यसअघि नेपाल सरकारले मिर्गौला बिरामीलाई सातामा दुईपटक गरी दुई वर्षमा दुई सय आठ पटकसम्म डायलाइसिस गर्न सहयोग गर्दै आएको थियो। हालसालै नेपाल सरकारले मिर्गौला रोगीलाई आजीवन डायलाइसिस प्रक्रिया कार्यविधि बनाएर व्यवस्थित गर्ने निर्णय मन्त्रिपरिषदको बैठकबाट गरेको छ। सामान्य औषधि उपचार नपाएर सयौंको ज्यान जाने हाम्रोजस्तो देशमा सरकारले ठूलै धनराशी खर्चेर मिर्गौला रोगीलाई बचाउने कदम चालेको छ, जुन सराहनीय हो तर बौद्धिकतापूर्ण निर्णय होइन।
सन् १९७२ मा नै अमेरिकाले निःशुल्क डायलाइसिसको सुरुवात गरे तापनि दक्षिण एसियामा भने कुनै पनि मुलुकमा आजीवन निःशुल्क डायलाइसिसको व्यवस्था भएको देखिँदैन। यस्तो व्यवस्था गर्ने निर्णय गर्नेमा नेपाल नै दक्षिण एसियामा पहिलो राष्ट्र बन्न पुगेको छ। तर यसको कार्यान्वयन पक्ष भने अझै बाँकी छ।
कसरी निम्तिन्छ डायलाइसिस गर्ने अवस्था ?
यदि कुनै पनि व्यक्तिको मिर्गौला फेल भयो भने जीवित रहन उसले दुई उपचार विधिमध्ये एक छान्नुपर्ने हुन्छ। कि मिर्गौला प्रत्यारोपण कि आजीवन डायलाइसिस थेरापी। दुबै अत्यन्तै महँगो उपचार हो। जसमध्ये नियमित डायलाइसिस गर्ने बिरामीको त दैनिकी नै अस्तव्यस्त हुनुका साथै जीवनस्तर र उत्पादनसिलता नै न्यून हुन्छ। आखिर कसरी निम्तिन्छ त यस्तो अवस्था?
कुनै पनि व्यक्ति एकाएक डायलाइसिसमा जानुअघि उसलाई कुनै न कुनै रोगले विस्तारै च्याप्दै गएको हुनुपर्छ। जसको उचित उपचारबाट ऊ बन्चित भएको हुन्छ। यदि त्यस्ता रोगको सही समयमा पहिचान भएन र ती रोगले च्याप्दै गएमा मिर्गौला फेल हुनेसम्मको अवस्था आइपर्छ। त्यसबेला बिरामीसँग ‘प्रत्यारोपण’ र ‘डायलाइसिस’ बाहेक कुनै विकल्प रहँदैन। आखिर कसरी निम्तिन्छ छ त त्यो अवस्था? त्यस्तो अवस्था निम्त्याउने प्रमुख कारक तत्वहरू भने यस्ता छन्।
- उच्च रक्तचाप
- डायबेटिज मेलाइटस (चिनी रोग)
- ग्लोमेरुलोनेफ्राइटिस अर्थात् मिर्गौलाको प्रशोधन गर्ने युटिक नेफ्रोनको गडबडी वा इन्फ्लामेसन
- ट्युबुलो-न्टरर्सटिसियल नेफ्राइटिस अर्थात् मिर्गौलाको ट्युब्युल्स र त्यस वरिपरिको इन्फ्लामेसन
