मैले ललितपुरको महेन्द्र आदर्श विद्याश्रममा पढाउँदाको कुरा हो। कक्षा ८ को शिक्षक थिएँ। त्यहाँ मेरा एकजना विद्यार्थी थिए, उनको नाम थियो ससरराम महर्जन। मैले एकदिन उनीसित सोधें, ‘तिम्रो नामको अर्थ केही छ?’
उनले केही थाहा नभएको कुरा गरे ।
अचेल बाबाका नामको एउटा र आमाका नामको अर्को अक्षर जोडेर पनि छोराछोरीका नाम राख्ने चलन आइसकेको हुनाले मैले उनका बाआमाको नाम सोधें। त्यो पनि मिलेन। मैले ससररामसित सोधें, ‘तिम्रो नाम कसले राखेको हो थाहा छ?’
‘पुरेतले राखेको सर,’ ससररामले जवाफ दियो।
मैले फेरि सोधें, ‘तिमीहरूको नाम राख्ने पुरोहित को हुन्छ?’
‘हजुरहरूजस्तै बाहुन हुन्छ सर।’
ससररामका कुराले कक्षामा हाँसोको पर्रा छुट्यो। मैले उसको नाम राख्ने पुरोहितको ठेगाना सोधें। पुरोहितको घर नदेखे पनि उनले पढाउने गरेको स्कुलको नाम उनलाई कण्ठ रहेछ।
ससररामले भने, ‘मंगलबजारको आदर्श कन्या निकेतनमा नेपाली विषय पढाउनुहुन्छ।’
‘उहाँको नाम चाहिँ के हो?’
‘भरतकान्त शर्मा हो सर।’
कक्षाबाट म अफिसमा पुगेपछि आदर्शकन्या निकेतनमा फोन गरें।
‘हलो, आदर्श कन्या निकेतन।’
‘नमस्ते, नेपाली विषय पढाउने भरतकान्त सरलाई पाउन सकिन्छ?’
‘यहाँ कहाँबाट को बोल्नुभएको हो?’
‘महेन्द्र आदर्शबाट लक्ष्मीधर गुरागाईं बोले।’
‘एकैछिन्।’
‘नमस्कार सर, म भरतकान्त बोल्दैछु, के थियो होला सर?’
‘हरिसिद्धिका कृष्णलाल महर्जनलाई चिन्नुहुन्छ सर?,’ मैले जिज्ञासा राखें।
‘त्यहाँका प्रधानपञ्च कृष्णलाल?,’ उहाँले सोध्नुभयो।
‘हो सर।
‘उहाँ त मेरो जजमान हुनुहुन्छ।’
‘उहाँका छोराको नाम सरले नै राख्नुभएको हो?’
‘हो सर, छोराछोरी सबैको मैले नै न्वारान गरेको हुँ।’
‘छोराको के नाम राख्नुभएको थियो, सम्झना छ कि?’
‘खोइ कसरी सम्झनु सर? कतिको न्वारान गरिन्छ कतिको। अहँ नाम त याद भएन। किन होला सर?’
‘उहाँको छोरो अहिले महेन्द्र आदर्श विद्याश्रममा पढ्दैछ, नाम सोध्दा ससरराम बताउँछ। ससरराम भन्ने नाम ज्यादै अनौठो र निरर्थक भएको हुनाले सरलाई दुख दिएको हुँ।’
‘ए, ए, सर, ससरराम त होइन। मलाई अहिले सम्झना भयो कृष्णलालजीका छोराको नाम मैले त सहस्रराम राखेको थिएँ। तर महर्जनहरूलाई उच्चाहरणमा समस्या भएर ससरराम गरिदिनुभयो होला।’
जानकारी उपलब्ध गराउनु भएकोमा मैले भरतकान्त सरलाई धन्यवाद दिएँ। ससररामको नाम पनि त्यसैदिनदेखि सहस्रराम महर्जन भनेर सच्याइदिएँ।
कक्षा ९ मा एकजना छात्र पढ्थिन्। मैले तिनको नाम सोधेको जवाफमा उनले भनिन्, ‘मेरो नाम पुनमाया व्यन्जनकार।’
मैले पुनमाया कसरी नाम रह्यो भनेर उनका पुरोहितको नाम, टेलिफोन नम्बर पत्ता लगाएर फोन गर्दा थाहा भयो, पुरोहितले उनको खास नाम चाहिँ पुनमाया नभएर पूर्णिमा पो राखेका रहेछन्। व्यञ्जनकार पितामाताले उच्चाहरणगत कठिनाइले गर्दा पूर्णिमाकी जूनजस्ती उज्याली छोरीको नाम हुनगएछ पुनमाया। कक्षा नौ मा रजिस्ट्रेसन फारम भरिसकिएको हुनाले मैले पुनमायालाई पूर्णिमा पार्न सकिनँ।
विद्यालयमा विद्यार्थी भर्नाका समयमा पनि म विद्यालयमा हुन्थें। एकदिन एक जना अभिभावकले एक जना सानी बालिकालाई लिएर विद्यालयमा भर्ना गराउन ल्याउनुभयो। मैले त्यो सानी नानीको नाम सोधें। अभिभावकले ती सानी नानीको नाम ‘रनमाया खड्का’ बताउनुभयो।
मैले त्यो त हाम्रा आमा हजुरआमाका पालाको जस्तो नाम भएको हुँदा नाम फेर्न अनुरोध गरें। त्यस्तो भन्दा नाम अलिक आधुनिक र राम्रो हुनुपर्ने सल्लाह दिएँ। अभिभावकले भन्नुभयो, ‘सर पुरेतले राखिदिएको नाम त रनमाया नै हो, अब के राख्नुपर्छ, के नाम राख्दा राम्रो हुन्छ, सरले राखिदिँदा मेरो मन्जुर छ।’
‘हुन त मेरो पनि पुर्खौली पेशा त न्वारान गर्ने नाम राख्ने नै हो। मेरा बाबुबाजेले कतिको नाम राखे होला, मैले पनि आज कक्षा १ मा पढ्ने बालिकाको नाम राख्नै पर्यो त?,’ मैले ठट्टाभावमा भनें।
रनमायाका बुबा हाँस्नुभयो।
‘ल , त्यसै हो भने म राखिदिन्छु, र बाट नै राखिदिने भएँ। रवीना, तिम्रो नाम रबीना भयो है,’ मैले ती बालिकातिर फर्केर भनें। मैले राखेको नाम रवीना उनका बुबालाई पनि निकै मन परेछ।
मैले रवीनाको नाम कक्षा १ को हाजिरी खातामा लेखिदिएर उनलाई कक्षा कोठामामा पठाइदिएँ।
कक्षा शिक्षकले कक्षा १ का विद्यार्थीको हाजिर गर्दा नाम पढ्नुभएछ, उहाँले रवीनाको साटो ‘खीना खड्का’ भनेर नाम बोलाउनु भएछ। खीना खड्का भन्दा कोही बोलेनछन्। शिक्षकले कक्षामा देखिएकी नयाँ छात्रालाई ‘सोध्नुभएछ तिम्रो नाम के हो?’
