प्रधानमन्त्री केपी ओलीले केही समय पहिला राष्ट्रिय ध्वजावाहक पानीजहाज समुन्द्रमा चलाउने चर्चा गर्नुभयो। वास्तवमा समुन्द्रमा मात्र होइन कि नदीमार्फत् नेपाल भित्रै र यहाँबाट निर्वाध महासागरसम्म पनि पानीजहाज चल्न सक्छन्।नदीमा गरिने यातायातलाई अन्तरदेशीय जल परिवहन भनिन्छ (अंग्रेजीमा इन्ल्यांड वाटरवेज ट्रान्सपोर्ट)। यू एस आर्मी कोर्प अफ इन्जिनियर्स (जुन अमेरिकी जलमार्गको सञ्चालन र सम्भार गर्ने निकाय हो) का अनुसार अन्तरदेशीय जलमार्गका लागि न्यूनतम नौ फुट गहिरो र एक सय तीस फुट चौडा पानीको आवश्यकता पर्दछ। कोशी, कर्णाली, गण्डकी, महाकाली आदि नदी निकै गहिरा र बाह्रै महिना प्रशस्त जल प्रवाहका साथ बग्ने भएकाले ती नदीहरुमा उक्त मापदण्ड पुर्याउन सम्भव छ।
नदीमा चल्न सक्ने जहाज (भेसल) महासागरमा चल्ने जस्ता एकदमै ठूला भने हुँदैनन्। तर एउटा सानो खाले जहाजले पनि एकैपल्टमा पचासौं ठूला ट्रकले बोक्नेभन्दा बढी सामान बोक्न सक्छ। महासागरीय जहाजहरुको क्षमता लाखौ मेट्रिक टनसम्म हुन्छ। अन्तरदेशीय जलमार्गमा चल्नेचाहिँ सामान्यतया दुई चार सयदेखि पाँच सात हजार टनसम्म क्षमता भएका हुन्छन्।
विश्वमा बिसौं शताब्दीको मध्यतिरबाट रेलको बिस्तार र प्रभावले गर्दा अन्तरदेशीय जलमार्गको विकास केहीओझेलमा पर्यो। तर विगत केही दशकदेखि कतिपय देशले यसलाई यातायातको एउटा प्रमुख साधनको रूपमा विकास गरिरहेका छन्। यसरी पुनः प्राथमिकतामा पर्नुमा यो परिवहन रोडमार्ग र रेलमार्गभन्दा ज्यादै सस्तो र वातावरण अनुकुल हुनु हो। अन्तरदेशीय जलमार्गबाट लाग्ने ढुवानी खर्च सडकमार्गबाट लाग्नेभन्दा पाँच गुणा र रेलमार्गबाट भन्दा आधासम्म सस्तो पर्ने एसिया, युरोप र अमेरिकाका अनुभवले देखाएका छन्।
संयुक्त राज्य अमेरिकाले कुल मालसामान ढुवानीको पन्ध्र प्रतिशत यही माध्यमबाट गर्दछ। त्यहाँ चालीस हजार किलोमिटर लामो जलमार्गको सञ्जाल सञ्चालनमा छ। युरोपियन युनियन (इयू) अन्तर्गतका एक्काइस देशले अन्तरदेशीय जलमार्गको प्रयोग गरिरहेका छन्। तीमध्ये तेह्र देशले त आफ्नो सीमावारि पारि पनि जहाज चलाइरहेका छन्। इयू मुलुकहरुमा हाल सैंतीस हजार किलोमिटर लामो अन्तरदेशीय जलमार्ग बनाइएको छ।
हाम्रै छिमेक भारतमा पनि समुन्द्री तटबाट सयौं किलोमिटर भित्र जहाज चलिरहेका छन्। जस्तो इलाहावाद समुन्द्री किनारबाट झन्डै आठ सय किलोमिटर पर अवस्थित शहर हो। तर यो शहरबाट जहाज गङ्गा नदीमार्फत् बंगालको खाडीसम्म चल्दछन्। उद्द्योगधन्दालाई प्रतिस्पर्धात्मक बनाउन अन्तरदेशीय जलमार्गको अहम महत्व हुने ठहर गर्दै गत साल डिसेम्बरमा भारतले जलमार्ग विकाससम्बन्धी एउटा महत्वाकांक्षी आयोजनालाई अगाडि बढाउने निर्णय गरेको छ। अर्बौं डलर लाग्ने उक्त आयोजनाको उद्देश्य हाल त्यहाँ रहेका पाँच वटा राष्ट्रिय जलमार्गको संख्यालाई बढाएर एक सय छ वटा पुर्याउनु रहेको छ।