- आइबुप्रोफिन, फ्लेक्जनजस्ता नन-स्टेरोइडल एन्टी-इन्फ्लामेटरी ड्रग्सहरूको जथाभावी लामो समयसम्मको प्रयोग
- पोलिसिस्टिक किड्नी डिजिज
- मुत्रनलीको निकासमा समस्या जस्तैः प्रोस्टेटको आकारमा वृद्धि, मृर्गौलामा पत्थरी, मृर्गौलाको क्यान्सर
- पाइलोनेफ्राइटिस अर्थात् मिर्गौलामा हुने इन्फेक्सन
- पर्सिस्टेन्ट प्रोटिनयुरिया
जस्ता कुराहरूको पहिचानमा ढिलाइ र उचित उपचार नभएमा दीर्घकालीन मिर्गौलाको समस्या निम्तन्छ। जसको उपचार एकदमै खर्चिलो र जटिल ठहरिने गर्दछ। जसको विकल्पमा प्रत्यारोपण र डायलाइसिस पर्ने गर्दछ।
हालको डायलाइसिसको अवस्था र समस्या
हप्तामा दुईपटक गरी दुई वर्षमा दुई सय आठ पटकसम्म निःशुल्क डायलाइसिस लिइरहेका बिरामीको संख्या एक हजार साठी रहेको छ। ती बिरामीमध्ये यदि कसैलाई कुनै हप्ता तीनपटक डायलाइसिस गर्नुपर्यो भने तिनले त्यसको आफैँले खर्च व्यहोर्नुपर्ने हुन्छ र त्यसो हुने पनि गर्दछ।
एक जना बिरामीको हप्ताको तीनपटक डायलाइसिस गर्ने खर्चको वर्षेनि हिसाब गर्दा र उसलाई चाहिने औषधोपचार खर्च जोड्दा नौ लाखको हाराहारी हुने गर्दछ। यदि उक्त बिरामीले नेपाल सरकारको हालको आजीवन निःशुल्क डायलाइसिसको निर्णयअनुसार पाँच वर्षसम्म मात्रै सेवा उपभोग गर्यो भने पनि सो को खर्च पैतालीस लाख हुन आउँछ। यति गर्दागर्दै पनि बिरामीले अनेकौँ समस्याहरू भोग्नुपर्ने हुन्छ।
- जीवनस्तर निम्नस्तरको रहने र उत्पादनसिलता पनि न्यून हुने
- हप्ताको तीनपटक प्रत्येक पटक चार घण्टा डायलाइसिस गर्दा बिरामी र ऊ सँग अस्पताल धाउने कुरुवाको अनावश्यक समय खेर जाने गर्दछ।
- अधिकांश बिरामीहरूले सहरी क्षेत्रमा मात्रै डायलाइसिस केन्द्रहरू भएकाले त्यो सेवा पाउनको लागि नै बसाइँसराइ गर्नुपर्ने वा त्यहाँसम्म जानका लागि यातायातमै धेरै खर्चिनुपर्ने बाध्यता छ।
- डायलाइसिस गर्ने बिरामीलाई नियमित रगत दिनुपर्ने हुँदा रगतबाट सर्ने विभिन्न सरुवा रोगहरूको जोखिम पनि उत्तिकै हुने गर्दछ।
प्रत्यारोपण गर्दा के फाइदा हुन्छ ?
