एक महिनाअघि पूर्वी युरोपको एउटा विरानो मुलुकबाट मैले फेसबुकमा सेयरगरेको पोस्टले काठमाडौंमा तरंग उठायो। त्यो पोस्टले संसारभरि छरिएका नेपालीहरुलाई मेरो बारेमा जिज्ञासु बनायो। त्यो जिज्ञासाले नै मलाइ जीवनमै कहिल्यै आइ नपरेको भयानक संकटबाट मुक्त पनि गरिदियो। म त्यसका निम्ति सामाजिक सञ्जालमा रहनुभएका सबै नेपाली दाजुभाइ दिदीबहिनीप्रति आभारी छु।
वास्तवमा मलाइ त्यसअघि चेक गणतन्त्र कस्तो मुलुक हो भन्ने थाहा थिएन। चेकोस्लोभाकियाबाट स्लोभाकिया छुट्टिएपछि चेक गणतन्त्र बनेको रहेछ। त्यो देसको सुन्दरता वर्णन गरेर साध्य छैन। युरोपकै गहना भन्न मिल्ने त्यति सुन्दर मुलुक भइकन पनि सामान्य असावधानीले पर्यटकका निम्ति भयावह बन्नपुग्दो रहेछ। म आफैले त्यस्तो भोग्नु पर्यो।
म काठमाडौंमा नेदरल्याण्डको लगानीसँग सम्वन्धित ‘रकस्टार्ट इम्प्याक्ट कम्पनी’मा काम गर्छु। अफिसकै कामले गएको महिना हामी तीनजना सहकर्मी नेदरल्याण्ड पुगेका थियौं। आम्स्टर्डम सहरमा दस दिनको काम सकिएपछि थप २८ दिन हामीले घुम्नका निम्ति छुट्यायौं।
त्यो सहरको आनन्द लिइसकेपछि युरोपका अन्य मुलुकहरु पनि घुम्ने योजना अनुसार आभा, सागर र म छुट्टियौं। यसरी छुट्टिदा सबै आफु आफु मनलागेको मुलुकहरु जाने र कतै गएर फेरि भेटिने योजना थियो। हामीले चेक गणतन्त्रको राजधानी प्रागमा भेट्ने योजना बनाएका थियौं। त्यसैअनुसार म अप्रिल २९मा साथीहरुसँग विदा भएर जर्मनीको बर्लिनतर्फ लागेँ।
युरोप यतिबेला निकै उथलपुथलबाट गुज्रिरहेको छ। विशेषगरेर सिरियाबाट आइरहेका ठूलो संख्याका शरणार्थी र अनधिकृत रुपले बसोबास गरिरहेका आप्रवासीले अहिले उनीहरुलाई अस्तव्यस्त बनाएको छ। त्यसको संकेत प्रत्येक राष्ट्रको सिमानामा देखिन्थ्यो। एउटा मुलुकबाट अर्कोमा प्रवेश गर्दा ठूलो जाँच पडताल र कडाइ गरिएको पाइन्थ्यो। खासगरेर अलिक ठूलो वा सम्पन्न मुलुकमा प्रवेश गर्न खोजिरहेको छ भने त असाध्यै कडा हुन्थ्यो।
यी शरणार्थी र अनधिकृत आप्रवासीका क्षेत्रमा काम गर्नेहरुले बेग्लै सोचाइ राखेका भए पनि आम युरोपेलीहरु भने उनीहरुप्रति असाध्यै नकारात्मक धारणा राख्नेगरेको पाएकी थिएँ। उनीहरुको समाजमा एककिसिमको नइच्छाएको झ्याउलो भित्रिएजस्तो घृणै गर्थे।
मे १ तारिख अर्थात् मजदुर दिवसको भब्य बर्लिन मैले देख्न पाएँ। विशाल मानवसागर जम्मा हुँदारहेछन्। खाना, बजार, संगीतका अनेक गतिविधिले त्यो सिँगो भेग गुलजार थियो। बर्लिन छेवैको जंगलमा एक दिन हाइकिंग पनि गएँ। त्यो जंगलको बीचमा एउटा विशाल ताल थियो। त्यहाँ पौडी खेलेँ।
