तपाईँले आफ्ना बिरामी बच्चालाई उपचारका निम्ति अस्पताल वा डाक्टरकहाँ लिएर जानु भएको होला। आफ्ना नभए आफन्तका बच्चा लिएर अस्पताल पुगेको अनुभव त हामी मध्ये अधिकांशलाई हुनुपर्ने हो। यहाँ मेरो प्रश्न हो-यस्ता बच्चाले अस्पताल बारे के सोच्दैछन् भनेर तपाईँले कहिल्यै बुझ्ने कोशिश गर्नुभएको छ?
यस लेखमा मैले अस्पताल बारेको बाल-मनोविज्ञान कस्तो हुन्छ र अभिभावकका रूपमा तपाईँको भूमिका कस्तो हुनुपर्छ भन्ने बारे चर्चा गर्नेछु। असल बाबुआमाले बच्चाको शारीरिक मात्र होइन मानसिक अवस्था प्रति पनि उत्तिकै संवेदनशील बन्नुपर्छ।
अस्पताल तपाईँको वा बच्चाको उपचारका निम्ति नै हो। तर, अधिकांशका निम्ति अस्पताल अनुभव सुखद् भने हुँदैन। अस्पताल जाने कुराले वा त्यहाँ पुगेपछि अनेकौं वास्तविक वा काल्पनिक कुराहरु बच्चाका दिमाग प्रवेश गर्छन्। उनीहरूलाई पीडाको अनुभूति हुन्छ।
अनुसन्धानले भन्छ - उमेर र बौद्दिक विकासको चरण अनुसार अस्पताल बारे केटाकेटीका आफ्नै चासो, चिन्ता र अनुभूति हुन्छन्। तर सामान्यतया उनीहरूको अनुभूति प्रति हामी अभिभावकहरू संवेदनशील हुँदैनौं, ख्याल गर्दैनौं वा त्यसलाई गम्भीरतापूर्वक लिँदैनौं।
यदि तपाईँले बच्चाको मनोदशा बुझ्न सक्नुभयो भने उनीहरूको अस्पताल वा डाक्टरसँगको अनुभवलाई कम पीडादायक र सुखद् पनि बनाउन सक्नुहुनेछ।
अब हेरौं शिशु तथा साना नानीहरूको मनोविज्ञान। शब्द मार्फत मनको कुरा खोल्न नसके पनि अस्पताल उनीहरूका निम्ति तनावपूर्ण हुन्छ। पहिलो चिन्ता त आफ्नो आमा वा आफन्तबाट छुट्टिनु पर्छ भन्ने हो। अस्पताल बस्नु पर्यो भने खाने, सुत्ने जस्ता सामान्य दैनिकीमा परिवर्तन पनि हुने हुनाले उनीहरु तनावमा हुन्छन्।
सामान्यतया ५-६ महिनाको उमेरदेखि शिशुहरू सधै देखेका मानिस बाहेक अरूसँग डराउने, रूने वा तर्किने गर्छन्। यस्तो स्वभाव स्कूल जाने उमेर नभएसम्म परिवर्तन नहुन सक्छ। अस्पतालमा नौला मानिससँग समय बिताउने मात्र होइन उनीहरुले जाँच्ने, रगत तान्ने, औषधि लगाउने वा खुवाउने र एकै ठाउमा सुतिरहनु पर्ने अवस्था सुखद् हुँदैन।
अझ, उनीहरूले सोच्दै नसोचेको र बुझ्न नसक्ने सुइ लगाउने, वाफ लिने, वा अक्सिजनबाट सास लिने कुराबाट ४-५ वर्षका बच्चाले डरलाग्दा र रहस्यमयी कुराहरु कल्पना गर्छन्। यसले बच्चाको मनोविज्ञानमा लामो समयसम्म नकारात्मक प्रभाव पार्न सक्छ।
बाल मनोविज्ञानमा पर्ने नराम्रा असरलाई कम गर्ने वा सुखद बनाउने मुख्य जिम्मेवारी तपाईँको हो। यसका निम्ति प्रयास भने तपाईँले गर्नैपर्छ।
नानीहरुले आफ्ना नियमित दैनिकीमा सहज अनुभव गर्छन। त्यसैकारण अस्पताल जाने दिन वा भर्ना भएर बस्नु पर्दा सकेसम्म उनीहरुको दैनिकीलाई हेरफेर हुन नदिनुहोस्।
बच्चालाई घरमा हुँदाको जस्तै खाना खाने र सुत्ने समय मिलाउनुहोस्। घरमा बच्चा रमाउने खालका खेलौना वा सामान अस्पतालमा पनि सँगै राखिदिनु भयो भने उनीहरुले घरमा जस्तै सुरक्षित महसुस गर्न सक्छन्। सकेसम्म बच्चालाई आफू बिना एक्लै नछोड्नु होला र रातमा पनि सँगै सुत्ने प्रवन्ध गर्नुहोला।
