तिम्रो आत्मामा शान्ति मिलोस् हार्दिक श्रद्धाञ्जली मनीषा। परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु।
समवेदना र श्रद्धाञ्जली दिन सक्ने निरीह हैसियतबाहेक अरु म सँग केही छैन मनीषा! हुन त जनताको सुन्दर नयाँ संविधानको एक थान विधानमा छौं। राजतन्त्रको अन्त्यसँगै गणतन्त्र नेपालको रंगशालामा उभिएका छौं, जहाँ आज गणतन्त्रको नारा गुञ्जिरहेको छ। तर म भने अहिले सीमापारिको भूमिमा उभिएर, नयाँ संविधानको विधानमा घोप्टो परेर भावविहोल भएको छु।
देशको सबैभन्दा संवेदनशीलत मुद्दा भनेको मानवअधिकारको मुद्दा हो नानु, जहाँ हामी स्वतन्त्र भएर जिन्दगीको अन्तिम घडीसम्म बाँच्न पाऊँ भन्ने हुन्छ। जुन मुद्दाभित्र सबैभन्दा छोरीहरु पिसिएको कुरा पनि सत्य छ। हिजो नेहाहरु पिसिए, आज तिमी पिसिएकी छौ। सायद भोलि म पनि पिसिने छु, पर्सिपल्ट देश पिसिएको हुनेछ। जे सुकै होस् देश नेपाल पिसिएको दिन सबैभन्दा ठूलो आघात हुनेछ।
आज गणतन्त्र आउँदा देशका चेलीहरुको अस्मिता त लुटियो नै, अस्मितासँगै जिन्दगी नै लुटिने हुँदा म जस्ता दाजुहरु र आमाहरु आफैंले डोली चढाएर भित्र्याएको गणतन्त्रप्रति घोर घृणा जगाउँदै छन् मनीषा। भोलि गणतन्त्र इतिहास कस्तो बन्छ त्यो त थाहा भएन।
मलाई थाहा थिएन, कुनै पापीले तिम्रो चिरहरण गरेपछि निम्तिएको शोकाकुलमा यसरी गणतन्त्रको रंगशालामा उभिएर समवेदनाका कलमहरु चलाउँला भनेर। बरु सोचेको थिएँ मनीषा, तिम्रो दाजुले खेलाडी भई देशको सानमा तिम्रो खुसीको बहार फुर्रर फुराउने लहरहरुलाई टप्प टिपेर कलमद्वारा सजाउँला भन्ने लागेको थियो। तर मलाई माफ गर मनीषा, तिम्रो शोकाकुल घडीमा कलम चलाउन थालेको छु।
हिजो भर्खरै नेहाहरु आफ्नै धर्म दाइ भनिनेहरुबाट कुदृष्टिका सिकार बनेर कलिलो जोवन गुमाउँदा, आमाहरुलाई थाहा भैसकेको थियो कि यहाँ मानवताको चिर हरण हुँदैछ। मानव विश्वासको अजम्बरी खम्बामा कालो बादलको पर्दाले लपेटिएर, त्यहीँ नजिक किनारामा अविश्वासको अग्लो चुली निर्माण भएको छ।
उता मानव अधिकारका पहरेदारहरु राजधानीका होटेलभित्र हुस्कीको चुस्कीमा बेहोसी छन्, अझै ब्युँझेका छैनन्। त्यसैले त आज बरु फेरि तिमीले पनि यो संसार छोड्नुपर्यो। सायद उनीहरु नब्युँझदासम्म अझै तिमीजस्तै देशका चेलीहरु नचाहेर पनि यो संसारबाट छुट्टी लिनुपर्ने छ, तर के थाहा र ती विचारीहरुलाई!