यसरी रमाइलो बर्लिन भोगेपछि अप्रिलको दुइ तारिख राती म प्राग जाने बस चढेँ।
त्यस रात मैले फेरि युरोपको सिमानामा चलिरहेको कडिकडाइको सामना गर्नुपरेको थियो। तर, नेदरल्याण्डबाट जर्मनी प्रवेश गर्नुभन्दा जर्मनीबाट पूर्वी युरोप जानु धेरै सजिलो थियो।
यसरी म विहान सबेरै प्रागको बसपार्कमा पुगेँ। मेरा साथीहरु आभा र सागर पनि केहि बेरमै त्यसै बसपार्कमा पुग्दै थिए। उनीहरुलाइ कुर्न थालेँ।
म काम गर्ने ठाउँमा अधिकांश नेदरल्याण्डकै नागरिक छन्। उनीहरुले सुरुदेखि नै मलाइ पूर्वी युरोप पुगेपछि चाहिँ असाध्यै सावधान हुन चेतावनी दिएका थिए। त्यसैले म सतर्क थिएँ। बस यात्रामा अनिँदो रात बिताएको भए पनि म साथीहरुलाई कुरुन्जेल आँखा झिमिक्क पनि नगरेर बसिरहेको थिएँ। यो सतर्कताले गर्दा नै राती बसमा पनि सुतेको थिइँन। पासपोर्ट, पैसा, फोन गरेर सबैथोक राखेको ब्यागलाई रातभरि र विहान बसपार्कमा पनि च्याप्प समातेको थिएँ।
आफू विहान चारै बजे पुगेपनि वसपार्कमा साथीहरुलाई कुर्दाकुर्दै विहानको आठ बज्यो। अलग अलग समयमा उनीहरु दुवैजना आइपुगे।
प्रागमा युरो चल्दैन थियो। त्यसैले त्यहाँको स्थानीय मुद्रा लिनको निम्ति मैले बसपार्ककै एउटा मनी चेन्जरतर्फ साथीहरुलाइ लगेँ। पैसा साटेर भाग पनि लगायौं।
प्राग पुग्नुअघि मैले काउच सर्फिङबाट त्यहाँको एक युवती वेरोनिकालाई साथी बनाएको थिएँ। उनैले मलाइ त्यहाँ आतिथ्य प्रदान गर्दै थिइन्। दुइ दिन वेरोनिकाको घरमै बसेर त्यसपछि हंगेरीको राजधानी बुडापेस्टतर्फ लाग्ने हाम्रो योजना थियो। त्यसपछि इटली र वार्सिलोना पनि पुग्ने तय गरेका थियौं। यसरी फरक फरक युरोपेली मुलुक घुमिसकेपछि अन्तिममा फेरि आम्सटर्डमबाटै हाम्रो नेपाल फर्कने फिर्ति टिकट थियो।
मुद्रा साटिसकेपछि हामी वेरोनिकालाई पर्खन थाल्यौं। युरोपेलीहरु विहान नौ दस नबजेसम्म ओछ्यान छाड्दैनन्। काम पनि गर्दैनन्। त्यसैले बसपार्कमै कुरेर बस्यौं। भर्खर पैसा साटेको ठाउँकै आडमा एउटा फास्टफुड पसल ‘बर्गर किङ’ थियो। त्यतै गएर हामीले टेबुल कुर्सी ओगट्यौं।
हामीले ब्यागहरु भुइँभरि थुपारेका थियौं। साथीहरु आइसकेको कारण यसो झुपु झुपु भएको बेला हल्का निदाए पनि फरक पर्दैन भन्ने मलाइ लागिरहेको थियो। त्यसैले पासपोर्ट, पैसा, मोबाइल, आइपड लगायतका महत्वपूर्ण सामग्री भएको ब्यागलाई चाहिँ मैले आफैँसँग च्यापेर बसेँ। मैले दुइ खुट्टाले ब्याग च्यापेर बसेको ठाउँकै छेउमा एउटा पार्टिसन (भित्तो) थियो जसमा म अडेस लागेर बसेको थिएँ।
