कही समयअघि भारतीय नायिका प्रत्युषा बेनर्जी र जीया खानले आत्महत्या गरेको समाचारले भारत र नेपालका मिडियामा ठुलै स्थान पाए। नायिकाद्वय प्रत्युषा र जीयाले आत्महत्या गरेको भन्दा बढि स्थान उनिहरू गर्भवती थिए र भर्रखरै गर्भपतन गराएका थिए भन्ने विषयले मिडियामा विषेश ठाउँ पायो। भारतीय र नेपाली दुबै मिडियाले दुई नायिकाहरुले आत्महत्या गर्नुपर्ने कारणलाई भन्दा बढि प्राथमिकता उनिहरू गर्भवती हुनु र भर्रखरै गर्र्भपतन गराउनुलाई जोडतोडका साथ छापे। नायिकाद्वयको मृत्युको कारण अझै यकिन छैन।
सिल्भर स्क्रिनमा झुल्किएर हलचल मच्चाउने ती दुई सुन्दर युवती अहिले शान्त छन् किनभने उनिहरु अहिले मरि सके तर म भने अशान्त छु। बारम्बार सोची रहन्छु कि कुनै नायिकाको मृत्युभन्दा उनिहरुले गराएको भनिएको गर्भपतनको विषय के कारणले ठुलो भयो? नजन्मीएको बच्चा मर्नुभन्दा ठुलो कुरा जिउँदै रहेकी आमाले आत्महत्या गर्नु गम्भीर र संवेदनशील विषय होइन र? यद्यपि, यो कुरा म जोडतोडका साथ भन्न चाहन्छु कि भ्रुण हत्या आफैमा एक गम्भीर अपराध हो। म जीवनको पक्षमा छु।
संचारमाध्यमहरुले दुई नायिको आत्महत्याको समाचार यसरी सम्प्रेषण गरे कि ‘विवाह अघि नै गर्भवती बन्ने ति नायिकाहरु अपराधी हुन् र तिनीहरुको आत्महत्या स्वभाविक हो।’
ति नायिकाहरू माथि बनाइएका समाचारहरुले यस्तो छाप छोडेको छ कुनै अविवाहित नायिकाको गर्भ रहन गयो भने तिनीहरुले आत्महत्या गर्नु पर्छ र त्यो आत्महत्यालाई समाज र मिडियाले स्वभाविक रुपमा लिन्छ।
मरिसकेका नायिकाहरुको कहानी उल्ट्याएर मैले गर्भवती गराउने पुरुषहरुलाई दोष लाउन खाजेको पटक्कै होइन,अनि यो पनि भन्न खोजेको होइन कि गर्भवती हुँदा बदनाम हुने महिला अनि समान सहभागी हुने पुरुष चाँहि किन ठाडो शिर गरेर हिँड्छ? मेरो डर र चिन्ता यत्ति हो कि, हामी यस्तो समाजमा बस्छौं जुन समाजमा अविवाहित महिला गर्भवती हुँदैमा उसले ठुलो सामाजिक ताडना भोग्नुपर्छ। हजार प्रश्न झेल्नुपर्छ । दर्जनौ दुव्र्यवहार भोग्नुपर्छ र कतिपय अवस्थामा आत्महत्या गर्ने अवस्थामा समेत पुग्छन् छोरीमान्छेहरु।दक्षिण एशियाली समाजमा यही हुँदै आइरहेको छ।
अनि महिलाका लागि कठोर सामाजिक नियम भए पनि पुरुषका सवालमा भने समाज धेरै खुकुलो र उदार छ। आज सम्म कुनै युवतीलाई गर्भवती बनाउँदैमा पुरुषले आत्महत्या गरेको उदाहरण छ कसैसंग?
सृष्टिको नियमै हो,महिलाले मात्रै बच्चा पाउन सक्छन्। अझ ठाडो र हाम्रै भाषामा भन्दा ‘पेट बोक्ने’ केटीहरुले नै हो। हाम्रा आमाहरुले सन्तानको रुपमा हामीलाई जन्माए र पछि हामी नै हौँ आमा बनेर सन्तान जन्माउने पनि।सुरक्षाको विधि अपनाइएको छैन भने गर्भ त स्वभाविक रुपले केटीकै कोखमा बस्छ। प्रकृतिले विवाहित महिलाको गर्भ वस्न हुने वा अविवाहितको नहुने भनेर छुट्याएको हुँदैन। हामी मान्छे र अझ हाम्रो समाजले नै हो यस्ता नाजायज कुरा निर्धारण गर्ने।
म बारम्बार जब जब महिला गर्भवती भएको समाचारहरु ठुला ठुला हेडलाईनमा पढ्छु र हेर्छु मलाई अनौठो लाग्छ। महिला गर्भवती हुने कुरा समाचार कसरी बन्यो? महिला गर्भवती हुने कुरा सामान्य कुरा हो, महिला नै त हो गर्भवती हुने।कुनै पुरुष गर्भवती भए पो समाचार बन्ने हो।
हुन त हामी संसारकै ‘गरिब देश’हरुको सुचिमा पर्छौँ। आर्थिकरुपले मात्र गरिब हैन विवेकशील सोचको पनि गरिब। पछ्यौटेपन र रुढीबादीले ग्रस्त समाजमा बसेर विवाह अघि वा विवाह नगरेरै आमा बन्ने कुरा यहाँ कल्पनासम्म पनि गर्न सकिन्न्न। कोही महिला त्यो हिम्मत गरेरै विवाह अघि आमा बने पनि हाम्रो समाजले पानी बाराबारको वातावरण सृजना गरि दिन्छ। मानौँ बच्चा जन्माउनु मान्छे मार्नुभन्दा पनि ठुलो अपराध हो।
हाम्रो समाज यो हद सम्म पुगिदिन्छ कि अविवाहित महिला यदि गर्भवती भएमा उसको मृत्यु हामीलाई स्वीकार्य हुन्छ न कि उसले बाँच्न चाहने जीवन।
यदि समाजले अपराधी मान्दैन थियो भने सम्भवत ः जिया र प्रत्युषा जस्ता नाम चलेका नायिकाहरुले आत्महत्या गर्नुपर्ने थिएन कि!
नाम नचलेका तर आफ्नै जिवनका कैयौँ नायिकाहरु थिए, जसले विहे अघि यौनसम्पर्क राख्दा गर्भ रहेकै कारण आत्महत्या गरे त्यो अवस्था अहिले पनि छ। जिया र प्रत्युषाको आत्महत्या समाचार बन्यो उनिहरु सार्वजनिक जिवन बाँच्दथे,मैले यँहा उठान गर्न खाजेको कुरा चाँहि नाम नचलेका नायिकाहरुको हो। जो विवाह अघि गर्भवती भएकै कारण मर्नु प¥यो। दोष मैले पुरुषलाई लगाउन खाजेको हुँदै होइन, दोष त मैले समाजलाई लगाउँदै छु। यो कस्तो समाज हो जहाँ बच्चा नपाए पनि ‘बाँझि’ भनेर यतना दिनै रहन्छ अनि सन्तान जन्माउने हक पनि दिँदैनन् ।
के महिला एक्लैको अस्तित्व अस्वीकार्य हो त हाम्रो समाजलाई ?