अहिलेसम्म कसैले नदेखेका सपनाहरु तपाईँले देख्नुभएको छ, नेपालमा रेल गुडाउने, नेपालको झण्डा बोकेको पानीजहाज चलाउने, घर घरमा ग्यासको पाइप बिछ्याउने । यी सपनाहरु पुरा हुनै नसक्ने सपना होइनन् ।
प्रधानमन्त्री ज्यु नमस्कार,
तपाईँ आजकल निकै व्यस्त हुनुहुन्छ । व्यस्त नहुनु पनि कसरी, सिंगो देश चलाइराख्नुभएको छ । यहाँ मानिसलाई आफूले आफैँलाई चलाउन र परिवार चलाउन त गाह्रो भइराखेको बेला तपाईँ करिब ३ करोड नेपाली जनताको घर चलाइरहनुभएको छ । मान्नैपर्छ तपाईँको आँटलाई, तपाईँको आत्मविश्वासलाई अनि तपार्इँको सपनालाई ।
आजकल तपाईँको काम भन्दा बढी तपाईँको सपनाको चर्चा छ । तपाईँले देशमा यस्तो विकास गर्छु, उस्तो विकास गर्छु भन्ने वित्तिकै त्यसलाई हाँसोमा उडाउने र त्यसको समर्थन गर्ने पक्षबीच चलेको जुहारी हेर्न खुब मज्जा आउँछ । मेरै घरमा पनि तपाईँको सपनाको पक्ष र विपक्षमा बहस गर्नेहरु छन् ।
तपाईँ यो देशको प्रधानमन्त्री भएको ८ महिना पुग्न केही दिन बाँकी छ । तपाईँ प्रधानमन्त्री बनेपछि हाम्रो देशमा कति विकासका काम भए त्यो तपाईँको सरकारले मुल्यांकन गरिरहेकै होला या भनौँ तपार्इँले नै आफ्नो कामको मूल्यांकन गर्नुभएको होला । तर प्रधानमन्त्री ज्यू, मैले भने तपाईँको शासन सुरु भएपछि देशमा केही पनि सकारात्मक परिवर्तनको अनुभव गर्न पाएकी छैन । यद्यपि तपाईँले देखेका सपनाहरु सुनेर भने मन साह्रै आनन्दित हुने गरेको छ र सोच्ने गर्छु, कास तपाईँका सबै सपना पुरा भए म र मजस्ता लाखौँले विदेश जाने योजना बनाउनु पर्दैनथ्यो ।
हुन पनि अहिलेसम्म कसैले नदेखेका सपनाहरु तपाईँले देख्नुभएको छ, नेपालमा रेल गुडाउने, नेपालको झण्डा बोकेको पानीजहाज चलाउने, घर घरमा ग्यासको पाइप बिछ्याउने । यी सपनाहरु पुरा हुनै नसक्ने सपना होइनन् । तर प्रधानमन्त्री ज्यू, यी दिर्घकालिन योजनालाई अघि बढाउनु आफ्नो ठाउँमा ठीक भएपनि अहिले नेपालीको जिवनस्तर सुधार्ने खालमा योजनाहरु ल्याउँदा हामी तपाईँको सपना नजिक पुग्न सक्छाँै हैन र ?