देशमा आज नवौं गणतन्त्र आएको छ मनीषा। प्रिय नानु तिमीले एकपटक आर्यघाटको समसानबाट उठेर हेर्नु, मानवताको चिर हरण हुने हाँडीगाउँको राज्यमा गणतन्त्रको जात्रा चलेको छ। हाँडी गाउँदेखि हजारौं कोष टाढा दुरदराजको तिम्रो झुपडीमा शोक छाएको छ। आमा अर्ध बेहोसी हुनुहुन्छ, दाजुलाई १४ वर्षपछि फेरि चोटको घाउ बल्झिएको छ तर गणतन्त्रका मालिकहरुलाई बाल छैन। तिम्रो अन्यायमाथि मालिकहरुको मौनता देख्दा लाग्छ, तिमी नेपालकी छोरी हौ या होइनौं, सोच्नुपर्ने भएको छ।
तिमीजस्तै साँझपख सुनौलो बिहानीको सपनामा निदाउँदा कहिलै नब्युँझने गरी सुतिरहेका चेलीहरु भेटिन थालेको धेरै वर्ष पार भैसके। रातारात देशका चेलीहरुको कलिलो जोवन हरण गर्नेहरुको जमात बढिसक्यो। सायद तिनैहरु गणतन्त्र देशका मालिक पनि भैसके होलान्।
राजधानीमा गणतन्त्रका मालिकहरु संसारकै उत्कृष्ट संविधान बनाएको भन्दै सभा/भेलामा व्यस्त छन्। मानवधिकारको नाममा नयाँ संविधानभित्र गणतन्त्रको ब्याज खाँदै डकारेर बसेका छन्। तिनै डकारेर बस्ने मालिकहरुलाई बलात्कारी खुनीहरु कानुनको उपहास गर्दै खुलमखुल्ला तिमीमाथि धावा बोल्दैछन्।
यस्तो लाग्दैछ, बलात्कारीहरूले निम्त्याउने घटनाहरु गणतन्त्रका राजनीतिक व्यापारीहरुलाई भृकुटी मण्डपका पसलेले झैँ मोलतोलमा बार्गेनिङ गर्ने चाइनाका सामान झैँ हुनेछन्। दुई-चार दिन तिम्रो मुद्दामा हानथाप हुनेछ र अमुर्त भै सुनसान हुने पनि पक्का छ।
हिजो नेहाहरु मारिँदा तिम्रो मुटुले ठाउँ थात छोडेको थियो होला। आज तिमी मारिँदा झन् धेरै चेलीहरुले आफ्नो काँपिरहेको मुटु छाम्दै बसिरहेका छन्।
अब तिमी भन, चेलीहरु दिनदाहाडै हत्या भैरहेको शोकाकुल घडीमा गणतन्त्र दिवस कसरी मनाउँ मनीषा? जहाँ तिमी हराउँछौ, तिम्रा सपनाहरु टुट्छन् र तिम्रो यो संसारबाट नचाहेर पनि सदाको लागि छुट्टि हुन्छ।
कोही तिम्रो हरण गर्ने गणतन्त्रको जात्रामा छन्, म भने तिम्रो शोकाकुल सन्नाटामा छु मनीषा। यही शोकाकुल भएको जगमा उभिएर राज्यका मालिकहरुलाई भन्न मनलाग्छ, मानवताको अपहरण हुने तिम्रो राज्यमा यस्तो गणतन्त्र दिवस त सुहाउला तर शोकाकुल आत्माहरुलाई चियो गर्ने चेस्टा पनि गर महाशय!
अपराधीहरुबाट मनीषाहरु हराइरहँदा औंलामा गनिनसक्नु घटनाहरु भैसके। देशको दुरदराजमा दिनप्रतिदिन चेलीहरु हराइरहेको कुरा तिमीले थाहा पाएर पनि चाल नपाएजस्तो गर्दछौ किन? मानव अधिकारको नाममा हत्यारा बाँच्न पाउने कलंकित अधिकार अब हामी कसरी सहुँला? छोरीहरु कसरी सहलान्?
फलामले फलाम काट्छ, त्यसैले अकानुनलाई कानुनले काट्नुपर्छ। अपराधीहरुको नियन्त्रणको लागि अब विकल्प खोज्नै पर्नेछ। त्यसको अन्तिम विकल्प दोषीलाई फाँसीको सजाय हुने व्यवस्था नहुँदासम्म अरु नेहा र मनीषाहरु मारिइरहनेछन्।
मानव स्वतन्त्र भएर बाँच्न पाउने अधिकार सुरक्षित हुन्छ भने हत्यारालाई मृत्यदण्ड दिनु न्यायोचित हुन्छ, मानवअधिकार त्यहाँ हुन्छ। नत्र तिम्रो गणतन्त्र केवल हावा हुनेछ। मानव व्यापारी बन्ने छ जसले छोरीहरुको यौवन लुटिरहने छ।