ट्राफिकले सवारी नियम उल्लंघन गर्नेलाई जरिवाना बढाएको भन्दै राष्ट्रिय यातायात महासंघको नेतृत्वमा अन्य श्रम संगठनले देशभर चक्काजामको आयोजना गरे। चक्काजामको पूर्वसन्ध्यामा गृहमन्त्रीले कानुन पालना गर्न गरेको अनुरोधलाई बेवास्ता गरे।सडकमा सर्वसाधारणले दुःख पाए । यातायात जस्तो आधारभुत कुरा बन्द हुँदा देशले ठूलो घाटा बेहोरेको छैन, सर्वसाधारण जनताले समेत सास्ती खेप्नुपरेको छ । हरेक समस्याको समाधान बन्दमा खोज्ने मुर्खतापूर्ण सोचबाट अन्ततः राष्ट्रिय यातायात महासंघ पनि अभिप्रेरित भएर अगाडी बढ्नु सबैका लागि बिडम्वनापूर्ण हो।
नेपालमा वर्षेनी साना ठूला प्रकृतिका दुर्घटनाले १८ सय जनाको ज्यान जान्छ। यसरी हुने दुर्घटनाको मुख्य चुरो भनेको सवारी नियम उल्लंघन नै हो। यसरी जीवन नै सकिने गरी हुने दुर्घटना न्युनीकरणका लागि सरकारले कानुन कडा बनाउँदा त्यसको विरोधमा उत्रनु दुः खको कुरा हो । दुर्घटना न्युनीकरणको लागि ल्याइएको कानुनको विरोधमा सरकारले बन्द नगर्न आग्रह गर्दागर्दै पनि विरोधमा उत्रनु भनेको देशमा कानुन छैन भन्ने सोचको विकास हुनु हो या त कानुन हातमा लिन सकिन्छ भन्ने गलत सोच पनि हो । कानुन पालना गर्दैन भन्नु आफैंमा अपराध भएकाले सरकारले बन्द गर्नेलाई कानुनको कठघरामा ल्याउनु जरुरी छ । यातायात व्यवसायी पनि नेपाली भएकाले राज्यले बनाएको कानुन मान्दैन भन्नु कत्तिको सान्दर्भिक हो सबैले आँकलन गरेका छन्।
सडकमा सवारी साधनको आवश्यक व्यवस्थापन गर्ने आधिकारिक निकाय ट्राफिक प्रहरी हो । सवारी साधन जस्तो संवेदनशिल कुरालाई व्यवस्थित गरेर दुर्घटना न्युनिकरणमा ट्राफिक प्रहरीले खेलेको भूमिका प्रभावकारी मात्रै छैन प्रसंशनीय समेत छ। ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र समयानुकुल जरिवाना बढाउनका लागि गृह मन्त्रालयको निर्देशनमा ट्राफिक जरिवाना केही बृद्धि गरिएको छ । समायानुकुल जरिवानालाई व्यवस्थापन गर्नका लागि यो केही हदसम्म उचित पनि छ तर बिडम्वना यही आवरणमा सवारी साधन समेत ठप्प पारेर यातायात महासंघ बिरोधमा उत्रिएको छ । अपराधीलाई सजाय धेरै भयो भनेर कुर्लने कि अपराध नगर्नतर्फ प्रेरित हुने अहिलेको जटिल सवाल यही नै हो । जरिवाना धेरै भयो भनेर कुर्लनुको अर्थ हामी अपराध गर्छौं तर कारबाही थोरै होस् भन्नु जस्तै हो । यो देशमा कानुन पालना गर्दैन भन्ने अधिकार एक जना नेपालीलाई पनि छैन । यातायात महासंघले नाङ्गो नाच बन्द गर्नु आवश्यक छ ।
देशमा विद्यमान राजनीतिक तरलताका कारण दण्डहिनता बढिरहेको छ । अपराध गर्ने तर विभिन्न शक्ति केन्द्रको सहारामा मुक्ति पाउने परम्परा विद्यमान छ । भ्रष्ट मानसिकता बोकेका व्यक्ति अहिले पनि प्रहरीमा हुनुले समाजमा न्याय प्रणाली ओझेल पर्दै गएको छ । यस्तो अवस्थामा समाज र देशलाई सही बाटोमा दिशाबोध गर्नका लागि हरेक नागरिकको खाँचो उत्तिकै पर्दछ । हरेक संस्था र नागरिकले बलियो चासो र चिन्ता व्यक्त गरेर आफ्नो ठाउँबाटल सहयोग गर्नुपर्छ ।