प्रधानमन्त्री ज्यू, नेपाल एक गरिब र अल्पविकसित देश हो । दिगो विकासका लक्ष्य बमोजिम सन् २०२२ सम्ममा नेपालले आफूलाई अति कम विकशित राष्ट्रबाट विकासशील राष्ट्रको सुचीमा पुर्याउने सोच राखेको छ । र सन् २०३० सम्ममा दिगो विकासका १६ लक्ष्यहरु हासिल गर्ने लक्ष्य नेपालको पनि रहेको छ । जसमा गरिबीको रेखामूनिको संख्या ५ प्रतिशतमा झार्ने, प्रतिव्यक्ति वार्षिक आय २५ सय अमेरिकी डलर पुर्याउने, जनसंख्या रोजगारी अनुपात ७५ पार्ने आदि छन् । यी लक्ष्य पुरा गर्न योजना बनाएर कार्यन्वयनतिर लाग्नुपर्छ ।
प्रधानमन्त्री ज्यू, नेपालले प्रतिबद्धता जनाएका यी लक्ष्यहरु पुरा गर्नका लागि काम गर्नुपर्छ हैन र ? सपना देख्न साहै्र सजिलो छ तर त्यो सपना पुरा गर्न पनि काम नै गर्नुपर्छ नी होइन । म तपाईँले देखेको सपनाको विरोधी होइन, म त हृदयदेखि चाहन्छु, तपाईँका प्रत्येक सपनाहरु साकार हुन् । तर यथार्थ अलि फरक छ हाम्रो । अहिलेको मूख्य चुनौती भनेको देशमा रहेको गरिबीको संख्या घटाउनु, बेरोजगारदर घटाउनु, बढ्दो मुल्यवृद्धि कम गर्नु हो । तपाईँका सपनाहरु देशलाई धनी बनाउनकै लागि हुन्, त्यो हामीले बुझेका छौँ तर सगरमाथा चढ्ने सपना पुरा गर्न एकैचोटी नाम्चे गएर मात्र हुँदैन नी, त्योभन्दा अघि क्लाइम्बिङसम्बन्धी तालिम लिनुपर्छ, सगरमाथा चढ्दा चाहिने जुत्ता, लुगा, ब्याग, खानेकुरा लगायतका सामानहरुको जोरजाम गर्नुपर्छ, सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्छ अनि पो सगरमाथातर्फ पाइला चाल्ने हो र सफलता पाइन्छ त ।
तपाईँका सपनाहरुलाई जसले जोक भनिरहेका छन् नी प्रधानमन्त्री ज्यू, तिनीहरु पनि चाहन्छन् तपाईँका सबै सपनाहरु पुरा हुन, किनकी तपाईँले आफ्नो लागि नभई नेपालको लागि र प्रत्येक नेपालीको लागि सपना देख्नुभएको छ । खान लाउन नपाएका, पढेलेखेर पनि जागिर नपाएपछि मलेसिया जानका लागि ऋण खोजिरहेका युवाले तपाईँको सपनालाई हाँसोमा उडाउनु स्वभाविक पनि हो ।
म तपाईँले देखेका सपनाको विपक्षमा छैन । तपाईँले सपना देखे न त हामीमा जाँगर आउने हो । तर प्रधानमन्त्री ज्यू, तपाईँलाई थाहा छ, नेपालमा अझै २५ प्रतिशत मानिस गरिबीको रेखा मूनि छन् । हरेक वर्ष ५ लाख युवा रोजगारीका लागि विदेशिने गरेको तथ्यांकले देशमा बढ्दै गएको बेरोजगारको सख्ंया एकिन गर्न सकिन्छ । ती विदेशिने मध्ये धेरैले बिए र एमए पास गरेका छन् । अनि अर्को कुरा तपाईँलाई थाहा छ, देशको राजधानी काठमाडौँमा अहिले करिब २० लाख मानिस बसोवास गर्छन् । जसमध्ये करिब ३ लाख डेरामा बस्ने गरेका छन् । राम्रै आम्दानी भएकालाई त डेरा भाडा तिरेर खान लाउन पुगेकै छ तर कम आय भएकाहरु र बेरोजगारहरु यो राजधानीमा कसरी टिकिरहेका होलान् ? एउटा सानो कोठाको भाडा कति छ तपाईँलाई थाहा छ ? ४ हजार घटीको कोठा पाइँदैन यो राजधानीमा । कोठाको भाडा ४ हजार, अनि पानीको २ सय, बत्तीको २ सय, फोहोरको ५० । त्यसमाथि न त बिजुली आउँछ नत धारामा पानी नै । तरकारीको भाउ कहाँ पुगेको छ थाहा छ तपाईँलाई ? एक छाक तरकारी खान कम्तीमा १ सय रुपैँया खर्च गर्नुपर्छ । अब तपाईँ आफैँ हिसाब गर्नुहोस् । मासिक १० हजार कमाउनेलाई यसरी खर्च गरेर जीवन ज्यून कति मुस्किल छ यहाँ । अनि मलेसिया, कतार नगएर कहाँ जाउन युवा पूस्ता ?