यसरी ब्याग च्यापेर एकैछिन झुपुक्क मात्रै भएको थियो। मुश्किलले दस मिनेट पनि नलाग्दै वेरोनिकाको म्यासेज आयो। साथीहरु सल्बलाउन थाले। म जर्याक जुरुक् उठेँ। यसो हेर्छु त मैले खुट्टाले च्यापेको ब्यागै छैन।
मेरो सात्तो पुत्लो उड्यो। म अडेस लागेको पार्टिसनमा कुर्कुच्चाभन्दा तलको भाग खुला थियो। त्यसको पल्लोतिर बसेको कुनै मानिसले तलैबाट मेरो ब्याग तानेर लगिसकेको रहेछ। मेरो होस हवास उड्यो। एकछिनको छिनमै म त्यो अन्जान ठाउँमा बोकेको सम्पूर्ण पैसा र प्रविधि मात्र होइन पहिचानै समेत नरहनेगरि लुटिएकी थिएँ।
एकछिन हल्लीखल्ली गर्यौं। तर सब बेकार। म चिच्याएरै रुन थालेँ। तर, त्यहाँ मेरो आँसुको के मूल्य ? त्यो मुलुकको सबैभन्दा ठूलो समस्या नै भाषा थियो। एक जना पनि अंग्रेजी बुझ्ने मानिस थिएनन्। म किन रोइरहेकी छु भन्ने पनि उनीहरु बुझिरहेका थिएनन्। यस्तोमा साथीहरुले सम्झाउन थाले। अब के गर्ने ?
हामी गोराहरु देखेपछि सबैले अग्रेजी बुझ्छन् भन्ठान्छौं। तर, अंग्रेजी बोल्ने पर्यटकलाई सायद सबैभन्दा बढी समस्या नै युरोपका कतिपय मुलुकहरुमा पर्ने गर्छ। चेक रिपब्लिक त्यस्तै देस थियो।
त्यो पार्टिसनको पारितर्फ बस्ने एकजनाले भर्खर एउटा २०–२५ वर्षे राम्रै देखिने ठिटो आएर त्यहीँनिर केहिबेर बसेको र त्यहीँ आफ्नो मोबाइल खसेजस्तो गरि झारेर त्यसलाई र ब्यागलाई एकसाथ उठाएर लगेको जानकारी दियो। आफुले त्यसमा ध्यान केन्द्रित नगरेको कारण त्यो ब्याग उसको आफ्नै थियो वा थिएन भन्नेतर्फ ख्याल नगरेको जानकारी पनि ती मानिसले दिए।
अब त्यो केटो को हो ? कता गयो ? कसरी थाहापाउने ?
बसपार्कको सोधपुछ डेस्कमा गएर यो सबै जानकारी दिन खोजेँ। त्यहाँ पनि फेरि उही भाषाकै समस्या। बल्ल तल्ल प्रयास गरे पनि उनीहरुले प्रहरीबाट रिपोर्ट नआउन्जेल आफूहरुले केहि गर्न नसक्ने बताए।
त्यसपछि हामी प्रहरी खोज्न थाल्यौं। प्रहरी चौकीमा फेरि त्यही समस्या। कसैले भाषै नबुझ्ने। अनौठो त के भने ठूलो ओहदाका प्रहरीहरु अंग्रेजी ठ्याम्मै नबुझेजस्तो पुरै बेवास्ता गर्थे। तल्लो ओहदाका प्रहरीले भने अलिक बुझ्नको निम्ति बल लगाउँथे। एकजना ज्याकब नामका अत्यन्त जुनियर प्रहरीसँग जसोतसो मैले संवादको कोशिस गरेँ।
उनीहरुको पहिलो प्रश्न नै ‘तिम्रो ब्याग मनीचेन्जरको छेउछाउमै हराएको हो ?’ भन्ने थियो। मैले ‘हो’ भनेर जवाफ दिएँ। त्यस्तो ठाउँमा पैसा हराउनु स्वाभाविक रहेको बताउँदै उनीहरुले मेरै लापरवाहीलाई दोष दिन थाले। उनीहरुले मलाई इमेल ठेगाना छोडेर जानु भन्दै कथंकदाचित ब्याग पाइएछ भने इमेलबाटै जानकारी दिने बताए।
त्यो बसपार्क क्षेत्रमा थुप्रै भिडियो क्यामराहरु थिए। त्यसमा खोजौं को मानिस रहेछ भनेर मैले थुप्रैपटक अनुनय विनय गरेँ। तर, मानेनन्।