केही बुझ्ने उमेरका बच्चालाई अस्पताल लैजानु अघि अस्पताल, डाक्टर वा नर्सलाई जोडेर सरल र सकारात्मक कथाहरू भन्दिनुहोस्। आफू जाने अस्पतालको फोटो देखाउने र त्यहाँ गएपछि के हुन्छ वा के देखिन्छ भनेर सुनाउनुहोस्। यस्ता कुराले बच्चामा तनाव कम गर्न सहयोग पुग्ने अनुसान्धानले देखाउँछ।
आफ्नै काखमा राखेर वा समातेर शारीरिक पीडा हुने जाँच वा त्यस्ता प्रक्रियामा सहभागी गराउनुहोस्। पीडा हुँदा नम्र र मायालु स्वरमा सम्झाउनु भयो भने बच्चालाई मानसिक रूपमा ठूलो राहत पुग्छ।
अब हेरौं, ठूला बच्चा र किशोर-किशोरीहरुको मनोविज्ञान। उनीहरु आफ्ना वरिपरी के हुँदैछ भन्ने बारे जान्ने र मनन गर्ने अवस्थामा पुगेका हुन्छन्। उमेर, मानसिक विकास वा व्यक्तित्व अनुसार अस्पताल प्रति धारणा बनाइरहेका हुन्छन्। साना बच्चाहरुको तुलनामा उनीहरुमा भोगाईमा अन्य आयामहरु पनि थपिएका हुन्छन्।
अस्पताल जाँदा घर-परिवार र साथीहरुसँग छुट्टिनु पर्ने वा विद्यालय र अन्य सामाजिक गतिविधिबाट बन्चित हुनुपर्ने पीडा उनीहरुलाई हुन्छ। उनीहरुले आफ्ना भावना व्यक्त नगर्ने पनी हुनसक्छ।
अस्पतालमा सुइ लगायत अन्य परीक्षणले पनि उनीहरू तर्सिरहेका हुन्छन्। एक पटक अनुभव गरिसकेपछि उनीहरुका धारणा परिवर्तन पनि हुनसक्छ।
स्वतन्त्रता र गोपनियता खोज्न थालेका किशोर-किशोरीहरु उपचारका क्रममा सबै कुरा सम्झौता गर्नुपर्ने भयो भनेर पनि चिन्तित हुन्छन्। मनमा अनेक तर्कना आउने र तनाव महसुस हुँदा मनोवैज्ञानिक रुपमा मात्र होइन रोगको उपचारमा समेत नकारात्मक असर पर्न सक्छ ।
उनीहरुको मनोदशा बुझ्न एउटा भरपर्दो अभिभावकको मात्र होइन, आत्मीय साथीको रूपमा समेत तपाईँले व्यवहार गर्नुपर्छ। यसबाट उनीहरुलाई ठूलो मानसिक सहयोग प्राप्त हुन्छ।
आफ्नो बच्चाका हरेक प्रश्नलाई झन्झट नमानी जवाफ दिनुहोला। तपाईँलाई थाहा नभएका कुरा डाक्टर वा स्वास्थ्यकर्मीलाई सोधेर भएपनि उनीहरुको प्रश्नको जवाफ दिनुहोस। हिजोआज कतिपय कुरा इन्टरनेटका भरपर्दा वेबसाइट हेरेर पनि थाहा पाउन सकिन्छ।
अस्पतालमा गर्नुपर्ने कुरा थाहा पाउन सके त्यसका निम्ति मानसिक रुपमा तयार हुने, अनुभव कम पीडादायी हुने र कहिलेकाहीं रमाइलो पनि हुनसक्छ। आफ्ना शरीर, रोग र विभिन्न परिवर्तनबारे बच्चालाई केही पूर्व जानकारी भए डाक्टरबाट थप स्पष्ट हुन सकिन्छ। अपरिचित र अस्वाभाविक भयका कारण तनावमा बस्नु पर्दैन।
अस्पतालमा रहँदा सकेसम्म उनीहरुलाई एक्लो नछाडनुहोस्। उनीहरूलाई साथीभाई तथा परिचित व्यक्तिसँग सम्पर्कमा रहन सघाउनुहोस्।
बच्चालाई सुइको डर देखाएर कुनै कुरा गर्न नलगाउनुहोस्। बच्चाको डाक्टर भएका कारण उनीहरुमा सुइको भय रहेको कुरा मैले पटक-पटक अनुभव पनि गरेको छु।
तपाईँले बनाइदिएको यस्तो भयका कारण म बच्चालाई आफ्नो साथी बनाउने अवसरबाट बन्चित हुने गर्छु।
बच्चामा अस्पताल र डाक्टर प्रति सकारात्मक दृष्टिकोण बनाउन सहयोग गर्नुहोस्। उनीहरुको उपचार सहज बनाउन अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ। असल बाबुआमाले बच्चाको शरीर मात्र होइन, मनोविज्ञान प्रति पनि उत्तिकै संवेदनशील हुनुपर्छ।
(वालरोग विशेषज्ञ डा. धरेल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत छन।)