जापानिज सामान भन्नेवित्तिकै हामी हुरुक्क हुने गर्छौँ। तर जापानिज नाम जोडिएका सबै कुरा आकर्षक नहोलान्। त्यसमध्येको एक हो - जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिस्क ज्वरो।
मेडिकल साइन्सले सन १८७१ मा पहिलोपटक जापानमा डक्युमेन्ट गरेको उक्त रोग एसियाभरि नै व्याप्त छ। उक्त रोगको डरलाग्दो पक्ष हो - लक्षण देखिएपछि निको नहुन सक्छ र निको भए पनि बिरामी शारीरिक र मानिसिक रुपले अशक्त हुनसक्छ।
जेईका अधिकांश बिरामी पन्ध्र वर्षसम्मका बालबालिकाहरु हुने गर्छन् र उनीहरुको भविष्य अन्धरकारमय हुनसक्छ। त्यसकारण उक्त रोगलाई कसरी चिन्ने र यसबाट कसरी बच्ने भन्ने कुरा गम्भीर जनचासोका विषय हुन्।
एकप्रकारको भाइरसका कारण उत्पन्न हुने जेई लामखुट्टेले सार्ने प्राणघातक रोग हो। जेई भाइरस आफ्नो जीवन चक्रमा चराचुरुंगी शरीरबाट लामखुट्टेमा र त्यसपछि सुँगुर-बंगुर जस्ता जन्तुहरुमा घुमिरहन्छ। संक्रमित लामखुट्टेमार्फत उक्त भाइरस मानिसमा सर्छ। तर एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सोझै सर्दैन।
जेई सार्ने ‘क्युलेक्स’ जातको लामखुट्टे झिसमिसे, साँझ र मिर्मिरे बिहानीको समयमा सक्रिय हुन्छ। सुँगुर-बंगुरजस्ता जनावर पालिने, धान खेती गरिने र पानीको साना ताल-तलाउ भएका स्थानमा लामखुट्टेले जेई रोग सार्ने गर्छन्। त्यसकारण वर्षायाममा यसको प्रकोप बढी देखिने गरेको छ। खासगरी असारदेखि कात्तिक महिनासम्म यसको महामारी देखिन सक्छ।
विश्वभर हरेक वर्ष कम्तीमा ५० हजार मानिस उक्त रोगबाट संक्रमित हुन्छन् भने १०-१५ हजारको ज्यान नै जाने गरेको छ। बाँचेका आधाजसो अपांग हुने गर्छन्। नेपालमा त यो रोगले बेलाबेलामा महामारीकै रुप लिने गरेको छ।
पहिलोपटक सन् १९७८ मा रुपन्देही जिल्लामा उक्त रोग महामारीका रुपमा देखिएको थियो। सन् १९९८ देखि २००३ सम्म अर्थात् पाँच वर्षको अवधिमा मात्र ८,८७४ व्यक्तिलाई संक्रमण भएको थियो। स्वास्थ्य सेवा विभागका अनुसार संक्रमितमध्ये १,२६४ जनाको मृत्यु भएको थियो। तथ्यांक अनुसार उक्त रोगबाट औसत बिरामी मृत्युदर १४.२४ प्रतिशत भएको देखिन्छ।
सुरुका वर्षहरुमा जेईले महामारीको रुप लिएको तराईका १२ र उपत्यकासहित जम्मा ३१ जिल्लामा खोप अभियान सुरु भएपछि क्रमिक रुपले जेईका बिरामी भने घट्दै गएका छन्। हाम्रा पहलमार्फत बिमारीको संख्या घट्दै जानु राम्रो कुरा हो।
तर तराईमा मात्र सीमित उक्त रोगका बिरामी पहाडी र हिमाली जिल्लामा समेत देखिनु चिन्ताको विषय हो। उक्त क्षेत्रहरुमा समेत जेईले महामारीको रुप लिन सक्छ। हुम्लाबाहेक नेपालका सबै जिल्लाबाट उक्त रोग रिपोर्ट भैसकेको छ।
जेई रोग कुनै पनि उमेर समूहका मानिसमा देखिन सक्छ। तर झन्डै दुई-तिहाई बिरामी भने पन्ध्र वर्षमुनिका बालबालिका हुनेगरेका छन्। यसैगरी महिलाका तुलनामा पुरुषहरुमा जेई संक्रमण बढी देखिने गरेको छ।
यस रोगको एउटा चाखलाग्दो पक्ष हो - संक्रमणमा परेका सबै मानिस बिरामी पर्छन् भन्नेछैन। झन्डै तीन सयमा एक जना संक्रमित व्यक्तिमा मात्र उक्त रोगको लक्षण देखिन्छ। लक्षणहरु साधारण रुघाखोकीको जस्तै हुन्छ। तर कसैकसैमा भने कडा खालका लक्षण देखा पर्छन्।