मैले आखिरमा प्रहरीलाई इमेल ठेगाना नै छाडेर फर्कनु पर्यो जसमा आजसम्म उनीहरुले कुनै सम्पर्क गरेका छैनन्।
सम्पूर्ण युरोप घुम्ने र फर्कने बेलामा आम्सटर्डममा टन्नै किनमेल गर्ने भनेर राखेको पैसा हराएकोमा मात्र चिन्ता थिएन। मेरो मोबाइल फोन, आइपड र महत्वपूर्ण परिचयपत्र हराएकोमा पनि सुर्ता थिएन। त्यो सम्पूर्ण युरोप शरणार्थी र अवैध आप्रवासीका कारण जुर्मुराइरहेको बेलामा म पासपोर्टविहिन भएकी थिएँ। पुरै इलिगल भएकी थिएँ। म अब कुन आधारमा बस्ने ? यस्तो जटिल युरोपका सिमानाहरु छिचोलेर अब म कसरी नेदरल्याण्डहुँदै नेपाल फर्कने ? यो सबैभन्दा ठूलो सन्तापको कुरा थियो। नेदरल्याण्डबाट जर्मनी आउँदा सिमानामा कागजपत्र हुँदाहुँदै पनि मानिसलाई ओह्रालेर प्रहरीले लगेको देखेको थिएँ। सामान्य शंका लाग्दा पनि त्यसरी समातेर लगेपछि लामै जाँचपडताल गर्ने र पछि ठीकठाकै भेटिए पनि अर्को कुनै सवारी साधनमा पठाइदिने गर्दा रहेछन्। त्यस्तो दृश्य देखेर आएको म अब कसरी त्यही बाटोबाट फर्किन सक्थेँ ?
मैले प्रहरीलाई मेरो ब्याग हराएको एउटा रिपोर्ट बनाएर देउ भनेर अनुरोध गरेँ। त्यतिन्जेल वेरोनिका पनि आइसकेकी थिइन्। तै प्रहरीले त्यति चाहिँ सहयोग गरिदिए।
त्यहाँबाट प्रहरीले नै मलाइ प्रागमा नेपाली कन्सुलेट अफिस रहेको जानकारी गराए। हामीले इन्टरनेटबाट त्यसको फोन नम्बर पत्ता लगाएर सम्पर्क गर्यौं र सम्पूर्ण जानकारी गरायौं।
‘यो नेपालको कन्सुलेट अफिस त हो,’ उताबाट फोन उठाउनेले भने, ‘तर, सरी हामी यस विषयमा केहि सहयोग गर्न सक्दैनौं।’
हामी स्तब्ध भयौं।
त्यसपछि दौडादौड म प्रागस्थित अध्यागमन कार्यालय पुगेँ। त्यहाँ पाँच घन्टा काम गरेपछि मलाई केहि दिनको निम्ति चेक गणतन्त्रमा बस्ने कागजी अनुमति मिल्यो। धन्न केहि दिनको निम्ति मैले फेरि मेरो गुमेको परिचय भेटेँ। त्यतिले मलाइ केहि दिन चेक गणतन्त्रमा बस्न त मिल्थ्यो तर त्यो कागजले फर्किन सहयोग गर्दैन थियो।
त्यसैले अध्यागमनको काम सकिनेबित्तिकै ब्याग हराएको केहि घन्टामै जर्मनीको बर्लिनस्थित नेपाली दूतावासमा फोन गरेँ।
मलाइ कागजपत्र, निवेदन र फोटो कुरियर गरेर पठाइदिन दूतावासले भन्यो। मैले इन्टरनेटकै माध्यमबाट पठाउन मिल्छ कि ? भनेर अनुरोध गरेँ। उताबाट ‘मिल्दैन’ भनियो।
तै मसँग साथीहरु थिए। मेरो ठाउँमा यसरी सर्वस्व लुटिएको कुनै एक्लो नेपाली भइदिएको भए के गथ्र्यो ? भाषा नबुझ्ने ठाउँमा कागजपत्रको प्रिन्ट गराउन, फोटो खिच्ने स्टुडियो खोज्न र कुरियर गर्न कसरी धाउँथ्यो ?