यो राजधानीमा कोठाभाडा मनलाग्दी लिने, ८ रुपैयाँ युनिटको बत्तीको पैसा १२ रुपैयाँले तिर्नुपर्ने, पानी नदिने अनि पानीको पैसा तिर्नुपर्ने, कानुनी शासन भएको देशमा जसले जे गरेपनि हुन्छ र प्रधानमन्त्रीज्यू ? बजारमा एउटै सामानको मूल्य पसलैपिच्छे फरक फरक छ । प्रधानमन्त्री ज्यू, व्यापारीहरुले लुट मच्चाइरहेका छन्, तपाईँजस्तो मान्छेले चलाइरहेको देशमा । बजारको महंगी नियन्त्रण गर्न सक्ने ऐन नियम हामीसँग नभएको होइन नी, नभएको त कार्यान्वयन मात्र हो ।
तपाईँका सपनाका अगाडि मैले उठाएका सवालहरु झिना होलान् । कहाँ तपाईँ पानीजहाजको कुरा गर्नुहुन्छ, कहाँ म पिउने पानीको कुरा गर्छु, कहाँ तपाईँ पेट्रोलको व्यापार गर्ने कुरा गर्नुहुन्छ कहाँ म बत्तीको पैसा बढी तिर्नुपरेको गुनासो गर्छु, कँहा तपाईँ रेल गुडाउने कुरा गर्नुहुन्छ कहाँ म तरकारीको मुल्य आकासिएको कुरा गर्छु । प्रधानमन्त्री ज्यू तपाईँको सपना पुरा गर्न मैले मात्र होइन प्रत्येक नेपालीलेसाथ दिनेछन् तर पहिला देशको बेरोजगार हटाउने योजना ल्याउनुहोस्, दू्रतगतिमा बढेको महंगी नियन्त्रण गर्नतिर लाग्नुहोस्, लुट मच्चाइरहेका व्यापारीहरुलाई ठेगानमा ल्याउनुहोस् । अनि हामी तपाईँको सपनालाई पुरा गर्न साथ दिनेछौँ । कार्यकर्ता भएर होइन, सच्चा देशभक्त नेपाली जनता भएर । हामी देशलाई विकसित बनाउनेछौँ ।
प्रधानमन्त्री ज्यू, तपाईँकै पालामा जारी भएको संविधान अन्र्तगत नागरिकको कर्तव्यमा राज्यले चाहेको बेला जनताले अनिवार्य देशको सेवा गर्नुपर्नेछ भन्ने कुरा उल्लेख छ । हामी युवा तयार छौँ, प्रधानमन्त्री ज्यू, देशको सेवा गर्न, ल हामीलाई परिचालन गर्नुहोस् । हामी स्वयंसेवी भएर देशमा भएको अनियमितता रोक्न तयार छौँ । तलब खाएर बसेका अधिकांश निजामती कर्मचारीहरु काम नभएर गर्मीमा दिनभर फेसबुक चलाएर र जाडोमा घाम तापेर तलब पकाउँछन्, हामीसँगै तिनीहरुलाई काममा लगाउनुहोस्, अनुगमनका लागि प्रत्येक घर र बजारमा पठाउनुहोस्, किसानदेखि व्यापारीसम्मका गतिविधि हेर्न लगाउनुहोस् । धेरै दिन पनि पर्दैन कमसेकम १ महिना यसो गर्नुभयो भने आकासिएको महंगी नियन्त्रण गर्न कसले रोक्छ, तपाईँलाई । कसैले नियम कानुनको विरोध गर्छ भने तिनीहरुलाई सजाय दिनुहोस् । तपार्इँले नँया नियम र कानुन बनाउनै पर्दैन, भएकालाई प्रभावकारी कार्यन्वयन गरेमात्र काफी छ । हामी जनता तपाईँको साथमा छौँ ।