ट्राफिक चेकजाँच कसरी प्रभावकारी बनाउने ? लाइसेन्सलाई वैज्ञानिक परीक्षा प्रणाली निर्धारण गरेर कसरी सहज बनाउने? जस्ता कुरामा एकीकृत भई अगाडि बढ्नमा सबैले तदारुकता देखाउनु पर्छ । कमिसनको लोभमा चालकलाई सजग बनाउने भन्दा पनि जरिवानालाई नै प्राथमिकता दिने अनि गाडीको अवस्थाभन्दा पनि कागजको खोस्टोलाई बढि खोज तलास गर्ने ट्राफिक प्रहरीले गर्दै आएका छन्। कानुन छ भन्दैमा व्यावहारिकताको ख्याल गर्नु पनि आवश्यक छ । तथापि ट्राफिक प्रहरीले जरिवाना ग¥यौ भनेर कुर्लनुको साटो आफ्नो आचरण र व्यवहार परिवर्तन गर्नु नितान्त आवश्यक छ ।
ट्राफिकले पनि ड्युटी मात्रै नभएर प्रभावकारी ड्युटीमा ध्यान दिनु पर्दछ । केवल चोक र कुनै कुनामा अडिएर मात्रै पनि ट्राफिक नियमको पालना भएनभएको जाँच हुँदैन। अहिलेको समयमा विभिन्न सहायक मार्ग निर्माण भइरहेका बेलामा परम्परागत मात्रै भन्दा पनि नयाँ नयाँ योजना निर्माण गरेर सवारी जाँचलाई तीव्र बनाउनु आवश्यक छ ।
पछिल्लो समय देशमा भएका साना ठूला सबैखाले घटनाको फेहरिस्त हेर्ने हो भने अधिकांश सवारी चालक अनुमति पत्र प्राप्त नगरेका, क्षमताभन्दा बढी यात्रु बोकेका, सहचालकले गाडी चलाएका, गाडीको अवस्था कमजोर भएका जस्ता कुरा भएको देखिन्छ। हरेक जिल्लामा ट्राफिक प्रहरी हुँदाहुँदै पनि किन यस्ता कमजोरी भइरहेका छन् यस बारेमा चासो र चिन्ता व्यक्त गर्नुपर्दैन? ट्राफिक देखाउने बुख्याचा पक्कै पनि होइनन्।
यो देशमा विभिन्न क्षेत्रमा विभिन्न कानुन बनेका छन् तर बिडम्वना सर्वसाधारणलाई त्यसको बारेमा सामान्य जानकारी पनि हुँदैन । जसले सधैँ न्यायको बाटो हिँड्छ उसका लागि कानुनको जानकारी पूर्ण रुपले राख्नु लोकसेवा पास गर्नका लागि मात्रै हो । मुख्य कुरा आफू कसरी सुध्रने भन्ने हो । कतिपय देशमा मृत्युदण्ड जस्तो भयावह कानुनको व्यवस्था गरिएको छ तर के त्यसको कसैले कतैबाट विरोध भएको छ त ? अपराध नगर्न उद्यत हुने कि अपराधको सजाय घटाउन ? चेतनशील मान्छेले पक्कै पनि पहिलो कुरामा आफ्नो ध्यान दिन्छ। आर्थिक समृद्धिको बाटोमा उक्लदै गरेका विभिन्न देशहरुको उदाहरण हेर्ने हो भने ट्राफिक जरिवाना नेपालको भन्दा कैयौं कडा र बढी पनि छ । तर खै सबैले आत्मसाथ गरेकै छन्। सजायको विरोध त्यसले मात्रै गर्छ जो अपराध नगरेर जीवन निर्वाह गर्न सक्दैन।
के सवारी जरिवाना बढाएर मात्रै दुर्घटना घट्छ त? पक्कै पनि अपराध नियन्त्रणको बलियो अस्त्र जरिवाना पनि एक हो । नयाँ सवारी उल्लंघनको जरिवाना लागु भइसकेपछि पछिल्लो साता दुर्घटना ह्वात्तै घट्नु कुनै जादुको छडीको काम होइन । यसमा केही हक जरिवाना वृद्धिको पनि छ । यसरी सुनमा पित्तल मिसाउन पाएन भनेर कहिले सुन ब्यापारीले बन्द गर्ने, खाद्यान्नमा मिसावट गर्न पाइएन भनेर खाद्यान्न ब्यापारीले बन्द गर्ने अनि जरिवाना बढी भयो भनेर यातायात व्यवसायीले बन्द गर्ने हो भने देशको कानुन कुनै कुनामा लगेर मज्जाले आगो ताप्नु प¥यो । अदालत पनि बन्द गर्नु प¥यो । मानवियता र नैतिकता मारेर अपराधको लाइसेन्स लिन खोज्नेलाई कारबाही होस्।