हाम्रो यताजस्तो जताततै स–साना फोटो स्टुडियो त्यता हुँदै हुँदैन। बल्लतल्ल एउटा फेसन फोटोग्राफी गर्ने ठाउँमा पुगेर सम्पर्क गरेँ।
जे होस् मैले ब्याग हराएको केहि घन्टामै सबै कागजपत्र र फोटोहरु राखेर जर्मनीको बर्लिनस्थित नेपाली दूतावासलाई इमर्जेन्सी सेवा (इएमएस)बाट पोस्ट गरिदिएँ।
त्यसको भोलीपल्टै जर्मनीमा कागजपत्र पुगिसकेको जानकारी पनि ट्रयाकिंग नम्बरबाट पत्ता लगाएँ।
म आँत्तिएको थिएँ। त्यसैले मेरो कागजपत्र पुगेको जानकारी पाउनेबित्तिकै जर्मनी फोन गर्न थालेँ।
यता मेरो सात्तो पुत्लो उडेको छ। उता एकपछि अर्को दिन फोन गर्छु दूतावासले कामै अगाडि बढाएको छैन।
मेरो परिस्थितीको शिकार मसँगका अरु दुइ साथीहरुलाई बनाउन चाहन्न थिएँ। त्यसैले सागर र आभालाई उनीहरुको योजना मुताबिक जाउ भनेर पठाएँ।
त्यतिन्जेल अमेरिकास्थित दिदीलाई भनेर मैले आफ्नो न्यूनतम खर्चको जोहो गरिसकेकी थिएँ।
मुख्य समस्या त फेरि पनि बर्लिनस्थित दूतावासको ढिलासुस्तीमै थियो। म हरेक दिन इमेल पठाइरहेकी थिएँ। जवाफ केहि आउँदैन थियो। केहि दिनमा फोन सम्पर्क भयो। ‘तपाइँको कागज चेक गणतन्त्र पठाउनका निम्ति आवश्यक पर्ने हुलाक खर्च पठाउनुस्’ भनेर पो जवाफ दिन्छन्। हामी नेपालीले कर तिरेर उभ्याएको दूतावासले ती मुलुक पुगेको बेला अप्ठेरो पर्दा हामीलाई नै कतिसम्म निरिह बनाउदा रहेछन् भन्ने कुराको पीडा भोगिरहेकी थिएँ म।
पछिल्लो समय फोटोको कारण अड्किएको दूतावासका मानिसहरु बताइरहेका थिए। मैले स्क्यान गरेर इमेलबाट पठाएको फोटोले काम चलाउन नसक्ने उनीहरुको अडान थियो। जबकि मलाई पासपोर्ट होइन मेरो दूतावासबाट केवल अस्थायी ट्राभल डकुमेन्ट चाहिएको थियो। फोटो टाँसेर मेरो परिचय र भिसाको अवस्था लेखिएको एउटा कागज मात्र जसको सहयोगले म स्वदेस फर्कन सक्थेँ। यो तयार पार्न केहि घन्टा पनि लाग्दैन थियो।
यस्तो बेलामा मैले केहि समयअघि काठमाडौंमै मेरा एक अमेरिकी मित्रको पासपोर्ट हराएपछि उनको उद्दार गर्दाको क्षण सम्झेँ। हराएकै दिन अमेरिकी दूतावास गएर हामीले फारम भरेका थियौं। त्यसको भोलीपल्टै दूतावासले मेरो अफिसमा ती अमेरिकी मित्रको नयाँ पासपोर्ट बनाएर पठाइदिएको थियो। यहाँ त पासपोर्ट पाउन तीन साता भनिएकाले म त्यतातिर लागेकै थिइँन। केवल फर्कने आधारका निम्ति मेरो दूतावासले जाबो एउटा चिर्कटोमा फोटो टाँसेर र स्टाम्प हानेर पठाउन पनि अनेक सास्ती दिइरहेको थियो।
मैले ब्याग हराएको पाँच दिन भइसकेको थियो। अबको पाँच दिनमा म आम्सटर्डमबाट विमान चढेर नेपाल फर्किनुपर्ने छ। यता बर्लिनबाट कुनै खबरै आउँदैन। मैले सदैव गर्व गर्दैआएको मेरो मुलुक कति दुर्दशामा बाँचिरहेको रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण थियो त्यो। मैले बाहिर निकै आकर्षक तलब पाउँदा पाउँदै पनि स्वदेशको माया गरेर फर्किदाँ के पाएँ भनेर सोच्न बाध्य भइरहेकी थिएँ। पहिलोपटक आफ्नो पहिचानलाई धिक्कारेँ। नेपाली भएकोमा पश्चाताप भइरहेको थियो।