छिमेक लगायत विकसित र समृद्ध देशहरुले गरे भन्दैमा अन्तरदेशीय जलमार्ग नेपालमा सम्भव हुन्छ त भन्ने प्रश्न आम नेपालीका मनमा आउन सक्छ। यो प्रश्नको सही उत्तरका लागि जलमार्गको विस्तृत प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययनको आवश्यकता त पर्छ नै। यद्धपि, यहाँका प्रमुख नदीमा बाह्रै महिना प्रशस्त बहाब रहने भएकाले ती जलमार्गका लागि उपयुक्त हुने बलिया आधारहरु छन् भन्न सकिन्छ। त्यसका अतिरिक्त प्रमुख नदीमा पहिरो जाने र हिउँ जम्ने खासै समस्या छैन। कोशी, कर्णाली,गण्डकी आदि नदी पहिरोले थुनिएर ताल बनेका घटना यदाकदा मात्र हुने गर्दछन्। हिउँ, पहिरो आदिले दुःख नदिने हुँदा नदीहरुमा बाह्रै महिना जहाज चल्न सक्ने अवस्था छ।
नेपालमा जलमार्गको कुरा चलेको नयाँ भने अवश्य पनि होइन। यहाँका बुद्धिजिवी र जलश्रोत विज्ञले दशकौंदेखि यो विषय उठाउँदै आइरहेका हुन्। सायद राजनैतिक नेतृत्व तहमा पर्याप्त इच्छाशक्ति र भिजन नभएर नै होला यो कार्य ठोस रूपमा अगाडि बढ्न सकेन।
जलश्रोतविज्ञ एवं जल तथा शक्ति आयोगका पूर्व सचिव आनन्दबहादुर थापाका अनुसार नेपालले भूपरिवेष्ठित भूगोलका कारण खेपिरहेको पारवहन समस्यालाई अन्तरदेशीय जल परिवहनमार्फत् हटाउन सक्दछ। थापाको 'एक्सेस टु सी: कोशी कनाल वाटर वे'लेखमा सुनसरी जिल्लाको चताराबाट कुर्सेला (विहार,भारत) सम्म एक सय बीस किलोमिटर लामो जलमार्गयोग्य नहर निर्माणका बारे चर्चा गरिएको छ (नेपाल इंडिया वाटर रिलेसनशीप: च्यालेन्जेज, २००९)। कुर्सेला कोशी र गङ्गा नदीको संगमस्थल हो। गङ्गा नदीलाई भारतले जलमार्गको रुपमा विकास गरिसकेकाले वहाँका अनुसार चतारा-कुर्सेला नहर निर्माण गरिएमा नेपालदेखि बंगालको खाडीसम्म जहाज चल्न सक्दछन्।
विश्वमा मुख्य तीन प्रकारका अन्तरदेशीय जलमार्ग प्रचलनमा छन्: १) नदीलाई त्यसको प्राकृतिक अवस्था मै प्रयोग गरिएका २) नदीलाई जलमार्गनुकुल बनाउन आवश्यक सुधार गरिएका र ३) बिल्कुल नयाँ नहर खनेर बनाइएका। व्यवहारमा यीमध्ये कुनै एक वा एकभन्दा बढीलाई प्रयोग गरेर जलमार्गका रुटहरू स्थापना गरिएका हुन्छन्।
