किन हुँदैन हाम्रो देशको बिकास? किन बेरोजगार छौँ हामी युवा? अख्तियार दुरुपयोग गरि देशको ढुकुटिबाट करोडौँ रुपैया भ्रष्टाचार गरेको अदालतको निष्कर्श पछि चौध महिना सदरखोरमा बिताएर निस्किएका खुमबहादुर खड्काले १११ किलोको माला थाप्दै राष्ट्रावादका भाषण गर्दा हामी ताली पिट्छौँ, त्यसैले हुँदैन हाम्रो देशको बिकास, त्यसैले बेरोजगार छौँ हामी युवा।
खड्काको राजधानीको ‘सडक अस्तव्यस्त बनाउने जुलुस’ ले खड्कामात्र होईन खड्काजस्ता भ्रष्टाचारी सबैको फँडा फैलिएको छ, जुन हाम्रो नेपाल देशका लागि वर्षौँसम्म घातक साबित हुन सक्छ। भ्रष्टाचारीलाई जिन्दावादको नारा लगाउँदै जुलुस निकाल्नु भनेको एकोहोरो शंख फुक्दै आफ्नो देशको मलामी निकाल्नु हो। खड्कालाई माला लगाइदिएर हामीले एक जनालाई मात्र स्वागत गरेनौँ, बिभिन्न कालखण्डमा पदको दुरुपयोग गर्ने सबै दलका हजारौँलाई स्वागत गर्यौँ। खड्काले सबै नराम्रा काम गरे भन्न खोजिएको होईन तर उनले आफ्नो अख्तियारको दुरुपयोग गरि करोडौँ भ्रष्टाचार गरे।
समर्थकहरू भन्छन् खड्का निर्दोष छन्, उनलाई कम्युनिष्टले फसाए । भ्रष्टाचार अपराध हो। अरु अपराधीले सजाय पाएनन् त्यसैले सजाय पाएका अपराधीहरू निर्दोष हुन भन्नु कुतर्क गर्नु हो। यदि देशको सच्चा माया छ भने खड्का इमान्दार थिए भन्ने तर्क नगर्नुस् बरु एमाले, माओवादी वा मधेसी दलभित्र पनि खुमबहादुर खड्का र चिरन्जिवी वाग्लेहरू छन् तिनीहरूलाई पनि कठ्घरामा उभ्याउनुपर्छ भन्नुस्।
हामी ‘युटोपीया’मा बस्दैनौँ त्यसैले कुनै पनि नेताले जब शक्ति प्राप्त गर्छ, उसले त्यो शक्तिलाई आफू अनुकुल प्रयोग / दुरुपयोग गर्न खोज्नु स्वभाविक मानविय चरित्र हो। तर त्यसलाई लगाम लगाउने कानुनले हो । र नेतालाई कुकर्तुत गर्न निरुत्साहित गर्ने वा गरेका कुकर्तुतहरूका लागि हिनताबोध गराउने मुख्य जिम्मेवारी परिवार र कार्यकर्ताको हो । राजनीतिमा लागेका श्रीमानले कतै भ्रष्टाचार त गरेका छैनन् भनेर श्रीमतीहरूले, राजनीतिमा लागेका श्रीमतीले कतै भ्रष्टाचार त गरेका छैनन् भनेर श्रीमानहरूले, बाबु/आमाले कतै भ्रष्टाचार त गरेका छैनन् भनेर छोरा-छोरीले, छोरा/छोरीले कतै भ्रष्टाचार त गरेका छैनन् भनेर बाबु/आमालेसोधी-खोजी गर्नु पर्छ। परिवारका सदस्यले बुझ्नु पर्छ भ्रष्टाचार एउटा अपराध हो र तपाईंको परिवारको एउटा सदस्य पनि अपराधी हुन सक्छ, तपाईंको बाबु/आमा, छोरा/छोरी, श्रीमान/श्रीमती, भाई/भतिजा पनि अपराधी हुन सक्छन।
कार्यकर्ताले पनिनेतालाई जिम्मेवार बनाउनुपर्छ र आफू पनि जिम्मेवार हुनुपर्छ। आफ्ना नेता गुहार्न जाँदा सबैभन्दा पहिले एउटा कार्यकर्ता भएर होईन एउटा इमानदार आम नेपाली भएर सोचौँ। नेतासँग चिया-पानी खर्च माग्दा होस् वा गाँउ जान गाडी भाडा माग्दा, नेताका घरमा गएर एक छाक मिठो मसिनोको स्वाद लिएर जिब्रो जिस्काउँदा होस् वा रेस्टुराँमा नेताले आफ्नो गोजीबाट बिल भरेर किनेको महगो ब्र्यान्डीमा मदमस्त हुँदा, हामीले एकपटक यो सोच्नै पर्छ की हामीलाई दिनका लागि नेताको आम्दानीको स्रोत के?
