२०७२ वैशाख १२ को महाभूकम्पपछि जब क्षतिका विवरणहरू आउन थाले, त्यसमा काठमाडौंको धरहरा ढलेको खबरले नेपाल लगायत विश्वभरका नेपालीहरूलाई स्तब्ध तुल्याएको थियो। झन्डै दुई सय वर्षदेखि मुलुकको शान र प्रतीकको रुपमा रहेको यो स्तम्भ ढल्दा नेपालीहरूको हृदयमा चोट पर्नु स्वभाविकै हो।
अहिले धरहरा पुन: निर्माण गरिने चर्चा चलिरहेको छ। सरकारले आर्थिक वर्ष २०७३/२०७४ को नीति तथा कार्यक्रममै धरहरा पुनर्निर्माणको विषयलाई समावेश गरेको छ। सरकारी स्तरबाट 'मेरो धरहरा: म बनाउँछु' भन्ने अभियान समेत शुरु गरिएको छ। यो अभियानले चन्दा आह्वान गरेर रकम संकलन पनि गरिरहेको छ।
पुरातत्व विभागका अनुसार हाल नयाँ धरहराको डिजाइन र नक्सा तयार पार्न इञ्जिनियरिङ्ग परामर्शदाता नियुक्तिको प्रक्रिया चलिरहेको छ। नयाँ संरचना तीन तले भूमिगत (अन्डर-ग्राउण्ड) कार पार्क सहित झन्डै पचहत्तर मिटर अग्लो बनाइने र यसको लागत ३० करोड रुपैयाँ हुने जनाइएको छ।
उपरोक्त प्रगतिहरू हेर्दा धरहरा पुनर्निर्माण गर्ने कार्य प्राथमिकताका साथ र ठोस रुपमा अघि बढिरहेको जस्तो प्रतित हुन्छ। धरहरा करोडौं नेपालीहरूको भावनासँग जोडिएको थियो भन्नेमा पक्कै पनि दुई मत छैन। यद्दपि के यो स्तम्भको पुनर्निर्माण अहिलेको प्राथमिकता हो त? भावना, हतार र हचुवा कै भरमा त निर्णय भैरहेको छैन?
हामीले मन पराएको धरहरा त त्यो हो जुन १९० वर्षअघि तत्कालिन प्रधानमन्त्री भीमसेन थापाको अगुवाइमा बनेको थियो, अनि जससँग नेपालको इतिहास, पुरातत्व, कला र संस्कृतिहरू जोडिएर रहेका थिए। नयाँ बनाउने स्तम्भलाई भीमसेन धरहरा नै नाम दिइए पनि वा परम्परागत शैली मै बनाउने भनिए पनि यथार्थमा त्यो कंक्रिट, रड र स्टिलको एउटा आधुनिक टावर मात्र हुनेछ। कंक्रिट जंगल भनेर बदनाम बनिसकेको काठमाडौंलाई पुरातत्व संरक्षणका नाममा अरु कंक्रिटका इमारतहरू थपिदिनु उचित होला त? शहरमा बनेका बडे बडे अपार्टमेन्ट र नयाँ बनाउने भनिएको इमारतमा तात्विक फरक खासै केहीहुँदैन।
भीमसेन धरहरा अब हाम्रो मानस पटल र इतिहासका पानामा मात्र रहने वास्तविकता भुल्न हुँदैन हामीले। स्मृति स्वरुप बरु एउटा सानो नमुना धरहरा कम्पाउण्ड भित्रै वा नजिक कतै उपयुक्त ठाउँमा स्थापना गर्न सकिन्छ। नमुना बढीमा १० हात जति अग्लो गरिएमा त्यसको निर्माण परम्परागत नेपाली कला, शैली र निर्माण सामग्रीबाटै सम्भव हुन सक्छ।
संस्कृतिविद डा. साफल्य अमात्यका अनुसार शुरुको ९ तले धरहरा १९९० को भूकम्पमा ४ तला मात्र बाँकी रहेर ढलेको थियो (पुरातत्व इतिहास र संस्कृति, २०६८)। १९९२ मा जुद्ध शमशेरले चौथो तला पनि भत्काएर त्यस माथि अरु तलाहरू थपि फेरि जम्मा ९ तले धरहरा निर्माण गराए। गत साल ढलेका प्राय:जसो भाग राणाकाल अन्त्य तिरका हुन्। राणाकालीन भन्दा भीमसेनकालीन सम्पदाहरूको पुरातात्विक र ऐतिहासिक महत्व बढी हुन्छ। धरहराका थापाकालीन अवशेषहरू जस्तो कम्पाउण्ड पर्खाल, बाहिरी सिंढी, भुँइ तला र गजुर अझै बाँकी रहेकाले ती अवशेषको मात्र पनि जगेर्ना गरेमा उक्त सम्पदा प्रतिको कर्तव्य सही अर्थमा निभाइएको ठहर्छ।
१९९० को भूकम्प जानु अगाडि काठमाडौंमा दुई वटा धरहरा थिए। दोश्रो धरहरा नब्बे सालको भूकम्पमा पूर्ण रुपमा ध्वस्त भएको थियो। जुद्ध शमशेरले ध्वस्त भएको धरहराका नाममा अर्को धरहरा बनाउन किन लगाएनन् स्पष्ट छैन। तर दोश्रो धरहरा बनेको भए त्यो पनि पक्कै भूकम्प प्रतिरोधक हुदैँनथ्यो होला र गत सालको भूकम्पमा अझ बढी मानिसको ज्यान जान्थ्यो होला। त्यसैले जुद्ध शमशेरको उक्त निर्णयका लागि हामीले धन्यवाद दिनै पर्छ।