उच्च ज्वरोसँगै टाउको दुख्ने र बान्ता हुने र काम्ने पनि हुन्छ। मस्तिस्कमा असर पर्ने हुनाले होस हराउँदै जान्छ। सुरुमा बर्बराउने, बेसुरको कुरा गर्ने र बिस्तारै अचेत हुने, मुर्छा पर्ने, बोली बन्द हुने र हातखुट्टा चल्न नसक्ने हुन्छ।
तर दु:खका साथ् भन्नुपर्छ - यस रोगको कुनै औषधि नै छैन। यसका लागि गरिने परीक्षणको रिपोर्ट आउन हप्तौं कुर्नुपर्ने हुन्छ। उक्त रोगको शंका भएमा बिरामीलाई अस्पताल भर्ना गरेर लक्षण अनुसारको सहयोगी उपचार मात्र गर्ने हो। तर यस्तो सहयोगी उपचार पनि ज्यान जोगाउन महत्वपूर्ण हुन्छ।
नेपालमा मस्तिस्क ज्वरो भएका बिरामीमध्ये झन्डै एक तिहाइसम्मको मृत्यु हुनेगरेको छ भने बाँचेका मध्ये झन्डै आधा बिरामीमा विभिन्न शारीरिक तथा मानसिक समस्या देखिएका छन्l
बिरामी भइसकेपछि अस्पताल पुर्याउँदैमा रोग निको नहुन सक्छ। त्यसैकारण बिरामी भएपछि उपचारभन्दा पनि यसबाट बच्ने उपायमा हामीले ध्यान दिनुपर्छ। यसका निम्ति प्रभावकारी उपाय भनेको जेई खोप हो।
जेई फैलिने वर्षा यामअगाडि एक वर्षभन्दा माथिका सबै बच्चालाई खोप लगाउने वा नियमित खोप अन्तर्गत एक वर्षभित्र नै उक्त खोप लगाउने हो भने उक्त रोगबाट बच्न सकिन्छ।
नेपालमा उपलब्ध एसए १४-१४-२ नाम गरेको खोप चीनमा बनेको खोप हो, जुन एक डोजमात्र दिए पुग्छ। यसलाई निकै प्रभावकारी मानिन्छ। उक्त खोपलाई एकदम सुरक्षित मानिन्छ। हालसम्म करिब २० लाख व्यक्तिमा यो खोप लगाइसकिएको छ। खोपका कारण कुनै गम्भीर प्रतिक्रिया (साईड इफेक्ट) कसैमा देखिएको छैन।
तर सुईले घोचेको ठाउँमा अलिकति दुख्ने, सामान्य ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्नेजस्ता सामान्य असर भने देखिन सक्छ। तर उक्त लक्षण २-३ दिनपछि हराउँछ।
लामखुट्टेबाट सर्ने रोग भएकोले घर वरिपरि सफा राख्ने, लामखुट्टे नियन्त्रण गर्ने, झुल प्रयोग गर्ने, विशेषगरी विहान बेलुका शरीर पूरै छोपिने कपडा लगाएर हिँड्ने गर्दा जेई रोग लाग्ने सम्भावना कम गर्न सकिन्छ।
अहिले नेपालका ४७ जिल्लामा चरणवद्ध रुपमा खोप अभियान चलिरहेको छ। वैशाख २६ गतेदेखि सुरु भएर उक्त अभियान ४४ जिल्लामा सम्पन्न भइसकेको छ। सबैभन्दा बढी जेई देखिएको झापा, मोरङ र सुनसरीमा हाल सञ्चालन भइरहेको उक्त जेई खोप अभियान १ देखि १५ वर्षसम्मका सबै बालबालिकाका लागि हो।
हालसम्म तराई, भित्री मधेस र उपत्यकासहित ३१ जिल्लामा मात्र १२ महिना पुगेका सबै बच्चालाई राष्ट्रिय खोप कार्यक्रममार्फत जेई खोप नियमित रुपमा लगाइन्छ। बाँकी रहेका ४४ वटा पहाडी र हिमाली जिल्लाहरुमा पनि नयाँ आर्थिक वर्षदेखि जेई खोप नियमित खोप कार्यक्रममा पर्ने भएको छ।
आफ्ना बच्चालाई जेईबाट सुरक्षित राख्ने र यसको नियन्त्रणमा आफ्नो तर्फबाट सचेत भूमिका खेल्नु हामी सबैको कर्तव्य हो।
(बालरोग विशेषज्ञ डा. धरेल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत छन्।)