दूतावासले यसरी मलाई हैरान खेलाएपछि अन्तिममा मेरो अवस्था वर्णन गर्दै मे ८ तारिखको दिन मैले फेसबुकमा आफ्नो बृत्तान्त उल्लेख गरेँ।
फेसबुकमा मेरो पोस्ट देख्नेबित्तिकै हंगामा भएछ। थुप्रैले जिज्ञासा राखे। धेरैले आ–आफ्ना फेसबुक अकाउन्टबाट पनि यो जानकारी राखेर कुरा उठाउन थाले। ट्वीट पनि भएछ।
रमाइलो त के भने फेसबुकमा मैले मेरो विवरण राखेको केहि छिनमै अघिसम्म पनि मलाइ पुरै बेवास्ता गर्ने बर्लिनस्थित नेपाली दूतावासले पहिलोपटक उताबाट फोन गरेको थियो। त्यहाँबाट फोनगर्ने महिलाले निकै
रुखो स्वरमा ‘तपाइँ त फेसबुकमा निकै फेमस हुनुहुदो रहेछ’ भन्दै उल्टो, ‘पपुलारिटिको निम्ति त्यो पोस्ट गरेको हो ?’ भनेर पो हकारिन्।
मलाइ त एकछिन साह्रै डर लाग्यो। अब मलाइ दूतावासले झनै असहयोग पो गर्ने हो कि ? मैले चेक गणतन्त्रमै लुकेर जीन्दगी बिताउनु पर्ने हो कि ? म तर्सिएँ।
तर, नेपालमा भने यसरी फेसबुकमा राख्दा सकारात्मक प्रभाव परेको रहेछ। मैले लेखेको एक घन्टाभित्र मलाइ नेपालको परराष्ट्र मन्त्रालयबाट फोन आइसकेको थियो। त्यसअगावै नै सामाजिक सञ्जालमा स्वयं परराष्ट्रमन्त्री कमल थापाले मेरो बारेमा ध्यानाकर्षण भएको र तत्काल सहयोग गर्ने जनाइसक्नुभएको थियो। सुरुमा त मलाई परराष्ट्र मन्त्रालयकै कुनै पुरुष कर्मचारीको फोन आएको थियो। त्यसपछि परराष्ट्र मन्त्रीकै सचिव बताउने एक महिलाको फोन आयो। ‘परराष्ट्र मन्त्रीले तपाइको केसलाई सिरियसली लिनुभएको छ। अब धन्धा मान्नु पर्दैन’ ति महिलाको भनाइ थियो। त्यसपछि त मलाइ मन्त्रालयबाट फोन आएको आयै हुन थाल्यो।
यता फेसबुकमा हंगामा भइसकेको थियो। मैले कहिल्यै नचिताएका मानिसहरुले मेरो बारेमा चाँसो राखिरहेका थिए। फ्रेण्ड लिस्टमा नभएका मानिसहरुले पठाएको म्यासेज फेसबुकमा ‘रिक्वेस्ट’का रुपमा आउने गर्छ। त्यसमै सन्देस पठाएका एक सय २० जनाको त मैले जवाफै दिन पाएको छैन। फेसबुककै साथीहरुले पठाएका त असंख्य म्यासेज थिए। मलाइ सबैले सघाउन तत्परता देखाइरहेका थिए। ‘प्रागमा फलानालाइ भेट’, ‘मैले त्यहाँका फलानालाई कुरा गरिसकेको छु, उसको नम्बर यति हो’ भनेर धमाधम म्यासेज आइरहेका थिए। जबकि यो सबै कुरा त मलाइ प्रागमै आफ्नो कन्सुलेट राखेको बर्लिनस्थित दूतावासले भनिदिनु पथ्र्यो जसले उल्टो जाबो एउटा कागजसमेत बनाउन मसँग दुश्मनजस्तो व्यवहार गरिरहेको थियो।
विदेस गएको बेला नेपालीले संकट परेको बेला उसको दूतावासबाट सहयोग पाउनुको बदला उल्टो दुश्मनी झेल्नु पर्छ भने हामीलाई किन चाहियो यस्ता दूतावास ? केका निम्ति खोल्ने ?