प्रस्तावित धरहरालाई भ्यू-टावर र अन्डर-ग्राउण्ड कार पार्कको रुपमा प्रयोग गरिने भन्ने कुराहरू आएका छन्। सामान्यत: भ्यू-टावरहरू चुचुरा वा अग्ला स्थानमा बनाइन्छन्। काठमाडौंमा भ्यु-टावर बनाउनै पर्ने आवश्यकता महशुस भएको हो भने त्यसका लागि उपयुक्त स्थान अन्यत्र नै हुन सक्छ। धरहरा क्षेत्र त उपत्यकाको थाल जस्तो सम्म र होचो भागमा पर्दछ। उदाहरणको लागि यो क्षेत्रबाट खासै टाढा नपर्ने बानेश्वर २० मिटर जति माथि पर्छ। त्यसको मतलब उत्तिकै उचाइ प्राप्त गर्न धरहरा क्षेत्रमा बनाइने भ्यू-टावर बानेश्वरमा बनाइने भन्दा २० मिटर अग्लो हुनु पर्दछ।
तीन तले अन्डर-ग्राउण्ड कार पार्क बनाउन पच्चीस तीस फिट गहिरो खाडल र खाडलका चार भित्तामा त्यत्तिकै उचाइका थेग्ने पर्खालहरू स्थायी रुपमा निर्माण गरिनु पर्दछ। यति ठूलो भूमिगत संरचनाले जमिनमुनि हुने जलप्रवाहलाई नै परिवर्तन गरिदिन सक्छ। त्यसैले अन्डर-ग्राउण्ड संरचना निर्माण गर्दा सुन्धारामा पर्न सक्ने असरलाई ख्याल गरिनु पर्छ। ऐतिहासिक र पुरातात्विक महत्वको र कलात्मकताको एक उच्च नमुना मानिने उक्त सम्पदालाई संकटमा पारेर कुनै नव निर्माण गरिनु उपयुक्त हुँदैन। विगतमा सुन्धाराबाट उत्तरपट्टि कर्मचारी संचय कोषको भवन निर्माणार्थ जमिनमा फलामका पाता गाडिदा मात्र पनि धाराहरूमा असर परेको थियो भन्ने कुरालाई स्मरण गरिनु आवश्यक छ।
सुन्धारा र धरहरा परिसरमा अत्यन्त घना वस्ती र साँघुरा सडकहरू छन्। यो क्षेत्र नेपालकै एक ब्यस्त व्यापारिक केन्द्र पनि हो। यस्तो ठाउँमा तुलनात्मक रुपमा ठुलै निर्माण गतिबिधि गरिनु कठिन र अव्यवहारिक हुन सक्छ किनभने तीन तला अन्डर-ग्राउण्ड समेत झन्डै ७५ मिटर अग्लो इमारत बनाउनका लागि ठूलो मात्रामा निर्माण सामग्री, ठुल्ठूला ट्रक र क्रेनहरू र धेरैको संख्यामा कालिगढ़हरू उपयोग गर्नु पर्ने हुन्छ।
काठमाडौं उपत्यका भित्र धरहरा भन्दा धेरै प्राचीन र कलात्मक मन्दिर, चैत्य, दरबार र पाटी-पौवाहरू क्षतिग्रस्त तर ढलिनसकेका अवस्थामा छन्। उचित जीर्णोद्धार गरिएको खण्डमा त्यस्ता सम्पदाहरू अझ कयौं पुस्तासम्म आफ्नो मौलिक स्वरुप सहित रहिरहन सक्छन्। जस्तो कि हनुमान ढोका दरवार क्षेत्रका सम्पदाहरू तेर्हौंदेखि अठारौं शताब्दी बीचका हुन्। ती अमूल्य सम्पदालाई चाहिं टेकोको भरमा छोडेर त्यहाँबाट एक किलोमिटर मात्र पर रहेको धरहरा क्षेत्रमा करोडौं रुपैंया खर्चेर एउटा ठूलो आधुनिक इमारत बनाइनु शोभनीय हुँदैन। सरकारको इच्छाशक्ति र श्रोतहरू नयाँ नयाँ स्तम्भहरू बनाउनेभन्दा पनि प्राचीन र ढलिनसकेका सम्पदा जगेर्नामा केन्द्रित गरिनु बुद्दिमानि हुन्छ।
अन्त्यमा, नेपाल हजारौं वर्षदेखि विभिन्न खाले सभ्यता र संस्कृतिको केन्द्र विन्दु रहँदै आएको छ। फलस्वरूप पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक महत्वका स्मारक र स्थलहरूमा यो देश अत्यन्त धनीछ। मेचीदेखि महाकाली र तराईदेखि हिमालसम्म फैलिएर रहेका त्यस्ता सम्पदा मुलुकका शान र चिनारी त हुन् नै, तिनले पर्यटन मार्फत देशको आर्थिक विकासमा पनि ठूलो योगदान पुर्याउन सक्छन्। क्षतिग्रस्त सम्पदाहरूको जीर्णोद्धार वा आवश्यक पुनर्निर्माण कार्य गरिनु पर्छ भन्नेमा दुई मत अवश्य पनि हुन सक्दैन। तर त्यस्तो कार्य सही ठाउँमा होस् अनि सम्पदा पुनर्निर्माणको नाममा जथाभावी कंक्रिटका अग्ला अग्ला इमारतहरू नबनुन् भनेर सम्बन्धित निकाय र विज्ञहरूले बेलैमा ध्यान पुर्याउन आवश्यक छ।