निःशुल्क डायलाइसिस भएपछि यो सेवा लिनेको संख्या अझ वृद्धि भई प्रत्यारोपणतिर आकर्षण घट्ने छ। प्रत्यारोपणमा आकर्षण कम हुँदा यसले मानिसको आयुमा समेत कमी ल्याउँछ र उत्पादनशीलता न्यून हुन्छ। त्यसैले निःशुल्क डायलाइसिसभन्दा निःशुल्क प्रत्यारोपण गर्दा राम्रो हुने थियो। प्रत्यारोपण गरेका बिरामीहरूले डायलाइसिस लिइरहेका बिरामीहरूभन्दा निम्न फाइदाहरू लिन सक्दछन् :
- विभिन्न खोजहरूका अनुसार प्रत्यारोपणको सुविधा लिएका बिरामीहरूको डायलाइसिस लिइरहेकाहरूको भन्दा आयु लामो हुने देखिएको छ।
- प्रत्यारोपण गरेका बिरामीहरूको ‘क्वालिटी अफ लाइफ’ अर्थात् जीवनस्तर उच्च हुन्छ, सन्तुष्ट जीवन जिउँछन्, उत्पादनशीलता उच्च रहन्छ, आफ्नो दैनिक काममा फर्कन सक्छन्,कम्प्लिकेसन कम हुन्छ, खानामा निषेध पनि कम हुन्छ।
- डायलाइसिसद्वार रगतमा मिसिएका थोरै वजन भएका टक्सिनहरू प्रशोधन गर्न सम्भव भए पनि मध्यम र ठूला टक्सिन प्रशोधन गर्न भने असम्भव हुन्छ। त्यसैगरी डायलाइसिसले मिर्गौलाको इन्डोक्राइन गतिविधिहरू नियन्त्रण गर्न सक्दैन, जसले गर्दा रातो कोषको उत्पादन र भिटामिन ‘डी-३’ को उत्पादनमा चाहिने इरिथ्रोपोइटिनको कमी हुने गर्दछ। पानीमा घुल्ने लवण र अबलुमिन पनि डायलासिसमा मासिने गर्दछन्। तर यी समस्याहरू प्रत्यारोपणमा समाधान हुन्छन्।
- डायलाइसिस लिइरहेका बिरामीहरूलाई खानपानमा कडा निषेध हुने गर्दछ, जसले गर्दा उनीहरूलाई खानपानमा पनि अप्ठ्यारो अवस्थाको सिर्जना सधैंभरि रहिरहन्छ तर प्रत्यारोपण गरेका बिरामीमा सो अवस्था रहँदैन।
- हप्ताको तीन दिनको डायलाइसिसको तालिका धाउनुपर्ने त्यति सजिलो हुँदैन र उक्त बिरामीले आफ्नो डायलाइसिसलाई केन्द्रबिन्दुमा राखेर आफ्ना अरु गतिविधि मिलाउनुपर्ने हुन्छ।
- यदि डायलाइसिस अवधि कम भयो भने, सम्पूर्ण टक्सिनहरू रगतबाट प्रशोधित हुँदैन र त्यसले नसा ध्वस्त पार्नेदेखि लिएर विभिन्न अरु रोगहरूको संक्रमण पनि बढाउँछ।
- डायलाइसिस लिइरहेका बिरामीहरूको मानसिक अवस्था बिग्रने, स्मरण शक्ति गुम्ने, आफ्नो काम गर्न नसक्ने जस्ता समस्याहरू निम्तने गर्दछन्।
कसरी जोगिने ?
मिर्गौला बिग्रिसकेपछिको अवस्थामा उपचार एकदमै महँगो र झन्झटिलो छ। तसर्थ, यो अवस्था नआउन दिन नेपाल सरकारले पहलकदमी चालेमा मिर्गौला रोग सँगसँगै अन्य गम्भीर प्रकारका रोगको संक्रमणमा पनि कमी आउने थियो। रोग लागिसकेपछि ठूलो धनराशी खर्चिनुभन्दा बेलाबखत विभिन्न स्क्रिनिङ कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ। यदि त्यसो गरियो भने अन्य गम्भीर प्रकृतिका रोगबाट पनि बच्न सकिन्छ।
मृगौला रोगको बारेमा जनचेतना जगाउने, जसमा बच्ने उपायबारे सचेत गराउने काम गर्नुपर्दछ। आइबुप्रोफिन र फ्लेक्जनजस्ता औषधिहरूको जथाभावी प्रयोग र बिक्री वितरणमा निषेध गरिनुपर्दछ। रोग लागेपछि उपचारमा लाग्नुभन्दा रोग लाग्नुअघि नै सतर्क रहनु बुद्धिमता हो। स्वस्थ पिउने र स्वस्थ खाने बानी अपनाउनु नै स्वस्थ मिर्गौलाका आधारहरू हुन्।
(डा. निरज मिर्गौला रोग विशेषज्ञ एमडी मेडिसिन तथा डिएम नेफ्रोलोजी हुन्। डा.अभिषेक उनीसँगै कार्यरत मेडिकल अधिकृत हुन्)