अपराजिता,
ट्याक्सी चढ्नु अति आवश्यक पर्दा मात्रै – नत्र बस अथवा टेम्पो नै, हाम्रो लेबलको जनसाधारणलाई।
अस्पताल, बजार, पानी अड्डा, बिजुली अड्डा, ब्यांक, साथीभाइ भेटघाट इत्यादि हामीले धाइरहनुपर्ने ठाउँ हुन्। सकभर झ्यालनेरको सिट रोज्यो र नियाल्यो सडकका दुवै किनारमा अवस्थित भवनहरू र ती भवनको भुइँतलामा रहेका सटरमा अवस्थित रेस्टुराँ र पसलहरू। साइनबोर्डहरू हेर्दै, पढ्दै, अर्थ लाउँदै, तर्क गर्दै यात्रा गर्दा गन्तव्य पुगेको पत्तै हुँदैन।
यस्तै यात्राका दौरान देखिने केही साइनबोर्डको यहाँ उल्लेख गर्छु है। अरूलाई पेट फुटुन्ज्याल हँसाउन सक्ने क्षमता भएको मान्छे तिमी, रमाइलै मानौला। अँ, बालाजु रिङरोडको एउटा साइनबोर्ड ‘हङ्ग्री आई सेकुवा’। मनमा लाग्यो आँखा हङ्ग्री कि पेट हङ्ग्रीरु खाने त मुखबाट हो आँखाबाट त होइन। आँखा कसरी हङ्ग्रीरु हङ्ग्री त पेट हुनुपर्ने हो। त्यसो भए हङ्ग्री स्टमक सेकुवा हुनुपर्ने होइनरु हुन त भोक पेटमा लाग्छ, आँखाले खाना परिकारको सूचना दिन्छ, मुखले पेटमा पुर्याउने काम गर्छ। फङ्सन त रिलेटेड भयो नि! त्यसो भए एक्टिभिटिजको ग्राह्यताअनुसार साइनबोर्डमा ‘हङ्ग्री स्टमक, आई एन्ड माउथ’ हुनुपर्यो!
फेरि अर्को ठाउँमा मान्छेको चित्रसहित ‘बाजेको सेकुवा’ देखियो। मनमा प्रश्न उठ्यो, सेकुवा त खसीको मासुको होला, बाजेको मासुको सेकुवा त निश्चय होइन होला। बाजेकै मासुको सेकुवा हो भने, बाजेकोे शरीरको कुन भागको सेकुवा— तिघ्राकोरु पिँडौलाको? गालाको? हरे यस्तै हो भने त म ज्यान गए खान्न बाजेको सेकुवा।
एउटा रमाइलो साइनबोर्ड लामो तर सटिक, ‘धरानको कालो बंगुरको सेकुवा’। मुखमा र्याल आयो, धरानको कालो बंगुर ९सुंगुर० ख्याल मीठो हुन्छरु विगतमा एकपटक खाएको हो, स्वाद त मुखमै झुन्डियो। त्यस दिन त्यस कर्नरमा पस्नु भने पायक परेन। नामकरणमै चित्त बुझ्यो।
हरे, कति खान्छन् मान्छेहरू सेकुवा! ल हेर, अर्को साइनबोर्ड ‘उही पुरानो एयरपोर्ट घले दाइको सेकुवा कर्नर’।
यसले पसल पुरानो एयरपोर्टबाट सरेको सूचना दियो साथै सेकुवा कर्नर भनेर प्रस्ट पनि पार्यो। फेरि हेर त ‘भेटघाट सेकुवा तथा तन्दुरी कर्नर’। भेटघाट सेकुवा कस्तो हुन्छ भन्ने कौतुहल त लागेको हो तर अन्तिम शब्द कर्नरले येनकेन बचायो। ठीकै भयो। साथीभाइ भेटघाट गर्दै सेकुवा र तन्दुरी खाने।
‘थकाली भान्सा सेकुवा कर्नर’। थकाली समुदायले चलाएका रेस्टुराँहरू प्रसिद्ध छन्, विदेशमा समेत। जिब्रोमा ट्वाक्कै लाग्ने स्वादिला परिकार बनाउन यस समुदायका महिला माहिर छन्। पोखरा जाँदा एकताका हरियो खोर्सानी टोक्दै स्वादिलो परिकार खाएकी छु। यहाँको सेकुवा निश्चय विशेष हुनुपर्छ, शंकै छैन।