जे होस्, दूतावासबाट त्यस्तो फोन आएर ‘ला... मैले फेसबुकमा लेखेर गल्ती पो गरे कि...’ भन्ने लागिरहेकै बेला नेपालबाट परराष्ट्रमन्त्रीका चाँसो र मन्त्रालयबाट धमाधम आएका फोनले आश्वस्त बनाएको थियो। यसरी पाँच दिनसम्म मैले अनेक हण्डर खाएर पनि गर्न नसकेको काम फेसबुकमा पोस्ट गरेको एक घन्टाभित्रै अचम्मसँग समाधान भएको थियो। सामाजिक सञ्जालले सम्पर्कको शक्तिलाई गजबसँग अगाडि ल्याउनथालेको देखेर म दंग परेँ।
आइतबारको दिन मैले फेसबुकमा पोस्ट गरेपछि मंगलबार मेरो हातमा बर्लिनस्थित दूतावासको खाम प¥यो। त्यतिन्जेल ‘यो भएन, त्यो भएन’ भनेर अड्काइरहेको दूतावासले त्यतिबेला भने सबै थोक आफैले मिलाउने मात्र होइन जर्मनीबाट चेक गणतन्त्रको निम्ति कुरियरको खर्च पनि आफैले बेहोरेर मलाइ डकुमेन्ट पठाइदिएको थियो।
डकुमेन्ट हात पर्नेबित्तिकै चेक साथीहरुले मलाई रमाइलो गर्नका निम्ति मंगलबार बेलुकी त्यहाँस्थित नेपाली रेष्टुरेन्टमा खान लगे। त्यहाँ त फेसबुक र ट्वीटरमा मेरो बारेमा पढेर सबैथोक जानिसकेका नेपालीहरु रहेछन्। सबैले मलाइ ‘पासपोर्ट हराएको नेपाली’ भनेर चिनिरहेका। म त नायिका जस्तै पो भएँ। पालैपालो मसँग फोटो खिच्न आए।
मैले दालभात मुछेर ग्वाम ग्वाम खाएँ। फेरि नेपाली हुनुमा खुशी लाग्यो। अघिल्ला दिनका घटनाहरु सबै नमिठो सपना ठानेर बिर्सें। भोलीपल्टै विमान चढेर नेदरल्याण्ड आइपुग्न मलाइ समस्या भएन। त्यसको दुइ दिनमै आम्सटर्डम विमानस्थलबाट निर्धारित मितिमै त्यहाँ पुगिसकेका दुइ साथीहरुसहित काठमाडौं फर्किएँ।
काठमाडौं आएको तीन साता भयो। मलाइ अहिले पनि बाटोघाटो, रेष्टुरेन्ट वा अफिस जता गए पनि मानिसहरु चिन्छन्। सोधपुछ गर्छन्। मैले मेरा ग्याजेटहरु गुमाएँ। परिचयपत्रहरु फेरि बनाउनुपर्ने झण्झट छँदैछ।
पैसाको अभावले युरोपमा सास्ती भयो। तर, बदलामा एउटा अद्भुत अनुभव समेट्न पाएँ। यो असाध्यै जोखिमपूर्ण थियो। भाग्यले म सुरक्षितै नेपाल आइपुगेँ। र, सँधैका निम्ति रोमाञ्चक संस्मरण रहिरहने भयो।
सामाजिक सञ्जालका साथीहरु र परराष्ट्रमन्त्री कमल थापाजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु।