संसारमा धेरै धर्ममध्ये इस्लाम एउटा प्रमुख धर्म हो। कुनै पनि धर्मका लागि केही धार्मिक आधार स्तम्भ अनिवार्य मानिन्छ। त्यस्तै इस्लाम धर्ममा पनि केही आधार स्तम्भहरु रहेका छन्। ती हुन् –कल्मा, नमाज, रोजा, हज र जकात।
इस्लाम धर्मलाई यी पाँच खम्बाले अड्याएको छ। अनुशासन, कट्टरता लगायतका हिसाबले इस्लाम धर्म सबै भन्दामाथि छ। धर्म मानिसलाई अनुशासनको घेरा भित्र बाँध्ने बन्धन हो भन्दा दुई मत पक्कै नहोला। हो, इस्लामका यी पाँच आधार स्तम्भमध्येको तेस्रो आधार स्तम्भ हो, रोजा अर्थात् व्रत।
व्रतलाई अरबी भाषामा सौम, उर्दु भाषामा रोजा, सँस्कृतमा उपवास र अंग्रेजी भाषामा फास्टिङ भन्ने गरिन्छ। बिहान सूर्योदय हुनुभन्दा केही अघिदेखि साँझ सूर्यास्त नहुँदासम्म खानपिनदेखि सम्पूर्ण शारीरिक र मानसिक इच्छाबाट आफूलाई रोकेर राख्नु नै रोजा (व्रत) को वास्तविक मर्म हो। अल्लाहको सबैभन्दा प्यारो तथा लगभग एक लाख चौबिस हजार सन्देष्टामध्ये सबैभन्दा अन्तिम र सबैभन्दा प्रभावशाली सन्देष्टा मुहम्मद सल्लल्लाहो अलैहिस सलाम मक्काबाट हिज्जरत(प्रस्थान) गरेर मदिना गएको दुई वर्षपछिदेखि यस संसारमा हरेक सक्षम मुस्लिमका लागि रमजानको रोजा (व्रत) अनिवार्य भएको थियो। प्रत्येक बालिग (उमेर पुगेका) मुस्लिम समुदायका महिला वा पुरुष दुबैका लागि रमजानको रोजा अनिवार्य गरिएको छ।
अरबिक क्यालेण्डर अनुसार नवांै महिनाका रूपमा पर्ने यो रमजानको महिना भर रोजा राख्ने गरिन्छ। रमजानको महिना त्यो महिना हो जुन महिनामा पवित्र धर्म ग्रन्थ कुरानको पूर्ण अंश अबतरित भएको थियो। त्यसैले पनि यो महिनाको महत्व झनै बढेको हो। पवित्र धर्म ग्रन्थ कुरान सम्पूर्ण मानिसको मार्ग दर्शन हो। पवित्र महिना रमजानको अनिवार्य रोजा आत्मा शुद्धीकरणको उत्कृष्ट तालिम पनि हो। यो महिना भर रोजा (व्रत) बस्नाले मानिसमा त्याग, सर्मपण, धैर्यता, क्षमायाचना, आत्मानियन्त्रण, सहनशिलता आदि जस्ता गुणको वृद्धि र विकास गर्दछ। यसले मानिसलाई उदार हृदयी बनाउनुका साथै आफूबाट भए गरेका पाप र कुकर्मको स्वीकारोक्ति, क्षमायाचना गर्ने क्षमताको विकास गराउँछ।
रमजानको महिनाको रोजासँगै तराबीको नमाज (विशेष अतिरिक्त नमाज) पनि जोडिएको छ। दिनमा पाँच पटक सधँै नियमित पढिने नमाज सँगै यो माहिना भर बेलुकाको इशाको नमाजपश्चात करिब नौ बजेदेखि विशेष अतिरिक्त नमाज तराबी अनिवार्य रुपमा पढ्नुपर्ने हुन्छ। बाह्र महिनामध्ये यो रमजानको महिना मुस्लिम समुदायको सबै भन्दा विशेष र महत्वपूर्ण महिना हो। यो महिना भर सकभर धेरै भन्दा धेरै अल्लाहको इबादत (प्रार्थना) गर्नाले लोक प्रलोक दुबैमा भारी फाइदा हुने विश्वास छ। यो महिनामा दिनभर व्रत बसेर मात्र यो रमजानको रोजा (व्रत) पुरा भएको मानिदैँन। दिनभर व्रतसँगै रोजादार (व्रतालु) ले पूरा गर्नु पर्नेे दायित्व, दान, सहयोग, त्याग, सर्मपण, धैर्यता, आत्मानियन्त्रण लगायत सम्पूर्ण कार्यलाई पूर्ण रुपमा सम्पन्न गर्न सकेमा मात्र रमजानको रोजा (व्रत) पुरा भएको मानिन्छ।