अब छोटो मोमो प्रसंग। हालै जमलमा ‘ममः प्यालेस’ नामकरण गरिएको साइनबोर्ड देखेँ। आँखा चिम्म गरेर मोमोले बनेको प्यालेस (दरबार) कल्पना गरेँ। आम्मै, इँटा राखेजस्तै थाकैथाक पारेर लगाएको मोमोको पर्खाल, मोमोकै फ्लोर, मोमोकै छाना — आँखै तिरमिरायो। भित्र कसरी पस्ने रु नयाँ सडकमा ‘विशाल ममः’ भन्ने पढेकी छु। विशाल भन्नाले धेरै ठूलो। मुखमा अटाउला त? पहाड जत्रो त निश्चय होइन होला। मोमोको त आफ्नै साइज हुन्छ। बाइरोडको बाटोमा ‘टप टेन ममः’। टप टेनमध्ये एक, चित्त बुझाएँ।
एउटा नौलो प्रयोग ‘टपरी ममः कर्नर’। भन्नुको तात्पर्य मोमो टपरीमा सर्भ गर्ने, प्लेटमा होइन। प्लेट धुने झन्झट साफ। कुरा क्लियर — मोमो को नाम टपरी होइन, टपरीमा राखेर सर्भ गरिने मोमो। नेपालीपन, टपरी उद्योग (घरेलु उद्योग) लाई प्रोत्साहन। वाह!
रिङरोडमा बालाजुदेखि चाबहिलसम्म पुग्दा देखिने साइनबोर्डहरूले सोच्न बाध्य पार्छन्। जस्तै ‘न्यू बृज सिमेन्ट’, प्रारम्भमा त न्यू नै होला। पचास वर्षपछि पनि न्यू नै भन्ने? ‘ओल्ड बृज सिमेन्ट’ हुनुपर्ने होइनरु अथवा त्यही ब्रान्डको सिमेन्ट फेरि उत्पादन गर्दा ‘बृज सिमेन्ट’ मात्रै भने हुन्न रु ‘न्यू’ जोड्नै पर्ने किन होलारु होइन, अंग्रेजी शब्द ‘न्यू’ मा के यस्तो जादु छ रु भन त।
‘न्यू लक्ष्मी भोजनालय’, हामीले शास्त्रमा बुझेको धनकी देवीको अष्टलक्ष्मी स्वरुप थाहा छ, दुर्गाको नवदुर्गा। तर अंग्रेजी शब्दबाट सुरु हुने न्यू लक्ष्मी स्वरुप चाहिँ थाहा थिएन। हुनसक्छ सुरुमा ‘लक्ष्मी भोजनालय’ नामकरण गरियो होला। नामै लक्ष्मी भएपछि मनग्य धनकमाउने सोच पनि थियो होला। कालान्तरमा पार्टनरबीच विवाद भई टुक्रिने अवस्था आयो होला। दुईमध्ये एक असन्तुष्ट पक्षले ग्राहक तान्ने हेतुले ‘न्यू’ थपेर अष्टस्वरुप भएकी देवी लक्ष्मीलाई नवौं स्वरुप थपिदिए, त्यही पनि अंग्रेजी स्वरुप। तिम्रो के विचार?
यस्तै देवीकै नामकरण गरिएको अर्को भोजनालय ‘उग्रचण्डी भोजनालय’। यतै रिङरोडतिरै अवस्थित छ। म त थरथर कामेँ बाबै, नामै पढेर। उसै त चण्डी त्यही पनि उग्ररुप धारण गरेकी अवस्थामा। भित्र पस्ने आँट हुन्छ त? के सोचेर उग्रचण्डी नाम राखियो होला? पैसा नतिर्ने ग्राहकहरूलाई सुरुमै चेतावनी हो कि? यो पनि हुनसक्छ, भोजनालय मालिकले दादाहरूको अप्रत्यासित प्रताडनाबाट सुरक्षाको अग्रीम ग्यारेन्टी लिएका हुन् कि?