यदि हामीसँग नेताको आम्दानीको स्रोत सोधि-खोजी गर्ने चेत छैन भने वा नेताले जहाँबाट ल्याएर भए पनि हाम्रा लागि दानविर भैदिउन भन्ने लाग्छ भने चिया पसलमा गफ गर्न बस्दा धारे हात लगाएर 'भ्रष्टाचारीले देश बिगारे' भन्नु हाम्रो पाखण्डपन सिबाय केही होईन । किनकी हामीले नथापाउने गरि कुनै भ्रष्टाचारीको छाँयामा हामी पनि हुर्किएका हुन सक्छौँ। नेताले भ्रष्टाचार गरेको त्यहि पैसाले कुनै दिन हाम्रो पनि आँत भरेको हुन सक्छ, भोक मेटेकोहुन सक्छ। हामी पनि 'प्यासिभ' भ्रष्टाचारी हुन सक्छौ।
राजनीतिमा लागेका सबैले व्यक्तिगत जीवनमा धेरै त्याग गरेका छन्, त्यसलाई नकार्न मिल्दैन तर यथार्थ के हो भने पार्टीको झन्डाले भोको पेट भर्दैन, नांगो आङ छोप्दैन। हँसिया हथौडा, रुख, तारा जेसुकै छातीमा टाँसेर हिंडे पनि पापी पेटले अन्न माग्छ माग्छ।
साझा सवालको एउटा अंकमा एमालेका नेता कुर्लिए - ‘चुनावका लागि उम्मेद्वारी दर्ता गर्ने पैसा पनि मैले आफ्नै गोजीबाट तिरेको’। एउटी माओवादी नेत्रीले सानसँग भनिन -‘मसँग पाँच हजार थियो, तीन हजार चुनावमा उम्मेद्वारी दर्ता गर्दा तिरेँ अब गोजीमा दुई हजार बाँकी छ’।आफ्नो युवावस्थादेखि राजनीतिमा जीवन समर्पण गरेका नेतासँग आफ्नै गोजीबाट हाल्न गोजीमा पैसाचाँही कहाँबाट आँउछ? नेपालको महँगीमा दुई हजारले एक छाक मात्र खाने गरीब-गुरुवाको त धेरै दिनको गुजारा चल्दैन, केन्द्रिय नेत्री भइ टोपलेकी तिनले कती दिन लिएर हिँडिन होला गोजीमा दुईहजार?ती नेता/नेत्री इमान/बेइमान म जन्दिन।मैले तीनलाई व्यक्तिगत रूपमा भ्रष्टाचारी भन्न खोजेको पनि होईन तर मेरो प्रश्न - आफ्नो सम्पत्ति सार्वजनिक गर्दा कौडी नदेखाउने नेताको दैनिकगुजारा कसरी चलेको छ?नेताहरूको आम्दानी खर्चको जब अरुले सोधी-खोजी गर्छन्, उनिहरु ‘परेको खर्च पार्टीले सहयोग गर्छ’ भनेर उम्कन्छन।तर नेपालका राजनैतीक दलको आम्दानीको स्रोत के?
यदि आफ्ना कार्यकर्ताले स्वेक्छिक रूपमा दिएको चन्दाले राजनैतीक दल चलेको हो भने संबिधान सभाको दोस्रो संस्करणमा भाग लिने/नलिने सबै राजनैतीक दललाई मेरो चुनौती छ आफ्नो आय-व्यय जनतालाई सार्वजनिक गरिदिनुस्। आफूलाई निष्ठावान भन्न रुचाउने राजनैतीक दलका नेतालाई मेरो चुनौती छ आफ्नो दलको आय- व्यय सार्वजनिक गर्न दवाब दिनुस्।
यदि आफ्नो आम्दानी-खर्च सार्वजनिक गर्न सकिदैंन भने 'दालमैँ कुच काला' जरुर छ। सिधा अर्थमा भन्नु पर्दा नेपालका राजनैतीक दल भ्रष्ट छैनन् भन्ने आधार नेपाली जनतासँग केही पनि छैन किनकी हामी आम जनताको सामान्य गणितमा कर्यकर्ताबाट उठाएको सदस्यता दस्तुर (यदी सदस्यता दस्तुर उठाइएको छ भने) र स्वोक्छिक चन्दाले मात्र देशभरका लाखौँ 'फुल-टाइमर' त परको कुरा औँला पट्काउँदै गन्न सकिने शिर्ष नेताको भरण पोषण पनि धान्न सकिन्न।
हामी जुनसुकै वाद मानौँ - साम्यवाद, समाजवाद वा पूँजीवाद, हामी जुनसुकै व्यक्तिको बिचारधाराका अनुयायी हौँ - बि.पी., मदन भण्डारी वा प्रचण्ड, हामी जुनसुकै तन्त्रमा विश्वास गरौँ - गणतन्त्र, प्रजातन्त्र वा लोकतन्त्र, हामी राजा मानौँ वा राजालाई पनि प्रजा मानौँ तर जबसम्म हामी भ्रष्टाचार र भ्रष्टाचारीका पक्षमा उभिन्छौँ हामी राष्ट्रघाती हौँ।हे युवा साथी हो बिन्ती अब हामीबाट पनि राष्ट्रघात भयो भने यो देशले हाम्रो जीवनकालमा उन्नतिदेख्ने छैन। भ्रष्टाचारीको जयजयकार वर्जित गर्ने दायित्व हाम्रो हो।भ्रष्टाचारलाई चुनौती दिने कर्तव्य हाम्रो हो।त्यसैले सक्छौँ भ्रष्टाचारको बिरोध गरौँ, सक्दैनौँ भ्रष्टाचारको समर्थन नगरौँ ।