यस लाभको साभ साथै महतवपूर्ण कुरा यो हो कि मुसलमानहरु रोजा (व्रत) केवल अल्लाह (ईश्वर) को प्रशन्नताका लागि अल्लाहको आज्ञा अनुसार रोजा (व्रत) राख्दछन् र यो एक महिनासम्म राखिन्छ। अरबिक क्यालेण्डर अनुसार नवौं महिनामा पर्ने रमजान महिना मुस्लिम समुदायको लागि एउटा पवित्र र बाह्र महिनामध्ये सबैभन्दा महत्वपूर्ण महिना मानिन्छ। यो महिनाभरि मुस्लिम समुदायका मानिस अल्लाहका लागि रोजा (व्रत) बस्ने गरिन्छ। संक्षेपमा भन्नु पर्दा रोजा भनेकै रोकिनु हो। यो महिना अरु महिना भन्दा केही फरक र विशेष त अवस्य नै हुन्छ किनकि एक महिनासम्म रोजा (व्रत) बसेर रात दिन अल्लाहको जिकर (प्रार्थना) गरेर पूण्य कमाउने महिना भएकाले पनि यो महिना अरु महिनाभन्दा केही फरक महिनाका रुपमा लिइने गरिन्छ। अल्लाह तआलाले मानवको लागि भलाई र कल्याणको काम गर्नेहरुको लागि पूण्यमा भारी वृद्धि गरी पापबाट मुक्त दिलाउने महिना पनि हो यो रमजानको महिना। यो महिना भर मुस्लिम समुदायका मनिस एक महिनासम्म दिन भर पानीसम्म पनि नखाई व्रत बस्ने गरिन्छ।
रोजा कुकर्मबाट जोगिने एउटा बलियो माध्यम पनि हो भन्दा फरक नपर्ला। किनकि जो मानिस रोजा (व्रत) बस्छ ऊ कुकर्म, कुकार्यबाट जोगिनु अनिवार्य हुन्छ। यदि कुनै व्यक्ति रोजा बसेको अवस्थामा पनि कुकार्यबाट जोगिदैँन भने उसले दिनभर पानीसम्म पनि नखाई बसेको रोजा (व्रत) अल्लाहले अस्वीकार गर्ने निश्चित छ। रमजानको महिनामा मानिसले आफ्नो नराम्रो बानी हटाउने र सुधार्ने मौकाका रुपमा पनि लिने गर्दछन्। रोजाले मानिसलाई निश्चित परिधिमा बाँधेको हुन्छ। रोजाले मानिसलाई पूर्णरुपमा अनुशासनमा राख्ने काम गर्दछ। निश्चित समयमा सेहरी (सूर्योदय हुनुभन्दा केही समय अघि खाने खानेकुरा) खानु, तोकिएको समयमा खान बन्द गर्नु, दिनभर भलाईका कार्य गर्नु, दिनमा पाँच पटक नमाज पढ्नु, कुरान पढ्नु, अरुलाई सहयोग गर्नु, दान गर्नु, साँझ इफ्तार (सूर्यास्तपछि खाने खानेकुरा) खानु, विशेष अरिरिक्त नमाज तरबी पढ्नु आदि रमजान महिनाको रोजाका सीमा वा परिधि हुन्।
यो सिलसिला एक महिनासम्म निरन्तर चलिरहन्छ। यो एक महिना सम्पूर्ण मानिसका लागि उत्कृष्ट तालिम पनि हो। यसरी एक महिनासम्म लिएको तालिम वा प्रशिक्षणबाट बाँकी एघार महिना अल्लाहले दिएको मार्ग दर्शन र अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहो अलैहिस सलामले बिताउनु भएको जीवन अनुरुप नै सबैले आफ्नो जीवनलाई व्यतित गर्नेछन् र आफ्नो जीवनलाई पूर्ण रूपमा सत्मार्गका साथ ब्यतित गर्ने अवसर प्राप्त गर्नेछन्। हिजरी दुईबाट सुरु भएको यो पर्व विश्वभरका मुस्लिम समुदायका मानिसले एकै साथ मनाउँछन्। संसार भर सामान्यतया एकै दिनबाट सुरु भएर एकै दिन अन्त्य भई यो महिनाको अन्तिम तारिख अथवा रोजाको अन्तिम दिनलाई सबैभन्दा ठूलो चाड वा उत्सवका रूपमा इद पर्व मनाउने गरिन्छ।
अन्त्यमा भोलिदेखि सुरु हुने यस वर्षको पवित्र महिना रमजानको रोजाले विश्वमा शान्तिको सन्देश फैलाओस्, सम्पूर्ण जातजाति, धर्ममा मेलमिलाप र धार्मिक सद्भावलाई अझ बलियो र मजबुत बनाओस्। अल्लाहले सबैलाई सत्मार्गमा हिँड्ने अवसर प्रदान गरून्, सबैलाई धेरैभन्दा धेरै पूण्यको काम गर्ने शक्ति प्रदान गरून् साथै सम्पूर्ण मुस्लिमलाई अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहो अलैहिस सलामले बिताउनु भएको जीवन पद्धती (सुन्नत) अनुसार आफ्नो जीवन व्यतित गर्ने अवसर प्राप्त होस्। अल्लाहले सम्पूर्ण मस्लिमलाई रमजान महिनाभरको व्रत राख्ने अवसर र शक्ति प्रदान गरून्। सबैलाई मेरो दुवा (कामना)!