नेपालमा नदीलाई सत प्रतिशत प्राकृतिक अवस्थामै प्रयोग गर्न भने सम्भव नहुन सक्छ। यहाँका नदीहरु अति तीव्र वेग र उच्च ढलान भएर बग्ने हुँदा त्यस्तोमा जहाजलाई उकाल्न ओराल्न कठिन हुन्छ। मार्ग परिवर्तन गर्ने र अत्याधिक मात्रामा ढुंगा रबालुवा थुपार्ने समस्या पनि उत्तिकै छ। त्यसैले नदीलाई जलमार्गनुकुल बनाउन पहिला यस्ता समस्याको निराकरण गरिनु पर्ने हुन्छ। त्यसका लागि विभिन्न उपाय अबलम्बन गर्न सकिन्छ। जस्तो मार्ग परिवर्तन हुने ठाउँमा तटबन्ध लगाउन सकिन्छ। तटबन्ध निर्माणले नदीको मार्ग परिवर्तनलाई रोकेर जहाजलाई चाहिने न्यूनतम पानीको गहिराइ र स्थिर रुट सुनिश्चित गराउँछ।
तीव्र वेग र उच्च ढलान भएका खण्डमा 'कनाल लक'नामक संरचना निर्माण गरेर जहाजको आवागमनलाई सहज तुल्याउन सकिन्छ। कनाल लक् खोल्न र बन्द गर्न मिल्ने गरी नदीमा बनाइएका ठूल्ठूला गेट हुन्। ती गेटले आवश्यक परेका बेला नदीमा अस्थाई पोखरी सृजना गरिदिन्छन। त्यस्ता पोखरीको माध्यमबाट जहाज सजिलै ओहोरदोहोर गर्न वा उक्लन ओर्लन सक्छन्।
नदीको सट्टा नहरको प्रयोग अर्को विकल्प हुन सक्छ। यो खर्चिलो तर सञ्चालनका हिसाबले सजिलो खाले विकल्प हो। नेपालको परिप्रेक्षमा सिंचाई र जलमार्गका नहरलाई एकीकृत रुपमा विकास गर्न सकिन्छ।
जनमानसमा भारतसँग सुमधुर सम्बन्ध नभएको अवस्थामा त्यही देशकै नदी भएर समुन्द्रसम्म पहुँच बनाउन सकिन्छ त भन्ने पनि प्रश्न आउन सक्छ। नेपालसँग सीमा जोडिएका बिहार र उत्तर प्रदेश भारतका भूपरिवेष्ठित राज्य हुन्। त्यहाँको राष्ट्रिय जलमार्ग-१ ले ती प्रदेशलाई छुन त छुन्छ तर सोबाट उत्तर नेपालको सीमासम्म डेढ दुई सय किलोमिटर चौडाईको निकै ठूलो क्षेत्र जलमार्गको पहुँचबाट लगभग बन्चित अवस्थामा छ। त्यो क्षेत्रमा जलमार्ग विस्तार गर्ने सर्वोत्तम उपाय भनेको कोशी, गण्डकी, कर्णाली (भारतमा घाघरा) र महाकाली (भारतमा शारदा) नदीमा जलमार्गको विकास गर्नु हो। त्यो कसरी भने गङ्गा नदी पूर्व - पश्चिम भएर बगिरहेको छ भने नेपाली नदी उत्तर-दक्षिण बगेर बिहार र उत्तर प्रदेश हुँदै गङ्गामा गई मिल्दछन्। त्यसैले कोशी, गण्डकी, कर्णाली र महाकाली नदीमा गरिने जलमार्गको विकासले नेपाल मात्र नभएर भारत पनि लाभान्वित हुन जान्छ। अझ तिब्बत पनि भूपरिवेष्ठित क्षेत्र भएकाले चीनको समेत यसमा इन्ट्रेस्ट रहन सक्छ।
मुलुकमा सिंचाई र जलविद्युतको असीमित सम्भावना रहेको त नेपालीले वर्षौंदेखि सुन्दै आएका हुन्। जलश्रोतको विकास गरिँदा अन्तरदेशीय जल परिवहनलाई पनि सँगसँगै लान सकिए नेपालले अकल्पनीय सम्वृद्धि हासिल गर्न सक्छ। देशमा पर्याप्त इच्छाशक्ति र जाँगर हुने हो भने एक दिन अवश्य पनि राष्ट्रिय ध्वजावाहक जहाजहरु नेपाल भित्रै र नेपालबाट निर्वाध समुन्द्रसम्म चल्ने छन्।