उनले आफ्नो नाम बिर्सेर भन्न नसकेकी हुनाले कक्षा शिक्षक सरले भन्नुभएछ, ‘ल, तिम्रो नाम खीना खड्का रहेछ। अर्कादिनदेखि खीना भनेर बोलाउँदा ‘एस सर’ भन्नु नि।’
रवीनाले स्वीकार सूचक टाउको हल्लाइन्।
अर्काे दिनदेखि खीना खड्का भनेर नाम उच्चहरण गरेपछि ‘एस सर’ भनेर रवीनाले हाजिरी जनाइछ। त्यसपछि साथीहरूले खीना भने। सरहरले खीना भने। अंग्रेजीमा उसको नाम केएचआइएनए लेखियो।
कोहीकोही नेवार साथीहरू उसको नाम सुनेर हाँस्थे। उसले त्यसका रहस्य पहिले त केही बुझेकी थिइन् तर पछि बुझेपछि उसलाई निकै असजिलो भएको रहेछ।
केही वर्षदेखि म कक्षा १० लाई मात्र नेपाली पढाउँथे।
नयाँ सेसन सुरू भयो। म कक्षा १० को कक्षा शिक्षक भएँ। पहिलो कक्षामा मैले आफ्नो परिचय दिएँ। त्यसपछि पालैपालो विद्यार्थीहरूको नाम ठेगाना भन्न लगाएँ। पालैपालो सबैले नाम ठेगाना भन्दैगए। मेरा चिरपरिचित रामबहादुर खड्काजीकी छोरी पनि त्यहीँ थिइन्, रवीना। नाम मैले नै राखेको हुनाले उनले नाम भन्नै पर्दैन थियो। तर रवीना जुरुक्क उठेर मलिन स्वरमा भनिन्, ‘खीना खड्का।’
त्यो नाम सुनेर कक्षाका विद्यार्थीहरू खस्याकखुसुक गर्दै हाँसे।
मैले अचम्म मानेर खीनातिर हेरर सोधें, ‘तिम्रो नाम कसले खीना राख्यो?’
‘सर हजुरले त हो नि,’ खीनाले निन्याउरो मुख लगाएर भनिन्।
मैले पुरानो कुरा झलक्क सम्झँदै भनें, ‘तिम्रो नाम त मैले नै राखेको हो। पहिले रनमाया थियो, त्योभन्दा राम्रो नाम बनाउन रवीना राखेको थिएँ। पछि उच्चहरण गर्न नजानेर रवीनालाई खीना पो बनाइदिएछन्।’
त्यस कुराले मलाई निकै दुःख लाग्यो। रनमाया रवीना हुन नसकेर खीना भएकोमा। खीना पनि त्यस कुराले निकै पिरोलिएकी थिइन्।
उनले भनिन्, ‘रवीना त राम्रो नाम रहेछ नि। सरले अफिसमा मलाई भन्नुभएको थियो तिमीलाई कसैले नाम के हो तिम्रो भनेर सोधेका खण्डमा रवीना हो भन्नु, रवीना खड्का। भनेर सिकाउनु पनि भएको थियो। सिकाउँदै नसिकाएको त कहाँ हो र?’
कक्षामा गएपछि सरले मेरो नाम सोध्नुभयो मैले आफ्नो नाम भुलिहालें। शिक्षकले खीना भन्नुभयो। अनि सबै साथीले पनि खीना भने। मैले पनि आफूलाई खीना भन्न थालें।
लाग्न त मलाई पनि पीर लाग्यो।
मैले प्रसंग बदल्दै उनलाई हौसला दिएँ। मैले भने, ‘नाममा केही राखिएको हुँदैन। नाम याद्रिच्छिक हुन्छ। ढिँडोको नाम खीर नै राखिएको भए पनि त्यो गुलियो, मीठो, स्वादिलो, बास्नादार कहाँ हुन्थ्यो र!’
त्यसदिन म निकै गहिरो सोचमा डुबेको थिएँ ।
(लेखक गोरखापत्र दैनिकका पूर्व प्रबन्धसम्पादक हुन्। उनी विगत २५ वर्षदेखि रत्नराज्य लक्ष्मी क्याम्पसमा पत्रकारिता विषय प्राध्यापन गर्दै आएका छन्। )