुन्नेमै बसेर हेरेकी हँु। यसपटक पनि आमाको आँखा छलेर झ्यालबाट हेरें। सबैका आ—आफ्ना झोला, लठ्ठी र टर्च रहेछन। कसैकसैले बन्दुक, खुकुरी पनि बोके। यसपटकका केटी भगाउनेहरु त संसारकै खतरा जस्ता लागे।
हाम्रो घरमा पनि दुइटा बन्दुक छन्। गाउँमा विहे हुँदा ठुल्दाइ र माल्दाइले ती बन्दुक पड्काउनुहुन्छ। कहिलेकाहीं बाँदर धपाउन पनि पड्काउनुहुन्छ। गाउँभरि त के वरपरका अन्य गाउँमा पनि कसैका बन्दुक छैनन। तिनीहरुका त्यतिधेरै बन्दुक र खुकुरी देख्दा सबैभन्दा ठुला मान्छेकी छोरी भगाएर ल्याएको जस्तो लाग्यो। र, मनमनै डराएँ। धोती लगाएका ती दुई केटीहरुले जाँदाखेरी केटाहरुको जस्तै पाइन्ट लगाए। सबैले झोला बोकिसकेपछि त्यसमध्येका एकजनाले अरुलाई सम्झाएजस्तो गरे विस्तारै। सायद उनी त्यहाँ भएकामध्ये सबैभन्दा ठुला मान्छे हुन् क्यार। मैले अनुमान लगाएँ। सबैजना लाइन लागेर गए।
ती केटीहरु पनि केटा भए। अब त तिनका आमा बाले पनि नचिन्लान भन्ने लाग्यो। आजको रात फेरी कसको घरमा बस्छन होला? भन्ने पनि लागिरह्यो। उनीहरु जानासाथ आमाले खाना पकाएका भाँडाहरु छिटोछिटो माझ्नुभयो। एकैछिन अघि बनाइएका चुलोहरु पनि भत्कायौँ। अनि फेरी आमाले भन्नुभयो, ‘कसैले सोध्यो भने यी मान्छे यसरी आएको, खाना खाएको कुराहरु कसैलाई नभन्नु है। भनेको थाहा पाए तिनै खुकुरीले काट्छन्।’ डरले मेरो सातोपुत्लो उड्यो। यो भन्दा अघि भनिन पनि कसैलाई।
नजिकैको सानीभेरीको काठे पुल तरेर छिवाङतिर गए ति मानिसहरु। एकैछिन पछि उनीहरु गएतिरै हाम्रो बन्दुकको जस्तै आवाज धेरैपटक आयो। दुई वर्षपछि मात्रै थाहा पाएँ– ती त माओवादी पो रैछन। हाम्रो घरमा सेल्टर लिन आएका रे। उनीहरुले नै गरेको फायरिङको आवाज रै’छ त्यो ।
त्यसपछि संसारकै बाठो मान्छे हाम्री आमा हुन् जस्तो लाग्यो। माओवादीलाई बास दिएको भन्ने प्रहरी र सेनाले थाहा पाएको भए हाम्रो घरका मान्छेले नपाउनु दुःख पाउंने रहेछन्। त्यस्ता माओवादीहरु पछिसम्म निरन्तर आए गए। सँगै ती दुई केटी कमला र विमला पनि आए। उनीहरु सिम्लीका रैछन्। मेरो मनमा त्यो घटना कहिल्यै नविर्सिने गरी टाँसियो। कमला ०५७ पुसमा सल्यानमा मारिइन्। विमला भने (०६४ को) संविधानसभामा सभासद् भइन्।
tikanewsrukum@gmail.com