कतै कतै ‘बाडुली रोदी घर एन्ड रेस्टुराँ’ नामको बोर्ड पनि पढियो। वाह, कति रोम्यान्टिक शीर्षक ‘बाडुली’! सम्झनाको अदृश्य झट्का– एक छेऊदेखि अर्को छेऊ पुग्ने। ‘मायालुले सम्झ्यो कि कसो बाडुली लाग्यो नि लाग्यो मलाई’, त्यसै त भनिएन होला। रोदी घर– मिलन केन्द्र सबैको, प्रेमिल जोडीसमेतको संगम स्थल। गुरुङ समुदायको रमाइलो संस्कृतिको निरन्तरता। युवा पिँढीमा अति संक्रमित पश्चिमी आधुनिक शैलीको नृत्यको अन्धबेग थाम्नै नसकिने समयमा आफ्नो संस्कृतिको मौलिकता जगेर्ना गर्न उक्त नामसहितको कदम ‘बाडुली रोदी घर एन्ड रेस्टुराँ’। दाद दिन्छु संस्थापकलाई।
‘रातो भाले रेस्टुराँ’, बानेश्वरतिर हो क्यारे। भाले शब्द प्रयोगको विश्लेषणतिर नजाऊँ। सर्सर्ती हेर्दा भाले शब्दले कुखुराको भाले मात्र होइन, पुरुष जाति लगायत नेतृत्वदायी भूमिका निभाउन सक्ने छविको समेत बोध गराउँछ। मेरो कानमा त ‘रातो भाले क्वँयाक क्वँयाक सुत्केरीलाई ख्वाएँ, सुत्केरीको नाऊँ गरी टाउको मैले खाएँ’ भन्ने संगीतकार तथा गीतकार गणेश रसिक र हिरण्य भोजपुरेद्वयको एक समयको प्रसिद्घ गीत पो गुन्जियो। कालो भाले होइन, रातो भाले, धेरैको सिम्बोल बनिसकेको छ। कालो भाले झाँक्री र झारफुकेहरूको पूजामा मात्र प्रयोग हुन्छ। जे होस् यो सिम्बोलिक नेपाली शब्द ‘रातो भाले’ मलाई मन पर्यो चाहे त्यस रेस्टुराँमा आउने ग्राहकलाई रातै भालेको मासु सर्भ गरोस् या नगरोस्।
‘हामी बनाउँछौ नेपाल’ – बडो जोडदारको नारा, जुरुकजुरुक उचाल्ने, रगतै उम्लेर आउने। मेरो पनि रगत उम्लेर आयो। पढ्दै पुछारमा पुगेँ ‘मारुति सिमेन्ट’। बस् के छ र, कल्पनामा सिमेन्टका बोराको पल्टनै परेड खेल्दै अघि बढिरहेको देखेँ। मार्चिङ ब्यान्ड पनि बज्दै थियो। यस्तरी डुबिछु मानौं म पनि मारुती सिमेन्टको बोरा भइछु, बोरा पल्टनसँगै खुट्टा उचाली उचाली ठीक उत्तर कोरियाका सैनिकले जस्तै, मार्च गर्दै ‘नेपाल बनाउन’ अघि बढिरहिछु।
नयाँ बानेश्वर निवासी साथीलाई भेट्न रत्नपार्कमा टेम्पो चढेँ। अघिल्तिरको सिसाको ठीक माथि खालि ठाउँमा सुन्दर अक्षरमा लेखिएको थियो– वाहन मन्दिर हो, वाहक पुजारी, सेवा पूजा हो भने यात्रु भक्तजन। मनमनै खुसी हुँदै टेम्पोचालकलाई बधाइ दिएँ। यसरी नै प्रत्येक चालकले बुझे यात्रा सुगम र सुखद हुँदो हो। टेम्पो हाँक्ने सबै वाहक यस तथ्यबाट अवगत नै होलान् भन्ने विश्वासले ढुक्क भएँ। अर्कोपटक अत्यावश्यक कामले बानेश्वरै जानुपर्दा टेम्पो चढेँ। बीच बाटोमा गन्तव्य हुनेहरू एकएक गर्दै झर्दै गए।
बाँकी रहेँ म एक्लै। मेरो गन्तव्य रुटको अन्तिम स्टप थियो। एक्कासि पुजारी गर्जे, ‘तपाईं एक्लैको निम्ति उतिपर म जान सक्दिनँ, झर्नोस्।’ अवाक् भएँ। म एक्ली भक्तिनी, बिन्ती बिसाएँ। केही सीप लागेन, बाटोमै उतारियो। गन्तव्यसम्मको बाँकी दुरी हिँडेरै तय गर्न बाध्य भएँ।
सुन त, आजभोलि तिम्रोजस्तै मेरो पनि घुँडा दुख्छ। तिमीलाई दुःख लाग्यो?
सुकन्या